Sunday, April 5, 2020
Home > प्रमुख > अरुण नदिमा स्काईभेटर हेलिएको १० बर्षपछी (फोटो फिचर)

अरुण नदिमा स्काईभेटर हेलिएको १० बर्षपछी (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

साठिको दशकसम्म अक्करको कहालिलाग्दो गोरेटो बाटोबाट अबिराम जिन्दगिको नुन बोकि भ्याएका हतुवा र आसपासका मानिसहरु भन्थे, “हाम्रो जुनिमा त होईन छोरा नातिको पालामा चाहिँ गाडी आउला हाम्रो गाउँमा नि।” किनभने मोटरबाटो भनेको बराहक्षेत्र तरेर आउने अक्करेभिरको डरलाग्दो पहरा फोरेर तमोर, अरुण नदि तरेर मात्र हतुवा आईपुग्छ भन्ने सिधा बुझाई थियो। सामान्य मान्छेहरुको सोँचाईमा अन्य बिकल्पहरु बिरलै आउँथे होलान सायद।

तर समयलाई फराकिलो ढंगले बुझ्ने र समाजलाई सापेक्ष हिसाबले हेर्ने हतुवा क्षेत्रको समग्र बिकासको गतिमा एक्स्लेटर दिन हरदम प्रयासरत एउटा दिग्गज र सचेत नेतृत्व समुहले भने हतुवा क्षेत्रको विकासका लागि हरेक बिकल्पहरुको चिन्तन र खोजी गरिरहेको थियो। बिकासका लागि प्राथमिक पुर्बाधार भन्नू नै सडक यातायातको सुबिधा हो भन्ने निचोड निकालेको यो समुहले कुनै पनि हालतमा हतुवालाई सडक सञ्जालमा जोड्ने अठोट लिएर बिकल्पहरुको खोजिमा लाग्यो। सगरमाथा उच्च मा.वि. का तत्कालिन प्रधानाध्यापक इश्वरमान राई, सोही बिद्यालयका ब्यबस्थापन समितिका तत्कालिन अध्यक्ष कल्याणबहादुर बस्नेत, सोही बिद्यालयका तत्कालिन शिक्षक (हाल हतुवागढी गाउँपालिका अध्यक्ष) प्रेमकुमार राई, आशकुमार राई (तत्कालिन शिक्षक) भुतपुर्व सांसद धनहर्क राई, साविक रानिबास गा.वि. स. का भुपु अध्यक्ष ध्यानबहादुर राउत, नारायण निरौला लगायतको असल नेतृत्वको समुहले धनकुटाको पाख्रीबास हुँदै पुर्ब प्रधानमन्त्री सूर्यबहादुर थापाको पुर्ख्यौली घर मुगासम्म आईपुगेको कच्ची सडक सञ्जाललाई ओरालै ओरालो अरुण नदि स्थित सुनबालुवासम्म झारेर हतुवा क्षेत्रमा सडक सञ्जाल बिस्तार गर्ने खाका कोर्‍यो। “पहिला बिस्तृत योजना बनाउने अनि काम गर्दै बजेट जुटाउने” भन्ने मान्यता अनुसार विभिन्न तह र निकायहरुलाई गुहार्दै सुनबालुवासम्म “रफ” बाटो पुर्‍याएको स्काईभेटरलाई अरुण नदि तारेर पारी लैजानु थियो। तर कुनै पनि माध्यम वा प्रबिधि थिएन त्यहाँ जसको प्रयोग गरेर स्काईभेटर तार्न सकियोस। तर जुनसुकै मुल्यमा स्काईभेटर तार्नु थियो। त्यसैले सडक निर्माण उपभोक्ता समिती, स्काईभेटर मालिक तथा सञ्चालक बिचको आपसी सहमतिमा अरुण नदिबाट स्काईभेटर गुडाएरै तार्ने सहमती भयो।

अरुण नदिमा स्काईभेटर

स्काईभेटरभित्र तत्कालिन स्काईभेटर अपरेटर हरि गुरुङ्ग थिए, साथमा सडक निर्माण उपभोक्ता समितीका तर्फबाट ध्यानबहादुर राउत र आशकुमार राई। नदिको गहिराई र बहाब समेत थाहा नभएको त्यो बेला नदिबाटै स्काईभेटर तार्नु सानो जोखिम थिएन। आफै बाटो खोज्दै र बनाउँदै गुडाउनुपर्दा लगातर नदिको बहाबमा दस घन्टा लागेथ्यो। अपरेटर गुरुङ्ग भन्थे, “म त्यतिबेला सामान्य तनावमा पनि थिएँ, यदि तनावमा नभएको भए ममा त्यस्तो आँट आउँदैनथ्यो होला। बिचमा पुग्दा एक समय त तार्न सकिन्न कि जस्तो नि लागेको थियो।” स्काईभेटर तारेको हेर्न वारिपारी मानिसहरु अनेकौँ अड्कलबाजी गर्दै पर्खिरहेका थिए। बिहान सबेरै अरुणमा हेलिएको स्काईभेटरले अबेला राती मात्रै बल्ल हतुवा टेक्यो, र त्यो दिन थियो २०६६ साल पौष २५ गते।

अरुण नदिको बिचमा आफ्नो बाटो बनाउँदै स्काईभेटर

सोही दिनको सम्झनामा हिजो अर्थात २०७६ साल पौष २५ गते हतुवागढी गाउँपालिकाको आयोजनामा “ऐतिहासिक एक दशक, हतुवागढिको” नामक कार्यक्रम गरिएको छ। पहिलो पटक स्काईभेटर तरेको अरुण नदि किनारमा घोडेटार बजार तथा बजार आसपासका स्थानिय, जनप्रतिनिधिहरु, हतुवा क्षेत्रका सरकारी कार्यालयका प्रतिनिधि तथा सुरक्षा निकाय एवं ब्यबशायी, पत्रकारहरुको उत्साह जनक उपस्थिती रहेको सो कार्यक्रमलाई सडक सञ्जाल निर्माण र बिस्तारमा महत्वपुर्ण योगदान पुर्‍याउने ब्यक्तित्वहरुको छोटो मन्तब्य सहित केही क्षण रमाईलो गरि बनभोजको रुप दिईएको थियो। हतुवागढी तथा पाख्रीबास दुबै तर्फका लगभग डेढ शय जना उपस्थित कार्यक्रममा भुपु माननीय सांसद धनहर्क राई, सगरमाथा उच्च मा.वि. का ब्यबस्थापन समिती अध्यक्ष इश्वरमान राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पाख्रीबास नगरपालिकाका मेयर बृषबहादुर राई, मुगा-घोडेटार सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यान बहादुर राउत लगायतले सडक निर्माण ताका बेहोर्नुपरेको असहजता तथा सफलताका सम्झनाहरु ब्यक्त गर्दै र आगामी चुनौती एवं कार्यभारहरुका बारेमा समेत धारणाहरु राख्नुभएको थियो। साथै तत्कालिन समयमा आर्थिक ब्यबस्थापनको पाटो जटिल भएको तथा प्राबिधिक सीप बिना नै काम गर्नुपर्ने बाध्यता रहेकोले उपभोक्ता समितिमा लागेको आर्थिक भार (ऋण) अझैसम्म पनि फर्छ्यौट हुन नसकेको तथा अहिले त्यतातिर सबैको ध्यान पुग्न नसकेको तर्फ पनि चिन्ता ब्यक्त गरिएको थियो।

दस बर्षपछिको कार्यक्रम

हतुवा क्षेत्रलाई सडक सञ्जालमा जोड्ने अठोट सहित अघि बढेको समितिले नै धनकुटाको मुगा(सूर्यबहादुर थापाको घर छेउबाट) मा पर्ने सडक समेत निर्माण गरेको थियो। बितेको दस बर्षमा हतुवागढिले भौतिक बिकासमा अपेक्षित गति लिएको मान्नुपर्छ। देशको विषम राजनैतिक अवस्थाले गर्दा उत्पन्न थुप्रै असहजताहरुलाई पाखा लगाउँदै अरुण तरेको स्काईभेटरलाई पच्छ्याउँदै अर्को बर्ष यातायातका साधनहरु पनि हतुवा छिरे। एकपछी अर्को गर्दै स्काईभेटरहरु पनि लाम लागेरै छिरे। जसले सडक यातायातका लागि एक खाले क्रान्ती नै भयो हतुवा क्षेत्रमा। सुनबालुवाबाट घोडेटार बजार पुगिसकेपछी सदरमुकाम भोजपुर बजार जोड्ने, छिमेकी जिल्ला खोटाङ्ग जोड्ने तथा हतुवा आसपासका भुभागहरुलाई सडक सञ्जालसंग जोड्ने काम मात्रै भएन। भौतिक बिकासका अन्य गतिबिधिहरु पनि चलायमान भए। सडक यातायातको पहुँचले निर्माण सामग्री ढुवानिमा सहज भएपछी प्राथमिक स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण भयो भने विभिन्न ठाउँका बिद्यालय भवनहरु पक्की बन्न थाले। स्थानिय बजारहरु गुल्जार बन्न थाले। घोडेटार-लुङ्गिन-भोजपुर, घोडेटार-फलामढुंगा-हसनपुर, घोडेटार-दिमालुङ्ग-बयाङ्ग-बालाङ्खा लगायतका क्षेत्रमा जोडिएका सडक सञ्जालले हतुवागढिको अलावा आमचोक, रामप्रसाद राई गाउँपालिका तथा भोजपुर-खोटाङ्गको सिमा क्षेत्रका स्थानियलाई तराईसंग जोडिन सहज भएको छ।

अरुण नदिमा “मिनि फेरी” बाट ल्याण्ड रोवर तारिँदै

यहि बर्ष प्रदेश सरकारबाट टेन्डर आव्हान भई सुनबालुवामा मोटरेवल पुलको काम धमाधम भईरहेको छ भने धनकुटा क्षेत्र (मुगा) मा पक्की सडक निर्माण भैरहेको छ। हाल यो रुटमा डिजेल राख्ने ड्रम जोडेर बनाईएको अस्थायी “मिनि फेरि” बाट साना यातायातका साधन र ढुवानी गरिने सामानहरु तार्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *