Wednesday, July 8, 2020
Home > राष्ट्रिय समाचार > नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले पोलिट्ब्यूरो भंग गर्‍यो : यी हुन् सम्भावित ५ कारणहरु

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले पोलिट्ब्यूरो भंग गर्‍यो : यी हुन् सम्भावित ५ कारणहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको सो पार्टी निकट स्रोतले पुष्टि गरेको छ।

स्रोतका अनुसार पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरी सचिवालय गठन गरिएको छ।

“अब पाँच सदस्यीय सचिवालय उहाँ (नेत्रविक्रम चन्द ‘विप्लव’) कै नेतृत्वमा हुनेछ,” स्रोतले भन्यो।

ती स्रोतका अनुसार १७ जना केन्द्रीय सदस्यलाई उनीहरूको जिम्मेवारीबाट हटाइएको छ।

नेकपाका उपत्यका ब्यूरो इन्चार्जसहित केही केन्द्रीय नेताहरू पक्राउ परिसकेको पृष्ठभूमिमा सो दलको यो निर्णय सार्वजनिक भएको हो।

पार्टीभित्र ‘शुद्धीकरण’ गर्न नेकपाले पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको सञ्चारमाध्यमहरूमा सार्वजनिक विवरणमा उल्लेख छ।

हटाइएका कतिपय नेतामाथि पार्टीविरुद्ध ‘सुराकी’ गरेको आरोप समेत लगाइएको छ।

पक्राउ शृङ्खला

प्रहरीले यसै महिनाको पहिलो हप्तातिर नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई काठमाण्डूको गोठाटारबाट पक्राउ गरेको थियो। उनी नेकपाका केन्द्रीय सदस्य पनि थिए।

उनीमाथि चलाइएका मुद्दामध्ये ललितपुरको नख्खुमा गराइएको बम विस्फोनटको आरोप समेत समाबेश छ।

लामा पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डू क्षेत्र नं. ९ बाट उम्मेद्धार थिए र नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए।

सरकारले चन्द नेतृत्वको नेकपाका ‘हिंसात्मक गतिविधि’ माथि प्रतिबन्ध लगाए यता प्रहरीले उसका ठूला नेतालाई पक्राउ गर्ने रणनीति लिएको देखिन्छ।

यसअघि नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका थिए। त्यसभन्दा पहिले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पटक पटक पक्राउ पर्दै अदालतको आदेशमा छुटेका थिए।

राजनीतिशास्त्री तथा सुरक्षा मामिलाका जानकारले चन्द नेतृत्वको नेकपाले पोलिटब्यूरो तथा स्थायी समिति भङ्ग गर्नु र केही केन्द्रीय सदस्यहरूलाई हटाउनुका अनेक कारण हुन सक्ने औँल्याएका छन्।

राजनीतिशास्त्री तथा सुरक्षा मामिलाका जानकारहरूका अनुसार पाँचवटा प्रमुख सम्भावित कारण यस्ता छन्:

१. नयाँ रणनीति कार्यान्वयन गर्न

पूर्व गृहसचिव श्रीकान्त रेग्मीका अनुसार चन्दले नेकपाको नयाँ रणनीति कार्यान्वयन गर्न सहज होस् भनेर पछिल्लो कदम चालेको हुन सक्छ।

उहाँको तर्क छ, “सार्वजनिक भइनसकेको रणनीतिलाई कार्यान्वयन गर्न उपयुक्त खालको जनशक्ति भएन। त्यसैले विश्वासिला मान्छे सहितको सङ्गठन बनाउनुपर्छ र पार्टी सम्पूर्ण रूपमा मेरो पकडमै छ भन्ने सन्देश पनि दिनुपर्छ भन्ने मनसाय यो कदममा अन्तरनिहित छ।”

२. पार्टीलाई पुनर्सङ्गठित गर्न

जानकारहरूका अनुसार नेकपालाई नयाँ ढङ्गले अघि बढाउनका निम्ति चन्दले पुनर्गठनको रणनीति लिएका हुन सक्छन्।

“बदलिँदो परिस्थितिमा पार्टीलाई पुनर्सङ्गठित गर्नुपर्ने आवश्यकता महसुस गरेर सचिवालय गठन र भोलिका दिनमा कुनै न कुनै हिसाबले विश्वास गर्न नसके कै कारणले केही केन्द्रीय सदस्यलाई हटाएको हुनुपर्छ,” रेग्मीले थप्नुभयो।

३. वार्तासम्बन्धी रणनीति

सरकारले वार्ता मार्फत्‌ नै समस्याको समाधान गर्न चाहेको बताउँदै आएको छ। वार्ताका लागि उच्चस्तरीय वार्ता टोली पनि गठन गरिएको छ।

उक्त पृष्ठभूमिमा आफूले गरेको निर्णय कार्यान्वयन गर्न सजिलो होस् भनेर पनि चन्दले पछिल्लो रणनीति लिएको हुन सक्ने रेग्मीको ठम्याइ छ।

प्राध्यापक कृष्ण पोखरेल भन्नुहुन्छ, “अहिले वार्ताको कुरा पनि चलिरहेको छ। त्यो अगाडि बढ्ने हो भने आफ्नै पकडमा सबै रहोस् भन्ने सोचाइ पनि हुन सक्छ।”

४. पलायन रोक्न

पछिल्लो समय चन्द नेतृत्वको नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टी परित्याग गरेर मूलधारको राजनीतिक दलमा प्रवेश गरेको विवरण आउने गरेका छन्।

त्यसमा प्राध्यापक पोखरेलको तर्क छ, “कतिपय नेता, कार्यकर्ता पार्टी छाडेर मूल धारमा गएको देखिए पछि त्यो प्रवृत्ति अझ मौलाउँदै गयो भने ठूलो नोक्सान हुन्छ भन्ने पनि लागेको हुन सक्छ।”

५. रणनीति चुहिन नदिन

जानकारहरूका अनुसार खासगरी सङ्घर्षमा रहेका पार्टीहरू आफ्ना रणनीति, कार्यनीति नचुहियोस् भन्ने चाहन्छन्।

पूर्वगृहसचिव रेग्मीका अनुसार, “विगतमा भूमिगत भनिए पनि कतिपय नेता सार्वजनिक रूपमा प्रस्तुत हुँदा रणनीति, कार्यनीति चुहिएकोले दुस्मन शक्तिले प्रतिरणनीति तयार गरेर आफ्नो शक्तिलाई क्षीण बनाउन सक्ने भयो भन्ने लागेको हुन सक्छ।”

रेग्मीको विचारमा चन्द नेतृत्वको नेकपा आफ्नो शक्तिलाई सुदृढ बनाएर अझै विध्वंसात्मक गतिविधि बढाउने शक्ति बढाउने रणनीतिमा हुन सक्छ।

चन्द नेतृत्वको नेकपा के हो

विसं २०६९ को असारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी पनि ‘क्रान्तिकारी हुन नसकेको’ भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दललाई सर्वसाधारणहरू चन्दको उपनाम जोडेर ‘विप्लव माओवादी’ भन्ने गर्छन्।

कुनै पनि निर्वाचनमा सहभागी नभएको उसले आफूलाई मूलधारको माओवादी पार्टी भन्ने गर्दछ।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र बलपूर्वक चन्दा सङ्कलन गर्दै आएको छ।

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो समेत गरिरहेका छन्। त्यहाँ सो दलले ‘जनसरकार’ घोषणा पनि गरेको बताईन्छ।

‘निर्णायक क्रान्ति’ गर्ने भन्दै सरकारी पक्षसँग वार्ता गर्न नमानेको चन्द नेतृत्वको दलको सरकारी पक्षसँग वार्ता हुन लागेको चर्चा चलिरहेको छ।

सरकारले पनि वार्ता हुन सक्ने तर त्यसका लागि सो समूहले हिंसा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने बताएको छ।

हिंसाको शृङ्खला

गत जेठ महिनामा काठमाण्डूका विभिन्न स्थानमा भएका विस्फोटनमा चन्द नेतृत्वको नेकपका चार कार्यकर्ताको मृत्यु भएको थियो।

मंसिर २०७४: निर्वाचनका बेला दाङको तुलसीपुरमा भएको बम विस्फोटमा म्यादी प्रहरीको ज्यान गएको थियो। उक्त घटनामा चन्दको दलकै हात रहेको अधिकारीहरूले बताएका थिए।

फागुन २०७५ : चन्द समूहले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित कार्यालयअगाडि गराइएको विस्फोटनमा एक सर्वसाधारणको मृत्यु

जेठ २०७६: काठमाण्डूको घट्टेकुलो र सुकेधारामा सिलिन्डर बम विस्फोटन हुँदा चन्द समूहका चार जनाको मृत्यु

जेठ २०७६: दोहोरो भिडन्तका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते सो दलका एक कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रशासनको भनाइ, तर गिरफ्तार गरी हत्या गरिएको नेकपाको आरोप

असार २०७६: भोजपुरमा भएको एउटा घटनामा चन्द समूहका एक कार्यकर्ता र एक प्रहरीको मृत्यु

असार २०७६: सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी कारबाहीमा मृत्यु। दोहोरो भिडन्त भएको प्रहरी दाबी, नियन्त्रणमा लिएपछि हत्या गरिएको परिवारको भनाइ

साउन २०७६: धनगढीमा आफैँले बोकेको विस्फोटक पदार्थ पड्किएर चन्द समूहका एक कार्यकर्ताको मृत्यु। उनका साथीसहित अरू तीन जना घाइते

(बिबिसी नेपाली बिबरणहरुमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *