Thursday, February 20, 2020
Home > समसामयिक > मुन्दुम सम्बन्धि अन्तरक्रिया

मुन्दुम सम्बन्धि अन्तरक्रिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किरात दर्शन अनुसार मुन्दुम/मुन्धुम/मुत्दुमको अहिलेको अवस्था र मुन्दुम संस्कृतिको निरन्तरताका लागि आगामी दिनमा गर्नु पर्ने विषयहरुका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।


किरात मुन्दुम अध्यायन केन्द्रले हिजो शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किरात राई जाति भित्रका विभिन्न थरगत भाषाहरुमा मुन्दुमि संकृतिलाई बचाइ राख्ने नाक्छोङ्, माङपा, नागिरे, कुवी, मावी, नोक्छो, डोपा, पासिङ्ग, पासोङ्ग, ज्वाम्चो, जानपा, धामी, विजुवा लगायत समुदायको हितका लागि क्रियाशील, संघ-संस्था, प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


किराती सभ्यता अनुसार उनीहरु प्रकृति पुजक हुन् । र सबै भन्दा ठूलो तिर्थको रुपमा सुप्तुलुङ्ग (तीन चुला) पुज्ने गर्दछन् । यहि साँस्कृतिक तथा धार्मिक कार्यहरु गर्दा आउने समस्याहरु, तिनको समाधानको उपायहरु र मुन्दुम संस्कृतिलाई निरन्तरता दिनका लागि क–कसले के के गर्नु पर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम केन्द्रित भएको थियो ।


अन्तरक्रियाबाट मुन्दुम संस्कृतिको संरक्षण, सम्बर्धन र निरन्तरताका लागि मुन्दुमलाई लिखित तथा अडियो र भिडियो गरेर संग्रहित गर्ने, विकास र विस्तारका लागि एकिकृत र व्यवस्थित (सम्भव भए सम्म एकरुपता) गर्ने, मुन्दुम संस्कृतिको प्रचार–प्रसार (साँस्कृतिक भेषभूषा, गरगहना, बाजागाजा, धुन, चिन्ह, लोगो) प्रयोगलाई प्रोत्साहन गर्ने र मुन्दुमका स्रोत व्यक्तिहरु नाक्छोङ्, माङपा, नागिरे, कुवी, मावी, नोक्छो, डोपा, पासिङ्ग, पासोङ्ग, ज्वाम्चो, जानपा, धामी, विजुवा मुन्दुम अध्येता, अनुसन्धानकर्ता प्राज्ञिक व्यक्तित्व लगायत आम सरोकारवालाहरुको वृहत सम्मेलन आयोजना गर्ने लगाएतका विषयमा छलफल भएको थियो ।


राई जाति भित्रका बान्तावा, बाम्बुले, चाम्लिङ्ग, खालिङ्ग, थुलुङ्ग, दुमी, लोहोरुङ्ग लगायत भाषिक समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा ७२ वर्षिय नाक्छोङ् प्रेमबहादुर राई (सबै भन्दा जेष्ठ), सबै भन्दा सानो उमेरका १३ वर्षिय भूईफुट्टा विजुवा (ज्वाम्चो) सागर बाम्बुले राई लगायत मुन्दुमका सबै स्रोत व्यक्तिहरुको सायाचोङ्मा (शीर उठाउनी) कार्यक्रम पनि गरिएको थियो ।


काठमाण्डौको आईन्स्टाईन्  एकेडेमिक कलेज महालक्ष्मीथानमा सम्पन्न भएको यस कार्यक्रमको प्रायोजन अन्तराष्ट्रिय किरात संस्कृति संरक्षण केन्द्रले गरेको हो । कार्यक्रममा मुन्दुमको प्रचार–प्रसारका लागि मुन्दुम अंकित टिसर्टको विमोचन पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *