Tuesday, August 11, 2020
Home > कविता > मौन प्रश्न

मौन प्रश्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

(हतुवागढी कला साहित्य महोत्सव २०७६ द्धारा आयोजित खुला कविता प्रतियोगितामा प्रथम घोषित कविता)

बिज्ञानराज कार्की

भर्खरै सफल भएको छ बाध्यता
मृत्युको हागाँमा झुन्डाउन-
एक सुस्केरा जिन्दगी!

उसरि नै सफल भएको छ एक जोडि आँखा
परेलिमा झुन्डाउन-
केही थोपा पीडा!

के उ यसरी आफुलाई झुन्डाउन सक्ला –
अस्तित्वको लहरामा!

उ अर्थात देशप्रेमी!

उसलाई भत्काउदा
छातिमा भेटिनु पर्थ्यो-
पुर्खाहरुका गौरवशाली छातीहरु,
हातमा हुनुपर्थ्यो-
आमाहरुका न्याना र प्रेरणादायी हातहरु,
र बनि सकेको हुनु पर्ने थियो मस्तिष्कमा-
भविष्य हिड्ने बाटाहरु,
अंह त्यस्तो केही भेटिएन!

बरु उसभित्र भेटिए
ईतिहासका भग्नावशेष खंडहरहरु
जसभित्र जतनका साथ
राखिएका छ्न-
देशले गुमाएका भुगोल र मदन भण्डारिहरु
प्रतिबन्ध लगाईएका गित र कविताहरु
बलात्कृत निर्मला र न्यायहरु

जहिल्यै उसको छातिमा निर्धक्क ठडिएको हुन्थ्यो-
नहोचिने स्वाभिमानको सगरमाथा,
जहिल्यै उसको जिगरमा बलिरहेको हुन्थ्यो-
ननिभ्ने हिम्मतको दियो,
तर आज त्यो स्वाभिमानको सगरमाथा ढलेको छ,
र थिचिएर मरेका छन
सपनाका कलिला दुबोहरु!
भर्खरै निभेको छ-
हिम्मतको एउटै दियो
र अन्धकारमय भएका छन
उस भित्रका हजारौं/लाखौं आशले छाएका झुपडिहरु!

उ अर्थात “जिन्दगी” नामको चराले
छाडेर गएको रुख र गुड!
उ अर्थात बगैचा भन्दा करोडौं माईल टाढा
कुनै भिरमा –
फुल्न नचाहेरै फुलिरहेको
फुलको सुगन्ध !

अर्थात बाँच्ने नाममा मरिरहेको
र मर्ने नाममा बाचिरहेको
अत्यन्तै सिकिस्त बूढो बिरामी!

कदापी उसभित्र दन्किएको छैन-
क्रान्तिको मुस्लो,
उन्मुक्त छैन-
पिजडा भित्रको स्वतन्त्रता,
हास्नु वर्जित झै छ,
बाँच्नु व्यर्थ झै छ,
प्रस्न उठने छ
जरुर उठनु पर्छ
के उ अब आफुलाई झुन्डाउला?

जरुर झुन्डिने छ एकदिन देशप्रेमी –
मृत्युको हागामा,
तर झुन्डिने छैन उसभित्रको देशप्रेम!

बिरेन्द्रनगर सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: