Friday, November 22, 2019
Home > ईतिहास > धरानको इतिहासः गुप्तकालदेखि ढुङ्गे रेलसम्म

धरानको इतिहासः गुप्तकालदेखि ढुङ्गे रेलसम्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

(पत्रकार प्रदीप मेयाङ्बोद्धारा तयार गरि blastkhabar.com मा प्रकाशित सामग्री)

‘…..मनै उडायो ढुङ्गे रेलैले’
यो गीत त्यति चर्चित त भएन तर यसले धरानको ऐतिहासिकतासँग जोडिएको ढुङ्गे रेलको कथासँग गाँसिएका आम सर्वसधारणको मनोभावना भने व्यक्त गरेको छ । ४५ वर्षअघिसम्म यो गीत स्थानीय बासिन्दाले खूब गुनगुनाउने गरेको आफूलाई बूढापाकाले सुनाएको सञ्चारकर्मी जनकऋषि राई बताउँछन् । धरानको ढुङ्गे रेलले कसरी मनै उडायो त स्थानीय बासिन्दाको ? यसका लागि धरानमा चल्ने रेलको इतिहास कोट्याउनु जरुरी छ ।

भारतसँग वि.सं. २०११ सालमा कोशी सम्झौता भएपछि भीमनगरमा कोशी व्यारेज र बाँध निर्माण गर्नका लागि धरानस्थित फुस्रेको ढुङ्गा ओसार्ने प्रयोजनका लागि धरानको फुस्रेदेखि हालको महेन्द्रनगर चक्रट्टी हुँदै भीमनगर कोशी व्यारेज र विहारको वीरपुरसम्म आकाशमा धुवाँ फाल्दै कोइलाले चल्ने रेल दैनिक तीनपटक फलामको लिकमाथि चल्थ्यो ।

सप्तकोशीको जलप्रवाहलाई नियत्रण गर्न कोशी व्यारेज निर्माणका लागि ढुङ्गा र काठ ओसार्ने ढुङ्गे रेल नै भए पनि करिब ०१३ सालदेखि पञ्चायत कालको मध्यसम्म रेल चल्ने गरेको अझै पनि बूढापाकाहरू बताउँछन् । धरानमै जन्मेर धरानका पहिलो भन्ने पुस्तक लेखेका हरेराम कर्मचार्य धराने ढुङ्गे रेलको इतिहास कोट्याउँदै भन्छन्, ‘धरानमा चलेको रेलले धरानलाई केही दिएको इतिहास भेटिएको छैन । धरानमा कुनै समय रेल चल्थ्यो भन्ने इतिहासमात्र बन्यो । अहिले हामी त्यही इतिहास हेरेर, सुनेर मक्ख पर्नुबाहेक अरू गौरव गर्न सकेका छैनौंँ । यसबाहेक धरानबाट ढुङ्गे रेलले ढुङ्गा लानेबाहेक केही पनि गरेन । आउँदा रित्तो आउने र जाँदा रेलभरि ढुङ्गा लगेर धरानलाई चुरे क्षेत्रको दोहन गरेर रित्तो पार्ने बाहेक केही गरेन ।’

धरानको इतिहासका जानकार महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्र शर्माका अनुसार नेपाल र भारतले गरेको कोशी परियोजनाको सम्झौताअनुसार उक्त ढुङ्गाहरू लगिने कुरा कोशी परियोजना सम्झौतामा पढ्न सकिने डा. शर्मा बताउँछन् । उनका अनुसार बीपी कोइराला प्रधानमन्त्री भएको बेला नेपालको तर्फबाट महावीर शमशेर तथा भारतको तर्फबाट गुल्जारीलालले कोशी परियोजनाको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उनी भन्छन्, ‘अहिले रेलको कथा धरानको लागि इतिहास बनेपनि करिब डेढ दशक अघिसम्म फुस्रेदेखि चतरा– चक्रघट्टी–प्रकाशपुरमा रेलका फलामे लिक, डब्बाहरू देखिन्थे । तर, पछिल्लो समयमा रेलका फलामका लिक, डब्बा, इञ्जिन सबै सामान कता कसले लगे, चोरी गरे कसैलाई थाहा छैन । कतै कतै अवशेष मात्र बाँकी छन् ।’ त्यसबेला चक्रघट्टीमा स्टेसन थियो । त्यसो त रेलसँगै धरानको फुस्रेदेखि ब्रिटिस घोपाक्याम्प (हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा रहेको रेल्वे स्टेसनसम्म ढुङ्गा बोक्ने रोपवे (घिर्लिङ) निर्माण भएको थियो । कोशी परियोजना सम्झौताको धारा तीनको उपधारा चारमा लेखिएबमोजिम आयोजनालाई चाहिने ढुङ्गा, गिटीको लागि धरानको फुस्रेडाँडासम्म रेल ल्याउने सम्झौता भयो ।

उनी भन्छन्, ‘मलाई राम्रारी थाहा छ, धरानको फुस्रेदेखि महेन्द्रनगर चक्रघट्टी हुँदै भीमनगरसम्म रेल चल्ने गरेको थियो । म नै कतिपटक चढेर भीमनर पुगेको छु ।’ उनका अनुसार ०१६ सालमा व्यारेज निर्माण सम्पन्न भएपछि पनि उक्त रेल ०२८ साल पछिसम्म पनि त्यो छुकछुके ढुङ्गे रेल चलेको थियो । तत्कालीन समयमा ढुङ्गे रेल नै सही तर त्यसैलाई अपग्रेड गर्दै थप रेलको लिक र रेल अरूतिर पनि चलाउन सकिन्थ्यो तर त्यसो हुन नसकेको डा. शर्माको भनाइ छ । उनले भने, ‘आयोजना सकिएपछि नेपालमै रहेका रेलका भौतिक संरचनाहरू भारतले हस्तान्तरण गरेन । नेपालले पनि त्यसलाई संरक्षण गर्दै अपग्रेड गर्ने धारणा बनाउन नसक्दा इतिहास बन्यो । जबकि अरू मुलुकमा कोइलाबाट चल्ने रेलबाट विकास गर्दै बुलेट ट्रेन कुदिरहेका छन् ।’ तर दुर्भाग्य ती रेलका नाममा हामीले धरान र चतरामा ‘रेल्वे चोक र रेल्वे बस्ती’ नामले मात्र धरानको ऐतिहासिकतालाई बचाइरहेका छन् ।

धरान शहरीकरण विस्तारमा राणाहरूसंग जोडिएको इतिहास

अहिले व्यस्त भानुचोक परिसरमा घण्टाघर उभिएको आधुनिक धरानको पुरानो अवस्था कस्तो थियो होला ? कमैले मात्र अन्दाज गर्न सक्छन् । जान्नका लागि ११८ वर्ष पछाडिको समय तिर फर्किनुपर्छ । जुन बेला निरङ्कुश तानाशाही राणा शासनको जगजगी थियो ।

हालको धरान पुरै जङ्गल नै रहेको थियो भन्दा नयाँ पुस्ताले नपत्याउन सक्छन् । धरानको पुरानो समय थाहा पाउनका लागि राणाकालको इतिहासमा छिर्नुपर्ने हुन्छ । इतिहासअनुसार तत्कालीन श्री ३ प्रधानमन्त्री देव शमसेर राणालाई वि.सं १९५८ सालमा अर्का श्री ३ चन्द्र शमसेर राणाले धनकुटातिर धपाए ।

देव शमसेरलाई धनकुटा गौँडामा धपाइएपछि राणा परिवारका सदस्यहरू, अन्य आसेपासेहरू, पदाधिकारीहरू नेपाल खाल्डो काठमाडांै र धनकुटाका बीचमा स्थायीरूपमा आवत जावत जारी भयो । त्यसबेला औलो खूब लाग्ने गरेकाले भरसक तराईबाट एकै दिनमा साँगुरीगढीको उकालो छिचोल्न चाहन्थे पैदल बटुवाहरू । तर, सम्भव नभएपछि वि.सं १९६० सालमा चन्द्र शमसेरले विजयपुर मुनिका घनाजङ्गल फँडानी गरे । यतिन्जेलसम्म धरान भन्ने नामको शब्द उत्पन्न भइसकेको थिएन । बन फँडानीपछि काठ जति राणाहरूले तत्कालीन ब्रिटिसको इस्ट इण्डिया कम्पनीलाई बेचे । उनीहरूले धरान क्षेत्रको काठ रेलको लिग बनाए । यता रुखविहीन बनेको क्षेत्रमा बिस्तारै बस्ती बस्यो । अर्थात् धरान शहरको इतिहास मुस्किलले ११८ वर्ष भन्दा उता जाँदैन ।

धरानको ऐतिहासिकताको बारेमा जानकार महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्र शर्मा भन्छन्, ‘वास्तवमा धरानको ऐतिहासिकतालाई समयअनुसार दुई तहमा राखेर हेर्नुपर्ने हुन्छ । एउटा धरानको मात्र र अर्को धरान स्थापना भन्दा अघिको समय । त्यसपछि मात्र धरानको ऐतिहासिकताबारे खुलाउन सकिन्छ ।’ उनले भनेजस्तै हालको आधुनिक धरानको ऐतिहासिकताको समय निर्धारण गर्दा सवासय वर्षभन्दा पर जाँदैन । तर धरानँंगैको विजपुर सभ्यताको खोजी र अनुसन्धान गर्ने हो भने ७ औँ शताब्दीमा पुग्न सकिन्छ ।

उनले भने, ‘पुरातत्व विभागले पहिले विजयपुर क्षेत्रमा अनुसन्धान गरेको थियो । त्यसबेला सातौँ शताब्दीका गुप्तकालीन माटाका भँंडाहरूका टुक्रा फेला परेका थिए । यसको मतलव विजयपुर क्षेत्रमा साताँै शताब्दी अगाडिदेखि नै मानव बसोबास थियो भन्ने थाहा हुन्छ ।’

यद्यपि, विजयपुरमा भने पहिलेदेखि नै विभिन्न समुदायको बसोबास थियो । घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्धनगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ । त्यसबेला राणाहरूले र केही धनीमानीहरूले बयलगाडा प्रयोग गरेर तराईतिर आवतजावत गर्थे ।

पहाड र मधेसको सङ्गमस्थल भएर होला क्रमशः बस्ती विस्तार हुँदै जाँदा आधुनिक धरानको प्रारम्भिक रूपरेखा भने तयार हुँदै घना बस्तीमा परिणत हुनेक्रम जारी रह्यो । शर्मा भन्छन्, ‘जब ०२२ सालमा जोगबनी–विराटनगरदेखि पहाड जोड्ने धरान हुँदै उत्तर दक्षिणको सडक विस्तार भयो तब धरानले शहरीकरणको रूप लियो ।’ २०२८ सालअघि भानुचोकको नामै थिएन । बजार अड्डा नजिकै भानुचक्त आचार्यको प्रतिमा राखेपछि हालको भानुचोक कहलियो । त्यसभन्दा उत्तरको छाताचोक र हालको लक्ष्मीचोकमा काठको छाता बनाएर त्यसको मुनि वरिपरि बस्ने चौतारो थियो । लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राखेपछि धेरै पछिमात्र लक्ष्मीचोक नामाकरण भएको हो । धरानमा पुराना बस्ती, चोक गल्लीहरू जति छन् ती सबै पञ्चायतकाल र बहुदलीय कालमा बनेका मात्र छन् ।

वि.सं २०१० मा बेलायत सरकारले पूर्वका लिम्बु र राई समुदायका युवालाई ब्रिटिस गोर्खा भर्तीका लागि छनौट गर्ने मुख्य स्थलको रुपमा धरानलाई मुकाम बनायो । गोरखा भर्ती केन्द्र (ब्रिटिस क्याम्प) स्थापना भएपछि आधुनिक धरानको स्थापना भएको मानिन्छ । भर्ती केन्द्र स्थापना भएपछि धरानमा बेलायती उच्च अधिकारी र गोरखा सैनिकहरूको जमघट बढ्दै गयो । विदेशी संस्कार, सभ्यता र स्वभावहरूको प्रभावसँगै बेलायती पुँजीको लगानी तथा प्रयोगले आर्थिक विकास हुँदै गयो । धरान तथा आसपासका नेपाली युवाहरूलाई भर्ती गराई बेलायत सरकारको प्रयोजनका लागि अन्य विकसित देश लैजाने र केहीलाई धरानमै राख्ने प्रक्रियाले उनीहरूको कमाइले धरान नै सिञ्चित हुने अवसर पायो । २०१७ सालमा नगर पञ्चायत र ०१८ मा कोशी अञ्चलको सदरमुकाम नै तोकिएको थियो ।

धरान बन्नु अघिको ऐतिहासिकता

राणा शासकहरूले जङ्गल फँडानी गरेपछि काठ चिर्ने आरावालहरूले जताततै धरान बनाएका थिए । त्यसबेला काठचिर्ने आधुनिक मेसिन थिएनन् । धरान बनाएर तल र माथि दुईतिरका मानिसले आरा तान्ने र ठेल्ने गरेर काठ चिर्ने गरेका थिए । अचेल पनि कतिपय ठाउँमा यही प्रविधि अपनाएर काठ चिर्ने गरिएको छ । यो काठ चिर्ने धरान भन्ने शब्दबाटै आजको धरान सहरको नामकरण भएको भन्ने भनाइ छ । यो धरान शब्द र स्थान तयार हुनुभन्दा अघि भने अर्कै इतिहास रहेको छ । वि.सं. १८३१ साउन २२ गते अगाडि विजयपुर लिम्बुवान राज्यअन्तर्गत पथ्र्यो । बुद्धि कर्णराय खेबाङ विजयपुरका अन्तिम लिम्बु राजा हुन् ।

धरानको ऐतिहासिकता केलाउँदा यक्ष मल्ल (१४८५–१५३९) सम्म पुग्नुपर्ने देखिन्छ । कर्कप्याट्रिकले नेपालको इतिहास सम्बन्धी आफ्नो पुस्तकमा यक्ष मल्लले आफ्नो राज्य विजयपुर सम्म फैलाएको उल्लेख गरेका छन् । इतिहासकार इमानसिंह चेम्जोङले लेखेको किरातकालीन इतिहासमा विजयनारायण राय (१६४१–६६) ले विजयपुर राज्य बनाएको बताएका छन् । उनको पुस्तकअनुसार धरानमा विजयपुर बजार र पञ्चकन्याको जङ्गलका बीचमा नारायणपुर भन्ने ठाउँ छ । यसै ठाउँमा ती कोचे वा राजवंशी राजाहरूले आफ्नो राजधानी बनाएका थिए । आसामको इतिहास हेर्दा के बुझिन्छ भने कोचेहरू मेचे (बोडो) हरूका गोत्री हुन् । पूर्वी नेपालमा कोचे र मेचे नजिक नजिकै बस्छन् ।

ह्यामिल्टन (१८९९ सन्) ले लेखेका नेपालसम्बन्धी इतिहासअनुसार तिनै विजयनारायण रायले फेदाप थुमका राजा मुरेहाङलाई विजयपुरका चौतरिया (प्रधानमन्त्री) वा देवान बनाउने परम्परा थाले । फेदाप थुमका लिम्बु (याक्थुङहाङहरू)लाई ‘राय’ पदवी दिए । तर मुरेहाङले विजयनारायणकी छोरीलाई बलात्कार गरेका हुनाले राजा र प्रधानमन्त्री बीचमा फाटो भयो । हुन त त्यसबेला लिम्बु याक्थुङ समुदायमा केटीको मञ्जुरी बिना पनि बोकेर लगेर विवाह गर्ने ‘चोरी विवाह’ को चलन रहेकाले इतिहासकारहरूले त्यो काण्डलाई बलात्कार गरेको भनेर लेखेका हुनसक्छन् । विजयनारायण र मुरहाङ बीच फाटो भएको मौकामा पाल्पाका राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेन (१६६६–९८) ले विजयपुरलाई सेन राज्यमा गाभे । विजयपुर सेन राज्य भए पनि लोहाङ सेनले विजयनारायण र फेदाप थुमका याक्थुङहाङहरूसँग गरेको सम्झौता कायमै राखे ।

धरानको ऐतिहासिक पुरातात्विक स्थलको रुपमा रहेको दन्तकाली शक्तिपीठ र पिण्डेश्वर बाबाधाम तिनै सेन राजाहरूकै पालामा स्थापना भएका हुन् । भनिन्छ, विजयपुरमा रुद्राक्षको वन भएकाले त्यसै बेला नै ‘रुद्राक्षारण्य माहात्म्य’ लेखिएको थियो । रुद्राक्षारण्य महात्म्य भन्ने संस्कृतमा लोखिएको पुस्तक योगी नरहरिनाथले शालिग्राम पोखरेलका घरमा फेला पारेका हुन् । शालिग्राम पोखरेल धनकुटाका कुरुले तेनुपा बस्ने बरालका भानिज थिए । बरालहरू सेन राजाहरूका गुरु पुरोहित थिए ।

नेपाल राज्यमा गाभिनु अघि लिम्बु शासकहरूको राजधानीको रूपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको इतिहास खोतल्दा सतीदेवीको दन्त पतन भएकाले दन्तकाली मन्दिर स्थापना भएको मानिन्छ । तर, उक्त मन्दिर ५ सय वर्ष पहिले बङ्गालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेखहरूमा पाइन्छ । पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ ।

धरानको ऐतिहासिकतामा दन्तकाली मन्दिर र पिण्डेश्वर मन्दिरको बारे उल्लेख हुनु जरुरी छ । पिण्डेश्वर मन्दिर र दन्तकाली मन्दिर कहिले र कसले निर्माण गरेका हुन् भन्ने हालसम्म कतै खुलेको छैन । प्राध्यापक डा. टङ्क न्यौपाने भन्छन्, ‘पहिलेको धरान शहर भने पनि बजार भने पनि विजयपुर हो । त्यो आफैमा ऐतिहासिक स्थल हो । विजयपुर परिसरमा रहेको पिण्डेश्वर र दन्तकाली मन्दिर करिब दुई हजार वर्ष पुरानो मानिन्छ । बुढासुब्बा मन्दिर हजार वर्ष पुरानो मानिन्छ ।’

राजा रणबहादुर शाह र मुख्तियार भीमसेन थापाले पिण्डेश्वर मन्दिरमा चढाएको घण्टले पनि उक्त मन्दिरले पुरातात्विक महत्व राख्छ । त्यसैगरी शक्तिपीठ मानिएको दन्तकाली मन्दिरमा सेन राजाहरूले गोर्खाबाट पुजारी ल्याएको इतिहास रहेको डा. न्यौपानेले बताए ।

(नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा धरान उपमहानगपालिकाले प्रदान गरेको धरानको ऐतिहासिक विषयक खोज अनुसन्धानमुलक लेखनवृत्ति अन्तर्गत तयार गरिएको हो । स.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *