Wednesday, July 8, 2020
Home > बिचार > हतुवागढी दरबार : चासो र आवश्यकता

हतुवागढी दरबार : चासो र आवश्यकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेमकुमार राई
अध्यक्ष, हतुवागढी गाउँपालिका भोजपुर

नेपाली सेना एउटा विशिष्ट अवस्थामा हाम्रो भुगोलमा आएर बसेको हो। विकासका पुर्वाधारहरु मध्ये सेनाको उपस्थिती पनि महत्वपुर्ण सुचक हो भन्ने लाग्छ। त्यसैले सेनालाई हाम्रो भुगोलबाट बिस्थापन गर्ने भन्दा पनि ब्यबस्थापन गर्नुपर्छ भन्ने हो। र अर्को तिर हतुवा दरबारको भग्नावशेष अहिलेकै रुपमा सिमित राखिनुहुन्न भन्ने कुरा पनि प्रमुख हो। त्यसको ऐतिहासिकताको उत्खनन् गरेर, मौलिकताको संरक्षण गर्दै ईतिहास अध्येताहरुका लागि एउटा महत्वपुर्ण सन्दर्भ गन्तव्य तथा सबैका लागि पर्यटकिय आकर्षणका रुपमा बिकास गरिनुपर्छ जसले यो ठाउँको कला, संस्कृती, ऐतिहासिकता तथा प्राकृतिक सौन्दर्यहरु प्रतिबिम्बित गर्न सकोस्।


लामो समयको सशस्त्र द्वन्द्वपछिको राजनैतिक संक्रमण त्यसपछि उत्पन्न विभिन्न राजनैतिक तथा सामाजिक आयामहरुको ब्यबस्थापन गर्दै नेपालको राजनैतिक नेतृत्वले संविधान सभाको निर्वाचन २०७० पछि ठोस कार्यदिशा समात्यो। वि. सं. २०७२ सालमा पहिलो चोटि जन निर्वाचित संविधान सभाबाट संविधानको घोषणा हुनु नेपाली राजनैतिक ईतिहासमा युगिन मोड थियो। सोही संविधान अनुसार नेपाल औपचारिक रुपमा संघियतामा प्रबेश गर्‍यो। राज्यका तीन वटा तहहरु निर्धारित गरिए। संघ, प्रदेश र स्थानिय तह। २०७४ सालमा तीन वटै तहका निर्वाचनहरु गरिए। जुन निर्वाचनबाट बिगत बीस बर्षदेखी जनप्रतिनिधी बिहिन रहेका स्थानिय तहहरु ब्युँझिए। नागरिक र राज्यबिचको दुरि घट्यो। नागरिकको घर आँगन मै राज्यको उपस्थिती हुने भयो।

यी संग संगै अन्य बिबिध पाटाहरु अझै अस्तब्यस्त नै रहे/रहिरहेका छन्। नेपाली समाज बहुसाँस्कृतीक, बहुभाषिक, बहुजातिय तथा बहुधार्मिक चरित्रको छ। नेतृत्वले समाजका यी “बहु” हरुलाई संरक्षण र प्रबर्द्धन गर्न सके समाजका लागि महत्वपुर्ण सामर्थ्य बन्न सक्छन।तर यदि कुशल ब्यबस्थापन गर्न नसके समाजलाई नै तहसनहस बनाईदिन सक्छन्। त्यसैले समाजका यी बहुचरित्रहरुलाई सुबिचारिक ढंगले सबैलाई अपनत्वबोध हुनेगरी संरक्षण र परिचालन गर्नुपर्दछ।

राजा महेन्द्रकालिन प्रशासनिक ब्यबस्थामा सगरमाथा अञ्चल तथा पछि कोशी अञ्चल र अहिलेको संघिय संरचना अनुसार प्रदेश नम्बर एकमा रहेको भोजपुर जिल्ला ६३ वटा स्थानिय निकाय(गा.वि.स.) बाट अहिले नौ वटा स्थानिय तह(गाउँ पालिका) मा परिणत भएको छ।

नेपालको ईतिहासमा किरात शासनकालको व्याख्या गरिएको छ जुन ब्याख्याले तत्कालिन काठमाडौ उपत्यकालाई मात्रै समेट्दछ। तर उपत्यका बाहिर किरात शासन अठारौँ शताब्दिको अन्त्यसम्म पनि कायम थियो जसलाई वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भनिन्थ्यो। माझ किराँतको केन्द्रका रुपमा तत्कालिन हतुवा राज्य पर्दथ्यो भन्ने ईतिहास भेटिन्छ। हतुवा राज्यको ऐतिहासिक दरवार भग्नावशेषका रुपमा निक्कै लामो समयसम्म त्यतिकै बेपर्वाह बसिरह्यो घोडेटार बजारमाथिको गढी डाँडामा।

२०४६ सालको राजनैतिक परिबर्तन पश्चात् नागरिकहरुमा आएको जागरण तथा तत्कालिन समयमा उठेका विभिन्न बहसहरुको बिचमा एक पटक ऐतिहासिक हतुवा दरबारको सम्झना गरियो, र वि.सं. २०५२ सालताका दरबारको तत्कालिन स्वरुपमै देखिने गरि आठ कुना भएको जग राखेर लगभग डेढ फिट जतिको अग्लो पर्खाल निर्माण गरियो, जुन स्वरुप आज पनि देख्न सकिन्छ

बि.सं. २०५२ साल ताका पुनर्निर्माण गरिएको हतुवा दरवारको भग्नावशेष

लामो समय देश सशस्त्र बिद्रोहको चेपबाट गुज्रीयो। द्वन्द्वको उत्तरार्द्धतिर राज्यले तत्कालिन युनिफाईड कमाण्डको अस्थायी बेसका रुपमा गढिलाई प्रयोग गर्‍यो, जुन अद्यापी कायम छ। तत्कालिन समयमा पनि `गढिलाई त्यसरी प्रयिग गर्न दिईनुहुन्न, यो त किरात सभ्यतामाथिको थिचोमिचो हो´ भन्ने मत समेत आएका थिए भने पछिल्लो समय विभिन्न कोणबाट तर्कहरु आईरहन्छन बेलाबेलामा। सेनाको क्याम्पको जरुरत छ वा छैन भन्ने एउटा तर्क छ भने सेनालाई त्यही ठाउँमा राख्नुपर्छ, त्यो भग्नावशेष सेनाकै संरक्षणमा भईहाल्छ भन्ने मत पनि देखिन्छ भने अर्कातिर सेनालाई तुरुन्त हटाएर त्यो ठाउँलाई संरक्षण गर्नुपर्छ भन्ने तर्क पनि देखिन्छ। तर नेपाली सेना एउटा विशिष्ट अवस्थामा हाम्रो भुगोलमा आएर बसेको हो।

विकासका पुर्वाधारहरु मध्ये सेनाको उपस्थिती पनि महत्वपुर्ण सुचक हो भन्ने लाग्छ। त्यसैले सेनालाई हाम्रो भुगोलबाट बिस्थापन गर्ने भन्दा पनि ब्यबस्थापन गर्नुपर्छ भन्ने हो। र अर्को तिर हतुवागढी दरबारको भग्नावशेष अहिलेकै रुपमा सिमित राखिनुहुन्न भन्ने कुरा पनि प्रमुख हो। त्यसको ऐतिहासिकताको उत्खनन् गरेर, मौलिकताको संरक्षण गर्दै ईतिहास अध्येताहरुका लागि एउटा महत्वपुर्ण सन्दर्भ गन्तव्य तथा सबैका लागि पर्यटकिय आकर्षणका रुपमा बिकास गरिनुपर्छ जसले यो ठाउँको कला, संस्कृती, ऐतिहासिकता तथा प्राकृतिक सौन्दर्यहरु प्रतिबिम्बित गर्न सकोस्। त्यसैले हाम्रो लागि अति महत्वपुर्ण यी दुबै चिजहरुलाई हामिले बिबेकपुर्ण ढंगले ब्यबस्थापन गर्नुपर्दछ। त्यसका लागि सम्बन्धित निकाय, सरोकारवाला पक्षहरुबिचको आपसी समन्बय र साझा बुझाईको बिकास हुन जरुरी छ।

यसै सन्दर्भमा गत भदौ ५ गते हतुवागढी दरबार संरक्षण, सम्बर्द्धन सम्बन्धमा आवस्यक छलफल गर्नका लागि गाउँपालिका प्रतिनिधि, नेपाली सेना भोजपुरका गणपती तथा हतुवागढी क्षेत्रका बुद्धिजिविहरुका बिच एक अनौपचारिक भेटघाट सम्पन्न भएको छ। सो भेटले सिंगो हतुवा क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा कसरी अघि बढाउन सकिन्छ साथै ऐतिहासिक हतुवा दरबार क्षेत्रलाई स्थानियहरुको चाहना अनुसार कसरी ब्यबथापन र अवलोकनयोग्य बनाउन सकिन्छ भन्ने बिषयमा समेत महत्वपुर्ण र उपलब्धिमुलक छलफल भएको छ। छलफलका क्रममा आएका बिषयहरु यस्ता थिए :

१.हतुवागढी दरबार किराँत सभ्यता, माझकिराँतकाे केन्द्र हतुवागढीकाे ऐतिहासिकता, पहिचान, पुरातात्विक धराेहर हाे र यसलाई राष्ट्र कै संरक्षणको सुचिमा पारिनु पर्ने धारणा र निष्कर्ष

२. हतुवागढी दरबारको संरक्षण, सम्बर्द्धन र पुनः निर्माण सम्बन्धि डिपिअार तयार गरि काम प्रारम्भ पूर्व सत्य तथ्यको खोजी तथा अध्ययन गरि ऐतिहासिक तथ्यहरुमा एकरुपता तयार गर्ने तथा भावि संरचना बारे सराेकारवालासंग राय, सुझाव, अन्तरक्रिया, छलफल बैठक समेतको लागि गाउँपालिकाले गाैरबकाे अायाेजना मानी चालू आर्थिक बर्षमा ५० लाख रुपैँया विनियोजन गरिनु सुखद

३. नेपाल सरकारकाे सन २०२० लाई भ्रमण बर्ष (visit Neoal 2020) अनुसार रक्षा र पर्यटन मन्त्रालय बीच सम्झौता गरि देशभरिका गढी, पुरातात्त्विक महत्त्वका संरचनाको सुरक्षा, संरक्षण र पुरानै स्वरुप वा अाकर्षक पर्यटकीय गन्तव्य बनाउने कार्ययोजना बनाएको छ। हतुवागढी दरबार समेत उक्त सूचिमा पर्ने सम्भावना भएको तथा सेनाले पनि सराेकावालाकाे राय सुझाव लिई आन्तरिक बजेट र अधिकतम आफ्नै मानविय स्रोतको परिचालन गरि हतुवागढी दरबारको संरक्षण एवं मौलिकतालाई झल्काउनका लागि कामकाे थालनी गर्ने तयारी गरेको छ।

४. यसकाे तात्कालिक र दीर्घकालीन कामकाे सुची सहित बिस्तृत परियोजना प्रतिबेदन (DPR) बनाउने

५. हतुवागढी दरबारकाे पहिचान सहित अाफ्नाे उपयुक्त सिमा निर्धारण गरि सहज रुपमा पर्यटकलाई अवलोकन गरिने वातावरण बनाउने र सेनाकाे क्याम्पलाई स्थायित्व दिन सम्बन्धित निकायमा पहल गरि सहज र ब्यबहारिक ब्यबस्थापन गर्न सकारात्मक रुपमा सहमति तर्फ ध्यान दिने

६. हतुवागढी दरबारकाे महत्त्व र सेनाको अावश्यकताकाे बारेमा एक मत भई अागामी दिनमा योजनाबद्ध ढंगबाट अगाडि बढ्न अनुकुल वातावरण निर्माण भएको छ।

उल्लेखित बुँदाहरुका आधारमा अगाडि बढ्दा हतुवागढी दरबारलाई केन्द्र बनाएर समग्र हतुवा क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकिय हिसाबले उत्कृष्ट गन्तब्यको रुपमा बिकास गर्न सकिन्छ। ऐतिहासिक दरबारको मौलिकतालाई जोगाई आधुनिक प्रबिधिसंग जोडेर पुनर्निर्माण गरि बहुउद्धेस्यिय स्वरुपमा परिमार्जन गर्न सके साँच्चिकै सिंगै प्रदेशको पर्यटनको केन्द्र बन्न सक्नेछ। प्राकृतीक रुपमा हामिसंग थुप्रै पृथक सम्पदाहरु छन् जसलाई प्रबर्द्धन गर्न सके त्यो नयाँ स्वाद बन्नेछ जसलाई यहाँका साँस्कृतिक बिबिधताहरुले अझ मजबुत बनाउनेछन्।

हतुवागढी, भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *