Friday, November 22, 2019
Home > ब्लग > कोरिया सपना , सोँचेजस्तो कहाँ छ र !

कोरिया सपना , सोँचेजस्तो कहाँ छ र !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजेश भण्डारी
भारतीय प्रगतीवादी साहित्यकार धुमिलले एकपटक भनेका थिए ‘विश्वको सौर्यमय विम्व श्रमिकहरुको आँसु र रगतले बनेको हो ।’ धुमिलले भनेजस्तै विश्वका अन्य सौर्यमय विम्व कसरी बन्यो, खोजको विषय बन्ला तर, आजको रहरलाग्दो दक्षिण कोरिया भने श्रमिकहरुको आँसु र रगतकै बलमा निर्माण भएको हो । पछि नेपाल जस्ता १५ देशका श्रमिकहरु कोरीयाली भूमीमा पसिना बगाउन मिसीए । त्यतिवेलासम्म कारिया विश्वका विकशित देशको सूचीमा दर्ज भैसकेको थियो ।

कुरा २०५९ तिरको हो । विदेश जाने लाहुरे संस्कृतिले नेपाली समाजमा चर्चा कमाउन थालिसकेको थियो । लाहुर गएपछि सहज ढंगले धेरै पैसा कमाउन र प्रगती गर्न सकिन्छ भन्ने कुराले रात–दिन मन बेचैन बनाएपछि दोलखा मेलुङ्गका मोहन कार्कीले राष्ट्रिय अनुसन्धान विभागको सरकारी जागिर राजिनामा दिए,अनि दक्षिण कोरियाको टिकट काटे ।

त्यतिवेला दोलखाको कार्की खान्दानका सदस्यहरु कन्स्ट्रक्सन लाईन वा ब्यपारमा लागेका थिए । कोही निजी कम्पनीमा आकर्षक तलव खान्थे । ‘मेरो भने सरकारी तलवले काठमाडौंको जिवन धान्न धौधौ भयो ।’ कार्कीले कुराको पोयो फुकाए ।

काठमाडौं बसाईको असन्तुष्टि र असफलता छल्नको लागि कार्कीले पहिले ‘युरोप र अमेरिकातिरको पाईला उठाउन खोजे, तर लागत खर्च र जटिल प्रावधानका कारण ती देशले खोज्ने स्ट्याण्डर्डको कागजपत्र उनले जुटाउन सकेनन् । ‘त्यसपछि तुलनात्मक रुपमा कोरिया ठिकै लाग्यो, विकसीत देश हो कमाई भैहाल्छ होला भनेर त्यतै लागियो’कार्कीले कोरिया रोज्नुको कारण खोले ।

कोरिया जानका लागि अहिलेजस्तो भाषा परीक्षा पास गर्नुपर्ने प्रावधान थिएन । कार्कीले त्यतिवेला कोरियामा प्रशिक्षार्थी कामदार पठाउने अधिकार पाएको ‘लुम्विनी म्यानपावर’मार्फत कोरिया जाने प्रक्रिया सुरु गरे । म्यानपावरमा धेरै खेल दलालले खेल्थे तर पावर र पैसाको खेलमा श्रमिकहरु सफल भएमा मात्र भिसा झथ्र्यो । त्यस्तोमा मोहनले पारवरको प्रयोग गरे । ‘राष्ट्रिय अनुसन्धानमा काम गरिसकेकाले मेरो आफ्नै चिनजान र साथीका दाईहरु श्रममा हाकीम थिए, मैले त्यहिंवाट फोन गराएँ ।’ शक्तिको प्रयोग गर्न सफल विगत संझेर कार्की निर्धक्क हाँसे । पावर प्रयोगपछिको अर्को चरणमा मोहन कार्कीको नाममा दक्षिण कोरीयाको एक वर्षे प्रशिक्षार्थी भिसा खस्यो ।

२०५९ ताका नेपालीहरुलाई प्रशिक्षार्थीका रुपमा एकवर्षे भिषा दिएर कोरीया लैजाने र कोरीया झरेको भोलिपल्टैबाट काम दिने प्रावधान थियो । ‘एक वर्ष भित्र भाषा परिक्षा दिनुपथ्र्यो,तर त्यो औपचारीक मात्र थियो ।’ कार्कीले भने । कार्की थप्दै दिए ‘तलव अहिलेको जस्तो अकर्षक थिएन्, म त्यतिवेला ३३ हजार नेपाली रुपैंयामा एग्रिमेन्ट गरेर गएको थिएँ त्यहाँ पुग्दा ओभरटाईम सहित मासीक ६० हजार कमाई हुन्थ्यो २०१० सम्ममा तलव बढेर ९० हजार पुगीसकेको थियो ।’

आजभोली कोरीया जाने नेपालीहरुको बेसीक तलव एक लाख हुन्छ । त्यसको लागी ८ घण्टा ड्युटि आवर तोकिएको छ,‘ सामान्यतया नेपालीहरुले त्यहाँ १२ घण्टा काम गरेकै हुन्छन्,कतै विदाको दिनमा पनि काम गर्नुपर्छ,तसर्थ आजभोली कोरीया पुगेका नेपालीले एभ्रेजमा डेढलाख देखि दुई लाख सम्म कमाउँछन् ।’ मोहनले भने ।
मोहन कार्की कोरीयावाट फर्केको करिब तिन बर्ष पुरा भैसकेको छ । उनले दक्षिण कोरियामा करिब सात बर्ष पसिना बगाए । ‘म ३ बर्ष लिगल र ४ बर्ष प्लस केही महिना ईलिगल बसें’ मोहनले भने ।

कोरियामा सात बर्ष
सरकारी जागीर राजिनामा दिएपछि दोलखाका कार्की खान्दानले प्राईभेट सेक्टरमा गरेको प्रगती देखेर मोहन कार्कीले प्राईभेट सेक्टरमा पनि हात हाले । तर जिवन कहाँ सोचेजस्तो हुन्छ र ? असफलताका चाङहरुले उनलाई कोरिया लखेट्यो । यसरी सन्तानलाई माया बाँडेर बस्नुपर्ने बेला नियतीले मोहन कार्कीलाई दक्षिण कोरीया पुर्‍यायो जुन भुमीमा उनले सात बर्ष पसिना बगाए ।

भौतिक विकासले शिखर चुमीसकेको दक्षिण कोरीयामा पहिलो पाईला टेकेको भोलिपल्ट देखिनै कार्की एक मेटल कम्पनीमा जोडीए जुन कम्पनीसंग लुम्विनी म्यानपावरले कन्ट्याक गरिदीएको थियो । ‘मेटलहरु पगालेर विभीन्न पाटपुर्जा बनाउने कम्पनीमा मैले लिगल्ली चार बर्ष काम गरें ।’ कार्कीले भने । ‘तिन बर्षपुगेपछि नेपाल फर्कने र फेरी जान नपाउने प्रावधान थियो,कतिपयले नेपाल आएर पासपोर्ट चेन्ज गरेर जान्थे तर मैले नेपालमा द्धवन्दको कारण देखाएर एक बर्षे रेफ्युजी भिसा प्राप्त गरेँ ।’ उनले भने । त्यतिवेला कोरीया पुगेका नेपालीहरुले करिब एक वर्ष काम गरेपछि बल्ल म्यानपावरलाई तिरेका खर्च उठाउँथे,जव उनिहरु कोरीयाबारे थाहा पाएर एडजस्ट हुन थालेपछि भीसा सकिन्थ्यो । नेपालमा शान्ति संझौता भएपछिका दिनहरुमा भने मोहनले कोरियाली कम्पनीहरुमा ईलिगल भएर काम गरे । ‘त्यसविचमा मैले कुनैमा ३ महिना कुनैमा १ महिना गरेर ५ वटा कम्पनि परिवर्तन गरें ।’ उनले भने ।

हिजो र आज पनि नेपाली युवाहरु कोरीयावारे डिटेल जानकारी नलिईकन कोरीया जानेगरेका छन् । तर मोहन भने अलि पृथक थिए ‘मेनपावरले भिषा आउने आश्वासन दिएपछि मैले कोरीयाको बारे ईन्टरनेट सर्च गरेर धरै कुराको जानकारी लिएँ,त्यसमध्येको एउटा थियो,कडा परिश्रम ।’ कोरीयामा कडा परिश्रम अनिवार्य सर्त हो भन्ने कुरा थाहा पाईसकेका कार्कीले त्यहाँ पुगेपछि कुनै अनौठो फिलीङ नै गरेनन् । किनकी कडा परिश्रम गर्नका लागी उनि मानसीक रुपमा तयार भैसकेका थिए । त्यसैले त उनि पराई भुमीमा सात बर्ष रोवोट बनेर घोटीए । ‘त्यतिकै पैसा फल्छ भनेर गएका धेरै साथीहरु फ्रस्टेट भएको मैले देखें’ मोहनले अनामनगरको साँढे दुईतले घरबाट कोरीया संझिए । ‘त्यहाँ पुगेका ७५ प्रतिशत साथिहरु शुरुमा बेकार कोरिया आईएछ भन्थे तर एक बर्ष काम गरेपछि त्यहिंको नागरीक बन्ने ईच्छा ब्यक्त गर्दै थिए ।’ उनले यसो भनिरहँदा उनलाई एक कोरियनको फोन आयो,कार्कीले उतैको भाषामा फोन–संवाद टुंग्याए ।
सपनाको देश

हजारौं नेपाली युवाहरुको सपनाको देश हो दक्षिण कोरिया । कोरियावारे नेपालमै राम्रोसंग सु–सुचित भएर जाने र त्यहाँ पुगेपछि ईमान्दारीता पुर्वक काम गर्नेहरुको सपना मात्रै विपनामा परिवर्तन हुने बताउँछन् कार्की । ‘कोरीयावारे थाहा नपाईकन सपना देख्नहरुको दुर्गती हुनेगरेको छ ।’ उनले भने ।

मान्छेको जात कहिले चैं सन्तुष्ट हुन्छ र ? विकाशले शिखर चुमीसकेको भएपनि धेरै कोरियनहरु असन्तुष्ट भएर विदेशतिर लाग्ने गरेको आफुले देखेको बताउँछन् मोहन । ‘हामी अवसर र पैसाको लागी कोरीया जाँन आँतुर हुन्छौं,किनकी आर्थिक अभावमा पिल्सेकाले लेवर काम पाउँदा पनि हामी खुसी हुन्छौं, तर कोरीयनहरु त्यहाँका फ्याक्टिहरुमा लेवर काम गर्न चाहंदैनन । सरकारी र राम्रा निजी कम्पनिहरुमा त्यतिकै टप कम्पिटीशन हुन्छ,किनकी सवैजना शिक्षीत र दक्ष छन् त्यसैले उनिहरु पनि कोरीयाको जिवन गाह्रो भयो भनेर विदेश तिर जाने गर्छन । कार्कीले भने । मोहन थप्दै दिए ‘काठमाडौंमा इट्टाभट्टामा पनि माग अनुसारका श्रमीक कहाँ छन् र ?’ कोरिया पुगेपछि नेपालीहरुको स्वभावमा केहि परिवर्तन हुने गरेको बताउँछन् मोहन । शायद त्यो वातावरणको प्रभावले पनि होला । सवैसंग मिक्सअप हुनसक्ने नेपाली युवाको राम्रो पक्ष भएपनि काममा लापरवाही गर्ने र प्रविधी सिक्नुको साटो हल्काफुल्का काम गरेर रमाईलो तिर लाग्ने नेपालीको खराव बानी कोरिया बसाईको क्रममा आफुले देखेको कार्कीले बताए ।

कडा तर दिलदार
नेपलमा हुने खाने र हुँदा खानेको विचमा विवीधता छ । मोहनले सात बर्ष बस्दा कोरियामा त्यस्तो विभेद देखेनन् । ‘कोरीयन कम्पनीका मालिकहरु कडा र रुखो भएपनि नेपाली भनेर त्यस्तो गरेको हैन,उनिहरु आफैं संग पनि रुखो हुन्छन । कम्पनी मालिक आफैं कडा मेहनतमा लाग्ने र प्रस्तीपर्धाले गर्दा उनिहरु आफैं स्ट्रेशमा हुन्छन् ।’ मोहन आफ्ना मालिकहरुको ब्यवहार केलाउँदै थिए ।

कसरी बढि उत्पादन गर्ने भनेर तनावमा रहेका कोरीयन मालीकका अगाडी कामदारले लापरवाही गर्दा रिसाउनु,वा झर्किफर्की गर्नुलाई सामान्य रुपमा लिन्छन् मोहन । ‘हामी कोरियनहरु निर्दयी हुन्छन् भन्छौं, एक्च्युएल्ली त्यो होईन, सामाजीक सम्वन्धको सवालमा ९० प्रतिशत कोरियनहरु उदार मनका हुन्छन् ।’ कार्कीले मेहनती कोरियनको प्रशंसा गरे ।

परिवर्तनको छाल
आजभोली कोरियामा बस्ने नेपाली कामदारको संख्या २६ हजारको हाराहारीमा रहेको छ । हरेक बर्ष नेपालीको संख्या बढ्दै जाने हुनाले पनि त्यहाँ नेपाली समाज परिवर्तनका छाप पर्ने गरेको छ । ‘नेपालमा जस्तो परिवर्तन हुन्थ्यो, त्यसको छाप कोरीयामा परिहाल्थ्यो, हामी गएपछि त्यहाँ जनजाती मुद्धा उठ्यो,यहाँ गणतन्त्रको नाराले मुलुक तातिरहेको वेला त्यहाँ पनि त्यो मुद्धाले चर्चा पायो ।’ मोहनले भने । ‘नेपालका राजनीतीक दल र तिनका भातृसंगठनहरु कोरियामा खुलेका छन् ।’ समुन्द्रपारी पुगेको परिवर्तनको छाललाई ब्याख्या गर्दै थिए कार्की ।

हिजोको म्यानपावरबाट बाट पैसा खुवाएर रोजागारीका लागी कोरीया जानुपर्ने अवस्था भन्दा आजको ईपिएस प्रणाली धेरै ब्यवस्थीत र विश्वसनीय मानिन्छ । ‘यसका वावजुद केही कमजोरी नभएका होईनन,जस्तो अहिलेको प्रक्रियावाट पनि बास्तवीक कामदार भन्दा विद्यार्थी पृष्ठभुमीका र पैसा खर्च गरेर लामो तयारीपछि भाषा पास गर्ने मात्रै जान सक्ने भए जसले गर्दा शारीरीक रुपमा दक्ष कामदारहरुको कोरीया जाने सपना फेरी कुठाराघात हुँदैछ ।’ ईपिएस प्रणालीमा पनि केही सुधारको खाँचो औंल्याउँदै थिए मोहन ।

र यस्तो पनि…
लामो समय कोरिया रहँदा मोहन कार्कीले देखे भोगेका धेरै घटनाले आज पनि बेलाबेला झस्काउने गरेको छ । नेपाल फर्केपछि नेपाल–कोरीया कल्चरल सेन्टरको उपाध्यक्ष रहेर संस्कृति आदन प्रदानमा भुमीका खेलीरहेका कार्कीलाई कोरीयामा देखेका दुई घटनाले आजभोली पनि छुने गरेको छ । सात बर्षे कोरीया बसाईको अविस्मरणीय क्षण उनकै शब्दमा :

घटना नं १. हामी आज पनि सामाजीक न्यायका लागी लरिहेका छौं,हामीले उनिहरुलाई पुँजिवादी भन्छौं,तर हामीले कल्पना गरेको साम्यवाद र समाजवाद तिनै पुजिवादीले लागु गरीरहको छन् । खानेकुरामा साहु र मजदुरले फरक खाना खाँदैनन् । विहे बटुलमा हामी गरिब देशका नागरीक भएपनि विदेशी रक्सि अर्डर गर्छौ तर त्यहाँका धनिहरुको भोजमा मैंले के देखेँ भने,उनिहरु त्यहिँ बनेको लोकल कोरियन रक्सिनै प्रयोग गर्थे । त्यस्तामा भोज जतिसुकै स्पेशल किन नहोस ।
घटना नं २.हामी कोरीया पुग्दा सोलमा मेयरको भुमीकामा थिए ‘रो तेमु’ । हामी पुगेको एक वर्षपछि उनले सोलकै एक गल्लिमा रहेको ठुलो बजार विस्थापीत गरेर त्यहाँ खोला हिंडाउन थाले ।

त्यो के रहेछ भने, त्यहा एउटा खोलालाई छोपेर बजार बनाएको रहेछ । ति मेयरले सवै बस्ती सारेर खोलालाई पहिलेकै अवस्थामा ल्याईदिए पछि तिनै ‘रो तेमु’ राष्ट्रपति भए । राष्ट्रपति हुँदा उनको श्रिमती र छोरा आर्थिक घोटालमा मुछिए । कार्यकाल सकिएपछि उनी आफ्नै गाउँमा गएर सामान्य काममा सहभागी हुन थाले । तर उनको श्रिमती र छोराको मुद्धा भने उठीरहेको थियो । छोराले अमेरीकामा पढेर विलासी जिवन विताएको र राष्ट्रपति हुँदा दाईमार्फत अवैध काम गरेको समाचार आईरहेपछि उनी त्यही गाउँमा रहेको पहाडको टुप्पोमा गएर हाम फालेर आत्महत्या गरे । यो घटनाले पुरै कोरीया उनको सहानुभुतीकोका लागी लामवद्ध भयो । तर हाम्रो देशमा भने भ्रष्टहरु पार्टि खोलेर फेरी चुनाव लड्न खोजिरहेछन् । मुख अमिलो बनाउँदै उनले संवाद टुंग्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *