Home > प्रमुख > हतुवागढिको संखामचुलिमा भ्यू टावर बन्दै

हतुवागढिको संखामचुलिमा भ्यू टावर बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी-भोजपुर, ३ माघ। तत्कालिन माझकिराँत अन्तर्गतको हतुवा एउटा ऐतिहासिक स्थलका साथै प्राकृतिक दृष्टिकोणले समेत रमणिय ठाउँ हो। विभिन्न जातजातिहरुको मिश्रित बसोबास रहेको यो क्षेत्र साँस्कृतिक हिसाबले समेत समृद्ध छ। भोजपुर सदरमुकाम, धनकुटाको पाख्रीबास तथा सुनसरिको चतरा, उदयपुरको मैनामैनीबाट सडक यातायात प्रयोग गरि पुग्न सकिने हतुवा क्षेत्रको सबैभन्दा अग्लो ठाउँ “संखामचुली” मा चार तले भ्यू टावर निर्माणको काम थालिएको छ।

साविक सिन्द्राङ्ग र रानिवास गा. वि. स. को पानीढलो सिमाना पर्ने संखामचुलिको जोर आहाल भन्ने ठाउँमा टावर बन्न लागेको हो। परापुर्वकालमा उक्त ठाउँमा दुई वटा पोखरिहरु रहेका थिए, ती पोखरिहरुबाट नदि बन्ने प्रकृया चल्दै गर्दा कलियूग शुरु भयो र पोखरिहरु सुकेका हुन भन्ने किंवदन्ती रहेको छ। उक्त ठाउँमा अद्यापी दुई वटा पोखरिका स्वरुपहरु भने देख्न पाईन्छ।

हतुवागढी दरबार र घोडेटार बजारबाट शुरु भएको सुन्दर नागी संखामचुलिमा आईपुग्दा भरपुर मनोरम देखिन्छ। साना साना थुम्काहरु, एकैछिनमा हुस्सु लाग्ने र खुल्ने क्रम चलिरहँदा बादलसंग लुकामारी खेले जस्तै लाग्छ। संखामचुलिमा आईपुग्दा एकै ठाउँबाट हिमाल, पहाड र तराई देख्न सकिन्छ। मकालु, कञ्चनजंघा लगायतका सुन्दर हिमशृंखलाहरु संगै पहाडका साना ठुला थुम्की हुँदै समथर तराई, सप्तकोशिको फैलावट तथा बिहारका दृष्यहरु समेत देख्न सकिन्छ। सुर्योदयको पहिलो झुल्कोमा यहाँ पुग्न सके श्रीअन्तुलाई माथ खुवाउने दृष्य देख्न सकिन्छ भने सुर्यास्तको समय सप्तकोशिमा डुब्दै गरेको घाम ईन्द्रेनी परेको मनमोहक दृष्य देख्न सकिन्छ।

विभिन्न अवसरहरुमा घुमफिर तथा बनभोजका लागि मानिसहरु आवत जावत गरिरहने यो ठाउँमा निर्माण गरिने टावरको निर्माण सम्झौता गत असोज महिनामा गरिएको भए पनि निर्माण स्थलसम्म यातायातको पहुँच नभएकाले हालसम्म कामले गति लिन सकेको थिएन तर केही दिन अघि मात्रै उक्त ठाउँसम्म कच्ची सडक निर्माणपछी काम सहज भएको हो। प्रदेश सरकारको ३ करोड ५६ लाख रुपैँयाको लागतमा निर्माण हुँदै गरेको टावर बनाउने जिम्म कुन्सालिङ्ग प्रा. लि. ले लिएको छ। गत पौष महिनादेखी काम शुरु गरेको कम्पनिले अहिलेसम्म १० प्रतिशत काम सकिएको बताएको छ।

जैबिक एवं प्राकृतिक बिबिधतायुक्त यस ठाउँ नजिकै एउटै रुखमा शय प्रजातिका बिरुवाहरु भएको बिस्वास गरिने शयबृक्ष, छुट्टाछुट्टै किंवदन्ती सहितका विभिन्न स्वरुप र आकारका गुफाहरु, धार्मिक स्थलहरु समेत रहेका छन्। आन्तरिक पर्यटकहरुका लागि आकर्षक स्थल बन्न सक्ने हतुवागढिका लागि निर्माणाधिन भ्यू टावर अर्को आकर्षक गन्तब्य बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: