काठमाडौँ , २४ मंसिर।
बान्तावा भाषाको पहिलो मासिक पत्रीका (म्यागेजिन) बुङ्वाखा को १५औँ बार्षिकोत्सवमा आयोजित १५ औं बान्तावा कविता प्रतियोगितामा भोजपुर आमचोकका इमानसिंह राईको ‘आन खिम टेन’ अर्थात ‘हाम्रो गाउँघर’ कविता पहिलो भएको छ । कवितामा आधुनिकताले गर्दा हराउदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परासँग जोडिएको गाउँघरको मौलिकताबारे उठान गरिएको थियो।
मंसिर २३ र २४ गरि २ दिन आयोजना हुने बुङ्वाखाको बार्षिक उत्सवको पहिलो दिन काठमाडौको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित वान्तवा कविता प्रतियोगितामा इलाम, पाँचथर, सुनसरी , ललितपुर , भोजपुर , धनकुटा लगायत विभिन्न ठाउँबाट प्राप्त ३५ बान्तावा कविता मध्ये छनौट गरिएका उत्कृष्ट १५ प्रतियोगी कविहरुले आफ्नो कविता बाचन गर्नुभएको थियो ।
पुर्व मानवीय न्यायाधीश रामचन्द्र राई , दुर्गा राई र दिपक बान्तावा रहनुभएको तीन सदस्यीय निर्णायक मण्डलको निर्णय अनुसार भोजपुर जिल्ला कै राम प्रसाद राई गाउँपालिकाकी प्रजितकला राई दोस्रो र सोही गाउँपालिकाको त्रिलोक त्रिवेणी राई तेश्रो हुनु भएको छ ।
प्रजितकलाको ‘बुङ्वा लाम’ अर्थात् ‘फुलको बाटो’ शीर्षकको कवितामा बान्तावा राई समुदायका महिलाको समवेदना समेटिएको छ भने त्रिलोकको ‘अंका छुन्ङ्गा’ अर्थात् ‘म मान्दिँन’ शिर्षकको कवितामा समाजमा कमजोरमाथि गरिने विभेदलाई चिर्दै विकास निर्माणमा हुने अनियमितता र अत्याचार बारे बोल्नुपर्छ भन्ने भाव व्यक्त भएको छ।
बान्तवा भाषामा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा बिभाग प्रमुख प्राज्ञ लक्ष्मी मालि, विशेष अतिथिहरु किरात राई यायोक्खाका महासचिव जनक राई , पारुहाङ साप्टेन माङखिम राँका सिक्किमका निर्देशक मोहन दुङमाली, भाषाबिद प्रा. डा. नोवल किसोर राई , अतिथि भाषाबिद उप-प्राध्यापक डा. तारामणि राई , अक्षयकोष दाता जीवन मुकारुङ, बुङवाखा सल्लाहकार चङमायुमा राइ लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।
मंसिर २४ गते आज हुने बुङ्वाखाको बार्षिकोत्सवमा यस अघि नै छनौट गरिएका विभिन्न बिद्यामा पुरस्कृत हुने ब्यक्तित्वहरु संगै बान्तावा कविता प्रतियिगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार राशीको ‘बुङ्वाखा—श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ प्रदान गरिनेछ।