Wednesday, July 8, 2020
Home > प्रमुख > पात्लेपानी कला, साहित्य प्रतिष्ठानले गर्ने “शब्द संगम – २०७६” कार्यक्रमको तयारी पुरा

पात्लेपानी कला, साहित्य प्रतिष्ठानले गर्ने “शब्द संगम – २०७६” कार्यक्रमको तयारी पुरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मदन पुरस्कार विजेता लेखक/आख्यानकार राजन मुकारुङ तथा युद्ध साहित्यका प्रवर्तक एवं पहिचान साहित्य पुरस्कारका संस्थापक काङ्माङ्ग नरेशको उपस्थितिमा आगामी फागुन २४ गतेका लागि पात्लेपानी कला, साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेकोछ।

नेपाली कला र साहित्यको प्रवर्धनमा निरन्तर समर्पित उक्त प्रतिष्ठानले आयोजना गर्ने ‘शब्द संगम–२०७६’ कार्यक्रममा साहित्यकारद्वय मुकारुङ र काङ्माङ्ग हतुवागढीको पात्लेपानी आउन लाग्नुभएको हो। काङ्माङ्ग नरेशको एकल कविता वाचन, वाचन गरिएका कविता माथि कलाकार एवं कार्टुनिष्ट ओम डि.सि.आर.को पेन्टिङ प्रर्दशन , स्थानीय कवि पूर्ण सन्ध्या समाधिको कविता संग्रह “टेकेर गुराँसमाथि” को चर्चा तथा समिक्षासँगै स्थानीय सर्जकहरुको रचना वाचन र चर्चामा रहेका नेपाली साहित्यका पुस्तकहरुको प्रर्दशनी हुने समेत बताईएकोछ।

यस अघि वि. सं. २०७५ साल कार्तिक १६ र १७ गते साहित्यकार श्रवण मुकारुङ्ग तथा भाषाबिद टंक न्यौपाने, कवि राज माङ्लाक लगायतका समकालीन कवि एवं सर्जकहरुको उपस्थितिमा “पात्लेपानी साहित्य महोत्सव” सम्पन्न गरिसकेको प्रतिष्ठानले यो पटक बेलायती सेनामा रहेर युद्धलाई नजिकबाट देखि/भोगिसक्नुभएका नरेश काङ्माङ्गको कवितामाथि चर्चा र समीक्षा गर्नका लागि सृजनशिल अराजक अभियानका अभियन्ता तथा मदन पुरस्कार बिजेता कवि तथा आख्यानकार राजन मुकारुङलाई उपस्थित गराउँदैछ ।

प्रतिष्ठानले आफ्नै पहल र बल बुतामा साहित्य र कलाका लागि गरिरहेको यो प्रयास प्रशंसनिय रहेको बताउँदै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएकोछ।

पुर्वाधार तथा अवसरहरुको अभाव र भौगोलिक हिसावले बिकट हतुवागढी क्षेत्रमा यो स्तरको कार्यक्रम आयोजना गर्नु चुनौतिपुर्ण रहेको बताउँदै कार्यक्रमको ब्यबस्थापन गरिरहनुभएको साहित्यकार तथा गजलकार बिश्वजित चाम्लिङ्गले हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउने अभियानका साथ लागि परेको बताउनुभयो उहाँको थप भनाई छ, ” हामी हतुवागढीलाई नौलो आयामका साथ साहित्यको माध्यमले माथि उठाउन चाहन्छौं । यो पल्ट काङमाङ नरेश राईको कवितामाथि कलाकार तथा कवि ओम डि.सि.आर.ले पेन्टिङ गर्ने छन् । हतुवागढीको निम्ति यो नौलो प्रयोग हो । यसले हतुवागढीको कला र साहित्यमा एउटा इट्टा थपिने छ। हामी यी यस्ता कार्यक्रमहरु आयोजना गर्दै गर्दा कसैलाई जित्नु छैन, कोही भन्दा खतरा हुनु छैन तर हामी नेपाली साहित्यले दिएको जिम्मेवारी पूरा गर्ने प्रयास गरिरहेका छौँ।” साथै उहाँले बेलायतबाट आफुहरुलाई विश्वास गरेर युद्ध कवि काङ्माङ्ग नरेश राई र यो बेलाकै शक्तिशाली कवि तथा अख्यानकार राजन मुकारुङ्गहरु यहाँसम्म आउनु पनि यसकै एउटा उदाहरण रहेको तर्क गर्दै हतुवागढीमा यो पल्ट साहित्यका लागि नयाँ आयाम थपिने बिश्वास गर्नुभयो।

यस्तैगरि प्रतिष्ठानका सचिव अर्जुन राईले कार्यक्रमको अन्तिम तयारीको निम्ति व्यस्त रहेको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, ” बाहिरबाट आउने पाहुनाहरुको लागि स्थानीय होटलहरु व्यवस्थापन गरिसकेका छौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दख्खल राख्ने व्यक्तित्वहरुको आगमन हुदैछ। उहाँहरुको स्तर अनुसारको स्वागत तथा ब्यबस्थापन गर्ने चुनौति हामीलाई छ । तर देश तथा विदेशसम्मका हाम्रा शुभेच्छुकहरुले सहयोग तथा शुभेच्छा प्रकट गरिरहनुभएकोले हामी त्यो चुनौतिलाई सामना गर्न सक्छौं भन्ने हिम्मत पनि छ ।”
यद्यपि कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउनका लागि बिगतको अनुभवबाट समेत सहयोग पुगेको तथा सकेसम्म कमजोरी न्यूनिकरण गरि कार्यक्रमलाई उद्देस्य अनुकुल सम्पन्न गर्ने आयोजकले बिश्वास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *