काठमाडौं । संघीय राजधानीको पर्यटकीय स्थल बौद्धमा ‘चिन्डो हाउस’ खुलेको छ । औपचारिक रूपमा हालै खुलेको चिन्डो हाउसमा विभिन्न जातजातिका भेषभूषा र पेन्टिङ राखिएका छन् ।
केही वर्षअघि कलाकार अर्जुन खालिङ्गको अगुवाइमा स्थापित चिन्डो अभियानलाई निरन्तरता दिने क्रममा कलाकार राजकुमार राई र कञ्चन तामाङ्गले चिन्डो हाउसको स्थापना गर्नुभएको हो। चिन्डो हाउसमा विशेष गरेर विभिन्न जातजातिले प्रयोग गर्ने साँस्कृतिक भेषभूषा राखिएका छन् भने साँस्कृतिक पहिचान झल्काउने क्याजुल ड्रेस समेत उपलब्ध छन् ।
हाउसमा कलाकार अर्जुन खालिङ्गका पेन्टिङ्ग, किराती साँस्कृतिक पहिचान झल्काउने विम्ब, अर्जुन खालिङ्ग स्वयमको पोट्रेट जस्ता प्रिन्ट गरिएका टी–सर्टदेखि फेंगा, पांगा, धजुरा, सेम्योरी, फुर्का, बिनायो, मुर्चुङ्गा, खम्बी, चिन्डो–किरिङ, छिटको सारी, मखमल–ढाकाको चोली लगायत विभिन्न गरगहना र भेषभूषा उपलब्ध छन् ।
यसैगरी, हाउसमा विभिन्न पेन्टिङ पनि उपलब्ध हुनेछन् । आफ्नो जीवनकालमा अर्जुन खालिङ्गले सिर्जना गरेका पेन्टिङ्गको प्रतिलिपिका साथै राजकुमार राई र कञ्चन तामाङ्ग स्वयमले सृजना गरेका पेन्टिङ्ग त्यहाँ उपलब्ध हुनेछन् । आदिवासीको ‘थिम’मा सिर्जना गर्ने राजकुमार र कञ्चन दुबैले काठमाडौं युनिभर्सिटीबाट बीएफए (ब्याचलर इन फाइन आर्टस) अध्ययन पूरा गर्नुभएको छ भने यसअघि उहाँहरूले विभिन्न सामूहिक प्रदर्शनीमा भाग लिएर पेन्टिङका पारखीहरुको प्रशंसा र माया समेत बटुलिसक्नुभएको छ।
मुन्दुममा भएको मिथक अनुसार चिन्डोलाई जीवनको प्रतीकका रूपमा लिइन्छ । चिन्डो विशेषगरी चीन र नेपालमा प्रचलित रहेको पाइन्छ । नेपालमा किरातीले पवित्र साँस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्दै आएका छन् भने चीनमा चिन्डोलाई ‘शुभ’ वा ‘साइत’को प्रतीकका रूपमा लिइन्छ । यसैगरी, मानव समाजको विकासक्रममा संसारका सबै मानिसले चिन्डोको प्रयोग गरेको बताइन्छ ।
नेपालमै पनि सन् १९५० ताका भू–गर्भशास्त्री तथा अनुसन्धाता टोनी हेगनले निर्माण गरेको वृत्तचित्रमा आफ्नो सहयोगीले सुनकोसी तर्नेबेला चिन्डोको प्रयोग गरेको देखाएका छन् । त्यही चिन्डोलाई लिएर अर्जुन खालिङको अगुवाइमा अभियानकै रूपमा चिन्डो बुक्स, चिन्डो फेसन, चिन्डो आर्ट, चिन्डो म्युजिकजस्ता संस्था स्थापित छन् ।
यसै सन्दर्भमा चिन्डो हाउस थपिएको हाउसका प्रोप्राइटर राजकुमार राईले बताउनुभयो । यसअघि स्थापना भएका संस्थाजस्तै चिन्डो हाउस अर्को ब्रान्डको रूपमा स्थापना भएको पनि उल्लेख गर्नुभयो।
(nagarikkhabar.com को सहयोगमा)