Home > कथा > कथा : रहस्य

कथा : रहस्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिनीता छेत्री

मई महिनाको मध्यदिन अनि सिलगढीको गर्मी! उफ्फ, सहि नसक्नु!

मनमनै सोच्दै दार्जिलिङबाट भर्खरै सिलगढी पुगेको सन्दिप फटाफट प्यासेन्जर झारेर नजिकैको एउटा होटलमा पस्छ।

“लु गुरुजी के खान्छस,भन्। आज त फाक्सा लाङ्सा दुवै छ।” – होटलको मालिक र उसको साथी महेन्द्रले भन्छ।

“अहिले खान्नँ। भर्खर रोहिणीमा मोमो खाएर झरेको। नुहाएर एक निन्द्रा सुत्छु। अहिले हिँड्ने बेलामा खान्छु। राखिदे।”
– सिँडीबाट तलामाथि चढदै भन्यो उसले ।

“ला ई, चाबी नलगी कहाँ गाको?” – महेन्द्रले फुत्त फालिदिएको चाबी दुवै हातले च्याप पक्रियो उसले।

सन्दिप र महेन्द्रको भेट पहिलोचोटि बेङ्लोरमा भएको थियो। दुवै एकै रेस्टुरेन्टमा तीन बर्ष वेटर काम गरेपछि अलिअलि कमाएको पैसाले घर फर्केर केही गर्ने सल्लाहअनुसार दुवैले बेङ्लोर छोडेर सन्दिपले गाडी किनेर दार्जिलिङदेखि सिलगढी खेप्न थाल्यो। महेन्द्रले पहिले नै सिलगढीमा बाबुचाहिँले किनिराखेको जमिनमा दुईतले बिल्डिङ बनाएर तलामुनि रेस्टुरेन्ट अनि तलामाथि चार कोठा निकालेर दुइटामा आफू बस्ने दुईटाचाहिँ गेस्ट राख्ने बनायो। तर उसले नचिनेकाहरुलाई दिँदैन थियो। चिनाजना कोही अभर परेका अनि साथीहरुलाईचाहिँ सस्तै दाममा बस्न दिन्थ्यो।

सन्दिप उसको होटलमा दिनहुँ नै जान्थ्यो। ढिलो भए त्यहीँ बास बस्थ्यो।महेन्द्रले कति मनाही गर्दा पनि फोकटमा कहिले बसेन र कहिले खाएन पनि सन्दिपले।
“थाप साथी तैंले पनि दुख गरेर बनाएको होटल हो यो। नानीहरु पढ्दैछ। तिनीहरुलाई दिएको सम्झेर राख।” – भनेर जहिल्यै महेन्द्रको टेबलमा पैसा राखिदिएर निस्कन्थ्यो ऊ।

“दुई बजीतिर सुतेको मान्छे एकैचोटी छ बजि उठिस्। अहिले नअत्ताली न।” – भर्खर उठेर – “ल्हा टाइम त निक्कै गएछ। उज्यालोमै घर पुग्छु सोचेको आज। भएन।” – भन्दै अतालिन्दै गरेको सन्दिपलाई भन्छ महेन्द्र।
दुवै हाँस्छ्न।

“खाना खाइहाल्। के खान्छस? फाक्सा कि लाङ्सा?” – महेन्द्र।

“खै फाक्सै खाउँ होलाउ। खै भाउजू र नानीहरु चाहिँ ?” – सोध्छ सन्दिप।

“पर चम्पासरी गा’क छ। उसको भदैको बर्थडे रे।” – संदिपलाई भात पस्किदिँदै भन्यो महेन्द्रले।

“कि बस आज। एतिबेला के जान्छ्स् उकालो? भोलि सिद्दै पेसेन्जर लिएर जा।” – महेन्द्रले भन्यो।

“हैत हुँदैन नि। भोलि त रिजर्भ छ। बिहान पाँच बजी टुरिष्टलाई टाइगर हिल पुराएर पुरै सेभेन पोइन्ट घुमाउनु पर्छ।” – खपाखप भात खाँदै भन्यो सन्दिपले।

एकछिनपछि खाना खाइवरी बिदा मागेर गाडी लिई दार्जिलिङतिर लाग्छ सन्दिप।
सुकुना पुरै जाम छ।

“के भएछ हौ भाइ अगाडी”?
– खिड्कीबाट फुत्त टाउको निकालेर अगाडिको ड्राइभरलाई सोध्छ।

“आँ….दा! बोलेरोले बाइकलाई दिएछ नि ड्याम्मै। खै मान्छे मारेछ, खै बि एच नम्बरको गाडी रहेछ। दुईजना थियो हरे बाइकमा केटा केटि । एकजना मरेछ एकजनालाई चाहिँ अलिक चोट मात्र लागेको छ रे!” – अगाडिको ड्राइभरले भन्यो।

“ल्हा हौ! कतिबेला भाइ?” – फेरि सोध्यो।

“आँ…दा! दुईतीन घन्टा त भयो हरे नि। खै के हो हो, झमेलाम् भएछ। मान्छेहरुको भीडले जाम गरेको होला। आँ…. यहिँ रात पर्ने रैछ नि दा, टुरिष्ट गाडीमै निदाउनु आटिसक्यो मेरो त।” – अलिक झिँजो मान्दै जवाब दियो उसले।

जाम खुल्दा नखुल्दै झमक्क साँझ पर्यो। निकै परसम्म बिस्तारै कुदिरहेका गाडीहरू उकालो भेट्नेबित्तिकै स्पिड पक्रन थाल्छन्।

गाडीमा मज्जाले गित बजाउँदै आउँदै गरेको सन्दिपले शनि मन्दिर काटेर अलि अगाडि आइपुग्दा डिलपटि केही देख्छ। पहिले त अँध्यारोमा त्यति ठिम्याउन सक्दैन। छेउमा आइपुग्दा लामो केश छोडेको र लामै हल्का गुलाबीजस्तै देखिने गाउन लाएकी बाहिरबाट सेतो स्वेटर अनि एउटा लामो कालो तर सानो ब्याग बोकेकी केटी हातको ईशाराले गाडी रोक्छे।
“कहाँ जानुहुने?” – सोध्दा नसोध्दै सेकेन्ड सिटमा बस्छे।
“एति राती कहाँ जानुभाको? त्यैइ पनि यस्तो जिउमा?”
केटीले कुनै जवाब नफर्काउँदा उसलाई अप्ठ्यारो लाग्यो होला भनेर फेरि प्रश्न दोहोराउँदैन। तर छेउमा आइपुग्दा दुई जिउ भएको देख्दा कोहि अभर परेछ सोचेर उसले गाडी रोकिदिएको थियो।

“घर कहाँ हो तपाईंको?”
लुकिङ ग्लासमा हेरेर सोध्छ उसले। केटी अलिक छलिन्छिन। अब ऊ आफैलाई अप्ठ्यारो लाग्छ।

“कहाँ उत्रिनु हुन्छ?”
“अलिक पर।” यति मात्र भनेर फेरि केटी चुप लाग्छे।
पछाडीबाट सुँकसँक गर्दै हल्का रोएको अवाज सुनेर गितको भोल्युम अलिक घटायो उसले।तर केही सोध्ने भने आँटै गरेन।

“बस, यहीँ सम्म।” -सोनादा काटेर अलिक घरहरु पात्लिन्दै गर्दा केटीले भनी। उसले गाडी रोकिदियो।
कता गयो होला रातीहुँदो छोरी मान्छे? यस्तो जिउमा यसरी एक्लै हिँड्दा अभर पो पर्ने हो कि उ सोचाइमा पर्छ। फर्केर हेर्दा निक्कै पछाडीको सिँडीबाट अलिक मुन्तिर दुई-चारवटा ससाना घरहरु भए तर्फ त्यो केटी जाँदैगरेको देखेपछि उसलाई ढुक्क भयो।

एकछिन लामो सास फेरेर गाडी अघि बडाउनै लागेको थियो उसले देख्यो – ओह्हो! अघि त्यस केटीले बोकेको कालो ब्याग त उसको सेकेन्ड सिटमै पो रहेछ।

गाडी मज्जाले लक गरेर, हातमा ब्याग झुन्डाएर अघि केटी गएकोपट्ट लाग्यो ऊ।
अघि सडकबाट चार-पाँचवटा मात्रै देखेको घर तल पुग्दा निक्कै बाक्लै गाउँजस्तै लाग्यो उसलाई। अब कहाँ खोज्ने त्यो केटीलाई ।

एक ठाउँ थुप्रै मान्छेहरु भेला भएको देखेर केटीबारे सोधिखोजी गर्न जान्छ ऊ। आँगनमा कुनै चिजलाई मान्छेहरुले घेरिराखेका रहेछन्।उसलाई पनि के रहेछ भनेर हेरौँ हेरौँ लागेर भीडलाई हटाउँदै अघि जान्छ। भुइँमा एउटा लास लडिराखेको देखेपछि उ ठिम्याएर हेर्न थाल्छ। लामो केश, गोरो अनुहार मात्र देखिने गरेर जम्मै शरीर सेतो लुगाले ढाकिएको थियो।शरिरको बिच भाग अर्थात पेट अलिक चुचो देखिन्थ्यो। लासलाई छोडेर उसको ध्यान अलिक पर भुइँमा नै लडेर हातमा कालो सानो ब्याग च्यापेर – “मेरो छोरी! के भयो नि यस्तो? हे भगवान!” -भन्दै रुँदैगरेकी एउटी अधबैँसे आईमाईपट्टि जान्छ। उसले हतार हतार आफ्नो हातमा झुन्डिएर ल्याएको ब्याग हेर्छ। केही पक्रेकोजस्तै गरेर उसले मुठी कसिलो गरि बाँधेको छ तर हात भने खाली रहेछ।

“मैले त बाइक बिस्तारै चलाउँदै थिएँ नि। अचानक त्यो गाडी अगाडिबाट आएर ड्याम्म दियो। एकछिन त आँखाअघि अँध्यारो भयो केही थाह पाइनँ। भरै अलिक पर मेरो बुडी खुनसरि भएर लडेको देख्दा मात्रै झसङ्ग भएँ।मेरो बुडी, मेरो नानी, मैले एक्कैचोटी गुमाउनु पर्यो कति अभागी म……..”

उसको छेउमा एकपट्टिको हातमा प्लास्टर लाएर, सेतो डोरीले घिच्रोपट्टिबाट बाँधेर झुन्डिएको, अलिक च्यातिएको जिन्सप्यान्ट र हल्का ग्रे कलरको बीचबीचमा खुनको धब्बा लागेको भेस्ट लागाएको पच्चीस तीसको देखिने केटा रोइरहेको थियो।

-दार्जिलिङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: