Home > ईतिहास > नेपाली राजनैतिक ईतिहासमा जनयोद्धा रामप्रसाद राईका चार प्रमुख योगदानहरु

नेपाली राजनैतिक ईतिहासमा जनयोद्धा रामप्रसाद राईका चार प्रमुख योगदानहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोगीराज चाम्लिङ
रामप्रसाद राईको बारेमा हामी सबै परिचित छौं । उहाँको बारेमा धेरै भनिरहनु जरुरी छैन । उहाँको व्यक्तिगत जीवन, राजनीतिक संघर्षका कुरामा प्रवेश नगरीकन म सिधै उहाँका योगदानहरु के के हुन् जुन योगदानले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सकिन्छ भनेर तीन/चारवटा कुरा राख्छु । मैले रामप्रसाद राईले यो देशका लागि चारवटा मुख्य योगदान गर्नुभएको देखेको छु ।
पहिलो 
२००७ साल मंसिर ११ गते भोजपुरमा केही राजनीतिक व्यक्तित्वहरु, दोस्रो विश्वयुद्धबाट फर्किएका योद्धाहरु र रामप्रसाद राईलगायत मिलेर एउटा गोप्य बैठक बस्नुभएको थियो । त्यो बैठकले अब राणाहरुविरुद्ध संघर्ष गर्ने र संघर्षको सैनिक नेतृत्व वा जनमुक्ति सेनाको नेतृत्व रामप्रसाद राईले गर्ने भन्ने टुंगो लगाएको थियो ।
त्यो बेला पूर्वमा ३ नम्बर, ४ नम्बर जिल्ला भनिन्थ्यो । ३ नम्बर र ४ नम्बर जिल्लामा राणाविरोधी क्रान्ति गर्नको निमित्त सैनिकको नेतृत्व गर्ने जिम्मा रामप्रसाद राईलाई दिइएको थियो ।
रामप्रसाद राईको नेतृत्वमा गठन भएको जनमुक्ति सेनाले लगत्तै भोजपुर शान्तिपूर्ण ढंगले कब्जा गर्यो । भोजपुर कब्जा गर्दा त्यति धेरै जनमुक्ति सेना थिएनन् । केही दर्जन मात्र थिए । तर, भोजपुर कब्जा गरेर लगातार चरिकोट आउँदा चाहिँ दशौ हजार जनुक्ति सेना राणा शासनविरुद्ध संगठित भईसकेका थिए र तिनको नेतृत्व रामप्रसाद राईले गर्नुभएको थियो, त्यो चानचुने कुरा थिएन । २००७ सालमा राणाविरोधी आन्दोलनमा दशौँ हजार मान्छेलाई संगठित गरेर राणाहरुलाई सफलतापूर्वक परास्त गर्नु चानचुने योगदान थिएन । त्यसरी संगठित नगरिएको भए राणा शासन ढल्थ्यो कि ढल्दैनथ्यो भनेर छलफल गर्ने आधार छ । रामप्रसाद राईको पहिलो योगदान भनेको त्यो बेलामा जनमुक्ति सेनाको नेतृत्व गर्नु, त्यसलाई सफलतापूर्वक परिचालन गर्नु र राणाहरुलाई पूर्वी पहाडबाट लखेट्नु थियो । रामप्रसाद राईको पहिलो त्यो योगदान सम्मानयोग्य छ ।

दोस्रो
त्यो जनमुक्ति सेनाले सात सालको क्रान्तिमा यस्तो इतिहास रच्यो कि त्यो इतिहास जनक्रान्ति गर्नुपर्छ, राणाहरुलाई हटाउनुपर्छ भनेर आव्हान गर्ने कांग्रेसले भन्दा पनि बढी काम चाहिँ पूर्वमा रामप्रसाद राईको नेतृत्वमा भएको जनमुक्ति सेनाले गर्यो । खासगरी पश्चिम नेपाल र तराईका केही जिल्लाहरुमा कांग्रेसले आक्रमण गर्यो । केही ठाउँ कब्जा पनि गर्यो । तर, ती सबै ठाउँ राणाहरुले पुनः आफ्नाे हातमा फिर्ता लिए । एउटा पूर्वी भाग मात्र यस्तो क्षेत्र हो जहाँ रामप्रसाद राईको नेतृत्वमा भएको जनमुक्ति सेनाले राणाहरुलाई हटायो र राणाहरुले त्यो पुनः कब्जा गर्न सकेनन् । त्यसरी राणाहरुलाई पूर्वी पहाडबाट जरैसँग उखेलेर फाल्ने हैसियत, त्यो साहस, त्यो हिम्मत, त्यो संघर्षको फिल्ड कमाण्ड रामप्रसाद राईले गर्नुभएको थियो । जबकि कांग्रेसले समेत त्यसरी राणाहरुलाई लखेट्ने पूर्ण सामर्थ्य आर्जन गर्न सकेको थिएन । उनीहरुले आक्रमण गर्थे तर कब्जा गर्न सकेका थिएनन् । त्यस्तो बेलामा राणाविरोधी आन्दोलनमा कांग्रेसलाई र सिंगो नेपाललाई उत्साह प्रदान गर्ने काम रामप्रसाद राईको नेतृत्वमा भएको थियो ।

पूर्वी पहाडको राणाविरोधी आन्दोलनको हिसाबले चारवटा ठाउँको संघर्षलाई महत्वपूर्ण मानिन्छ । एउटा चाहिँ भोजपुर सदरमुकाम कब्जा गर्नु, दोस्रो भोजपुर सदरमुकाम कब्जा गर्न आएका राणा पक्षीय सेनाहरुको विरुद्ध दाँवा र दिक्तेलको विशाल लडाईँ अनि ओखलढुंगाको लडाईँ र चैनपुरको लडाईँ चाहि पूर्वी पहाडमा लडिएको त्यो बेलाको ठूल्ठूलो संघर्षहरु हुन् । त्यसमध्ये चैनपुर बाहेकको सबै संघर्ष वा युद्धमा प्रत्यक्ष उपस्थित भएर राणा शासनलाई खेद्ने काम रामप्रसाद राईले गर्नुभएको थियो । सम्भवतः रामप्रसाद राई नभएको भए हामीले राणा शासनलाई परास्त गर्न सक्थ्यौ कि सक्दैनथ्यौ भन्ने कोणबाट हेर्दा रामप्रसाद राईको योगदान यो देशका लागि धेरै अमूल्य छ । जनमुक्ति सेनाको निर्माण गर्नु पहिलो योगदान हो, त्यो जनमुक्ति सेनाको नेतृत्व गर्दै पूर्वी पहाडबाट राणाहरुलाई पूर्णरुपमा परास्त गरेर लखेट्नु रामप्रसाद राईको दोस्रो योगदान हो ।

तेस्रो
अहिले पनि हामी त्यही लडाईँ लड्दैछौ, खासगरी छिमेकी मुलुकहरुसँग । केही छिमेकी मुलुकले नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको छिमेकी मुलुकको हैसियत बराबर नमानेर जुन खालको व्यवहार गरिरहेका छन्, त्यसको विरुद्धमा अहिले पनि हामी संघर्ष गरिरहेका छौं । हाम्रो कालापानी अहिले पनि मिचिएकै छ । फिर्ता ल्याउन हामी प्रयत्न गरिराखेकै छौं । देशको राष्ट्रिय स्वाधिनता कायम गर्न संघर्ष गर्ने र त्यो संघर्षको नेतृत्व गर्ने हिसाबले पनि हामीले रामप्रसाद राईलाई सम्झनुपर्ने स्थिति छ । रामप्रसाद राईको तेस्रो योगदान भनेको चाहिँ राष्ट्रिय स्वाधिनताको पक्षमा संघर्ष गर्नु हो ।
भारतले मध्यस्थता गरेर कांग्रेस र राणाहरुको बिचमा एक खालको जुन सम्झौता गरायो, त्यो चाहि नेपालमा पूर्ण प्रजातन्त्र ल्याउनको निमित्त र नेपाललाई स्वाधिन बनाउने कामको विरुद्धमा भएको काम हो भनेर रामप्रसाद राईको नेतृत्वमा रहेको जनमुक्ति सेनाले बोलेको थियो । बोलेको मात्र थिएन, उनीहरुले दिल्ली सम्झौता भयो भनेर सुन्नासाथ यो नेपालमा पूर्ण प्रजातन्त्र ल्याउने कुराको र नेपाललाई स्वाधिन बनाउने कुराको विरुद्धमा आएको काम हो । यो सम्झतौता हामी स्वीकार गर्दैनौ भनेर तत्कालै २००८ सालमा सिंहदरबार विद्रोहसम्म गर्ने कुराको नेतृत्व रामप्रसाद राईले गर्नुभएको थियो । र, रामप्रसाद राईले सुुरु गरेको त्यो विद्रोहको अन्तिम टुंगो अहिले पनि लागिसकेको छैन । राष्ट्रिय स्वाधिनताको संघर्ष हामी अहिले पनि लडिरहेका छौं । त्यस हिसाबले रामप्रसाद राईले २००७ सालमा राष्ट्रिय स्वाधिनताको संघर्ष, त्यसको निमित्त गरेको बलिदान, त्यसको निमित्त गरेको त्याग र त्यसको निमित्त गरेको नेतृत्व अहिले पनि सान्दर्भिक छ र त्यो आवाजलाई बोकेर मात्र हामी अगाडि बढ्न सक्छौ र साच्चै देश स्वतन्त्र हुन सक्छ भनेर मान्ने हो भने हामीले रामप्रसाद राईलाई राष्ट्रिय स्वाधिनताको योद्धा भनेर स्वीकार गर्नुपर्ने हुन्छ । यो रामप्रसाद राईको तेस्रो योगदान हो ।

चौथो
गणतन्त्र र संघीयताको निमित्त पनि रामप्रसाद राईले त्यो बेलामा आफ्नाे विचारहरु विजारोपण गर्नुभएको थियो । त्यो विचार नै फुलेर फलेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
जस्तो कि, रामप्रसाद राईमा त्यो बेला पनि सामन्तवाद बिरुद्धको चेतना थिएछ । त्यो बेलामा पनि राई होस् या बाहुन क्षेत्री, सामन्तको जाली तमसुक च्यात्ने काम, जाली तमसुक गरेर गरिबहरुको जग्गा आफ्नो कब्जामा ल्याउने कामको विरुद्धमा जनमुक्ति सेनाले सात सालमा काम गरेको थियो । त्यो भनेको किसानहरुको पक्षमा काम गरिएको थियो । त्यसरी जग्गा खोसिनेहरुमा बाहुन क्षेत्री मात्र थिएनन्, राईहरु पनि थिए । जोजो धनी थिए, जजसले गाउँमा किसानहरुलाई अन्याय गरेका थिए सबैको तमसुक खोसिएको थियो । त्यसकारण रामप्रसाद राईमा त्यो बेला पनि सामन्तवाद विरोधी चेतना थियो । जुन कुरा हामीले गणतन्त्र स्थापना गरेपछि पुरा गर्यौ । नेपालमा राजतन्त्र फाप्दैन, सामन्तवाद फाप्दैन, बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक मुलुकमा राजतन्त्रले काम गर्दैन, त्यो हाम्रो निम्ति उपयोगी छैन भनेर जुन आवाज त्यो बेला उठ्यो त्यो आवाजकै कारण २०६२/६३ सालमा ठूलो जनआन्दोलन भयो । रामप्रसाद राईबाट जुन कामको शुरुवात भएको थियो त्यो काम २०६२/६३ सालमा पुरा भयो । त्यो ठूलो कामको जग रामप्रसाद राईले बसाएको हामीले बुझ्न सक्छौं ।

(भोगिराज चाम्लिङ्ग, जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखी सिंहदरबार बिद्रोहसम्म नामक कितावका लेखक तथा किरात संस्कृती अध्येता हुन्। यो सामग्री गत फागुन १८ गते आइतबार काठमाडौंमा ‘रामप्रसाद राई स्मृति प्रतिष्ठान’ले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको १११औं जन्यजयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठिमा चाम्लिङले राखेको विचारको अंश हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: