Home > संस्मरण > शिखर पुरुष ईबरा सरलाई सम्झँदा

शिखर पुरुष ईबरा सरलाई सम्झँदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

✍ सुमित्रा अविरल

६ मार्च २०१८ भारतिय नेपाली साहित्य अथवा विश्व नेपाली साहित्यमा नै एउटा सुर्य ग्रहण अर्थात् कालो दिन र रातो थियो । बेलुकी खाना खाएपछि ओछ्यानमा पसेर मोबाइल समाएर सामाजिक सञ्जाल हेर्दै पढ्दै थिँए , अचानक एउटा पोस्ट आयो ” ईबरा अस्ताए ”
म तर्सिएँ , फेरी होइन होला जस्तो लाग्यो र फेरी निरन्तर
सञ्जाल हेर्न थालेँ, तर एकाएक नेपाली साहित्यलाई गहिरो खति , हार्दिक श्रद्धाञ्जली , शोक प्रकट , थरी थरीका पोस्टहरू आउन थाले । यस पल्ट भने पुर्ण विश्वास भयो साँच्चै ईबरा अस्ताएका रहेछन ।
फेरी मैले संकल्प दिदीलाई कल गरेँ
अनि सोधेंँ …
“दिदी खबर त राम्रो सुनिनँ नि के हो?” ,
तब दिदीले भन्नुभयो …”हो नि विस्वाद नै भयो ।”
बेलुकी त ईबरालाई सम्मान स्वरूप चार लाइन कोरेर सुतेँ । तर आँखामा भने निद्रा थिएन , भोलीपल्ट म अनि सविता, संकल्प दिदी ईबरा ज्युको घरतर्फ लाग्यौँ ।
जब उहाँलाई श्रद्धा अर्पण चढाउन उहाँको पार्थिव शरिर नजिक पुग्यौँ , तब भने मलाई मेरो बाल्यकाल अनि उहाँको यसै घरमा मेरी आमाको थामी भाषा “बोलकाल” को पाण्डुलिपि लिएर सरलाई भेट्न गएको दिन आँखामा झलझल याद आयो ।

म ६/७ बर्षको हुनुपर्छ मेरो मानसपटलमा धमिलो याद छ, तर याद छ ।उहाँहरू मिडल तुङसुङ्गमा बस्नुहुन्थ्थो मेरो मावली बाजेले सरको जमिनमा बाख्राको खोर बनाएर ,बाख्रा पाल्नु हुन्थ्यो , जहाँसम्म अदिया मा पनि ।मेरो बज्यैले सरकारी राशन शनिबार नभए आइताबारको दिन बजारबाट लिएर जानुहुन्थ्थो अनि म बोजुको पछि लागेर उहाँको घरमा जाने गर्थेँ । घरको आगँनमा एउटा बेतको कुर्सीमा सर किताब पढिरहेको हुनुहुन्थ्यो, अनि गुरुमा र बोजु आगँनमा बसेर बात गर्नु हुन्थ्यो । म आँगनमा खेलिरहन्थेँ। कोहि कोहि बेला बाख्रा चराउन चुचे ढुंगा जान्थ्यौँ। त्यहाँ लासहरू दफनाउने गरिन्थ्यो। अनि एउटा सानो नानीको समाधी थियो जहाँ ढुंगा हान्यो भने नानी रुन्छ भन्थे मान्छेहरु।

तर त्यो सत्य हो या होइन मलाई आजसम्म पनि थाहा छैन, तर त्यो जंगल, भिर सबै आज नचिनिन्ने भएको छ । आज म त्यहाँ गएँ भने मलाई कसैले चिन्दैन । हो गहिरो सम्बन्ध थियो उहाँहरूसंगको । पछि तुङ्गसुङ्ग छोडेर बजारमा बसाई सर्नुभयो । त्यसपछि उहाँको घरमा मेरो जानु त्यसै पनि कम्ति हुन थाल्यो समयको परिक्रमासंगै ।


त्यसताक जब गिताङ्गे डाँडामा माइकहरू बज्थ्यो बेलुकी बाजे बोज्युले सरको चर्चा गर्नुहुन्थ्थो तर बिषयबस्तु भने म बुझ्दिन थिएँ । यसरी समयको गतिसंग यी कुराहरू मेरो मन मस्तिष्कमा धुमिलो हुँदै गए। कहिलेकाहिँ बोज्यु बिरामी हुँदा मेरो कान्छी छेमासंग जान्थेँ। उहाँको नातिनी नुरिता हुनपर्छ उनले भान्सा घरमा आँटामा घिऊ हालेर रोटी पोलिदिएको कुरो पनि कता कता सम्झना छ । गुरुमा भने “कान्छी” भन्दै बाजे र बोज्युको स्वस्थ बारे सोध्नु हुन्थ्थो ।

समयको अभाव त पटक्क होइन तर किन म अनि छेमा त ट्याक्क जान नै छोड्यौ । पछि बाजे पनि अस्वस्थ रहनु थाल्नु भयो र बाजे र बोज्यु बिच सरको चर्चा पनि कम हुन थाल्यो ।
अहिले सोँच्दा पहाडको राजनैतिक परिवेश बदलिएको रहेछ मलाई अहिले थाहा भयो बाजे र बोज्यु बिचको चर्चा सर नेपाली साहित्यमा मात्र सिमित नरहेर राजनैतिक क्षेत्रमा पनि उतिकै सक्रिय हुनुहुन्थ्यो भन्ने बारेमा रहेछ त्यसताक । त्यसैले नै त जब जब गिताङ्गे डाँडामा माइक बज्थ्थो घरमा निकै जोडतोडले सरकै चर्चा हुन्थ्यो ।

धेरै बर्षको अन्तरालपछि मेरी आमा ( शोभा थामी ) ले थामी भाषाको नेपाली अंग्रेजी र थाङ्मी भाषामा “थाङ्मी वाके” किताब लेख्नु भएको थियो र यसको निम्ति आवरणको निम्ति हिमालय दर्पण ( दार्जिलिङ शाखा ) का चिफ व्युरो विमल राईकोमा जाँदा दाज्यु सरको आर्शिबाद थाप्ने सुझाव दिँदा आमा र म सरको घर पुग्यौँ, बिहानै । गुरुमाले आमालाई देखेर छक्क पर्नु भयो मलाई त चिन्नु पनि भएन । उहाँको बुहारी पनि घरैमा रहेछिन
आमालाई देखेर उनि पनि छक्क परिन् ।
तरै पनि नमस्कार आदान प्रदानपछि हामी गएको गुट्ठी बिस्तारै खोल्न थाल्यौँ तब सरलाई आँखाको रोग लागेको थाहा पायौँ । त्यसपछि हामी आमा छोरी एक अर्काको आँखामा हेर्यौँ सायद गुरुमाले हाम्रो कुरो बुझ्नु भयो होला
त्यसैले उहाँले झट्टै भन्नुभयो …” एकछिन पर्ख सरलाई भेटेर नै जाऊ म बोलाइदिन्छु “
हामीलेबहोस पनि भन्न सकेनौँ हुन्छ पनि भन्न सकेनौँ ।
भित्रबाट उहाँको बुहारीले चिया ल्याईदिईन् अनि गुरुमाले भन्नुभयो… ” एकक्षण बस है मैले भनिदिएको छु आउनु हुँदैछ ।”
यसरी फेरी पनि बाजे र बोज्युको कुराहरू नै शुरू भयो तर बात नटुङ्गीकन सर भित्री कोठाबाट बिस्तारै आउनु भयो । हामी दुवै उठेर सरलाई नमन गर्यौँ। त्यसपछि सरले भन्नुभयो … “कस्तो छौ ? यी म त आँखा नदेख्ने भएँ । अनि कति कामले आयौ ? आमा कस्तो छ ? यहाँ नआएकै पनि धेरै भयो ? सुनेको थिएँ लडेर खुट्टा भाँचिएको थियो अरे ?” हामी मौन थियौँ, फेरी आमाले भन्नुभयो …” अहिले अलिक सञ्चो छ सर, तर शनिबार र आइताबार भने फत्फताउँदै भन्नुहुन्छ, ‘गुरुमाको राशन कसले ल्याइदियो होला, अस्ति पनि माथीसम्म आइपुगेछिन फेरी हिड्न नसकेर फर्किएछिन । खै अब के गर्नु हामी पनि त जान सक्दैनौँ यस्तै छ।”
“लौ भन अब कति कामले आयौ ?”
मैले भनेँ, ” सर आमाले थामी भाषाको एउटा बोलचाललाई नेपाली र अंग्रेजीमा गरेर थामी भाषा बोलचाल भनेर कृतिको पाण्डुलिपी तयार गर्नुभएको छ। यसैमा हजुरको दुइ शब्द आर्शिबाद स्वरुप पाए हुन्थ्यो भनेर ।”
सरले त्यस क्षण आफ्नो रोग भुलेको अनुभव गर्नु भयो ।
कारण सरको आँखा अघि उमेर नपुगी बिहे गरिदिएको छोरीको जन्म अर्काकै भित्ता टाल्ने जात भनेर स्कुलको दैलौ सम्म नदेखाएको नारीले आफ्नो भाषा र जातीको संस्कृति बारे अध्ययन गरेर आफ्नो आर्शिबाद थाप्नु आएको देखेर उहाँ पहिला त छक्क पर्नु भयो । फेरी भन्नुभयो “साइँला र साइँली धेरै भाग्यमानी हो तिमी जस्तो छोरी पाएर, म अति नै खुशी छु । हुन त म थामी कुरा बुझ्दिनँ तर आर्शिबाद भने म पक्का दिन्छु अवश्य नै दिन्छु तिमीलाई , सुर्ता नगर्नु एक हप्तापछि आउनु ल ।” फेरि थप्नुभयो, “म त पढ्नु सक्दिन तिमीहरूकै गुरूमाको आँखाले हेरेर म सुन्छु ,यस्तै छ ।” हामी अनुभव गरिरहेका थियौँ सरलाई बात गर्नु पनि असुविधा भइरहेको थियो । यसैले हामीले धेरै बात नगरि बिदा मागेर निस्कियौँ । निस्किन्दा निस्किन्दै उहाँकी बुहारीले आमाको हातमा पाँच सयको नोट दिएर आमालाई केहि किनेर लगिदिनु है भन्नुभयो ।हामीलाई असजिलो भइरहेको थियो तर त्यो पैसा नथापेसम्म हामीलाई बाहिर निस्कने अनुमति दिनु भएन र थापेर विदा लियौँ ।

यद्यपी आमाको किताबमा सरको आर्शिबाद पर्यो ।
हुन त बाल विवाहको आगोमा होमिएकी नाकको सिङ्गान बाउलाले गालातिर पुछेर रातै बनाएकी , छिटको जामा लगाएकी घरकै संघारको स्कुल पढ्न नपाएकी छोरीले यसरी आफ्नो इच्छा शक्तीले आफ्नो जातीको निम्ति यति ठुलो कर्म गरेको देखेर उहाँले एकै वचनमा आर्शिबादका दुईशब्द लेखिलिने वचन दिएर कृति पाठकहरू समक्ष पुग्यो । एक अनपढ नारीले लेखेको किताबलाई थामी भाषा देखि नेपाली अनि अंग्रेजीमा पनि गर्नु थियो । त्यसैले आफ्नै थामी अग्रजहरूमा पाण्डुलिपि लिएर नघुमेको त होइन तर सबैबाट अस्विकारको जवाफ पाएपछि कवि / गजलकार मिलन बान्तावाका छोरा सौरभले यो कार्य गर्ने जिम्मा लिए पछि कृति तयारी भएको थियो। त्यसपछी वरिष्ट साहित्यकार एम पथिक ज्युको पहलमा मैसुर भाषा संस्थानले १५० कपि किनिदियो भने एक जना मार्क टुइन नामक बिदेशी अनुसन्धाता जसले थामी भाषा माथी अनुसन्धान गरेका थिए उनकै पहलमा क्यानाडाको विश्व लाइब्रेरीमा पनि पुगे आमाका ती कृतिहरु । यसरी आमासंगै हामी थामी परिवार खुबै हर्षित थियौँ, कारण यो केवल एक शोभा थामीको सफलता थिएन । यो सम्पुर्ण थामी जातीको गर्वको कुरो थियो ।

तर अचनाक सरको मृत्युले हामी थामी परिवार स्तब्ध बन्यौ झनै मेरी बज्यै डाको छोडी रुनुभएको थियो। आफू टुहुरो भएको भाव पोखीरहनुभएको थियो। बज्यै बिरामी हुनुहुन्थ्थो त्यसैले सरको अन्तिम संस्कारमा जानुसक्नु भएन ।

त्यसैले म अनि मेरी आमा गयौँ । त्यहाँ पुग्दा तेस्रो आयामका रत्न बैरागी काइँला पनि उहाँको घर आइपुगेको देखेपछि उहाँको साक्षत दर्शन पाउनु हाम्रो अहोभाग्य थियो र यसलाई क्यामरा कैद गर्नु ठुलो इच्छा थियो तर कसरी लिने त तस्विर ! सबै रोइरहेको बेला यो सम्भव थिएन, तरै पनि उहाँको दर्शनसंगै तस्विर त लिएँ तर आफ्नो खुशीलाई सार्वजनिक भने गर्न सकिनँ। मनमा यी तस्विर देखाउने ठुलो इच्छाले भने मन भुटभुटी रहेको थियो ।


यसरी उहाँको अन्तिम संस्कारको केहि दिनपछि गोर्खा दु:ख निवारक समितिले एउटा शोकसभा आयोजना गरेको थियो जसमा नोरज्याङ स्याङदेन , मिलन वान्तावा , पवित्र लामा जस्ता दिग्गज गजलकार तथा कविहरूका साथमा मैले पनि एउटा श्रद्धा सुमन कविता वाचन गर्ने मौका पाएकी थिएँ। यसै दिन उपन्यासकार /कवि / कथाकार विन्ध्या सुब्बाले जब इबरा माथी वक्तव्य शुरू गर्नुभयो मेरो आँखाबाट आँसु झरेको थाहा पाइनँ। उनले भने जब नेपालको त्रिभुवन विश्वविध्यालयले उहाँको साहित्य सेवाको कदर गर्दै डाक्टरको उपाधी दिएको थियो जो सरको आदेश अनुसार घरैमा सानो कार्यक्रम बिच प्रदान गरियो त्यतिखेर उहाँ बोल्दा आँखाबाट खूनका आँसु झरिरहेको थियो भनेर उनि मौन बसिन्। उनि बोल्न सकिरहेकी थिइनन्। त्यति बेला मैले सोचिरहेकी थिएँ ।मेरी आमालाई आर्शिबादका शब्दहरू कोर्दैगर्दा कति त्यस्ता आँसु झरे होलान्! कसरी पढ्नुभयो होला अनि कसरी लेख्नुभयो होला ती आर्शिबादका शब्दहरू!
साँच्चै उहाँ शिखर हुनुहुन्छ , उहाँ हाम्रो पहिचान हुनुहुन्छ। महान हुनुहुन्छ।
त्यसैले सदैव शिर झुकाउँछु उहाँको कर्म, उहाँको भावना, उहाँको बिचारहरूको सम्मानमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: