Home > अन्तर्राष्ट्रिय समाचार > दक्षिण कोरियामा कोरोना भाईरसको संक्रमण बढ्दो : १ जनाको ज्यान गयो

दक्षिण कोरियामा कोरोना भाईरसको संक्रमण बढ्दो : १ जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया, ८ फागुन। दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणकै कारण बिहीबार एक जनाको मृत्यु भएको बताईएको छ।

दक्षिण कोरियाको दक्षिण पश्चिममा अवस्थित ठूलो शहर थेगुका मेयर क्वोन योङ–जीनले थेगु क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह समेत गरेका छन् ।

अन्तरास्ट्रिय समाचार संस्था AP का अनुसार थेगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको बताईएको छ । कोरियाली टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरिरहेका थिए । 

संक्रमणका कारण क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यहाँ मंगलबारसम्म ३० जनामा सिमित भाइरस संक्रमणले तीन दिनमा खतराको संकेत देखाएको छ।
मंगलबार मात्रै थेगुमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिएको थियो। त्यसको २ दिन पछि बिहीबार दिउँसो ४ बजेसम्मको सरकारी तथ्याङकअनुसार कोरियामा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर १ सय ४ जना पुगेको बताईएको छ।

मंगलबार संक्रमण पुष्टि भएकी महिला संक्रमणपछि जति व्यक्तिहरुसँग सम्पर्कमा रहिन् ती सबैमा संक्रमण फैलिएको कोरियाको रोग नियन्त्रण विभागको निष्कर्ष छ।
ती महिला संक्रमणपछि थेगुस्थित सिनचोन चर्चमा २ दिनसम्म गएको र उनैबाट चर्चमा रोग फैलिएको बताइएको छ। चर्चमा जाने ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको र लक्षण देखिएका बिरामीहरुको संख्या पनि त्यति नै रहेको कोरियाका नेपाली डाक्टर राजेश चन्द्र जोशीले बताए।
कोरियाली सङ्क्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) अधिकारीहरुका अनुसार विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती महिलामा कहाँबाट कोरोना सङ्क्रमण संक्रमण भयो भन्ने विषयमा पुष्टि हुन सकेको छैन। कोरियामा ख्यङसान प्रान्तमा संक्रमितको संख्या उच्च रहेको सरकारी तथ्याङक रहेको बताईएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार थेगु नगरका मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जे इनले कोरोना जीवाणुको थप सङ्क्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।
कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै थेगु नगरका सडकहरु सुनसान हुन थालेको तथा अन्तरास्ट्रिय बिमानस्थलहरुमा समेत मानविय आवागमन सुस्त रहेको कुरा दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । 
थेगु स्थित अस्पतालहरुमा भाइरस परीक्षण गर्ने बिरामीको चाप बढेको छ भने जाँच गर्न आउने संक्रमितका कारण रोग फैलिने भन्दै थेगुका अधिकांश अस्पतालले आकस्मिक सेवा बन्द गराउन थालेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: