Home > रोचक प्रसंग > पाँच दशकदेखी रोल नम्बर १३ बिनाको हाजिरी गर्ने बिद्यालय

पाँच दशकदेखी रोल नम्बर १३ बिनाको हाजिरी गर्ने बिद्यालय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ३१ जेठ । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयले झण्डै ५ दशकदेखि रोल नम्बर १३ नराखि विद्यार्थीको हाजिरी गर्दै आएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ ।

विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । २०३२ सालदेखि उक्त विद्यालयमा रोल नम्बर १३ नलेखिएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

१३ रोल नम्बर हुने बिद्यार्थिहरुको लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ लेख्न छाडेको हो ।

विद्यालयका सहायक प्राचार्य युवराज ज्ञवालीका अनुसार रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले सो रोल नम्बर लेख्न छोडिएको हो । उहाँका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर भएका तत्कालिन अर्खले गाविस ७ भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा परीक्षा दिने क्रममा पेट दुखेर मृत्यु भएको थियो । त्यस्तै दोस्रो पटक २०३० सालमा तत्कालिन तम्घास गाविस ४ का जुनप्रसाद श्रेष्ठको तथा २०३१ सालमा तत्कालिन तम्घास गाविस १ रमेश श्रेष्ठको मृत्यु भएको थियो । २०३२ सालमा तम्घास पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो ।

विद्यालयमा लगातार उक्त रोल नम्बर भएको विद्यार्थीहरुको मृत्यु भएका कारण विद्यार्थी अविभावकहरुले कक्षा ९ मा १३ अशुभ भएको भनेका कारण सबैको सल्लाह अनुसार लेख्न छोडिएको विद्यालयका सहायक प्रधानाध्यापक ज्ञवालीले बताउनुभयो । पहिले पहिले १३ रोल नम्बर लेख्ने गरेतापनि हाल भने लेख्न छोडिएको छ । सबैको मनमा अशुभ भन्ने रहेका कारण कसैले पनि १३ रोल नम्बर लेख्न सुन्न नि चाहँदैनन् ।

अप्रिय घटना घटेका कारण अहिल पनि घटना हुन्छ की भन्ने डरले १३ रोल नम्बर नलेखिएको विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्यमा पाण्डेयले बताउनुभयो । १३ रोल नम्बर हुने ४ जना विद्यार्थीहरुको लगातार मृत्यु भएको र विद्यार्थीहरुले पनि १३ रोल नम्बर राख्न नचाहेका कारण विगत देखी यसलाई निरन्तरता दिँईदै आएको पाण्डेयले बताउनुभयो ।

बिज्ञान, शिक्षा बिज्ञान, मानविकी र व्यवस्थापन संकाय अध्यापन गरिने उक्त बिद्यालयमा १२ सय बढी विद्यार्थीहरु पठन पाठन गर्दै आएको विद्यालयले जनाएको छ । जिल्लाकै सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा परिचित यस विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट समेत गरिएको छ।
विद्यालयमा पढ्न जिल्ला र छिमेकी जिल्लाहरुका विद्यार्थीहरु समेत आउने गर्दछन् ।

(Newsofnepal.com का लागि अनिल खत्रीको सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: