Friday, November 22, 2019
Home > प्रमुख > दियाना कृषि तथा पशु बिकास फार्म : निर्जन बन्दै गएको जन्मथलोलाई उर्बर बनाउँदै

दियाना कृषि तथा पशु बिकास फार्म : निर्जन बन्दै गएको जन्मथलोलाई उर्बर बनाउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश रबिन थापा “बगाले”

हतुवागढी, भोजपुर

हतुवागढी गाउँपालिकाको मुख्य केन्द्र घोडेटार बजार। बजारबाट बाहिरिने प्रमुख नाकाहरु मध्ये उत्तरी नाका, अर्थात साविकको होम्ताङ्ग गा. वि. स. तर्फ झर्ने मुल बाटो करिब पाँच शय मिटर तल पुगेपछी मुलबाटोबाट दाहिनेतिर एउटा गोरेटो बाटो भिरतिर हाम्फाल्दै ओरालो झर्छ। भिरालो पाखा र कान्ले बारिहरु छिचोल्दै दियानासम्म पुगेर थुरिन्छ।

आजभोली भने घोडेटार पाख्रीबास सडक खण्डको शान्ती आधारभुत बिद्यालय भन्दा करिव पाँच शय मिटर माथिबाट पुर्वपट्टि भाँचिएर एउटा कच्ची सडक तेर्सो लाग्छ, त्यहिँ सडक पच्छ्याउँदै करिव एक किलोमिटर जति पर पुगेपछी दियाना गाऊँ पुग्न सकिन्छ।

तल अलि सम्म परेको चारघरे गाउँको टेकोमा अडिए झैँ देखिने दियानाले अलि माथिको खाक्सिराङ्गलाई काँध थापे जस्तो देखिन्छ। पारिपट्टिको लुङ्थुङ्गबाट हेर्ने हो भने यिनै गाउँहरुको चौकोसमा अडिए झैँ लाग्छ घोडेटार। राईहरुको बाहुलुल्यता भएको चारघरे र खाक्सिराङ्गको बिचमा रहेको दियानामा कहाँबाट, कहिले र कसरी क्षेत्री सम्प्रदाय(थापा, खुलाल/बस्नेत) को बसोबास शुरु भयो भन्ने कुरा खोजिको छुट्टै पाटो बन्न सक्छ। तर समथर जमिनको अभावमा शारिरिक श्रम बढी गर्नुपर्ने र सुक्खाग्रस्त ठाउँ भएकोले आर्थिक उपार्जनका लागि परदेश लाग्नुपर्ने थिती पुरानै रहेको दियानालिहरु कुनै समय भारतको मेघालय पुगेर मनग्गे आम्दानी गर्ने गर्थे। अलि पछि रोजगारिका लागि तेस्रो मुलुक जाने लहर चल्यो, प्रत्येक घरका मानिसहरु जान थाले। त्यही बेलादेखी दियानाबाट बसाइ सराईको सुरुवात भयो। सन २००७/००८ बाट रोजगारिका लागि दक्षिण कोरियाको बाटो खुलेपछी भने कोरिया जाने लहर नै चलेको छ। जसले कुनै समयको घना बस्ति दियानालाई बिस्तारै निर्जन बनाउन थाल्यो। प्रायले शहर रोज्न थाले। घर, जग्गा तथा ब्यबशायिक हिसाबले सुबिधा सम्पन्न ठाउँतिर मानिसहरु लाग्न थाले पछि दियानाका घरहरु जिर्ण बन्न थाले, बारिहरु जंगलले ढाक्न थाल्यो। मानिसहरुको आवत जावत क्रमशः पातलिँदो भयो।

तर हिजो आज पुन दियानातिर ओहोरदोहोर गर्ने मानिसहरुको चाप बढ्दो छ। पैदल तथा दुख सुख यातायातको साधन प्रयोग गरेर दियाना पुग्ने मानिहरुको संख्या बढ्दो छ। स्थानिय जनप्रतिनिधी, सरकारी कार्यालयका कर्मचारी, संघ संस्थाका कर्मचारी, शिक्षक-बिद्यार्थिहरु अवलोकन भ्रमण भन्दै दियाना धाउन थालेका छन्। कारण हो “दियाना कृषि तथा पशु बिकास फर्म”...दियाना जन्मथलो भई अहिले विभिन्न स्थान र स्थितिमा रहेका युवाहरुको सकृयतामा बिगत दुई बर्षअघि यो फर्म संचालनको शुरुवात गरिएको थियो।

“अनुदान त दह्रो खाईदैछ नि?? गाउँका अलि बुझ्ने हरुबाट अलिकति अबिश्वास अलिलि संसय मिसिएर आउने प्रश्न हो यो? तर यस्ता प्रश्नहरुले पनि त्यस्तो साह्रो असर गर्दैन वहाँहरुलाई, मुसुक्क हासेर `अँ अनुदान खान त धेरै झन्झट पो रहेछ हौ´ वहाँहरुबाट फर्किने जवाफ हो यो प्रश्न कर्ताहरुलाई । करिब २ बर्ष भन्दा बढिको अनवरत खटाई पछि “दियाना कृषि तथा पशु बिकास फर्म” स्थापित हुन लागेको हो कि भन्ने अवस्थामा पुर्याउदा सम्म त्यस्ता कैयौं प्रश्न वहाँहरुलाई कहिले सामुन्ने मै र कहिले पछाडी बाट तेर्सी सकेका छन र ती सबै प्रश्नहरुको जवाफ वहाँहरुले कहिले मौखिक र कहिले कर्मले नै दिई सक्नु भएको छ । फार्म मै भेटिईनुभएका ईन्द्र थापालाई सबैभन्दा धेरै दोहोरिईरहने सवाल हो रे यो।

गाउँ घरमा चली आएको निर्बाह मुखी कृषि देख्नुभएको ईन्द्र थापालाई सानै देखि राजनीतिमा सौख थियो। तर राजनितिलाई दिगो बनाउन आफू उत्पादनसित जोडिनैपर्छ भन्ने लाग्ने गर्थ्यो। तर उत्पादनमा कसरी जोडिने? यो प्रश्न भने अनुत्तरित नै रह्यो। तर पनि उहाँलाई पशुपालन गर्न सम्भव हुन्छ कि भन्ने चाहिँ लागिरहेको रहेछ। सानैदेखिको राजनिती र राजनितिलाई उत्पादनसंग जोड्नुपर्ने परस्परमा फरक जस्तै लाग्ने सौख पूरा गर्न पापड पेल्न परेको कहानी कम लामो छैन वहाँको ।धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट बि एड सकेपछि ईन्द्र एकपटक भोजपुर जिल्लाकै पौवादुङ्गमाको सानो दुम्मामा राहत शिक्षक भएर पनि पुग्नु भएको हो । त्यस पछि समयले वहाँलाई दक्षिण कोरिया पुर्‍यायो। लगभग ६ बर्षको कोरिया कहर पछि वहाँ नेपाल फर्कनु भयो। नेपाल फर्किएर के गर्ने, के नगर्ने भन्ने दोधार मै केही समय बित्यो। राजनैतिक अस्थिरताले गञ्जागोल भएको समयमा जताततै युवाहरुमा समय प्रतिको बितृष्णा ब्याप्त भएको बखत एक्कासि परदेशबाट घर फर्किँदा अत्यास लाग्दो नि हुने रहेछ। यो ईन्द्रकै अनुभव हो। अब गाउँ मै केही गर्नैपर्छ भन्ने सोँचका साथ राजनिती संगसंगै पशुपालन त्यसमा पनि बाख्रा पालनलाई ब्यबशाय बनाउन सकिन्छ कि भन्ने हिसाबले केही छलफल र सानोतिनो काम शुरु भयो केही साथिहरुलाई बटुलेर।

फार्म सरसफाईमा ईन्द्र थापा

बाख्रा पाल्ने सजिलो तरिका (बिहान १० बजे फुकाएर चरनमा लाने बेलुका ५ बजे फर्काएर खोरमा थुन्ने) मात्रै देखेका मन मिल्दा केही युवाहरु र पशु प्राबिधिक बिच आधुनिक किसिमले बाख्रा पालन सम्बन्धी छलफल चल्यो । त्यस पछी शुरु भएको थियो बाख्रा पाल्ने कार्यको अनौपचारिक शुरुवात आज भन्दा दुई बर्ष अघि ।

बोयर प्रजातिको बाख्रा

इन्द्रलाई बाख्रा पाल्ने सोख त थियो तर निर्बाह मुखी कृषि पद्धतिमा जसरी बाख्रा पालिन्छ त्यो भन्दा बढी न कुनै आइडिया थियो न कुनै ज्ञान। त्यो ज्ञान न त वहाँले पढेको विद्यार्थी कालको पुस्तकमा थियो न कलेज लेभलको कोर्षमा नै। न त वहाँले अगाडि बढाएको राजनितीले तत्कालिन समयमा त्यो सीप दिने गर्थ्यो । तर जहाँ इच्छा त्यहाँ उपाय भने झै राजनितीले सिकाएको नेतृत्व गर्ने सीप भने इन्द्र थापाले भरपुर उपयोग गर्नु भयो । जसको कारण ईन्द्र जस्तै अढाई बर्ष सिङ्गापुर र ४ बर्ष अफगानिस्तान झेलेका ईन्द्रकै गाउँका झन्डै इन्द्रकै उमेरका सिताराम थापा संग ईन्द्रको कुरा भयो कुराले भेट खायो अनि परदेश कोरिया र अफगानिस्तानमा आँसु संग साटेको दुखको कहानीमा नेपालमै नेपालको पनि भोजपुरमै र भोजपुरको पनि बसाइँ सराईले उजाड हुन लागि सकेको आफ्नै जन्मभुमि दियानालाई नै हराभरा बनाउने अध्यायको शुरुवात भयो । यस पछि अन्य युवाहरुसंग अर्को चरणमा कुरा भयो अनि इलाका पशु सेवा केन्द्र घोडेटारका पशु-सेवा प्राबिधिक सुमनहरी खालिङ्ग संग पनि ।

उन्नत जातको जमुनापारी बाख्रा
स्थानिय खरी जातको बाख्रा

अहिले यो समूह दियाना कृषि तथा पशु बिकास फार्म को स्थापना गरि त्यहिं छाता ओढेर आफ्नो कार्यलाई अनबरत अगाडी बढाई रहेको छ । दियाना जन्मथलो भई विभिन्न ठाउँमा पुगेका जम्मा दस जना युवाहरुको संयुक्त लगानी र प्रयासमा संचालित यस फार्मको काम विभिन्न ठाउँको अध्ययन अवलोकन पछाडी केही आइडिया आफै बटुलेर केही प्राबिधिकको सल्लाह अनुसार अघि बढी रहेको छ । करिब एक किलोमीटर टाढाबाट पानी ल्याएर करिब ७० रोपनी जग्गामा वहाँहरुले बिकासे घाँस लगाउनु भएको छ । जसमा स्ट्राईलो, CO3 र CO4 नेपिएर, ईपिल ईपिल, सुम्बा सेटेरिया, मुलाटो, किम्बु, गिनि, मेन्दोला जस्ता घाँसहरु रोपिएको छ। बाख्राको खोर आधुनिक खालको बनाइएको छ । जसको माथी घाँस सुकाउने ठाउँ पनि छ । जग्गा कम्पाउण्ड गरिएको छ । समुहका साथिहरु कोहि परदेश मै भने कोहि परदेशबाट फर्किएर सरकारी सेवामा आबद्ध समेत भईसकेकोले अहिलेलाई फार्मको सम्पुर्ण जिम्मेवारी र नेतृत्व ईन्द्र थापा र सिताराम थापाले सम्हालिरहनुभएको छ।

CO3 प्रजातिको घाँस
किम्बु प्रजातिको घाँस
मेन्दोला प्रजातिको घाँस
रियो सेन्टी प्रजातिको घाँस (स्थानियले मकै घाँस पनि भन्दछन्)
बदाम प्रजातिको घाँस
सुम्बा सेटेरिया प्रजातिको घाँस

अफिस रुम र स्टोरको पनि ब्यबस्था गरिएको छ । फार्ममा बिजुली बत्ती पुर्याईएको छ । यसरी भोलि आम्दानी होस या नहोस आज लगानी गरौं भनेर शुरु गरिएको कार्यले सार्थक परिणाम दिन लागेको छ । स्थानिय खरी जात, उन्नत जमुना पारि र बोयर जातको गरेर करिब ५० वटा बाख्रा भइ सकेका छन । एकजनालाई पुर्ण रोजगारी समेत दिई रहनु भएका ईन्द्र थापा र सिताराम थापा हामी कृषि फार्ममा पुग्दा आफै पनि काममा खटिइ रहनुभएको पाइयो । अवलोकनको लागि टाढा बाट अवलोकन कर्ताहरु पनि आएको देखियो ।

CO4 प्रजातिको घाँस

यता कृषि कार्यको उपलब्धी संगै नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले इन्द्र थापालाइ हतुवागढी गाउँपालिका सङ्गठन कमिटीको सचिबको जिम्मेवारी समेत दिएको छ। यस अर्थमा पनि वहाँ उदाहरणिय नै हुनुहुन्छ इन्द्र थापाले भन्नू भयो “पार्टीका नेता कार्यकर्तालाई उत्पादन संग जोड्ने पार्टीको नीति नै हो, म त आफै बाट यो कार्य शुरु गरि सकेको छु” साच्चै अनुदान चाहिँ कति, अनि तपाईहरुको लगानी कति भन्ने प्रश्नमा जवाफ दिन सिताराम थापा अघि सर्नु भयो “जम्मा लगानी करिब ४० लाख पुग्यो होला त्यस मध्ये अनुदान पाएको होइन, पाउन लागेको चाहिँ हो। ठिक त्यही बेला गाउँ पालिकाको इन्जिनियरको टोलि वहाँहरुको फार्मको अवलोकन तथा नापजाँचमा थियो। उतै देखाउँदै वहाँले थप्नुभयो, “त्यही अनुदानको लागि वहाँहरु नाप जाचको लागि घोडेटारबाट झर्नुभएको छ। त्यो पनि पशु बिज्ञ केन्द्र तथा गाउँपालिकाको साझेदारीमा काम गर्ने गरि ६ लाख रुपैँया रे।अनुदान ल्याउने र झारा टार्ने पद्धति रहेछ। हामीलाई पनि त्यही नजरले नहेर्न हामी बिनम्र अनुरोध गर्दछौ हाम्रो उदेश्य अनुदान ल्याउँ र पचाउँ, हुँदै होइन । अनुदान आउँछ भने हामी पनि प्रयास गरौ भन्ने मात्र हो।” यति धेरै कुराकानी पछि हामी पनि आफ्नो गन्तव्य तर्फ बाटो लाग्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *