Home > साहित्य > पात्लेपानीमा “शब्द संगम – २०७६” सम्पन्न

पात्लेपानीमा “शब्द संगम – २०७६” सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश

हतुवागढी, २५ फागुन। पात्लेपानी कला, साहित्य प्रतिष्ठान हतुवागढी – ८ को आयोजनामा फागुन २४ गते साहित्यिक कार्यक्रम शब्द संगम – २०७६ सम्पन्न भएको छ।

हतुवागढी गाउँपालिका वडा नम्बर ८ को सामुदायिक भवनमा आयोजित सो कार्यक्रमका लागि मदन पुरस्कार बिजेता तथा सृजनसिल अराजकता अभियानका अभियन्ता कवि एवं आख्यानकार राजन मुकारुङ्ग र युद्ध साहित्यकार तथा पहिचान पुरस्कार संस्थापक नरेश काङ्माङ् विशेष आकर्षणका रुपमा उपस्थित हुनुभएको थियो। प्रतिष्ठानकि उपाध्यक्ष मैयाँ कार्किको नेतृत्वमा सञ्चालित कार्यक्रममा हतुवागढी गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रेमकुमार राईले हतुवागढिका सर्जकहरुले सृजनाको माध्यमबाट हतुवागढिलाई देश बिदेशमा चिनाउन लागिपरेकोमा धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले समेत साहित्य तथा कला र संस्कृतिको क्षेत्रमा विभिन्न तवरबाट आवस्यक सम्बोधन र सहयोग गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेकपा हतुवागढिकी ईन्चार्ज सुनिता किरातिले साहित्यले सँधै प्रतिपक्षी आँखाबाट सत्तालाई खवरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा साहित्यिक माहोल सृजना गर्ने क्रमको सुरुवात स्थानिय सर्जकहरुबाट गरिएको थियो। हतुवागढी मै बसेर सृजनामा लाग्ने सर्जकहरु कृपालसिंह राई, निरु अल्पभाषी, नमुना राई (सिन्द्राङ्ग), अरुण आकाश, चन्द्र तारा राई, नमुना राई(पात्लेपानी), स्वस्तिकला राई लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो भने अतिथिका रुपमा उपस्थित आमचोक गाउँपालिकाका मातृभाषी कवि दिपक बान्तावाले पनि आफ्नो सृजना सुनाउनुभएको थियो।

त्यस्तै गरि कार्यक्रमको अर्को श्रृंखलामा युद्धकवी नरेश काङ्माङ्ले आफ्ना विभिन्न कविताहरु मार्फत सहभागिहरुलाई संगसंगै डोर्‍याउनुभएको थियो। त्यस क्रममा सहभागिहरुलाई कतै युद्धको पीडा त कतै युद्धमा छोराछोरी पठाउने आमा बाबुको भावना/मर्म अनि कतै बिना पेन्सन बिश्वयुद्ध लड्ने योद्धाहरुको कहानिसंगै हिँडाईरहनुभयो। कवि काङ्माङ्ले प्रस्तुत गर्नुभएको कविताहरुको बिषयमा आधारित भई अरुण गाउँपालिका जरायोटारका कवि तथा कलाकार ओम डि.सि.आर. ले संगसंगै पेन्टिङ्ग समेत प्रस्तुत गर्नुभएको थियो। स्मरणीय छ, कवि नरेश काङ्माङ् आफै पनि बेलायती सेनामा कार्यरत रहि अवकाशप्राप्त “लाहुरे” हुनुहुन्छ। उहाँले आफ्ना कविताहरुको प्रस्तुतिसंगै हतुवागढिमै जन्मनुभएको जसमान राई जस्ता योद्धाहरुलाई राज्यले भुल्न नहुने कुरामा समेत सचेत गराउनुभएको थियो।

अर्का प्रमुख अतिथी राजन मुकारुङ्गले स्थानिय सर्जकहरुको सृजनामाथी टिप्पणी गर्दै विभिन्न समयमा सहित्यको क्षेत्रमा नयाँ नयाँ प्रयोगका आयामहरु थपिएको बताउँदै तिनले नेपाली साहित्यलाई विश्व साहित्यसंग नजिकिन सहयोग पुग्ने उल्लेख गर्नुभयो। त्यही सिलसिलामा साठिको दशकमा पहिचान साहित्यले आफ्नो दरिलो उपस्थिती जनाएको भन्दै नेपाली समाजको बिबिधतालाई साहित्य मार्फत उजागर गरि नेपाली साहित्यलाई नेपाली मौलिक साहित्यकै रुपमा अन्तरास्ट्रियकरण गर्न साहित्यकारहरु लागि पर्नुपर्ने बताउनुभयो।

कार्यक्रमको दौडान हतुवागढी सिन्द्राङ्गका कवि पुर्ण सन्ध्यासमाधिको भर्खरै प्रकाशित कबिता संग्रह “टेकेर गुराँसमाथि” माथी पनि समीक्षा गरिएको थियो। कवि समाधिले कविता संग्रहभित्रको “डाईनोसर” शिर्षकको कविता वाचन गरि शुरु गरिएको शेसनमा मुख्य अतिथिहरु राजन मुकारुङ्ग र नरेश काङ्माङ्ले टिप्पणी गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: