काठमाडौ, २४ कार्तिक
बिगत १५ बर्षदेखी निरन्तर राई-बान्तावा भाषामा प्रकाशन भईरहेको बुङ्वाखा मासिक पत्रीका(म्यागेजिन) ले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारहरुद्धारा पुरस्कृत गरिने ब्यक्तित्वहरुको छनौट गरिएको छ।
कार्यक्रम संयोजक तथा बुङ्वाखा मासिकका सम्पादक पदम राईद्धारा प्रकाशित प्रेस नोटका अनुसार पुरस्कार छनोट उपसमितिको कार्तिक २४ गते बसेको बैठकले पुरस्कारहरु बारे निर्णय गरेको हो ।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘१५औं बान्तावा कविता प्रतियोगिता’ आगामी मङ्सिर २३ गते र ‘१५औं वाषिर्कोत्सव’ मङ्सिर २४ गते संचालन गरिनेछ भने कार्यक्रमको दोस्रो दिन निम्न पुरस्कारहरू निम्न ब्यक्तित्वहरुलाई अर्पण गरिनेछन् ।
१. ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार-२०७६’

प्रा. डा. नोबलकिशोर राई
पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूको परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो। यो पुरस्कार यो बर्षका लागि मिक्लाजुङ गाउँपालिका (साविक रवि गा. वि. स.) पाँचथरमा जन्मिनु भई हाल ललितपुर निवासी प्रा.डा. नोवल किशोर राईलाई यो प्रदान गरिने भएको छ । उहाँको ‘बान्तावा व्याकरण’ कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । साथै, उहाँले बान्तावा भाषामा पहिलोपटक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ् बान्तावा’ शीर्षकमा विद्यावारिधि समेत गर्नु भएको छ । पुरस्कारको राशी ताम्रपत्रसहित ५१ हजार २ सय ९१ रुपैयाँ रहेको छ ।
२. ‘बुङ्वाखा- पञ्च कुमारी सङ्गीत पुरस्कार-२०७६’

गायिका लिला राई
स्वर्गीय आमा पञ्च कुमारी राईको स्मृतिमा दाजुभाइ द्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले उल्लेखित पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो। यो पुरस्कार यो बर्षका लागि बान्तावा भाषाकी गायिका लीला राईलाई प्रदान गरिने भएको छ । भोजपुरको होम्ताङमा जन्मिनु भई हाल इटहरीमा बसिरहनु भएको गायिका राईले हालसम्म एक दर्जन बढी बान्तावा गीतहरू गाउनु भएको छ ।
कदरपत्र सहित यो पुरस्कारको राशी रु. ३५ हजार रहेको छ ।
३. ‘बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार-२०७६’

सञ्चारकर्मी रिता राराहाङ्ग राई
बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उहाँको परिवारले आफ्नी बजु रनमाया राईको स्मृतिमा बुङ्वाखामा स्थापना गर्न लाग्नु भएको कदरपत्रसहितको यो पुरस्कारको राशी रु. ६ हजार रहेको छ । यो बर्षका लागि उक्त पुरस्कार सन्दकपुर गाउँपालिका २, माइमझुवा इलाममा जन्मिनु भई बुङ्वाखाको काठमाडौं स्थित संवाददाता तथा इन्डिजिनियस टेलिभिजन र रेडियो कान्तिपुरमा बान्तावा भाषाको कार्यक्रम सञ्चालक रीता राराहाङ राईलाई प्रदान गरिने भएको छ ।
४. ‘बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार-२०७६’

स्तम्भकार भक्तबहादुर रुछेन्बुङ्ग राई
अल्पायुमै स्वर्गारोहण भएको आफ्नो भाईको नाममा दाजु टीकाराम बादिहाङ राईको पहलमा यो पुरस्कार स्थापना गरिएको हो । यो पुरस्कार यस बर्षका लागि भोजपुरमा जन्मिनु भई हाल काठमाडौं निवासी बुङ्वाखाका नियमित स्तम्भकार भक्त बहादुर रुछेन्बुङ राईलाई प्रदान गरिने भएको छ । कदरपत्र सहित यो पुरस्कारको राशी रु. ५ हजार रहेको छ ।
५. ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार-२०७६’
श्यामराज दुब्देङहाङका छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले आफ्ना बुबा/काकाको स्मृतिमा सो पुरस्कारको लागि स्थापना गर्नुभएको अक्षयकोषबाट बुङ्वाखाले आयोजना गर्ने ‘१५औँ बान्तावा कविता प्रतियोगिता’ मा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिनेछ । पुरस्कारको राशी क्रमशः रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार रहेको छ ।
बुङ्वाखा सल्लाहकार जय शिवाहाङको अध्यक्षतामा बसेको बैठकमा पुरस्कारको लागि स्थापित बिभिन्न अक्षयकोषका सदस्यहरू चन्द्र कुमार हतुवाली, अशोक मुकारुङ लगायतको उपस्थितिमा बुङ्वाखाकर्मिहरु मनोज साङ्सोन, जिडी राई, खान्नुबुङ राई र कार्यक्रम संयोजक/सम्पादक पदम राईको संयुक्त छलफलबाट सो टुंगो लगाईएको हो। उक्त छलफलमा किरात राई बान्तावा खिम उपत्यका कार्यसमितिका अध्यक्ष अजिरमान गामुरे राई आमन्त्रित सदस्यको रूपमा उपस्थित हुनु हुन्थ्यो ।