Home > कथा > कथा : परदेशमा दुखेको देश

कथा : परदेशमा दुखेको देश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-दिलिप बान्तावा

मध्य जुलाई भए पनि रातभरको वर्षाको कारण बिहान अलि चिसो महसुस भइरहेको थियो।

छ बजे ट्रेन आइपुग्ने बुसान स्टेसनमा म १० मिनेट समय बाँकी रहँदै पुगेको थिएँ। स्टेसनको वेटिङ्ग हटमा चुरोटको तल्तल लागे नि ‘स्मोकिङ्ग जोन’ नदेखेर चुरोट सल्काउन आँट आएन र कफी मै चुरोटको तिर्सना मेट्दै थिएँ।
एकैछिनमा गहुँगोरो वर्णको एक युवा सानो लगेज गुडाउँदै आएर नजिकै बस्यो। दुवै कानमा ठुसिएका इयरफोनको तार घाँटी हुँदै ज्याकेटभित्र लुकेको थियो।
ठीक छ बजेको घोषणासँगै इन्चोन जाने केटिएक्स आइपुग्यो। एकाबिहानै भएकोले खास मान्छेहरुको चहलपहल थिएन, अलि कम मान्छे भएको ढोका छानेर छिरेँ, मेरो पछिपछि उही गहुँगोरो युवा पनि आइपुग्यो। एउटै लहरको सिटमा बस्यो उ पनि। एडिडास क्याप र रेबनको गग्सले त्यति राम्ररी अनुहार नदेखिएको ऊ आफ्नै सुरमा थियो।
म भने ब्यागबाट आइफोन निकालेर नेपाली न्युज पोर्टलहरुमा नेपालको बाढी, पहिरो, डुबानको पछिल्लो अपडेट हेर्दै थिएँ। केही समयपछि उसले नि मेरो हातमा खुलेको ब्राउजर देख्यो सायद र आश्चर्य जनाउदै सोध्यो, ‘ओहो दाजु नि नेपाली पो हो? म त अघिदेखी चाइनिज भन्ठानेको।’
यति भन्दै गर्दा उसको गग्स हातमा घुमिरहेको थियो। ‘मैले पनि त तिमीलाई फिलिपिनी या कम्बोडियन सम्झेको,’ मैले भनेँ।
परिचय भयो, उसको नाम सकिल अहमद, घर सप्तरी।
‘दाजु म दुई वर्षअगाडि आएको, बहुत दुख गरेर। एक वर्षसम्म साहुको ऋण तिरेँ अनि पछिल्लो वर्षको कमाइले गाउँमै सानो घर बनाएथेँ। श्रीमतीले त भन्दै थिइ, अलिकति थपेर बजारमा बनाउँ भनेर तर आफ्नै गाउँमा बसेर केही गर्नुपर्छ भन्ने लाग्यो,’ उसले विषादपूर्ण स्वरमा भन्यो, ‘बाढीले मेरी पाँच वर्षकी छोरीसँगै घर आधा काटेर बगाइदियो रे दाजु। त्यसैले साहुसँग दुई दिन रोएपछि बल्ल बिदा दियो र एक महिनाको लागि घर जान लागेको।’
उसका आँखा भरिइसकेका थिए, टिस्यु पेपरले पुछ्यो। आधा रातमा आएको बाढीले एक छोरा र एक छोरीसँगै सुतेकी श्रीमतीले काखको छोरो च्यापेर छोरीलाई हातमा समातेर भाग्दै गर्दा हातबाटै छोरीलाई चुँडेर लगेछ र केही छिनमा घरको आधा भाग पनि।
यस्तै कुरामा ३ घण्टाको ट्रेन यात्रा इन्चोनमा टुङ्गियो। ऊ इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्यो, म भने गर्मी विदा मनाउन साथिहरुको तिर हिँडेको थिएँ, मन गर्‍हुङ्गो बनाउँदै छुट्यौँ।
दुई दिनपछि म फेरि फर्किदै थिएँ इन्चोनबाट। एक्लै भएकोले न्युज पोर्टलहरु हेर्दै थिएँ। एउटा दुर्घटनाको खबरमा आँखा ठोक्कियो। काठमाडौबाट काँकड्भिट्टा जाँदै गरेको बस वर्षाको कारण चिप्लिएर त्रिशुलीमा खसेछ। सनाखत भएका मृतकहरुको लिस्टमा सकिल अहमद सप्तरी पनि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *