Wednesday, July 8, 2020
Home > कविता > कविता : गुमनाम ताराहरु

कविता : गुमनाम ताराहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजु स्याङ्तान

आज बिहानै फोन गरेर
आदिकवि जुठबहादुर दमैले भन्यो
कति सिउनु–आँशुको धागोले अर्काको मुलुक
अब सिउछु–उध्रेको आफ्नै देशको नक्सा
अनि पुरा गर्छु
कहिल्यै नसकिएको अभावको महाख्यान
साथी !
घर फर्कने टिकट पठाइदेउ न
..
गोलघरमा भेटिएको
महाकवि आइतेसिंह तामाङले भन्यो
च्याङ्बा !
सैलुङ र माभारको डाँडैडाँडा
रोप्नु थियो लुङ्दारका बिरुवाहरु
अनि लेख्नु थियो
स्वतन्त्रताको एउटा महाकाव्य
अब त मर्छु पो होला
यही झ्यालखानामा
सत्ते
गाइमारी खाको हैन
गाई मार्‍यो (मर्‍यो) खायो
..
तोक्माको चुच्चोले
तमोर नदीको किनारमा कविता लेखिहिड्ने
कविशिरोमणी बीरबहादुर लिम्बु
अचानक गएछ उँट चराउन
उसले भनेको थियो
लुङ्गा !
अरुणपारीको डाँडापाखामा
रोप्नुछ सुनाखरीका बिरुवाहरु
मुस्कुराएपछि सुनाखरी
त्यही फूलकाे पत्रमा लेखेर पुरा गर्नुछ
अधुरो राष्ट्रियगान

सप्तरंगी झन्डा बोकी आउनेलाई
पिठ्यूँमा बोकी नदी तारिदिने
स्वरसम्राट पदमबहादुर माझीको
त्यही झन्डा बोक्नेले काटिदिएछ जिब्रो
उसले भनेको थियो
एकदिन सगरमाथाको टुप्पोमा गई
सुनाउछु सबै सबैलाई
आजादीको नयाँ गीत
..
कर्नाली पारीको छाउपडि गोठबाट
बेपत्ता भएकी स्वरसाम्राज्ञी लक्ष्मी बुढा
अचानक मृत फेला परिन्
समुन्द्र किनारमा
उनले भनेकी थिइन्
यो हिउँदमा पठेङ्ग्रीले पाठो पाइ भने
रिडियो नेपालमा गीत गाउन आउछु
..
देशको नामै नभएको नागरिकता सहित
कालापानीमा मारियो
राष्ट्रकवि नथ्थुराम चमार
उसले अदालत बाहिर भनेको थियो
अब जीवन भन्दा गह्रौं एउटा कविता लेख्छु
अनि प्रमाणित गरि देखाउँछु
को हो यो देशको असली नागरिक
..
यसरी
बिलाइ रहेछन् यो धर्तिका कयौं ताराहरु
अस्ताइरहेछन् यो धर्तीका कयौं जूनहरु
को हो यो
किताबको पानामा सदाबहार बाँचिरहने मान्छे ?
अनि कस्को हो यो
इतिहासको मूलसडकमा
बाटो छेकि बसेको शालिक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *