Home > कथा > ह्याप्पी न्यू इअर

ह्याप्पी न्यू इअर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-दिलिप बान्तावा

“डियर लेखक, म तिमिसंग कहिल्यै नभेटिन चाहन्छु। तिमिसंग टाढिरहन चाहन्छु।”

उनको म्यासेजले यस्तै अर्थ दिएको भान भयो। नयाँ बर्षको पहिलो दिनको अन्तिम प्रहरतिर ईमेलको ईन्बक्समा हुत्तिँदै आएको उनको सन्देशको अर्थ थियो यो।

डिसेम्बर अन्तिम भए पनि “साउथ चाईना सि” आसपासका देशहरुमा हपहपी उत्तिकै छ। सिंगापुर, मलेशिया, हङ्कङ्ग, ईन्डोनेशिया, बैंकक, मकाऊ लगायतका समुन्द्री किनारमा घाम ताप्नेहरुको ताँती बार्‍हैमास उस्तै।

बर्षको उत्तरार्द्धमा लागेको पारिलो घामको तेज महसूस गर्दै समुन्द्री तटको एउटा “हट” मा थिएँ। सानो ल्याप्टपले औँलाहरुको कसरतलाई निरन्तरता दिईरहेको थियो बेलाबेला। अर्थात उन्मुक्त समाज र त्यो समाजको मानिसहरुको जिन्दगिका बारे आफ्नो नयाँ कथाका लागि प्लट बनाउँदैथिएँ। मान्छेहरुको ओहोर दोहोरसंगै छालहरुको चञ्चलतालाई नजिकबाट नियाल्ने यस्तो सुखद समय मिलाउन निक्कै हम्मे पर्छ। अक्सर यस्ता ठाउँहरुमा म एक्लै टहल्लिन मन पराउँछु। केही क्षण अघि केही स्नेप फोटो खिचेथेँ दुई वटा ग्रुपमा अनुमती मागेर। उनिहरुसंग एकछिन भलाकुसारी पनि भयो। नजिकै भएको बोतलमा अन्तिम तह बाँकी भएको पानी पिएपछि तिनै फोटोहरु स्लाईड गर्दै हेरेँ र होटल फर्किन लागेँ।

बिहान खाना खाएपछी पानी बाहेक केही पसेको थिएन पेटमा। त्यसैले कफि पिऊ भन्ने लाग्यो। अझ अग्लो ठाउँको कौसिबाट समुन्द्र किनारको गतिबिधी हेर्न मन लाग्यो। म रोडभन्दा देब्रे पट्टिको रेस्टुरेन्टको रुफ टपमा पुगेँ। कफि आईपुग्नु अघि एउटा चुरोट लिएर नो स्मोकिङ्ग जोन तिर लागेँ, जहाँबाट किनारा, समुन्द्रको फैलावट र क्षितिज क्यामेराको एउटै फ्रेममा अटाउन सक्थ्यो। त्यहिँको टेबलमा बसेर समुन्द्रतिर फर्किएँ। केही मानिसहरु त्यही दृष्यको पृष्ठभुमिमा फोटो खिच्दैथिए। म चाहिँ दृष्य मात्रै। केही क्षणपछी एक जना केटि म बसेकै टेबलमा आईन् र असजिलो गरि बस्ने अनुमति मागिन। किनकी त्यो ठाउँमा अन्य कुर्सी खाली थिएनन्। छोटो औपचारिकता पछि उनी पनि मेरै लयमा दृष्यपान गर्न लागिन्। मलाई भने उनिसंग कुरा गर्न मन लागिरहेको छ। म जोसुकैसंग बोल्न मन पराउन्नँ। तर कहिलेकाही कोहि त्यस्ता मान्छे हुन्छन् जोसंग बोलिनँ भने जिन्दगिको सबैभन्दा महत्वपुर्ण पाटो नै अपुरो हुनेछ भन्ने लाग्छ। उनी पनि त्यस्तै लाग्दै थिईन्। उनी फरक थिईन्। कमजोर मेक अप, सामान्य ड्रेस अप, गम्भीर मुद्रा। कालो गगल्स यतिखेर आँखाबाट कपाल/टाउकोमा चढिसकेको थियो।

“हेल्लो, केही गफ गरौँ?”
बिना औपचारिकता कुरा शुरु गर्दा उनी झस्किईन्।
“एक्कासी कुनै चिनजान बिना कस्तो कुरा गर्नुभएको?” उनले मुहारको भाव परिबर्तन नगरि जवाफ दिईन्।
“मलाई लाग्छ, हाम्रो चिनजान भईसकेको छ।”
“हामी भेटिएको पाँच मिनेट भयो, जम्मा दुई वाक्य बिल्यौँ, अनि यतिमै चिनजान भयो?”
उनी अचम्म मान्दैथिईन्।

“ठिक दुई घन्टा अगाडि किनारा छेउको खजुरको रुखले बनाएको सितलनिरको हटमा बसेर किताब पढिरहेकी मान्छे तिमी होईनौ?”
“त्यो त हो।”
“र, त्यो कितावको लेखक म हुँ।”
सायद मेरो उत्तरले उनी छट्पटाईन्।
उनको हातमा मेरो पछिल्लो किताब थियो जसलाई उनले ध्यानमग्न भएर पढिरहेकी थिईन्। गोलो ह्याटलाई पछाडिपट्टि अलि बढी ढल्काएर लगाएकिले उनको मुहार प्रष्ट देखिन्थ्यो।

“अनि तपाईं यहाँ, यसरी?”
आश्चर्यमिश्रीत आवाजमा सोधिन्।
“म एउटा कथाको पात्रलाई पच्छ्याउँदै बैंकक आईपुगेको हुँ। नयाँ बर्षको पहिलो साँझ उसंग भेट हुनेछ।” खिसिक्क हाँसेर प्रस्ट्याउने प्रतास गरेँ।
“थाहा छ तपाईको कितावमा भएको प्रत्येक कथाहरुमा म आफ्नो कथा र भोगाई भेट्छु।” “ग्रामिण परिबेश र अथक संघर्ष गर्दा पनि असफलताले चिलिरहने पात्रहरुको कहानिमा तिमी कसरी अटाउन सक्छ्यौ?”
“त्यही परिबेशबाट समयले उठाएर यो अनकन्टार मरुद्यानमा फालिदिएको हो मलाई। तपाईको कथाहरु जसरी शुरु हुन्छन त्यसरी नै मेरो जिन्दगिको शुरुवात भयो। तिरस्कार, अवहेलना, दिक्दारी, अभाव, संघर्ष, आवेग यिनै हुन नि तपाईको पात्रहरुको मनोदशा। यी सबसंग भिँडेर एउटा सकारात्मक चरित्र र सबल समाज बनाउने तपाईको कहानिको अभिलाषा म मा पनि जिवित छ। त्यसैले यो कथाहरु म आफ्नो कथा भन्न चाहन्छु।”
एउटा लेखकले डिभोटेड पाठकबाट पाउने यस्तो महंगो प्रतिकृया भन्दा अरु के नै होला र बहुमुल्य चिज! म त्यसै त्यसै फुलेल हुँदै थिएँ। उनी नै पहिलो पाठक भने थिईनन् जसले मलाई भेटेर लेखनको तारिफ गरेकी हुन्। तर अरुभन्दा उनी खास यस कारण थिईन् कि उनले हरेक पात्रहरुको करुण र संबेगलाई छोएकी थिईन्।

हाम्रो टेवलमा कफि कपबाट बाफ उड्न छोडिसकेको थियो। मौषम बिस्तारै चिसिदो थियो। तर एउटा नयाँ सम्बन्धले आकार लिईरहेको थियो। मान्छेहरुको सल्याङ्बल्याङ उस्तै थियो। बाहिरको उज्यालोलाई बिस्तारै अँध्यारोले निल्न थालेपछी दुधिला बत्तिहरुले पुरै किनारलाई अझ चम्किलो बनाईरहेका थिए। अघिको भन्दा अहिले झनै कामुक र सुन्दर देखियो किनारा।

हामी रुफ टपको रेलिङ्ग समातेर एक टकले समुन्द्र हेर्दै आ-आफ्ना कथाहरु भनिरह्यौँ। छालहरु तँछाड्मछाड गरिरहे, हाम्रा कुराहरु पनि उस्तै गरि कबड्डि खेलिरहे।

उनी नयाँ बर्षको लागि साप्ताहिक छुट्टि मनाउन किनारामा आएकी थिईन्। अबको दुई दिनपछि उनी फर्कदै थिईन्। म भने नयाँ बर्षको पहिलो दिनको मध्यरात नेपाल फर्कदैथिएँ।

हामी भोलि संगै बसेर नयाँ बर्ष मनाउने सल्लाह गरि उनले मलाई तिमी भन्ने सहमती सहित छुटेका थियौँ। हामी त्यहिँ ठाउँमा त्यहिँ समयमा ठिक त्यसै गरि भोलि भेट्दैथ्यौँ। तर उनी आईनन्। मैले निर्धारित समयभन्दा तीन घन्टापछिसम्म कुरेँ। तर उनी आईनन्। हामिले सम्पर्कको कुनै पनि माध्यम लेनदेन गरेका थिएनौँ। त्यसैले अन्य माध्यमबाट सम्पर्क गर्ने प्रश्नै रहेन। म स्थानिय समयको १० बजे होटलबाट चेक आउट भएँ र नेपाल फर्किएँ।

नेपाल पुगेपछी ईमेलमा आएको यो सन्देशले सल्काएको एउटा चुरोट सकिएको पत्तै भएन। उनले मलाई हेरिरहिन रे जहाँ हामी भेटिने सल्लाह गरेथ्यौँ। उनको मस्तिष्कमा छुट्टि तरंग प्रबाहित भएछ। उनले पढ्दै गरेको किताबमा भएको मेरो ईमेल ठेगानामा उनले लेखेकी थिईन्, “त्यहाँ मलाई नदेख्दाको तिम्रो छट्पटी देखेर म कायल भएँ। तिमी कत्ती छट्पटिएका थियौ, तिमिले तानेको चुरोटको प्रत्येक पफ र धुवाँको घनत्व मापन गर्न सक्थेँ। तिमिले फालेको हरेक पफमा तिम्रो ब्यग्रता झल्कन्थ्यो। तर डियर लेखक, तिमिलाई म एउटा सुन्दर लेखकका रुपमा हमेशा प्रेम गरिरहनेछु। मलाई डर थियो, तिमिलाई म लेखकको रुपमा गुमाउनेछु । त्यसैले अब तिमी मेरो हृदयमा सँधै लेखक भएरै बसिरहनेछौ। र अन्त्यमा Happy New Year Dear Writter.”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: