Home > संस्मरण > मेरो कथा

मेरो कथा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-बुद्धिसागर

सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको।
अस्ति भर्खरैजस्तो लाग्छ।

समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ।
सम्झना छ? परिक्षा हलमा एकघन्टा कति छिटो बित्छ? हेरिरहेको फिलिम कत्ति चाँडै सकिन्छ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ।
मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो। समय र उमेरपनि त्यस्तै त हो।

म सोचिरहेको छु- मेरो जीवनको ३५ बर्ष मनपर्ने सरको क्लासझैँ कत्ति चाडै सकिएछ।
कहिलेकाँही म मेरा स्कुले साथी भेट्छु। दुखि र निरास देखिन्छन्। र, तिन्लाई जीवन मननपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो लागिरहेको देख्छु।
म सोच्छु- समयले मान्छेलाई सुखी र दुखी बनाउने होइन रैछ, त्यो त हामी आफैले बनाउँदा रैछौ। कहिलेकाही लाग्छ- म आफैले नै जीवन मनपर्ने सरको कक्षाजस्तो बनाएँ। मेरा कति साथीले आफुले नै जीवन मननपर्ने सरको कक्षाजस्तो बनाए। कति साथीका बा, आमा र शिक्षकले नै जीवन मननपर्ने सरको क्लासजस्तो बनाइदिए।
साथी र ममा एउटै फरक छ- साथीहरुले बा,आमा र शिक्षकले सिकाएको बाटो हिडे।
म भने आफैले रोजेको बाटो हिँडे।

सानैदेखि म पढाईमा साह्रै कमजोर थिएँ। स्कुलको अन्तिम बेन्चमा बस्थेँ। सरले पठाएको पनि बुझ्दिनथेँ। तर, नबुझेको कुरा सोध्ने आँटै आउदैनथ्यो। सोध्यो भने पनि सरले ‘यत्ति पढाएर पनि बुझिनस् स्वाठ’ भन्दै कान निमोठ्थे। त्यसैले म सरको आँखा अगाडि पर्दिनथेँ। लुकेर बस्थे।
सायद, असल सर भएको भए, मलाई अघिल्लो बेन्चमा राख्दा हुन्। बुझाउँदा हुँन्। प्रेरणा दिँदा हुन्। म अहिले सोच्छु- मेरा जीवनमा कहिल्यै असल सर आएनन्। जति आए, खराव नै आए। ति कक्षामा चाँडोभन्दा चाँडो बुझ्ने बिधार्थीलाई मात्र प्रेरणा दिन्थे। हाम्रा अगाडि उसको सधैँ प्रसंसा गर्थे। सोधेको प्रश्नको उत्तर नजान्दा सर, जान्ने बिधार्थीलाई हाम्रो गालामा थप्पड हान्न लगाउँथे। सधैँ सरले गिल्ला गरिरहे।
बच्चा त गिलो माटो हुन्। सर कारिगर। तिनैको हातले नै हाम्लाई बिभिन्न थरि मुर्ति बनाउने न हो। सरले भने तिक्ष्ण बिधार्थीको जहिले पनि राम्रो मुर्ति बनाउथे। हाम्लाई भने आकार दिन नसकेर त्यतिकै छाडिन्थे।
म जति क्लास उक्लिदै गएँ, उति ल्वादे भएँ।
सरले गिल्ला गर्छन्,कक्षाका साथी हाँस्छन् भनेर म कक्षाबाटै भाग्न थालेँ। म दिनभर जँगल घुम्थेँ। चरा उडेको हेर्थे। जँगलमा गएपछि, मसित पढ्न नआउने किताव हुन्थेनन्, न त चड्कन लगाइरहने सर। म एक्लो हुन्थे। मलाई त्यस्तै मनपर्थ्यो।
म प्रायः जाँचमा फेल हुन्थे। कहिलेकाही बाले हेडसरसित कुरा गरेर पास गराइदिनु हुन्थ्यो।
गाउँमा पनि फष्ट हुने बिद्यार्थीलाई सबैलाई माया गर्थे। फेल हुनेलाई देख्यो कि गालि गर्थे। थुक्थे। तर, कसैले सोधेन- तँलाई किन पढ्न मन लाग्दैन भनेर।
घर, गाऊँ र स्कुलमा म लम्पट बिद्यार्थीको रुपमा चिनिएँ। जहाँ पनि ‘यसले पढेर खादैन’ भन्नेहरु भेटिन्थे। पछिपछि त मलाई पनि लाग्नथाल्यो- म पढेर ठूलो मान्छे हुँदिनँ।
म बरालिएँ।
फिलिम हेर्न घरबाट भाग्न थालेँ। मेरो मन स्कुलमा भन्दा अन्तै रम्न थाल्यो। अनि, जव रिजल्ट आउथ्यो- म फेल हुन्थे। साथीहरु पास भएर नयाँ-नयाँ बासनादार किताव किन्थे। त्यसबेला मेरो मन साह्रै रुन्थ्यो। ‘अव यसपाली मज्जाले पढेर पास हुन्छु’ भन्ने कसम खान्थेँ, तर फेल भएर उहि क्लासमा बस्नुपर्दा झन् पीडा हुन्थ्यो। सरहरु पनि फेल हुनेलाई झनै गाली गर्थे। ‘तँ पढेर खादैनस्’ भनेर बचन लाई रहन्थे। ‘यसपाली पढ्छु’ भनेर खाएको मेरो कसम आँसुसँगै बगेर जान्थ्यो।
पछिपछि, मलाई कोर्सका कितावभन्दा अरु नै किताव पढ्न मनलाग्न थाल्यो। कमिक्स र जासुसी उपन्यास खुवै पढ्थे। ति रोमाञ्चक हुन्थे। पढिसकेपछि परिक्षा पनि दिन पर्देनथ्यो। अनि म बिस्तारै पढन्तेमा गनिनँ थालेँ। तर, कोर्सको किताव बाहिरको पढन्थे।
आफ्नो रुचीको कुरा भेट्टाएपछि त म पढ्ने नै रैछु।

जव बसाइसराइ भएर म कालीकोट पुगेँ। त्यहाँको स्कुल झन् खराव थियो। रामरी पढाइ नै हुन्थेन। एकदुई जना असल सर थिए तर तिन्ले मजस्तो बिग्रिसकेको माटोलाई फेरि मुर्ति बनाउने आँट गरेनन्। मेरो मन बिरक्तियो- मैले कविता लेख्न थालेँ। रेडियोमा पठाउँन थालेँ। मेरो कविता रेडियोमा बज्न थाल्यो। गाँऊ घर, स्कुल जताततै मेरो चर्चा फैलियो। म झन् कवि भएँ।
मेरो कविता रेडियोमा सुनेर बा पहिला खुशी भएका बा, पछि गएर आत्तिन थाल्नु भो। ‘छोरो कवि हुने भो’ भन्ने पीर पर्‍यो। त्यसबेला कविलाई कसैले राम्रो मान्थेन। कवि जीवनमा सधैँ दुखी हुन्छन्। भोकै पर्छन्, भन्थे मान्छेहरु।
सप्पैलाई लाग्थ्यो- डाक्टर र इन्जिनियर पो हुनु, कवि हुने हो?
मलाई अहिले पनि लाग्छ- धेरै अभिभावक सन्तान डाक्टर र इन्जिनियर बनोस् भन्ने एउटै कारणले चाहन्छन्- पैसा कमाउँछन् भनेर। कम्तिमा मलाई डाक्टर बन भन्नेले ‘बिरामीको सेवा गर्ला’ भनेर भनेकाथेनन्।
एसएलसी नजिक आयो। सरहरु ‘यसपाली एसएलसी पास हुने बिद्यार्थी यि यि हुन्’ भनेर दिनकै नाम फलाक्थे, जसमा मेरो नाम कहिल्यै हुन्थेन। मेरै कक्षामा साँच्चिकै प्रतिभाशाली बिद्यार्थी पनि थिए। तिनले आफ्नै सीप र साधनाले पढेकाथे। ति प्रतिभाशाली हुनुमा सरको योगदान एकदमै कम थियो। र, एसएलसी नजिकिदै गर्दा सरहरु प्रतिभाशाली बिधार्थीकै वरीपरी घुम्न थाले। सरहरु सोच्थे- ‘यि केटाहरु ट्यान्लेट त छन् नै। अलिकति चिट चोराउन पाइयो भने त यिनले फष्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन्।’
एसएलसीको परिक्षामा सरले नै प्रतिभाशाली बिधार्थीलाई चिट चोराए। हामी कमसल बिधार्थीको हातमा भने कमसल मान्छेले नै लेखिदिएको चिट आउथ्यो र ति चिटमा सही उत्तर नै लेखिएका छन् भन्ने पनि बिश्वास गर्न गाह्रो हुन्थ्यो।
जे होस्, म सेकेन्ड डिभिजनमा पास भएँ। दुईचार जनासाथी फष्टडिभिजनमा पास भए।
एसएलसी पास गरेपछि, मैले बासित ढिपी गरेँ, काठमान्डू जान्छु भनेर। मैले हैरान पारेपछि बाले काठमान्डू पठाउनु भयो।
मैले एसएलसी दिँदै गर्दा आफ्नो बाटो रोजिसकेको थिएँ। मैले अठोट गरिसकेको थिएँ- काठमान्डू गएर लेखक बन्छु।

जरा कमजोर थियो, त्यसैले कलेजमा पनि राम्रो बिद्यार्थी हुन सकिनँ। तर, आफ्नो सपना पुरा गर्न कविता लेखिरहेँ। पत्रिकामा छापिरहेँ। मेरा रोमाञ्चक दिन सुरु भइसकेका थिए।
म सितै एसएलसी दिएका एकमित्र पनि काठमान्डू नै आए पढ्न। उनले कर्नाली अञ्चलमै सबैभन्दा बढि नम्बर ल्याएका थिए। हाम्रो डेरा नजिक थियो। बा, आमा र सरले भनेका रैछन्, ‘तिमी अव डाक्टर हुनुपर्छ।’
उनलाई ठूलो बोझ थियो। त्यतिधेरै नम्बर ल्याएको बिधार्थीले अरु बिषय पढ्ने कुरा पनि थिएन। उनी साइन्सका बिद्यार्थी भए। दिनमा अठार-उन्नाइस घन्टासम्म पढ्थे। तर, उनलाई डाक्टर बन्न सुझाव दिनेले उनको मनको कुरा बुझेनन्। उनी के पढ्न चाहन्छन्, उनको रुची के हो? सोधेनन्। बस्, उनलाई डाक्टर बन्न दवाव दिइरहे। तर, उनले लाख कोसिस गरेपनि आइएस्सी कटाउन सकेनन्। एकपल्ट होइन, चार-चारपल्ट फेल भए।
उनका अभिभावक रिसाए। सर रिसाए। र, उनी गाउँनै जान छाडे।
उनीसितैका साथीभाईले घरमा कर गरेरै आफूलाई मनपर्ने बिषय लिएर पढेकाथे। आफ्नो बाटो रोजेकाथेँ। ति पास हुँदै गए। र, आफ्नो क्षेत्रमा अलिअलि स्थापित पनि हुन थाले। उनी त जहाँ को तही रहेँ।
भर्खरै मसित भेट हुँदा उनी दुव्लाएका थिए। अनुहारमा पनि रौनक थिएन। पराग खाएर दाँत पहेलै बनाएका थिए। उनले भने, ‘बिचमा के के भो। अव फेरि पढ्न थालेको छु।’
‘साइन्स।’ मैले सोधेँ।
‘होइनँ ,’उनले भने, ‘आर्टस्। सायद, पहिल्यै आर्टस् पढेको भए, म एमए पास भइसक्थे। अहिले आइए दोस्रो बर्षमा पढ्दैछु। त्यो बेला अरुको कुरा बढि सुनेँ।’
जे होस्, उनले ढिलै भएपनि आफ्नो बाटो रोजेछन्।

मैले भने लेखनमा अलिअलि प्रगति गरिसकेको थिएँ। कवि गोष्ठिमा कविता सुनाउनु र कविता लिएर पत्रिकाको अफिसमा धाउनु मेरो दिनचर्या थियो। बाले पटकपटक फोन गरेर ‘घर आइज’ भनेर बोलाउनुहुन्थ्यो।
‘रामरी पढ्न सकिनस्। काठमान्डू बसेर के काम?’ उहाँ भनिरहनुहुन्थ्यो।
तर, म घर गइनँ। काठमान्डूमा कयौ रात भोकै सुते। नौ दश महिनासम्म घर भाडा तिर्न नसक्दा घरबेटी ढोकामा ताल्चा लगाइदिन्थे। झगडा गरेर खोल्न लगाउथेँ।
म यता भोकै थिएँ। उता बा र आमालाई चिन्ता थियो।
मलाई त भोकै बस्दा पनि पीडा थिएन। अनुभव न हो, पछि काम लाग्छ- म सोच्थे। किनभने, यहिँ नै मैले रोजेको बाटो थियो।
एकदिन म झल्यास्स भएँ। लौ, मैले पो आफु हिँड्ने बाटो रोजेको थिएँ। घरमा त रामरी भनेको नै थिइनँ।
दशैमा घर गएको बेला, मैले बा-आमालाई आफ्नो सपना सुनाएँ। मैले भनेँ – म सित कुनै प्रतिभा छैन। म जागिर पनि खान सक्दिनँ। मलाई अरु काम केही पनि आउदैन। मलाई एउटै कुरा आउँछ, लेख्न। लेखक बन्नलाई गाऊँमा सजिलो छैन। काठमान्डू नै बस्नुपर्छ। म अझेँ दुख्ख गर्छु र लेखक बन्छु।
सायद, मैले बा-आमालाई आफ्नो कुरा बुझाउन सकेँ। त्यसपछि पो उहाँहरुले मलाई बेरोजगार भएर काठमान्डूमा बस्दा पनि केही भन्नु भएन।
मैले केवल लेखिरहेँ। साहित्यका कितावहरु पढिरहेँ। सायद, परिक्षाकै लागि भनेर यसरी लेख्नु र पढ्नु परेको भए, म बिचमै थाक्थे हुँला। तर, रुची र सपनाले कहिल्यै थाक्न दिएन। सफलता एक एक गर्दे मतिर तानिदै आए। नेपाल एकेडेमीबाट स्वर्ण पदक पाएँ। नेपाल सरकारबाट प्रतिभा पुरस्कार पाएँ। जागिर खोज्दै कतै भौतारिनु परेन। मैले लेखेकै कारण पत्रिकामा जागिर पाएँ।
अनि, ‘कर्नाली व्लुज’ उपन्यास लेखेँ।

हो, त्यसबेला लेखनमा पैसा थिएन। तर, मैले जतिजति लेख्दै गएँ, उतिउति लेखनको महत्व बढ्दै गयो। अहिले लेखकले पनि राम्रो पैसा कमाउन थालेका छन्।
म अचेल पत्रिकामा लेख्ने काम गर्छु, त्यसबाट तलव आउँछ। अनि, घरमा बसेर किताव लेख्छु- त्यसबाट रोयल्टी आउँछ। म दिनभरी आफूलाई रमाइलो लाग्ने काम गर्छु र पैसा कमाउँछु।
र, ३५ बर्षको उमेरमा मलाई १ घन्टा पनि ‘काम’ गरेजस्तो लागेको छैन। म त आफ्नो सपना पुरा गरिरहेको छु। लक्ष्मि र सरस्वतीसँगै हुँदैनन् भन्थे। तर, दुवै मिलेर मलाई माया गरिरहेका छन्।

त्यै भएर मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ।
स्कुलका सरले म काँचो माटोलाई गिथोलेर छाडेका थिए। म आफै त्यसलाई सुन्दर मुर्ति बनाउन खोजिरहेको छु।

मैले मुर्ति तयार गरेका दिन संसार आफै सुन्दर हुनेछ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: