अरुण आकाश
हतुवागढी, ३ असार । भोजपुरको दक्षिणी क्षेत्रमा केही समय यता साहित्यिक गतिबिधिको निरन्तरता चलिरहेको छ। भर्खरै मात्र हतुवागढी फलामढुंगामा दुई दिने हतुवागढी कला साहित्य महोत्सव गत शनिबार सम्पन्न भएको छ ।

दुई दिन चलेको सो महोत्सवको पहिलो दिन भएको खुला कविता प्रतियोगितामा कवि तथा पत्रकार श्रीशिशा राईको संयोजकत्वमा कवि तथा उपप्राध्यापक राजेश बिद्रोही र कवि तथा पत्रकार मायामितु न्यौपाने सदस्य रहनुभएको निर्णायक टोलिले सुर्खेतका कवि विज्ञानराज कार्कीको मौन प्रश्न शिर्षकको कवितालाई प्रथम भएको घोषणा गरेको थियो। यसैगरी तेह्रथुमकी कवि इन्दु केसीको कफनमा फिरेको देश शिर्षकको कविता दोस्रो, हतुवागढीकै यादव समीर राईको कविता हेत्छाकुप्पालाई तेस्रो तथा सुनसरीका किरण शिवाको शासक ईश्वरहरु शिर्षकको कवितालाई सान्त्वना स्थानको घोषणा गरिएको थियो। सो प्रतियोगितामा भारतको दार्जिलिङ र नेपालका विभिन्न भागबाट दुई सयभन्दा बढी कविता प्राप्त भएको आयोजकले जनाएको छ ।
सो अवसरमा अतिथि कविहरू कुन्ता शर्मा, रमेशचन्द्र अधिकारी, श्रीशिशा राई, मायामितु न्यौपाने, राजन इशारा, प्रकाश दिप्साली, डि. बि. राई लगायतले कविता वाचन गर्नुभएको थियो भने राजेश विद्रोहीले कार्यक्रममा वाचित कविताबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कविता प्रतियोगिता र कविता बाचन कार्यक्रम भएकै दिन कविहरू प्रकाश दिप्साली र राजन इशारालाई सम्मान समेत गरिएको थियो ।
महोत्सवको दोस्रो दिन समूहगत लोकनृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा हतुवागढीकै विभिन्न क्लबका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रतियोगिताका लागि राष्ट्रिय नृत्य निर्देशक महासंघका महासचिब नगेन्द्र राईको संयोजकत्वमा नृत्य निर्देशक तथा प्रदेश नम्बर एक स्तरिय नृत्य कलाकार संघका सदस्य सुसन घिमिरे र कलाकार गनु साङ्पाङ्ग राई सदस्य भएको निर्णायक मण्डल रहेको थियो। सो निर्णायक समुहले नौलो सृजना साँस्कृतिक युवा समूह हतुवागढी – ८ प्रथम, सुन्तुम राग्दुम साँस्कृतिक समूह हतुवागढी – २ दोस्रो, न्यू जुनियर स्टार ग्रुप हतुवागढी – ४ तेस्रो र नवएकता साँस्कृतिक समूह हतुवागढी – ४ सान्त्वना भएको घोषणा गरेको थियो। सो अवसरमा बरिष्ठ नृत्य निर्देशक समेत रहनुभएका निर्णायक मन्डल संयोजक राईले हाम्रा सांस्कृतिक नाचहरूलाई संरक्षण गर्नुपर्ने धारणा राख्नुभएको थियो। सोहि कार्यक्रमको दौडान कवि श्रीशिशा राईलाई हतुवागढी साहित्य सम्मान तथा सङ्गीतकार राम थुलुङलाई हतुवागढी संगित सम्मानद्धारा सम्मान गरिएको थियो । हतुवागढीमा जन्मिएर अन्यत्र गई साहित्य र सङ्गीतको क्षेत्रमा विशेष योगदान दिएको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो ।
दुबै प्रतियोगिताका प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमशः रु. १५,०००, रु. १०,०००, रु. ५,००० र रु. ३,००० नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंक न्यौपानेले पहाडी ठाउँहरूमा यस्ता खाले कार्यक्रम हुनुले नेपाली भाषा र साहित्यप्रतिको मोह झल्काउने भन्दै पहाडको साहित्यिक कार्यक्रममा यसको त्यसको नभनी हामी सबैको हो भन्ने भावना देखाएकोले आफु अत्यन्तै प्रभावित भएको बताउनुभयो। हतुवागढी जिल्लामा पछाडि पारिएको क्षेत्र भए पनि अब भने विकासको मार्गमा अघि बढ्न थालेको महसुस हुन थालेको उल्लेख गर्दै उहाँले विकासका लागि सरकारको मात्र मुख नताकी नागरिकहरू आफैँ सक्रिय हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो। हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले आफूहरू सबै क्षेत्रको सन्तुलित विकासमा लागिपरेको बताउनुभयो। आगामी दिनमा अझै यस्ता सृजनात्मक कार्यक्रमहरूको आयोजना गर्दै जाने प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईको भनाई थियो।
महोत्सबको मुख्य आकर्षण हतुवागढीमै जन्मिएका कलाकार उमेश राई (फुलन्देकी आमा) को प्रस्तुति हेर्न टाढाटाढाबाट दर्शकहरू आएका थिए । उनीसंगै हतुवागढी कै अर्का कलाकार हिरण राई (टाइफिटिङ बाजे) को संयुक्त प्रस्तुतिबाट दर्शकहरूले निकै मनोरञ्जन लिएका थिए । सो अवसरमा हतुवागढीकै कलाकारहरू बाबुराम प्रधान र लीला राईले आफ्ना गीतका माध्यमबाट मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
महोत्सव हतुवागढी गाउँपालिकाको आर्थिक सहयोगमा हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वजित राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रतिष्ठानका सचिव लालबहादुर राई र अरुण आकाशले सञ्चालन गर्नुभएको थियो।