Sunday, December 15, 2019
Home > सँस्कृति > खाल्सा, वाडाङमी/वाढाङमी र हामी

खाल्सा, वाडाङमी/वाढाङमी र हामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जसकुमार राई

सन्दर्भ : कात्तिक पुर्ने देखी शुरुहुने धनकुटा खाल्सा क्षेत्रका आदिवासी राईहरुको विषेश चाड वाढाङमी

नाबोलुङ भन्दा बोलुँ बोलुँ लाग्छ,
नखेलु भन्दा खेलुँ खेलुँ लाग्छ,
आहालको पानी, लाहरमा राम्रो चेली है रानी
बेल फोरी वियाँ भेटघाट ईहा,
ईहा पुर्नेको जुन झै ।।।।।

ढोल, झ्याम्टा अनि सुमधुर गीतको तालमा गाँउ उचाल्दै तालमा ताल मिलाएर , कुममा कुम जोडेर, सबै तरुनी तन्नेरी नाचिरहेका भेटिन्छन यति बेला धनकुटाको उत्तर पस्चीममा पर्ने (खाल्सा क्षेत्र)खोकु, छिन्ताङ र आँखीसल्लामा। कात्तिक पुर्णीमाको साँझमा आ-आफ्नो घरमा पुजा गरिसकेपछि शुरु हुने यही नाचलाई वाडाङमी(पापानी) भनेर भन्ने गरिएकोछ ।

हिन्दुहरुको भाईपुजाको अघिल्लो दिनबाट शुरु हुने छोङलाक पर्व १५ दिन चल्छ । छोङलाक खाल्सा क्षेत्रका किराँतीहरुको भाषा हो । उछोम्पाक्मा र लाक वाट आएको यो शब्दको अर्थ आत्मा देखि नै प्रफुल्लीत भएर आउनु, सवै दुःख विर्सीएर उठुनु भन्ने हुन्छ । लाक को अर्थ रमाईलो पुर्वक नाच्नु भन्ने हुन्छ । यो भनेको देवी देवता खाल्सा क्षेत्रमा आउने समय पनि हो भन्ने गरिन्छ । छोङ्लाक पर्व भरि नै देवी देवताहरुको आत्मालाई खुशी पार्नको निम्ती मनाईने वाढाङमी नाचको प्रारम्भीक चरण हो यो । वाढाङमी(पापानी) खाल्सा क्षेत्रको राईहरुको प्रमुख ठुलो चाडको रुपमा मानिँदै आएकोछ ।
छोङ्लाकको सुरुवातमा आँखीसल्लाका छिलिङ जातिहरुले घर घरमा रहेको ढोल झ्याम्टालाई नाक्छोङ/पुजारीकोमा लिएर गएर पुजा गर्छन । पुजा गरिसकेपछि १५ दिनको लागि ढोल झ्याम्टा खुल्छ । अनि यो बर्षको वाढाङमी नाच पनि खुल्छ । १५ दिन पछि यो ढोल झ्याम्टा बर्ष दिनको लागि शान्त हुन्छन ।

गुन्द्रुक र सिन्की दुई दिन्को जीन्गी
बाँसको डुङग्रो बाचेको छुङरो
सम्झेर ल्याउँदा पुर्ने झै झलल ।।।।।

वाढाङमी नाचको सांकेतिक स्केच (लेखकको फेसबूक वालबाट)

तीन कदम अघि तीन कदमपछि कुमको सहाराले सारिरीक संञ्चार गरेर ढोल र झ्याम्टाको तालमा रमाईलो गरि गीत गाँउदै, यौटै ठुलो गोलाकार भएर प्रेम, सदभाव अनि सर्मपण भावका गीत गाउँदै नाचिने यो नाचमा गीतको तुक्का मिलाउँदै माया प्रेमको प्रस्ताव राख्ने स्वीकार्ने र जीवनलाई प्रेममय बनाउने समय पनि हो यो । यो बेला प्रेमको उत्सव जस्तै हुन्छ । यस बेला कसैले कसैलाई हकार्न अथवा झै झगडा गर्न नहुने, यदि गरिहालेमा पीतृदेव बुढाहाङ खुशी नहुने आहान छ ।

यो बेला कुनै केटाले केटीलाई अथवा केटीले केटालाई प्रेमको प्रस्ताव राखेमा गुनासो गर्न नहुने जनबिस्वास पनि चलि आएकोछ । “यो वाढाङमी पर्वले महिला स्वतन्त्रताको कुरालाई सुन्दर ढंगले समाहित गरेको साथै महिलाहरुलाई यो बेला कुनै पनि दवाव सहनु नपर्ने भन्ने पनि पनि देखाउँछ ।” शहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज कुमार राईको कथन छ । यो बेला नारिले पुरुषलाई अथवा पुरुषहरुले नारिलाई प्रेम प्रस्ताव राख्यो भने रिसाउन पाईदैन । यदि माईतिले थाहा पाएर गाली गर्ने वा दवाब दिने गरेमा चेलीलाई सुँगुरको पाठा राखेर माफी माग्ने चलन छ ।
बर्षमा एक पटक हुने यो नाचमा चीनजान हुने र भेटघाट बाक्लीनाले धेरै जसो युवा युवतिहरु यहि बेला विबाह बन्धनमा बाँधिने गर्दछन । यो प्रेम उत्सवमा खाल्सा क्षेत्र (खोकु,छिन्ताङ र आखीसल्ला) बाट हरेक बर्ष विदेश/परदेश गएकाहरु समेत गाउँ फर्किने गर्दछन्। अरु चाड पर्वमा नआए पनि यो अवसरमा गाउँ फर्कने चलन छ। त्यसैले यो पारिवारिक पुर्नमिलनको गौरवशाली अनि भावनात्मक समय पनि हो । वाडाङमी अवधीको यो १५ दिन विदेश फर्कन हुँदैन, यदि फर्किएर गएमा अनिष्ट हूने, पीतृदेव बुढाहाङ रिसाउने साथै ज्यानै तलमाथि हुने मान्यता समेत रहिआएको छ।

वाडाङमी/पापानीको बेला कसैले पनि कुबचन बोल्न नहुने , साथै यो बेला कोही पनि परदेश जान नहुने, त्यो बेलाको कसिंगार पनि बढार्नु नहुने चलन रहँदै आएकोछ । यदि त्यसो गरे त्यो ब्यक्ती र परिवारमा ठुलो अनिष्ट हुने, जीउ ज्यान नै हानी हुने भन्ने विश्वास रहदै आएकोछ । अझ यो बेला वुढाहाङलाई बलि दिएको कुनै पनि मासुमा कुनै पनि प्रकारको मर-मशला प्रयोग गर्नु हुदैन भन्ने मान्यता छ। विशेषत: बुढाहाङलाई सुगुर बलिदिने गरिन्छ र सो सुँगुरलाई मर-मशला विना नै पकाएर खाने चलन छ साथै यसलाई पर्सादको रुपमा बाँड्ने चलन रहेको छ ।

यो १५ दिन खाल्सा क्षेत्रका आदिवासी राईहरु बडो फेस्टीभ मुडमा रहने गर्छन । यो १५ दिन भित्र मुन्धुम विद तथा अग्रज नाक्छोङहरुले बर्ष दिनको शुभ अशुभ हेर्ने चलन पनि छ । यो पर्व घर घरमा मनाईन्छ, जसलाई माङलाक भनिन्छ । यो बेला बर्ष भरि उब्जाएका अन्नबालि देवतालाई चढाएर देवताहरुको अगाडी गएर नाचीन्छ । साथै देवथानमा कुखरालाई डाढमा कुटेर झुण्डाउने गरिन्छ झुण्डाउँदा रगत देखिए यो बर्ष मंगल रहने, नदेखिए अनिष्ट हुन्छ भन्ने मान्यता छ । यो नै माङलाकको महत्वपुर्ण बिशेष्ता हो । माङलाक वाढाङमी पर्वको अत्यन्तै बिशेष समयको रुपमा लिईन्छ ।

वाडाङमी/वाढाङमीको अर्थ
यो वाडाङमी भन्ने शब्द वाढुम्मा/वाडुम्मा बाट अपभ्रंश भएर वाडाङमी भएको हो भन्ने कुरा लेखक तथा संस्कृतिकर्मी लोकेन्द्र कुमार तेले राईको पुस्तक “छिन्ताङ संस्कृति र जाल्पादेवि” मा उल्लेख गरिएको छ।
वाढुम्मा शब्द खाल्सा थुम (क्षेत्र)को खाँटी भाषा हो । वा र ढुम्मा अर्थात “वा” भन्नाले बुढा/पाका, अग्रज, छरछिमेक, गाँउटोल र समाज भन्ने बुझीन्छ । डुम्मा अर्थात ढुम्माको अर्थ चाही पहिल्याउनु भन्ने लाग्छ । यसर्थमा यो पर्व शक्ति सम्पन्न परमेश्वर बुढाहाङ (पुर्खाहरु) को शक्तिलाई पछ्याएर उनिहरुको आत्मालाई चिर शान्ती कायम होस साथै बाँचेकाहरुको लागि आर्शिवाद प्राप्ती होस भन्ने बुझीन्छ ।

बुढाहाँङको कथा र वाडाङमीको नाच

यो वाडाङमी संस्कृतिमा विभिन्न किंवदन्तीहरु रहदै आएका छन् । शहिदभुमी अध्यक्ष मनोज राईका अनुसार यो क्षेत्रमा कुनै समयका शक्तिशालि शासक बुढाहाङको योगदानको कदर र सम्मानको खातिर नै वाढाङमी मनाउने गरिएको हो । त्यो समयमा बुढाहाङ शक्तिशाली राजा थिए । उनी दैवी शक्तिका पुर्ण ज्ञाता थिए । यहाँ बुढा भनेर पहिलो भनेर पनि अर्थ लाग्छ साथै बुढा भनेर वृद्ध भनेर पनि अर्थ लाग्छ । पृथ्वी नारायण शाहको नेपाल एकिकरणको समयताका बि. सं. १८३० सालतिर चौदण्डीगढि विजयपछि पुर्वतिर राज्य विस्तार गर्न लाग्दा बुढाहाङलाई पनि भेट्न बोलाएका थिए । बुढाहाँङ भेट्न गए । भेटमा आफ्नो दैवी तथा तान्त्रीक शक्तीले पृथ्वीनाराण शाहलाई ठाँउको ठाँउ नचल्ने बनाई दिएका थिए भन्ने बिस्वास छ । त्यहीँ भएर पृथ्वीनारायण शाहले उनलाई मैले अरु राज्य जीते पनि तिम्रो राज्य स्वतन्त्र हुनेछ भने पछि मात्रै उनले छोडेका थिए । त्यसैले बुढाहाङ(पहिलो) पृथ्वीनारायण शाहलाई भेट्न जाने पहिलो राजको रुपमा पनि प्रख्यात रहेका छन ।

पृथ्वीनाराणशाहको एकीकरणलाई रोकेकाले उनलाई यो क्षेत्रमा प्रतापी अनि शक्तिशालि राजाको रुपमा लिईन्छ । त्यसैले उनको सम्मानमा नै वाढाङमीको शुरुवात भएको बिश्वास गरिन्छ। अहिले वाढाङमीको समयमा उनको पुजा हुन्छ । अहिले पनि आँखीसल्लाको शुकेआहाल नजिकै बुढाहाङको भग्नावशेष दरवार रहेको देख्नेहरु बताउँछन । अहिले दरबार क्षेत्र संरक्षीत भएकोले त्यो ठाँउमा जान बन्देज गरिएको छ ।

बलले नसकेका पृथ्वीनारायण शाहले छल गरेर भाईहरुलाई नै हतियार दिएर वुढाहाङको बध गर्न लगाएका थिए भन्ने जनश्रुती पाईन्छ। त्यो बेला बुढाहाङ मान्द्रोमा लुकेर अलप भएकाले अहिले पनि धनकुटा खाल्साक्षेत्रका राईहरु मरेपछि मान्द्रोमा बेरेर जंगल लैजाने चलन रहेकोछ ।
गाउँपालिका अध्यक्ष राईका अनुसार वाढाङमी संस्कार अहिले नासिने क्रममा छ । पहिला जस्तो मानिसको उपस्थीती छैन । यसमा रहेको गायन, संगीत र संस्कार पनि पुरानो पुस्तामा मात्रै बाँकी रहेको तथा नयाँ पुस्तामा यसको प्रभाव कम हुँदै गएको छ। । यो पनि आधुनिक संस्कृति संक्रमणको शिकार भएको छ । यसलाई जोगाउन यहाँका राई तथा आदिवासी जनजाति लागी परे पनि सम्बन्धित सरकारी निकायको ध्यान यहाँसम्म पुग्न सकेको छैन । यसबारे केही कुराहरु दस्तावेजिकरण गरिएको छैन। साथै वाढाङमीको अध्ययन गरेर सामाजीक , साँस्कृतिक अनि धार्मीक महत्वको बारेमा कुनै सोधी खोजी गरिएको पाइँदैन ।

यो किरात प्रदेशमा विजयपुर बुढासुब्बा बाट प्रख्यात छ । हतुवागढी सुनाहाङ्गको नाम प्रख्यात छ त्यसैगरि खाल्सा क्षेत्र बुढाहाङको नामले प्रख्यात छ । बुढाहाङलाई ईतिहाससंग जोडेर हेरीयो भने पनि यो ठाँउको महत्व अझ बढेर जानेछ। आकाशको फल आँखा तरि मर भने जस्तै राजनितिक रुपमा पनि यो खाल्सा क्षेत्रलाई प्रयोग गर्ने अनि छाडी दिने प्रबृत्ती निरन्तर चल्दोछ। यहाँको अथाह साँस्कृतिक विरासतलाई पनि अब यो क्षेत्रले विस्तारै भुल्दै गईरहेको छ भन्ने कुरामा दुईमत छैन ।

“अडको फडको तेलको धुप” भने जस्तै अहिले मैले वाढाङमीको अनुसन्धानलाई अगाडी बढाएको छु ताकि यसको यथार्थ दुनियाँले चाल पाउन्। हामी प्रत्येक दिन देश देशावरको खबर आँखै अगाडी देख्छौँ । तर आफ्नो घर गाँउको खबरबाट भने बेखबर रहन्छौ । यो राम्रो कामलाई धनकुटाका सहृदयी सँस्कृतिककर्मी लोकेन्द्र तेले राई , शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई , खोकुका नगेन्द्र रार्ई , सावित्रा राई पत्रकार मोहन बान्तावा र शिद्धराज राईले सहयोग गरिरहनु भएकोछ । यो बर्ष पनि वाढाङमी शुरु भै सकेको छ । रौनक शुरु भै सकेकोछ । वाढाङमीको सबैलाई स्यामुना, सेवा, शुभकामना।।।

(लामो समय धरान बेसबाट पत्रकारिता गर्नुभएको लेखक हाल अमेरिका बस्नुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *