Friday, November 22, 2019
Home > प्रमुख > स्मृती दिवस : सामाजिक, साँस्कृतिक तथा शैक्षिक अभियानको कम्प्लिट प्याकेज, पृथीमान राई

स्मृती दिवस : सामाजिक, साँस्कृतिक तथा शैक्षिक अभियानको कम्प्लिट प्याकेज, पृथीमान राई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्व स्वास्थ्य संगठनले केही अघि सर्बजानिक गरेको तथ्यांक अनुसार प्रतिदिन तीन लाख साट्ठी हजार मान्छेहरु पृथ्वीमा जन्मन्छन् र लगभग दैनिक एक लाख साट्ठी हजारको चोला उठ्ने गर्दछ। जन्म र मृत्यूको यो चक्रमा कति मानिसहरु गुमनाम र प्रभाबबिहिन जिन्दगी बाँचेर जान्छन् जसको आवत जावतले खासै ठूलो महत्व राख्दैन समकालीन समाजमा, भने कोहि मानिसहरुको जन्म कुनै चम्किलो ज्योती भन्दा कम हुन्न र त्यस्तो मान्छेहरुको जीवन र चेतना आदर्शमय बन्दछ अनि मृत्यू चट्टान भन्दा गर्‍हुङ्गो। त्यस्तो गर्‍हुङ्गो मृत्यू वर्ण गर्ने ब्यक्तित्वहरुको प्रभाव समकालिन समाजका हरेक तह र तप्कामा बिद्यमान रहेको हुन्छ जसले समाजलाई सकारात्मक चिन्तन र परिबर्तनको बाटोमा डोर्‍याउने काम गर्दछ। त्यस्तै ब्यक्तित्वहरु मध्ये भोजपुरको दक्षिणी भेगका लागि सामाजिक, साँस्कृतिक तथा शैक्षिक चेतनाको बिकासको दियोमा निरन्तर तेल थपिरहने एउटा गर्विलो नाम हो स्व. पृथीमान राई।

हतुवागढी-५ (साविक होम्ताङ्ग-८) मा बि.सं. २०२४ साल भदौ २१ गतेका दिन आमा भगिरत्न राई तथा बुबा महाशेर राईको पहिलो सन्तानको रुपमा सामान्य किसान परिवारमा जन्मिनुभएको पृथीमान राई सानै उमेरबाट संघर्षशिल, जुझारु र मेहनती हुनुहुन्थ्यो। तत्कालिन समयमा पढाइ लेखाइ भन्दा घरायसी काम गर्ने, खेतिपाती गर्ने काम नै उत्तम हो भन्ने मान्यताले राम्रै जरो गाडेको थियो। त्यसैले उहाँले पनि बिद्यालयको कम्पाउण्डभित्र छिर्न निक्कै समय कुर्नुपर्‍यो। एकदिन ईन्डिया लाहुरे भाई थामबहादुर राई पल्टनबाट आएर “लु यसलाई पनि स्कुल हालिदिनुपर्छ।” भनेर सम्झाउँदा महाशेर राईले ठाडै ईन्कार गरेका थिए। निक्कै समयको सम्झाईबुझाई पछि काकाको छोरासंगै स्थानीय शान्ति प्रा.वि. होम्ताङ्गमा स्कुल भर्ना हुनुभएको पृथिमान राईलाई त्यसपछिको शैक्षिक यात्रामा कहिल्यै दोस्रो हुनु परेन।

प्राथमिक तह पूरा गरेपछी घरको कमजोर आर्थिक अवस्था तथा तत्कालिन परम्परागत सामाजिक मान्यताको नजिर देखाउँदै फेरि पनि बुबाले पढाइ त्याग्न लगाउनु भए पनि स्थानिय समाजसेवी चतुरमान राईको सुझाबलाई बुबाले अनुशरण गर्नुभएपछी बल्ल पृथीमान राईको माथिल्लो तहको पढाइ प्रजातन्त्र नि.मा.वि. होम्ताङ्गबाट अगाडि बढ्यो।ग्रामिण जनजिवनका अप्ठ्यारा दैनिकी, कमजोर आर्थिक अवस्थाले थिलथिलो भएको घर ब्यबहार, पढाइ प्रतिको व्यग्र चाहना, यी र यस्ता मझधारपुर्ण अवश्थामा समेत सबै काम र जिम्मेवारिहरुलाई पूरा गर्दै आफ्नो अध्ययनको क्रमलाई निरन्तरता दिईरहनुभयो। कक्षा सात पास गरेपछी माथिल्लो कक्षाको पढाईको लागि सगरमाथा मा.बि. घोरेटार जानुपर्थ्यो, जुन स्कुल पृथीमान राईको घरबाट हिँडेर पुग्न एक घण्टा भन्दा बढी समय लाग्थ्यो। उहाँलाई आफ्नो प्रतिभा उजागर गर्न कुनै पनि अभावग्रस्त अवस्था पर्खाल बनेर उभिरहन सकेन। निरन्तर मेहनत, ईच्छाशक्ती, ईमान्दार र प्रतिभाशाली भएकैले कक्षा एक देखि दस कक्षासम्म निरन्तर कक्षा प्रथम भै छात्रवृत्तिमा अध्ययन गर्नुभएको सम्झनुहुन्छ पृथीमान राईको छिमेकी तथा उहाँ कै सामाजिक गतिबिधिका सहकर्मि जोरकुमार राई। “कक्षा सातसम्म काकाको खुट्टामा कुनै पनि जुत्ता चप्पल परेन।” अभाब र संघर्षको उहाँको बिगत जोरकुमार राई कोट्याउनुहुन्छ।
तत्कालिन पञ्चायती हुकुमी शासनले किचिएको नेपाली समाजमा परिबर्तनका लाभाहरु बिस्तारै फैलिँदो क्रममा थिए। बि.सं. २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टिले २०१७ सालपछी विभिन्न कहरहरु काट्दै तीसको दशकमा आईपुग्दा ऐतिहासिक झापा बिद्रोह बेहोर्दै कहिले टुक्रीँदै अनि पुनः जोडिँदै जाने क्रममा २०३५/३६ सालमा भएका छिन्ताङ्ग काण्ड, रत्नकुमार बान्तावाको हत्या काण्ड जस्ता हत्याकाण्डहरुमा सर्बहाराहरुको बर्गीय मुक्तिका लागि आवाज संगठित गर्न खोज्नेहरुलाई ताकी ताकी राज्यले सफाया गर्न थालेपछी प्रतिबन्धित राजनैतिक दलहरु अझ कठोर भुमिगत हुन बाध्य थिए। त्यसबिचमा भुमिगत पार्टिहरुको खुल्ला मोर्चाको रुपमा आफ्ना विद्यार्थी संगठनहरु भने बाहिर काम गरिरहेका थिए । भोजपुर जिल्ला रामप्रसाद राई, नारदमुनी थुलुङ्ग जस्ता योद्धाहरुको बिरासत बोकेको जिल्ला, हरेक राजनैतिक परिबर्तनमा उल्लेख्य भुमिका निर्बाह गर्दै आएको ईतिहास छ। कम्युनिस्ट पार्टिहरुको लागि पनि उत्तिकै उर्वर भुमी रहेको भोजपुर र त्यसको दक्षिणी केन्द्र घोरेटारमा अवस्थित सगरमाथा मा.बि. मा पहिलो विद्यार्थी संगठनको बिद्यालय स्तरको कमिटी बन्यो। त्यो कमिटी थियो नेपाल कम्युनिस्ट पार्टि (माले)को विद्यार्थी संगठन अनेरास्वबियू (पाँचौँ) को प्रारम्भिक कमिटी, जसको अध्यक्ष रहनुभयो सोही बिद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी पृथिमान राई। बि. सं. २०४१ सालमा गठन गरिएको ११ सदस्यीय सो कमिटिलाई तत्कालिन विद्यार्थी नेता तथा संगठक अजम्बर काङ्गमाङ्गले गठन गरेका थिए। पंचायती कालरात्रीको समय, नागरिक हक र स्वतन्त्रताहरु सैनिक बुटले किचिएको अवस्थामा राज्यको प्रतिनिधित्व गर्ने पंचायतका प्रतिनिधिहरु पनि हरेक गाउँमा रहने नै भए। त्यो समयमा होम्ताङ्ग र सिंगै हतुवा क्षेत्रका प्रभावशाली र शक्तिशाली ब्यक्तित्वको नाम थियो बमबहादुर राई। बि.सं. २००७ सालमा भोजपुर जिल्ला भरी दुई वटा बिद्यालय स्वीकृत भै संचालन भएका थिए, एउटा तत्कालिन छिनामखु गा.बि.स. मा त्रिभुवन धर्मोदय मा.बि. र अर्को होम्ताङ्ग स्थित तत्कालिन प्रजातन्त्र मिडिल स्कुल जो बमबहादुर राईको अगुवाईमा स्थापना गरिएको थियो। बमबहादुर राईको अर्को चिनारी पनि थियो, अर्थात उनी तत्कालिन पंचायति व्यबस्थाका असली पहरेदार मानिएका सूर्यबहादुर थापाको मीत समेत थिए। उनै बमबहादुर राईसंग एउटै पँधेरोको पानी खाने, एउटै गल्ली भएर हिँड्नुपर्ने पृथीमान राईलाई भुमिगत संगठनको प्रचारक भएर हिँड्नु कम चुनौतिपुर्ण थिएन। तैपनी निर्दल र बहुदलको बहस डँढेलो सरि देश ब्यापी फैलँदो क्रममा थियो, त्यसले राज्यको हरेक तह, तप्का र क्षेत्रसंग सम्बन्धितहरुलाई छुन अस्वभाविक थिएन । प्रतिबन्धित राजनैतिक दलहरुको प्रतिनिधि भएर तिनका विद्यार्थी संगठनहरुले खुल्ला गतिबिधी गरिरहेको त्यो समयले पृथिमान राईलाई एउटा जेहेन्दार र उत्कृष्ट विद्यार्थी संगसंगै उच्च नैतीक चेत र शाहस भएको, बैचारिक सुगठनयुक्त, परिबर्तनका लागि आस लाग्दो जिल्ला स्तरको विद्यार्थी नेता बनाईसकेको थियो। राष्ट्रिय राजनितिमा महत्वपुर्ण भुमिका खेल्ने विद्यार्थी संगठनको चुनौतिपुर्ण जिम्मेवारी संगै बि.सं. २०४३ सालको नियमित तर्फको एस.एल.सि. परिक्षामा सामेल हुनुभएको पृथिमान राईले सेन्ट अफ टेस्ट परीक्षा दिए संगै सगरमाथा मा.वि. मै स्वयंसेवकका रुपमा अध्यापन गर्न थालिसक्नुभएको थियो। तत्कालिन प्रधानाध्यापक ईस्वरमान राईको नजरमा पहिला देखि नै एक असल, ईमान्दार, होनहार र दुरगामी सफलता प्राप्त गर्न सक्ने क्षमतावान ब्यक्तिका रुपमा परिसक्नुभएकोले एस.एल.सि. पछि न्यूनतम तलबमान कायम गरि नियुक्ती दिएको कुरा ईस्वरमान राई सम्झिनुहुन्छ। एकातिर अध्यापन अर्कोतिर आफ्नो अध्ययन अनि राजनैतिक संगठकको भुमिका र अर्को तिर घरायसी अभावपुर्ण अवस्था। यी सबसंग निरन्तर पौँठेजोरी खेल्दै हरेक उल्झनमा आफुलाई अब्बल बनाउन सँधै कृयाशिल भई नै रहनुभयो। पृथीमान राई आई.ए. मा प्राईभेट तर्फ भर्ना भएर पढ्दै परिक्षा दिदै हुनुहुन्थ्यो भने पंचायती शासन ब्यबस्था बिरुद्धका खाल खालका आन्दोलनहरु आक्रामक बन्दै गईरहेका थिए संगै राज्य पनि उत्तिकै दमनमा उत्रिदै थियो। यहिँ सिलशिलामा २०४६ सालको आन्दोलन तयारिका लागि भुमिगत पार्टिहरु देश ब्यापी अभियानमा लागे भने तिनका विद्यार्थी संगठनहरु अर्धभुमिगत शैलिमा प्रचार र जनचेतना बिस्तार गर्ने काममा लागे। पृथिमान राईको कक्षा आठबाटैको क्लासमेट तथा नेकपा एमालेका नेता एबं पुर्बमन्त्री शेरधन राईका अनुसार पृथिमान राईसंग आन्दोलन र कठिन संघर्षका लागि पनि ज्यादै कुशल नेतृत्व प्रदान गर्न सक्ने खुबी थियो। राजनैतिक हिसाबले पृथिमान राईलाई आफ्नो गुरु मान्नुहुने उहाँ भन्नुहुन्छ, “एस.एल.सि. पछि क्याम्पस पढ्न म भोजपुर गएँ, उहाँ घोरेटार मै पढाउन थाल्नुभयो। २०४६ सालको आन्दोलनमा विद्यार्थी फाँटको नेतृत्व गर्दै अखिलको तर्फबाट म भोजपुर दक्षिण क्षेत्रको जिम्मा लिएर घोरेटार पुग्दा रानिबास र सिन्द्राङ्गको सिमानामा पर्ने संखामचुली डाँडामा स्थानिय आन्दोलनको स्वरुपको बारेमा उहाँसंग छलफल गरेका थियौँ। त्यो बेलाको उहाँको दुरदर्शिता र नेतृत्व क्षमता नितान्त अणुकरणिय थियो।”
एस.एल.सि. पछिको किशोरबय उमेर, रमाईलो गर्ने, हिँड्डुल गरिहिड्ने, अरुको सामुन्नेमा धाक रवाफ देखाएर हिँड्ने उमेरमा पृथिमान राई भने परिवार निर्बाह गर्ने जिम्मेवारी संगसंगै जनवादी आन्दोलनमा हिँडिरहेको कम्युनिस्ट पार्टिको जिम्मेवार नेता र अर्कोतिर शिक्षण पेसा अनि आफ्नो पढाई, यी सबैलाई ब्य्बस्थित ढंगले अगाडि बढाउनु चानचुने थिएन। २०४६ सालको आन्दोलनले ल्याएको युगिन परिवर्तन र जनताहरुमा उर्लिएको अथाह आकांक्षा, तिब्र उत्साहलाई समेट्दै तत्कालिन नेकपा (माले) र नेकपा (मार्क्सबादी) बिच पार्टी एकीकरण पश्चात् गठित नेकपा (एमाले) को प्रचार-प्रसार तथा गतिबिधिहरु तिब्र हुन थाले। भोजपुर दक्षिणी क्षेत्रको हरेक अभियानहरुमा पृथीमान राईको महत्वपुर्ण भुमिका रहने गर्दथ्यो भने लगत्तै भएका २०४८ सालको संसदीय निर्बाचन तथा २०४९ सालको स्थानीय निर्बाचनहरुमा पार्टिको नीति, बिचार र सिद्धान्तको प्रचार मात्र होईन जनबादी गीत र नृत्यहरुको निर्देशन, संयोजन र प्रस्तुती समेत गर्नुभएको थियो।
भोजपुर बहुमुखी क्याम्पसमा प्राईभेट भर्ना भई बि.सं. २०४६ सालमा आई.ए. र सोही तरिकाले २०५० सालमा बि.ए. पास गर्दैगर्नुहुँदा उहाँ बैवाहिक जिवनमा समेत प्रबेश गर्नुभयो। स्थानीय शान्ती प्रा.वि. होम्ताङ्गका तत्कालिन शिक्षक तथा होम्तङ्ग-५ का मेगेन्द्रकुमार राईको जेठी छोरी पारवती राईसंग बि.सं. २०५० साल बैशाख ६-७ गते जातीय-साँस्कृतिक रितिरिवाज अनुसार बिबाह गर्नुभए पछि छ बर्षसम्म होम्ताङ्गको गुर्धुम स्थि!त घर मै रह्यो उहाँहरुको परिवार।पछि नानिहरु जन्मिएर हुर्कदै जाने क्रममा उनिहरुको पढाईलाई मध्यनजर गर्दै घोडेटार मै घर बनाएर बस्न थाल्नुभयो। त्यस क्रममा थुप्रै आरोह अबरोहहरु आईरहे। उहाँहरुको चार सन्तान दुई छोरा दुई छोरी भए। दुई छोरी मध्ये जेठी खिम्बुङ्गले काठमाडौबाट बायोटेकको अध्ययन पूरा गरिसकेकी हुन भने कान्छी निछाबुङ्गले होटल म्यानेजमेन्ट एण्ड टुरिजम बिषयमा+२ पास गरेकी छन्। त्यस्तै छोराहरु मध्ये जेठा छोरा दिवाहाङ्ग बिज्ञान संकायबाट +२ अध्ययनरत छन भने कान्छा चासुमहाङ्ग सगरमाथा उच्च मा.वि. घोडेटरामा कक्षा १० मा अध्ययनरत छन्।
एक बर्षे बि.एड. भने २०५२ सालमा बिपि क्याम्पस जनकपुरबाट गर्नुभएको पृथीमान राईले बि.सं. २०४६ सालको शिक्षक आयोग मै परिक्षामा सहभागी भई स्थायी नियुक्ती लिईसक्नुभएको थियो। पारिवारिक ब्यबस्थापन, सामाजिक जिम्मेवारी र उत्तरदायित्व तथा बिद्यालयमा विभिन्न समयमा थपिएका जिम्मेवारीहरुलाई निभाउँदा निभाउँदै स्नतकोत्तरको अध्ययनलाई नियमित अगाडि बढाउन सक्नुभएन र निक्कै पछि मात्र बि.सं. २०७३ सालमा धनकुटा बहुमुखी क्याम्पसबाट सो योग्यता समेत हासिल गर्नुभयो। उल्लेखनीय प्रसंग यो छ कि एस.एल.सि. पछि उहाँले कलेज पढाइको समयमा कुनै पनि कक्षा कोठामा टेक्न पाउनुभएन। कक्षा १० को सेन्ट अप टेस्ट परिक्षा उतिर्ण गर्ना साथ सगरमाथा मा. वि. मा अध्यापन थाल्नुभएको उहाँलाई प्रा.वि. दरबन्दिमा स्थायी हुनुभएपछी तत्कालिन प्रजातन्त्र नि.मा.वि. होम्ताङ्गमा पोस्टिङ्ग गरिएको थियो। तर उहाँको योग्यता, क्षमता, कुशलता र सिपहरु सगरमाथा मा.वि. घोडेटारलाई जरुरी थियो साथै पृथीमान राई स्वयंको पनि त्यहिँ बिद्यालयमा सेवा गर्ने उत्कट चाहना भएकोले तत्कालिन प्रधानाध्यापक ईस्वरमान राईको पहलमा प्रजातन्त्र नि.मा.वि. को प्रा. वि. शाखा सगरमाथा मा.वि. मा संचालन गरि पृथीमान राईलाई घोडेटार मै स्थापित गरिएको थियो। त्यसपछिका समयहरुमा विभिन्न जिम्मेवारिहरु प्रदान गरिँदा कुशलतापुर्वक निर्बाह गर्नुभएको सम्झनुहुन्छ तत्कालिन प्रधानाध्यापक ईस्वरमान राई। उहाँ भन्नुहुन्छ, “२०५५ सालदेखी उच्च मा.वि. तहको पढाइ सञ्चालन शुरु गर्दा उहाँलाई सहायक प्रधानाध्यापक तथा मा.वि. विङ्ग ईन्चार्जको जिम्मेवारी दिईएको थियो।”
पञ्चायती क्रुरताको बिचमा भुमिगत संगठनमा आबद्ध भएर राजनैतिक यात्रामा लाग्नुभए पनि पारिवारिक जिम्मेवारिबोध तथा आधारभुत समस्याहरुको बीचमा राजनैतिक यात्रालाई गति दिन सक्नुभएन। तैपनी नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिचको एकिकरणबाट बनेको नेकपा (एमाले) को स्थानिय कमिटी र जनबर्गीय संगठनहरुमा रहेर निरन्तर कृयाशिल रहनुभयो। बिशेषगरी बि.सं. २०४८ र २०५१ सालमा भएको संसदीय निर्बाचनमा भोजपुर क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेद्धार धनहर्क राईलाई बिजयी गराउने चुनावी अभियानमा नेतृत्वदायी भुमिकामा रहनुभएको कुरा तत्कालिन साँसद एबं हाल राष्टपतिका अर्थ-राजनैतिक सल्लाहकार धनहर्क राई सम्झनुहुन्छ।
उहाँमा फाईन आर्ट्सको अद्भुत कला थियो, अद्भुत यस कारण कि उहाँले कुनै पनि औपचारिक रुपमा त्यस सम्बन्धी तालिम वा पढाइ गर्नुभएको थिएन र पनि उहाँको कला कुनै पनि ब्यबशायिक कलाकारको भन्दा कुनै एंगलबाट पनि कम लाग्दैनन्। स्थानीय स्तरमा हुने सबै खालका कार्यक्रमहरुको लागि तुल, ब्यानर बनाउन मात्र नभई सरकारी, गैर सरकारी संस्थाहरुको कार्यालय अघि झुण्डिने साईनबोर्ड तथा घर र ब्यबशायिक स्थल अघिल्तिर आकर्षक डिजाईन र अक्षरमा लेखिएका ब्यबसायिक जानकारी र होर्डिङ्गबोर्ड तथा बिज्ञापनहरु तिनका उदाहरण हुन्। उहाँंको रुचि र कुशल क्षमताको अर्को क्षेत्र गीत संगीत थियो। स्थानिय स्तरमा बजाईने बाँसुरी, सारंगी, मादल-तबला, गितार, हार्मोनियम-किबोर्ड जस्ता बाद्यबादनहरु आफैँ बजाउँदै आफैले लेखेको गीतहरु गाउनुहुन्थ्यो। संगितको बारेमा उहाँको प्रगतिशिल धारणा थियो र भन्नुहुन्थ्यो, “हामिले गाउने गीत संगीतले जहिले पनि श्रमजिवी, सर्वहारा तथा निमुखाहरुको आवाज बोक्नुपर्छ, उनिहरुमा जिउने साहस भर्नुपर्छ। बर्गीय असमानताबाट माथी उठ्न प्रेरित गर्नुपर्छ।”
२०४६ सालको ब्यबस्था परिबर्तनपछी गाउँ गाउँमा परिबर्तनको सन्देश पुर्‍याउन थुप्रै गतिबिधिहरु भए। सिंगै हतुवा क्षेत्रमा त्यो सन्देश लिएर केही अरुका र केही आफैले सृजना गर्नुभएको जनवादी, प्रगतिशिल गीतहरु गाउँदै उहाँहरुको समूह हिँडेको थियो। उहाँका हरेक सृजनाहरुमा प्रगतिशिल चेत, अन्याय बिरुद्धका दर्बिलो आवाजहरु संगै समतामुलक समाज निर्माणका भाकाहरु पाईन्छन्। अहिलेको गीत संगीतले हाम्रा संस्कार र संस्कृतिहरुमाथी अतिक्रमण भएको बुझाई राख्ने पृथीमान राई ट्र्याक सिस्टमबाट गीत गाउने चलन खासै राम्रो होईन भन्नुहुन्थ्यो। उहाँका अनुसार, त्यस्तो चलनले हामिमा सृजनशिलता लोप भएर जान्छ, हाम्रा बाजा गाजाहरु महत्वहिन हुन्छन् जसले हाम्रो परम्परा र संस्कारहरुलाई आज सम्म जिवित बनाएका छन्। साथै नृत्यमा समेत आधुनिकताको नाममा भद्दा र नृत्यको आधारभुत पक्षहरु समेतलाई नपक्रेर गर्नु नितान्त गलत हो भन्ने उहाँको बुझाई थियो। त्यसैले “स्टेज शो” हरुमा बाद्यवादन वजाएर प्रत्यक्ष गीत गाउने तथा मौलिक, साँस्कृतिक नृत्यहरुलाई प्रवर्द्धन गर्नुपर्नेमा उहाँको हमेशा जोड थियो।

“सादा जीवन उच्च बिचार” … साँच्चै यो कथन कसैले पालना गरेको थियो भने पृथीमान राईले त्यो कथनलाई चरितार्थ गर्नुभएको थियो।अनावस्यक तडक भडक, तामझाम र देखावटिपन उहाँमा कहिल्यै देखिएन न त यस्ता बिषयहरुमै अल्झिनुभयो। बिद्यालयको समय बाहेक घरायसी काम अनि सृजनाकर्ममा समय दिन भ्याउने पृथीमान राई सधैँ समयको अत्यन्तै ख्याल राखेर सोही अनुसार आफुलाई ब्यस्त राख्नुहुन्थ्यो। सामाजिक, जातीय रितिरिवाज, तथा जातीय संस्कार हाम्रा अमूल्य निधि हुन भन्ने धारणा राख्ने उहाँ अहिले ब्याप्त पहिचानको सन्दर्भमा हाम्रा मौलिक संस्कृती, भाषा र संस्कारहरुलाई लत्याएर पहिचान भन्ने शव्दको पछाडी मात्र दौडिएर सम्भब नहुने तर्क राख्नुहुन्थ्यो। हाम्रा सामाजिक मूल्य र मान्यताहरु हाम्रा साँस्कृतिक धरोहर भएकोले तिनिहरु नै हराए भने आफ्नो उद्गम नै हराउन पुग्छौँ भन्दै आफ्नो मातृभाषामा कुरा गर्न र विभिन्न रितिरिवाजहरुमा प्रत्यक्ष सहभागी हुन मन पराउनुहुन्थ्यो। पृथीमान राई राईहरुको संस्कार र संस्कृतिमा अत्यन्तै सचेत रहनुभएको सम्झदै नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष तीर्थकुमार राई भन्नुहुन्छ, “किराँत राई जातिहरुको सँस्कारमा अनिबार्य चाहिने टोङ्वात(थुन्छे) चिनोको रुपमा घोडेटारबाट मलाई पठाईदिनुभएको थियो, जसप्रती म अत्यन्तै ऋणी छु।”
सामाजिक, पारिवारिक रुपमा जति सरल, सहज र मिजासिलो हुनुहुन्थ्यो, प्रशासनिक तथा शिक्षकको रुपमा उत्तिकै “स्ट्रीक्ट” र मर्यादा पालना गर्नुपर्छ भन्ने धारणा थियो उहाँको। ख्याउटे शरीर, सामान्य पोशाक, नपत्याउँदो “आउटलूक” तर जब आवाज निस्किन्थ्यो मुखबाट कसैको प्रतिवाद या प्रतिप्रश्न गर्न शाहस रहदैनथियो। कारण हरेक बोलिमा तर्क, ईमान्दारिता, अनुशासन र नैतिकताका ओजिला शब्दहरु निस्किन्थे। कुनै समय दक्षिण भोजपुरको सबैतिरबाट(बासिखोरा, युँ, बालाँखा, थिँदिंखा, पावला, दुम्माना, मानेभ्ञ्ज्याङ्ग, देवान्टार, सिन्द्राङ्ग, खैराङ्ग, हसनपुर, होम्ताङ्ग, रानिवास) मा.वि. अध्ययनको लागि सगरमाथा मा.बि. मै आउने गर्दथे। त्यो समयमा समूह समूह बनाएर “ग्याङ्ग फाईट” हुने गर्दथे। त्यस प्रकारको समस्यालाई समेत सुझबुझपुर्ण ढंगले समाधान गर्ने अनुकरणिय क्षमता र प्रभाव रहेको सम्झनुहुन्छ तत्कालिन प्रधानाध्यापक ईस्वरमान राई। कलेजको कुनै पनि कक्षामा उपस्थित नभई नै स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको पृथीमान राईका लागि अध्यापनको लागि कुनै पनि विशेष बिषय हुदैनथियो। स्कुल स्तरका जुनसुकै बिषय पुर्ण दक्षताका साथ बिद्यार्थिहरु प्रफुल्ल हुने गरि पढाउन सक्नुहुन्थ्यो। हरेक बिषयलाई नयाँ विधि र आकर्षक प्रस्तुतिका साथ पढाउने भएकोले अत्यन्तै रहरलाग्दो “क्लास” उहाँकोभुने गर्दथ्यो। एस एल सि परिक्षाको आगमन हुँदै गर्दा उहाँसंग ट्युसन पढ्न आउनेहरु बग्रेल्ती हुन्थे अनिबार्य गणित, ऐच्छिक गणित, अंग्रेजी जस्ता गार्‍हो भनिएका बिषयहरुको। पृथीमान राईको एक समयको विद्यार्थी धिराज राईका अनुसार उहाँले कहिल्यै ट्यूशनको मूल्य तोक्नुभएन र पढ्नेहरुबाट लिन पनि चाहनुहुन्नथ्यो।
जिल्ला शिक्षा कार्यालयले कायम गरेको स्रोत केन्द्रहरु मध्ये सगरमाथा उच्च मा.वि. स्रोतकेन्द्रका प्राय हरेक कार्यक्रमहरु पृथीमान राईले संचालन गर्नुपर्थ्यो। तालिम, बैठक, कार्यशाला गोष्ठी तथा बिषयगत र तहगत एबं क्षमता बिकासका तालिमहरु तत्कालिन स्रोत ब्यक्ती बुद्धिमान राई भए पनि स्रोत ब्यक्तिले अत्यन्तै रुचाउनु भएको पृथिमान राईले नै संचालन गर्ने गर्नुहुन्थ्यो, जुन अत्यन्तै प्रभावकारी र उपयोगी हुने गरेको कुरा सहभागिहरुले प्रतिकृया दिने गर्दथे।
यसरी सुरुवाती चरणवाटै कम्युनिस्ट आन्दोलनसंग जोडिएर न्याय तथा समतामुलक समाज निर्माणका लागि योगदान गर्न तयार रहनुभएको पृथीमान राई सामाजिक, साँस्कृतिक तथा शैक्षिक अभियन्ताको “कम्प्लिट प्याकेज” र दुर्लभ नमुना हुनुहुन्थ्यो भन्दा अत्यूक्ती नहोला।
पछिल्लो समय नेपाली राजनितिमा मौलाउँदै गएको बिचारहिनता र बढ्दै गएको लोभिपापी प्रबृती, निष्ठा र ईमान्दारितालाई लत्याएर भिँडको पछि दगुर्ने हुलको निर्माण भईरहेको प्रती तिब्र असन्तोष ब्यक्त गर्नुहुने पृथीमान राई नेकपा (एमाले) भोजपुर १२ नं. ईलाका कमिटिको निरन्तर कृयाशिल योद्धा हुनुहुन्थ्यो। स्थानिय स्तरका विभिन्न संघ संस्थामा आबद्द उहाँ नेपाल अर्बुद्ध रोग निवारण संस्थाको आजिवन सदस्य, नेपाल रेडक्रस सोसाईटिको सदस्य एवं हतुवा बचत तथा ऋण सहकारी संश्थाको संस्थापक शेयर सदस्य समेत हुनुहुन्थ्यो। विभिन्न सामाजिक संघ-संस्थाहरुमा आवद्ध भएर सामाजिक अभियानमा सक्रिय रहँंदा कुनै पनि पद धारण गरेपछी त्यसलाई जसरी पनि निभाउन सक्नुपर्छ भन्ने मान्यता राख्ने उहाँ आफुलाई प्राप्त जुनसुकै जिम्मेवारी पनि ज्यादै मिहिन ढंगले लागेर पूरा गर्नुहुन्थ्यो।
पेशागत तथा प्रसाशनिक जिम्मेवारी बहन गर्ने सवालमा अझै गम्भीर भएर लाग्नुहुने पृथीमान राई सगरमाथा मा.वि. को लागि स्टेरिङ्ग नै हुनुहुन्थ्यो भन्दा अत्युक्ती नहोला। तत्कालिन प्रधानाध्यापक ईस्वरमान राईले बिधिवत अवकाश लिनुभएपछी प्राथमिकतामा पर्नुभएका पृथीमान राईलाई प्रधानाध्यापकको रुपमा प्रस्ताब गरिएको थियो। तर सो प्रस्ताबमा केही मतभिन्नता सहित सामान्य असहमती र बिबाद हुन थालेपछी उहाँ आफैले सो प्रस्ताब अस्विकार गर्नुभएको थियो। उहाँको मान्यता सहि काम गर्नका लागि र आफ्नो क्षमता अनुसारको काम गर्न कुनै पदमा रहिरहन जरुरी हुन्न भन्ने थियो। बिद्यालयको शैक्षिक-प्रसाशनिक चुस्ततामा उहाँको मुख्य भुमिका रहने गरेको कुरामा तत्कालिन सहकर्मी तथा कर्मचारिहरुको एक मत रहेको छ भने कुनै समय कक्षा ६-१२ सम्ममा करिब १०००जना बिद्यार्थो धानेको सगरमाथा मा.बि. मा विद्यार्थीहरुलाई अनुशासित, नियमित तथा उल्लेखित पाठ्यक्रम अनुसारको उद्देश्यमुलक अध्यापनको नियमित योजना जस्ता जटिल शैक्षिक-प्रसाशनिक अप्ठ्याराहरुलाई सुल्झाउने श्रेय पृथीमान राईलाई नै दिनुहुन्छ तत्कालिन प्रधानाध्यापक ईस्वरमान राई।
कुनै समय “माझकिराँत” भनेर चिनिने हतुवा क्षेत्र बसोबासको हिसाबले किराँत-राईहरुको बहुल भएको ठाउँ हो। तर पनि अन्य जातजातिहरुसंग साँस्कृतिक तथा ब्यबहारिक अन्तर्घुलन सघन भएको ठाउँ पनि हो। त्यसैले साँस्कृतिक सहिष्णुता, एक अर्काप्रतिको आदरभाव यहाँका जाताजातिहरुको बिशेष्ता हो। किराँत-राईहरुको विभिन्न “पाछा” तथा “सोहोन” हरु रहेका छन्। राईहरुको पनि आपसमा साँस्कृतिक बिबिधता छ। अर्थात प्रचलन एउटै प्रयोग गरे पनि प्रकृया फरक फरक छन्। भोजपुर हतुवाक्षेत्रमा प्रचलित किराँत-राईहरुको जातीय संस्कारहरुमा समेत पृथीमान राई राम्रो जानकार हुनुहुन्थ्यो भने यस क्षेत्र र यहाँका विभिन्न जाति तथा सभ्यताहरुसंग सम्बन्धित मिथकहरुमा समेत विशेष रुचि र अध्ययन गर्नुभएको थियो भन्ने कुरा किराँती संस्कृतिविद निराजन राई “राजालिम” द्धारा संकलित/प्रकाशित किराँती मिथक संगालो “खोक्चिलिपा” मा उहाँले टिपाउनुभएको राईहरु मध्येको “साङ्सोन” पाछाको उत्पतिको कथाबाट प्रष्ट हुन सकिन्छ। राई जातिहरुको जन्मपछिको कार्य न्वारन, बिबाह गर्ने परम्परागत संस्कारमा गरिने कार्यहरु, केटि मगनिमा जाँदा गरिने रितिहरु, तथा चुला पुज्ने(तीन चुला पुजेर गरिने पित्री) कार्य, उँभौली-उँद्यौली जस्ता पर्बहरुको मौलिक पद्धती र बिधिहरुमा समेत जानकार उहाँ हरेक जात जातिले आफ्नो मौलिक संस्कार र भाषाहरु जोगाउनुपर्छ, आफ्ना सन्ततिलाई हामिले छाडेर जाने नै हाम्रो सांस्कार, संस्कृती र भाषा हुन्, जो हाम्रो वास्तविक पहिचान हुन भन्ने तर्क राख्नुहुन्थ्यो।
समाज र परिवारमा अत्यन्तै सालिन, सरल र मिजासिलो भएकैले हरेक गतिबिधिहरुमा उहाँको सहभागिता बिना अपुरो लाग्थ्यो सबैलाई। कामको आधारमा मान्छेको बर्गिकरण गरिनु हुदैन भन्दै फुर्सदको बेलामा जुनसुकै काम गर्न पछि पर्नुहुन्नथ्यो। समय हुँदा घरको, भान्साको समेत काम गर्न अघि सर्ने उहाँको दैनिकिको बारेमा उहाँको जीवन संगिनी पार्वती राई भन्नुहुन्छ, “हरेक बिहान सबेरै उठेर गीतार बजाउँदै गीत गाउनुहुन्थ्यो अनि मात्र बाहिरफेरको अरु काममा लाग्नुन्थ्यो। फुर्सदमा घरधन्दा समेत गर्नुहुन्थ्यो। नानिहरुलाई गीत गाउन र बाद्यबादनको अभ्यास गराउनुहुन्थ्यो बेलुकी फुर्सदमा।”
श्रीमती निक्कै बिरामी हुनुभएकोले २०७३ सालको कार्तिक ७ गते श्रीमती सहित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान झर्नुभयो उहाँहरु। धेरै पटक स्वास्थ्य जाँच गरिरहँदा पनि वास्तविक रोगको पहिचान हुन सकेको थिएन। निक्कै मेहनत पछि पहिचान भएको सो रोगको नियमित चेक जाँच तथा औषधि थपका लागि धरान झर्नुभएको उहाँहरु केही दिन बिरामिलाई चिकित्सकको निगरानिमा राख्नुपर्ने सल्लाह बमोजिम केही दिन बस्नुपर्‍यो। सबै नियमितताहरु सकेर नेपालिहरुको प्रमुख चाड मध्येको तिहार पनि नजिकिरहेको कारण उहाँहरु अलि हतारिदै कार्तिक १२ गते घर (भोजपुर घोडेटार) फर्कँदै हुनुहुन्थ्यो। बिरामिको कमजोर शारिरिक अवस्था तथा बाटोको असहजता/दुर्गमताका कारण भर्खरै खुलेको बाटो धनकुटाको मुलघाट-सिम्ले-अखुवाटार हुँदै भोजपुरको हसनपुर-घोडेटार पुग्ने कच्ची र जोखिमपुर्ण बाटोको यात्रा शुरु गनुभयो। उहाँहरु सहित ८/९(?) जना यात्रीहरु लिएर मुलघाटबाट सिम्ले-अखुवाको लागि पिक अप भ्यान हिँड्यो। बेलुकि करिब ५ बजे(?) तिर सबै अप्ठ्यारो र डरलाग्दो बाटोहरु पार गरिसकेर सिम्ले माथिको भञ्ज्याङ्गमा पुग्दा अचानक भ्यानको ब्रेक फेल भयो। ओरालो परेको बाटो, भर्खर बनाएको र पुरिएको माटोको ढिस्काहरु चालकले छल्दै जोगाउन खोज्दा खोज्दै दाहिनेपट्टिको भिरतिर मोडियो पिक अप र बाटोभन्दा मुनि लगभग ७० मिटर(?) जतिमा अडियो। जहाँ यात्रीहरु किचिएका थिए, कोहि चिच्याउँदैथिए, कोहि अचेत थिए तर एउटा अचल, नि:शव्द र निष्क्रिय शरीर लडिरहेको थियो, जुन पृथीमान राईको शरीर थियो। आसपास र अलि पर अखुवाटारबाट देख्नेहरु तत्काल उद्दारका लागि भेला भए, केही समयपछी छिन्ताङ्ग-त्रिबेणि स्थित प्रहरी चौकिबाट प्रहरिहरुको टोलि समेत आईपुग्यो। घट्नाको प्रकृतिले सबैलाई स्तब्ध तुल्यायो। तत्काल उद्दार गरि घाईतेहरुलाई बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान तर्फ तत्काल लगियो जहाँ पृथीमान राईको श्रीमती पार्वती राई लगायत अन्य गम्भीर अवस्थामा थिए भने मृत्यू हुनेमा पृथीमान राई सहित धरान शिखर टोलकी एक जना महिला थिईन् जो आफन्त भेट्घाट्को लागि सिम्ले आईरहेकी थिईन्। शवहरुलाई रातभरी रुँगेर भोलिपल्ट कार्तिक १३ गते बिहान करिब ९ बजेतिर प्रहरिहरुको उपश्थितिमा आवस्यक मुचुल्का तयार गरि पोस्ट्मार्टमका लागि पुनः घोपा क्याम्प पठाईयो। तत्काल तिहार पर्व आईहालेकोले पृथीमान राईको अन्त्येष्टी कार्तिक १८ गते गरिने जानकारी घर परिवारबाट गरियो। शोकमग्न तिहार मनाए हतुवाबासिले।
बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको शबगृहमा राखिएको शव कार्तिक १८ गते बिहान अन्त्येष्टिका लागि तयार गरियो। सिंगै हतुवा उर्लिएर पुग्यो घोपा क्याम्प, साथमा पृथीमान राईको आफन्त, शुभेच्छुक, शुभचिन्तक, सहकर्मी, विद्यार्थी, समकालीन साथिहरु सबै शोकाकुल मुद्रामा उपश्थित थिए। परिबार र आफन्तहरुको आँसु ओभाउनै पाएको थिएन। दिनको करिब १२ बजेतिर राष्ट्रपति बिद्यादेवी भण्डारिको अर्थ राजनैतिक सल्लाहकार तथा पुर्व साँसद धनहर्क राईको उपस्थितिमा नेकपा एमाले जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रेमकुमार राईले पार्टिको झण्डा ओडाएर श्रद्धाञ्जली ब्यक्त गर्नुभएपछी उपस्थित सवैले श्रद्धाञ्जली दिई धरान सर्दुखोला माथी तत्कालिन बिष्णुपादुका गा.वि.स. मा पर्ने डाँडामा उहाँलाई समाधिस्त गर्न विशाल जनसागर हिँड्यो। र केही समय मै निर्धारित स्थानमा पुगि किराँत राईहरुको जातीय परम्परा अनुसार उहाँको अन्त्येष्टि गरियो।
यसरी एउटा बहुप्रतिभाशालि, धेरै मान्छेहरुको आदर्श, समकालीन समाजले अझै धेरै कुराको अपेक्षा गरेको र थुप्रै कुराको उत्खनन् हुन बाँकी ब्यक्तित्व पृथीमान राई को भौतिक अस्तित्वलाई हज्जारौँ देब्रे हातहरुले अन्तिम पल्ट एक मुट्ठी मट्टी दिएर फर्किए। तर उहाँले बाँचुञ्जेल जुन हैसियत, पृष्ठभुमी र अवस्थामा जस्तो योगदान गर्नुभयो त्यो योगदान विशिष्ट छ, अनुकरणिय छ, पुस्तौँ पुस्ताका लागि उहाँले सुगम बाटोहरु बनाउनुभएको छ, जहाँ हामी सहजताका साथ हिँड्न सक्नेछौँ। त्यसैले अबको हाम्रो कार्यभार भनेको उहाँले गर्न खोज्नुभएका अधुरा र अपुरा सामाजिक, साँस्कृतिक अभियानहरुलाई उहाँ कै आँखाबाट हेरेर तिनलाई सार्थकता प्रदान गर्नु हो।

(होम्ताङ्ग सेवा समाजद्धारा प्रकाशित स्मृतिग्रन्थको एक अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *