Sunday, April 5, 2020
Home > प्रमुख > कोरोना संक्रमण बिरुद्ध हतुवागढी गाउँपालिकाको यस्तो तयारी

कोरोना संक्रमण बिरुद्ध हतुवागढी गाउँपालिकाको यस्तो तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”

हतुवागढी, १३ चैत। हतुवागढी गाउँपालिकाको गाउँ कार्यपालिकाले बिश्वब्यापी महामारिका रुपमा फैलिएको नोबल कोरोना भाईरस (COVID19) लाई आफ्नो गाउँपालिका क्षेत्रमा संक्रमण हुन नदिन विभिन्न उपायहरु अपनाएको छ।

गत चैत ११ गतेका दिन हतुवागढी गाउँपालिका बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समितिको बैठक बसि विभिन्न निर्णयहरु गर्नुका साथै सो अनुसारका कामहरु समेत द्रुत गतिमा गरिदै गरिएको बताईएको छ। गाउँपालिका अध्यक्षको संयोजकत्वमा गठित सो समितिमा विभिन्न संघ संस्था, राजनैतिक दल, सुरक्षा निकायका प्रतिनिधिहरु सहित २७ जना सदस्यहरु रहेका छन्।

सो बैठकबाट गाउँपालिका स्तरिय Rapid Response Team निर्माण र वडास्तरिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समिती निर्माण गरि तत्काल हतुवागढी क्षेत्रभित्र कोरोना भाईरसको संक्रमणलाई रोक्न विभिन्न उपाय तथा मापदन्डहरु तयार गरेको छ।

Rapid Response Team गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको संयोजकत्वमा फर्स्ट राईफल गण घोडेटारका सेनानी प्रभात अधिकारि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा ईलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी नायब निरिक्षक जसबहादुर लिम्बु गाउँपालिकाका सामाजिक बिकास समिती संयोजक बिचारी थापा रेड्क्रस सोसाईटी घोडेटारका सभापती पुरुषोत्तम बस्नेत तथा गाउँपालिकाका सि. अ.हे.व. जयकुमार राई सदस्य रहने गरि तयार गरिएको छ।

सो टिमका अनुसार गाउँपालिकाका बिद्यालय तथा वडा कार्यालयहरु मार्फत गत चैत ५ गते भित्र प्रत्येक घरमा जनचेतनामुलक पर्चा पम्प्लेटहरु पुर्‍याईएको थियो भने चोक हाट बजार लगायतका ३० स्थानहरुमा कोरोना भाईरस सम्बन्धी होर्डिङ्ग बोर्डहरु राखिएको बताईएको छ। सिमा जोडिएका देशहरु तथा तेस्रो मुलुकबाट नेपाल आएका ब्यक्तिहरुको सम्बन्धित वडा कार्यालय र नजिकको स्वास्थ्य संस्थाले निगरानी गरि दैनिक रुपमा गाउँपालिकामा बिबरण पेश गर्ने ब्यबस्था समेत मिलाईएको छ। गाउँपालिकाभित्रका नौ वटा स्वास्थ्य केन्द्रहरुमा हात धुने साबुन र मास्क बितरण सहितको स्वास्थ्य सहायता कक्ष राखिएको छ भने घोडेटार स्थित गाउँपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ४ शैय्या सहितको आईशोलेशन कक्षको ब्यबस्था गरिएको छ साथै कोरोना संक्रमित बिरामिको पहिचान भएमा अन्यत्र लैजानका लागि सुरक्षित तवरले सम्बन्धित अस्पतालसम्म पुर्‍याउने ब्यबस्था समेत मिलाईएको छ।

त्यस्तै गरि हतुवागढी क्षेत्रमा तराईबाट प्रबेश गर्ने छोटो र प्रमुख नाकाहरु चुहार पुल, सिम्ले-मचुवा पुल र सुनबालुवा पुलबाट आवतजावतमा पुर्णतः प्रतिबन्ध लगाईएको बताईएको छ। गाउँपालिका कार्यालय घोडेटार नजिकै रहेको भिमेश्वरी आधारभुत बिद्यालयलाई ५० जना क्षमताको क्वारेन्टाईनका लागि प्रयोग गर्ने तथा साप्ताहिक रुपमा घोडेटारमा लाग्ने शनिबारे हाट अर्को सुचना नआएसम्मका लागि बन्द गरिएको समेत जनाईएको छ भने दैनिक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव सृजना हुन नदिन उद्योग बाणिज्य संघले नियमित अनुगमन गर्नेछ।

Rapid Response Team ले हिजो विभिन्न ठाउँमा तोकिएको मापदन्ड अनुसार काम भए नभएको बिषयमा अनुगमन समेत गरेको छ। टिमको पुरै समूह तथा स्थानिय समाचारदाताहरु सहितको टोलिले हतुवागढिको १, ४, ७, ८, ९ वडाका वडा कार्यालय, स्वास्थ्य केन्द्रमा पुगेर मास्क, हात धुने सावुन लगायतका अन्य सामग्रीहरु बितरण गर्‍यो भने हतुवागढिको प्रमुख नाका मचुवा र चुहारमा पुगि आवत जावत बन्द भए नभएको निश्चित समेत गरेको थियो।

अनुगमनका क्रममा तोकिएका मापदन्डहरु पुर्णतः पूरा/पालना गरिएको तथा कतै पनि कोरोनाबाट संक्रमण भएको घट्ना अहिलेसम्म नआएको पाईएको अनुगमन टोलिले बताएको छ।

बाँकी रहेका वडा तथा नाकाहरुमा आज अनुगमन गरिने उल्लेख गर्दै गाउँपालिकाले सम्पुर्ण नागरिकहरुलाई संयमित भएर घरमै बसि कोरोना संक्रमणका बिरुद्ध सहयोग गर्न तथा सहि सुचना प्रवाह गर्न समेत आग्रह गरेको छ।

गत डिसेम्बर महिनाको अन्त्यतिर चिनको वुहानबाट शुरु भएको कोरोना भाईरसको संक्रमणबाट हालसम्म बिश्वभरमा २१ हजार १८५ जनाको ज्यान गईसकेको छ भने ४ लाख ६८ हजार ५७७ जना संक्रमित छन्। संक्रमित मध्ये १ लाख १३ हजार ८१७ जना निको भएर घर फर्किसकेका छन्। बिकसित र शक्ति सम्पन्न राष्ट्रहरु समेत हायलकायल भईरहेको यो अवस्थामा नेपालमा समेत कोरोनाको संक्रमण शुरु भएपछी सन्त्रासको स्थिती शुरु भएको छ। यतिखेरसम्म (चैत १३ बिहान ६:३० बजे) नेपालमा तीन जनामा संक्रमण पुष्टि भएको तथ्याङ्क सार्वजनिक भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *