Sunday, December 15, 2019
Home > कविता > कविता  :  उनीसँगै रमाएको म

कविता  :  उनीसँगै रमाएको म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

– पूर्णसन्ध्या समाधी

मंसिरको महिना जता र ततै, दाईँ गर्ने बेलामा
उल्लास बोकी म पनि पुग्छु, खेतको मेलामा ।
नियाली हेर्छु राम्ररी त्यहाँ, बसेर आलीमा
यी आँखा मेरा ठोक्किन पुग्छन्, धानको बालामा ।

पहेंलो बस्त्र शरीरै भरी, कसरी लाएकी
हावाको तालमा मनमोहकसँग, रमाउँदै नाचेकी ।
सायदै मलाई देखेर होला, मुसुक्क हाँसेकी
लाजले होला घुम्टो त्यो ओढी, तलतिर झुलेकी ।

पछ्यौरी उनले हल्लाउने गर्छिन्, मोहनी लाउनलाई
सूर्यको किरण आउँदछ फेरि, लाली त्यो छाउनलाई ।
था’भएन मलाई बसेछिन् उनी, यो मेरो मुटुमा
मोहनी भाका उर्लन थाले, सौन्दर्य रूपमा ।

कामधन्दा बिर्सी हेर्दछु उनको, लाली त्यो ओंठलाई
आग्रह गर्छु हँसिया फाली, सँगसँगै नाच्नलाई ।
हे बाला ! तिमी लुकाऊ मलाई, त्यो तिम्रो काखमा
रमाउन देऊ झुलेर मलाई, त्यो तिम्रो मुस्कानमा ।

असारे महिना छुपुमा छुपु, रोपौंला तिमीलाई
गोडौंला फेरि साउनको बेला, सौन्दर्य चुम्नलाई ।
मुस्कान बोकी आउनु है तिमी, आघौंको मंसिरमा
मलाई पनि सौन्दर्यभित्र, लैजाऊ है साथैमा ।

हतुवागढी – ३,सिन्द्राङ,भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *