Home > संस्मरण > सम्झना : गुराँस जस्ती गुराँसको नाममा

सम्झना : गुराँस जस्ती गुराँसको नाममा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश

कुरा केही दिन अगाडिको मात्र हो। नेपालीहरुको साझा पर्ब बडादशैँ २०७६ मनाउन गाउँ जाने क्रममा २०७६ असोज १६ गते इटहरी सुनसरी बाट परिवारका अन्य सदस्यहरु श्रीमती, छोरा, छोरी,भाइ बुहारी, भतिज, गाउँकै एकजना अजि(हजुर आमा) संगै धरान पानी ट्याङकि (चतरालाईन) गयौँ । जहाँ बाट हतुवागढी भोजपुरको लागि हतुवागढी यातायात सेवा प्रा.लि.ले धनकुटाको अखुवाटार सम्मको लागि ट्याक्सीको सेवा प्रदान गर्दछ। त्यही नेर अनन्य मित्र इन्द्र थापा संग भेट भएर संगै जाने सल्लाह अनुसार भेट भयौं । इन्द्र थापालाई बिदाई गर्न अर्का अनन्य मित्र केशर तुम्छा पनि आउनु भएको थियो । दशैँको चटारो बिहानको ७ बजे देखिको ट्याक्सी पर्खाई बल्ल दिउसोको ३ बजे अखुवाटारको यात्रामा परिणत भयो ।

यहाँ नेर “लुट कान्छा लुट” को कुरा पनि छ तथापि यो च्याप्टर अरु कुनै दिन उठाउँला । बिहान ७ बजे देखिको ट्याक्सी पर्खाईका क्रममा एक जना करिब ५/६ बर्षकी छोरी सहित एकजना आमासंग पनि त्यहाँ भेट भयो मैले नचिनेको तर मेरी श्रीमती माया प्रधानले चिनेको ती आमा छोरी काठमाडौ बाट नाइट बसमा आएर हतुवागढि सम्मकै यात्रामा रहेछ्न । सोही कारण हाम्रो भेट भएको हो। एकै उमेरका भएर होला ती सानी नानि र मेरी छोरी संरचना एकै छिनमा साथी भएर खेल्न थाली सकेका थिए । यो क्रमलाई म नजिक बाट नियाली रहेको थिएँ नानिहरु खेल्दा खेल्दै नाली तिर नझरुन भनेर म चनाखो भएर हेर्दै थिएँ । उता छोरिका आमाहरु सुख दुखका गफ गर्दै थिए। हतुवागढी ९ हसननपुर तिरका ती आमा छोरी र हामी गरेर करिब १२ जना ३ बजे तिर अखुवाटार तिरको यात्रामा लाग्यौँ । धरान बाट मुलघाट हुँदै तमोरको तिरै तिर ट्याक्सी हुइक्याउँदा विभिन्न अवरोधका बाबजुद हामी साँझको करिब ७ बजे तिर अखुवाटारमा उत्रेर अरुण नदि पारी हतुवागढि ९ को मचुवाटार पुग्यौँ। त्यहाँको होटेलमा बास बस्यौँ र भोलिपल्ट अर्थात २०७६ असोज १७ गते मचुवाटार बाट हतुवागढि १ घोडेटार तर्फ प्रस्थान गर्यौँ ।

धरान देखि अखुवाटार पुग्दा सम्मको यात्रा भरी रितु (ती सानी नानिको नाम रितु रहेछ)मेरी छोरी र हसनपुर तिरको उस्तै उमेरकी अर्कि सानी नानिहरुले ताली पड्काएर गफ गरे रमाइलो माहोल बनाए। इन्द्र जि र म निक्कै गफियौँ। यस बिचमा ती सानी नानिको आमाको बारेमा मचुवाटार बाट उकालो लाग्दा मैले केही जानकारी लिइ सकेको थिएँ। ती बहिनी हतुवागढी ४ खैराङका साथी कृष्ण राईको सानिमा चेली राईकी छोरी रहेछिन श्रीमान् वैदेशिक रोजगारिको सिलसिलामा मलेसियामा रहेछन सम्पर्क नभएको धेरै भएको रहेछ केही समय अघि मात्र मलेसियाको जेलमा परेको खबर पाएको रहेछिन जेठी छोरी गुराँस राई मावली बोजु(हजुर आमा)सगै मावलिमा बसेर स्थानीय बोर्डिङ्ग स्कुलमा पढ्दै रहेछिन ।सानी छोरी रितुलाई चाहिँ आमाले संगै राखेर काठमाडौँमा काम गर्दै पढाउदै रहेछिन दशैमा घर र मावलि आएका रहेछ्न ।

मचुवाटार बाट उकालो लागे पछि ती बहिनीले मेरो श्रीमती सग गरेको कुरा म सुन्दै थिए “जेठी छोरी(गुराँस) बहिनी आउने भने पछि आज रातभरी निदाकै छैन रे बोजुलाई दिक्क लगाएको छ रे अघि बाटोमा निस्की सक्यो होला” यस्ता गफ गर्दै करिब डेढ घन्टा यात्रा गरे पछि घोडेटार बजार आई पुग्छ त्यो भन्दा ५ मिनेट अघि गुराँस र रितुको मामाघर आई पुग्छ । “गुरुजी गाडि यहि रोकिदिनु, म यहिँ झर्छु” ती बहिनिले यति भने पछि गाडी रोकियो रितु र उनकि आमा त्यहाँ झरे नभन्दै सडकको तल्लो पटि एउटि करिब ९/१० बर्षकी केटि मुस्कुराईन । त्यो मुस्कान आमा र बहिनिलाई महिनौ पछि देखे पछिको निस्चल मुस्कान थियो । यस पछि हामी घोडेटार बजार पुग्यौँ । हामी अझ अलि तल सल्ले पुग्नु थियो शुरेश मोक्तान काकाको घर अगाडि आएर एउटा अटो ब्यबस्था गरेर हामी इन्द्र थापा संग छुटिएर सल्ले तर्फ लाग्यौं ।

दुर्घट्नामा ज्यान गुमाउने गुराँस राई

टिकाको भोलिपल्ट हतुवागढि ५ गुर्धुमको साथि सन्तोष कुमार राईलाई कल गरेँ, भेट्ने काम थियो घोडेटार निस्कनु भनेर कल गरेँ। वहाँले भन्नू भयो “हाम्रो गाउँमा अटो एक्सिडेन्ट् भएछ सर, म त्यता जादैछु घोडेटार निस्कन्छु कि।” मैले सोचेँ सामान्य एक्सिडेन्ट् होला ।

टिकाको भोलिपल्ट हतुवागढि ५ गुर्धुमको साथि सन्तोष कुमार राईलाई कल गरेँ, भेट्ने काम थियो घोडेटार निस्कनु भनेर कल गरेँ। वहाँले भन्नू भयो “हाम्रो गाउँमा अटो एक्सिडेन्ट् भएछ सर, म त्यता जादैछु घोडेटार निस्कन्छु कि।” मैले सोचेँ सामान्य एक्सिडेन्ट् होला । यसपछि म घोडेटार बजार निस्किएँ त्यहाँ पुगे पछि हल्ला सुन्दा पो म झसङ्ग भएँ। झसङ्ग हुनुको कारण एक्सिडेन्ट् सामान्य नहुनु त छदै थियो त्यो भन्दा बढी चाहिँ रितु त्यो एक्सिडेन्ट्मा परेको कुरा थियो । फेरि सन्तोस जि लाई कल गरेँ, “सबैलाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई सकेको छ” भन्नू भयो। म त्यता गएँ ।

त्यहाँ पुगे पछि थाहा पाएँ, त्यस पछि झन मलाई दुख लाग्यो निस्चल मुस्कानका साथ आमा र बहिनिलाई स्वागत गर्ने गुराँसको दुखद निधन भइसकेको रहेछ । घाईते हरुलाई हेरेँ रितुलाई ती आमाले काखमा लिइ रहेकी थिइन्। हामिलाई १७ गते सल्लेरीसम्म छोडी दिने अटो चालक पनि घाईते रहेछन् र ती रहेछन केही साल बिदेश बसे पछि आफ्नो देश फर्केर आफ्नै गाउँमा अटो चलाएर जीवन निर्वाह गर्न लागेका गुराँस र रितुको आफ्नै मामा । रितुलाई हेरेँ ती बेहोश थिईन अरु घाईते थिए । त्यहाँको अवस्था एकदम भाव बिह्वल थियो । आमा र बहिनी कहिले आउँछन भनेर सोध्ने गुराँस त रहिनन नै गुराँसलाई जन्माउने, हुर्काउने, पढाउने आमा, हजुर आमा, मामा लाई के बिति रहेको होला । झलक्क देख्ने मलाई नै यो घटना यति बिझी रहेको छ । `हुने हार दैब नटार´ भने झैं घटना त भै नै सक्यो । अन्त्यमा रितु लगायत अन्यलाई सिघ्र स्वास्थ्य लाभको कामना, गुराँसलाई भावपुर्ण श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: