Home > कथा > कथा – बुबाको नागरिकता

कथा – बुबाको नागरिकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हरि सुवेदी

मैलो प्लाष्टिकको खोलले ढाकिएको छेउपट्टि ढाका टोपीमा सजिएका युवकको तस्विर जडिएको अति मुल्यवान कागज अरु केही नभएर मेरो बुबाको नागरिकता थियो ।
नाम खुमानन्द उपाध्याय ।                 



मोटर गाडीको  अन्तिम सिटमा यात्रु कोचेजसरी   अटसमटस गरेर राखीएका दुईवटा खाट‚ दायाँ पट्टिको खाटमा पुरानो सारी जस्तै देखिने कपडाले बनाइएको डसना‚ डसना माथिको  गुन्द्रुक जस्तै गुटुमुटु परेको तन्ना‚ त्यसमाथिको  झन्डै झन्डै भुइँ झर्नै आँटिसकेको सिरक अनि खुद्रापसल जस्तै देखिने बायाँपट्टिको खाट‚ जहाँ पढ्ने किताव‚ लगाउने पोशाक‚ बोक्ने झोला देखि लिएर  प्रयोगमा आइसकेका अनी आगौ साल प्रयोगमा आउन सक्ने सामानहरु  छरपष्ट फिँजाइएको छ ।

साँगुरो कोठा‚ एकापट्टिको कुनामा ठाउँठाउँमा कालो टेपले टालिएको कालो रातो रेशमी तारसँगै झुन्डिएको बिजुलीको बल्व अनि दुई खाटबिचको अन्तरमा राखिएका डाला‚नाङ्ला‚  धान‚ चामलका बोराहरु।हरेक बिहान उठ्ने बित्तिकै प्रकाशको किरणसँगै देखिने मेरो कोठाको परिदृश्य यस्तै  प्रकारको थियो ।
कोठाको दृश्य सदाको झै नै थियो तर त्यस दिन आमाको गालीको सट्टा मोवाइलको अर्लाम सुनेर ब्युँझिएपछि सूर्यको किरण धर्तिमा झुल्कनुपूर्व त्यहि कोठाको कुनामा झुन्डिरहेको बल्वद्धारा प्रेक्षित रोशनीको सहारामा कोठाको दृश्य आँखामा प्रतिविम्वित भएको थियो।


सवेरै उठेको थिएँ। सधैँ घामभन्दा पहिले उठ्ने मेरी आमाभन्दा पनि पहिल्यै। सुतिरहेको खाटको आडैमा झन्डै झन्डै उ बेला पल्टनेहरुले पल्टनबाट बोकेर ल्याउने रेडियोको आकार बरावरको झ्याल छ । झ्याल पुरै ढाकिने गरी सर्प‚ लामखुट्टे‚ किरा फट्याङग्रा आदि कोठामा प्रवेश नगरुन भन्ने अभिप्रायले  टाँगिएको तारको जाली पनि मेरो बाबाको शरीरमा टाँगिएको अनगिन्ति प्वाल सहितको पानी गन्जी जस्तै भइसकेको थियो । एकपटक विस्तारामै लडेर तिनै प्वालहरु हुँदै बाहिर चियाएँ । बाहिर पुरै सुनसान अनि अनी उज्यालोको नाममा कोठा भित्रको प्रकाश कोठाभित्रै समाहित हुन नसकेर झ्यालको बाहिरपट्टी झुन्डिए जस्तै गरी अली परसम्म पुगेको देखिन्छ, दुरुस्तै बसको ढोकामा यात्री झुन्डिए जस्तै। लाग्छ सायद सूर्य पनि सदाको झै मेरै आमाको मुहारको दर्शन गरेर मात्र उदाउँछ होला, आमाले गाग्रीमा पानी भर्दै गर्दा निस्कने आवाजले मात्रै यि चरा चुरुङ्गीहरुको निद्रा खुल्छ होला । आमाले कुचो समाएर पिढीँको धुलो र फोहोरसँगै माकुराको जालो हटाएपछि मात्रै धर्तिबाट अन्धकारको जालो हराएर सुनौलो बिहानिको आगमन हुन्छ होला । सायद प्रकाश किरण पनि धर्तीमा पाइला राख्नको लागि आमाले लिपपोत गरेर धर्ती शुद्ध बनाउने पलको प्रतिक्षा गरिरहन्छ होला।  ।
यस्तै कुराहरु  मनमा खेलाउँदै कोठाभरी छरपष्ट सामान अनि होचो पाली सँग बच्दै बचाउँदै ढोका सम्म आइपुग्छु । भर्खर विहानको चार बजेको छ‚ तर पनि अबेर भइसकेको छ‚ कारण आज १० बजेभित्र पोखरा पुग्नै पर्ने ।


मेरो कोठाको आडैको कोठामा सुतिरहनु भएका आमा बुबाको निद्रा नखुलोस् भनेर नै अत्यन्तै संयमित भएर  ढोका खोलेर बाहिर निस्किएँ ।
लगभग एक साताको घर बसाँइ पछि आज शहर फर्कँदै थिएँ । अझ भन्नु पर्दा आमा बुबालाई खुशी पार्ने  सपना पुरा गर्न आमाबुबा बाट नै टाढा जाँदै थिएँ । सात गाउँ पारीसम्म पनि मेरा सात पुस्ते नालिबेली बताउन सक्ने गाँउ समाजबाट छुट्टिएर म पहिचानको खोजीमा शहर पस्दै थिएँ , जहाँ एकले अर्कालाई नामले भन्दा पनि आफ्नो काम अनि आफुसँगको मतलवले चिन्ने गरिन्थ्यो । घर परिवारबाट टाढा जाँदै थिएँ।  बालसखा‚ माया गर्ने भाई बहिनी‚ त्यो गाउँ‚ बनपाखा, आफन्ती इस्टमित्र  सबैबाट टाढा जाँदै थिएँ । हुनत आफ्नै देशभित्र मात्र एक गाउँबाट शहर फर्किँदै  त थिएँ तर पनि मन यसरी गह्रौँ भएको थियो कि मानौँ म आफ्नो जन्मभूमि यो देश यो माटो सँग छुट्टिएर परदेशी भूमिमा पाइला राख्दै थिए ।


तयार भैसकेपछी मात्रै उहाँहरुलाई उठाएर विदा मागेर जान्छु भन्ने सोचेको थिएँ तर हात मुख धोएर फर्की आउँदा आमा अघि नै उठेर अगेनामा आगो सल्काउँदै हुनुहुन्थ्यो । “चिया पकाउँछु विस्कुट चिया खाएर जालास।” मलाई देखेपछि आमाले भन्नुभयो ।
आगो सल्काइसकेपछि कित्लीमा पानी राखेर अगेनो माथि बसाल्दै आमाले फेरी सोध्नुभयो “अब कहिले आउँछस् तनि?” मेरो सधैँको जवाफ हुन्थ्यो खै विदा भयो भने आउँछु अब ।
“के लैजान्छस् खै?  केही छैन” आमा यसो भन्दै भान्सा कोठामा भएका पुराना प्लाष्टिकका डव्वाहरु एक एक गर्दै खोल्न थाल्नुभयो । आमा सधैँ केही छैन भन्दै गुनासो गर्नुहुन्थ्यो तर पनि हिँड्ने बेलामा झोलामा सामान नअटेर मलाई सधैँ सकस पर्दथ्यो ।
घरको दलिन माथि सिउरिएर राखेका प्लाष्टिक सँधै रुमल्लिइरहने धुवाँले गर्दा काला मैला भैसकेका छन्‚ तर पनि तिनै प्लाष्टिकमा आमाले भट्ट‚ मकै‚ सिमी आदि भरेर पोको पारिदिएपछि अत्यन्तै सुन्दर देखिन्थे ।


म तयार भएर कोठाबाट बाहिर निस्किए अनि आमाले बनाइदिनुभएको कोसेली झोलामा एक एक गर्दै राख्न थालेँ ।आमाले गिलासमा चिया राख्दै मलाई बोलाउनु भयो अनी म भान्सामा पसेर चिया पिउँदै आमासँग कुरा गर्न थालेँ । महिना दुइ महिनामा दुइ चार दिनलाई मात्र घर जाने त्यही पनि साथीभाई भेट्दै र गाँउ डुल्दैमा फुर्सद नहुने हुँदा आमाछोराका बिचमा ऋण धन अनि घर व्यवहारका कुरा हुने क्षणहरु प्राय तिनै हुन्थे। सधैं दु:खका र अभाबका मात्रै कुरा सुनाइ रहन आमालाई मन लाग्दैन थियो होला र त आफ्ना दु:ख र आँसु हरदम लुकाउने प्रयत्न गरिरहनुहुन्थ्यो । त्यसैले त कुन साहुकोमा कति ऋण छ कुन साहुको व्याज बुझाउने  बेला भयो बल्ल त्यसवेला थाहा हुन्थ्यो मलाई । अघिपछि फोनमा पनि सन्चो विसन्चो सोध्दैमा फुर्सद हुँदैन्थ्यो आमालाई । कुनै बेला त आमालाई पनि साहुहरु घरमा आएर मेरो र दाइको हालखवर सोध्न थालेपछि मात्रै ब्याज तिर्ने भाका कटेको थाहा हुन्थ्यो अरे । कुरा हुँदै जाँदा आमासँग अलिकति पैसा चाहिएको कुरा व्यक्त गरेँ ।
“कति चाहिएको हो र अस्ति बोको बेचेको पैसा दराजमा राखेकी  छु । अहिले अलिकति लिएर जा पछि खोजेर पठाइदिम्ला। पसलमा पनि तिर्ने बेला भैसक्यो‚ हलिलाई अस्ति मकै छरेको पैसा नि दिन छ‚ विकासी मल चाहिन्छ अब। आमा यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो ।


“खोजेर पठाम्ला” यो खोज्ने शब्दकै वरपर नै त मेरो जीवन घुमिरहेको थियो।  म भविष्य खोज्दै थिएँ, बाबा ऋण खोज्नुहुन्थ्यो‚ आमा खुशी खोज्नुहुन्थ्यो‚ बाबाको काँध अब जिम्मेवारी बिसाउने छोराको काँध खोज्दै थियो‚ आमाको हर नयाँ चोली खोज्दै थियो‚ आफन्ती वाहना खोज्दै थिए‚ साहु महाजन मौका खोज्दै थिए ।


अलिकति हतार भएको हुँदा म सिधै दराज भएको कोठातिर लम्किए। आमाबुवाको कोठाको हालत पनि मेरो कोठाको जस्तै जस्तै नै थियो। सबै सामानहरु एक आपसमा यसरी हुल बाँधेर बसेका थिए जसरी अचानक तय गरिएको परीक्षामा सधैं अब्बल आउने विद्यार्थीको वरीपरी अन्य विद्यार्थीहरु बस्ने गर्दछन।  कोठाको अलिकती कुना तिर  म सानो छँदा दश हजार हालेर किनेको दराज म लक्का जवान भैसक्ने बेलासम्ममा रङ उडेर फिक्का भै बसिरहेको थियो । दायाँपट्टिको ढोकामा टाँसिएको ऐना सानोमा जसले तोरीको तेल दलेर छड्के सिउँदो कोरेको मलाई देखेर हिरो भइस् भन्ने गर्दथ्यो अचेल उसका अगाडि बसेर दाह्रि जुङ्गा मिलाउँदा यहाँनेर बिग्रियो है भनेर भन्न सक्ने अवस्थामा छैन । सिरानि मुनिबाट चावी निकालेर दराज खोलेँ । अलिकति राम्रा लुगा र पाहुना आउँदाखेरिलाई भनेर छुट्टाइएका गतिला सिरक‚ डसना मात्र राखिने हुँदा दराजको भित्री बातावरण भने राम्रै हुन्थ्यो। लुगा फाटो बाहेक आवश्यक कागजात‚ गरगहना‚ पैसा आदि राख्नको लागि दराजको माथिपट्टि घर्रा बनाएर ठाउँ छुट्ट्याइएको थियो । घर्राभित्र जन्मकुण्डली‚ घरजग्गाको लालपुर्जा‚ बिजुलीको बिल‚ भएको अलिअलि पैसा सबै कुराहरु भेट्न सकिन्थ्यो। पैसा खोज्ने चक्करमा भएका कागजातहरु यता पल्टाउने उता पल्टाउने गर्दै खोज्दै थिएँ ।यत्तिकैमा एउटा कागजपत्र मेरो हात पर्यो । सायद् त्यस दिन‚ त्यो पल‚ त्यो कागज पढेपछि म अनि मेरो सोचमा धेरै परिवर्तन आएको थियो । मेरा रहरहरु‚ मेरा आवश्यकताहरु अनि मेरा जिम्मेवारीहरुलाई हेर्ने नजरमा पनि परिवर्तन आएको अनुभुती भएको थियो । असङ्ख्य पुस्तकहरुले पनि दिन नसकेको ज्ञान नाथे सानो कागजको टुक्राले दिएको थियो ।

मैलो प्लाष्टिकको खोलले ढाकिएको छेउपट्टि ढाका टोपीमा सजिएका युवकको तस्विर जडिएको अति मुल्यवान कागज अरु केही नभएर मेरो बुबाको नागरिकता थियो ।
“नाम खुमानन्द उपाध्याय।”

                        
सायद आफ्नो नाम पछि मेरा हातबाट सबैभन्दा बढी कोरिएको नाम मेरो बुबाकै थियो होला । नागरिकतामा भएको ठेगाना सँग पनि परीचित नै थिए मात्रै स्वरुप फेरिएको थियो । उ बेलाको गाउँ विकास समितिलाई नगरपालिका लेख्न थालिएको थियो‚ घरसम्म पुग्ने स-साना गोरेटाहरु आफ्नो छातीमा मोटर बोक्ने गरि चक्लाइएका थिए‚ घरतलको धानखेतमा धमाधम प्लटिङ भइरहेको थियो‚ गौचरनमा के के बनाइने भन्दै जग ठडाइँदै थियो‚ घरको छतमा खरको सट्टा टिन राखिएको थियो‚ हलगोरु बाँधिने गोठमा त्रिपालले छोपेर सानो ट्रयाक्टर राखिएको थियो । बुबाको नागरिकतामा मेरो लागि नयाँ कुरा भनौँ या त्यति धेरै कहिल्यै गहन नगरिएको कुरा भनौँ‚ त्यो मेरो बुबाको जन्ममिति थियो– २०१६ साल माघ १५ गते ।


 समय चक्रको उतार चढावसँगै  फेरिँदै बदलिँदै जिन्दगीका साठी भन्दा बढी वसन्त पार गरिसक्नुभएछ बुबाले । आमाको काखबाटै दुधे बालकको नजरले निरंकुश पञ्चायति व्यवस्था देख्नुभएका बुवाले प्रजातन्त्र पुर्नस्थापना‚ माओवादी जनयुद्ध‚ दरवार हत्याकाण्ड लोकतन्त्र हुँदै गणतन्त्र सम्मको अनुभव लिइसक्नु भएको छ । गाउँघरमा साथिभाई सँग उमेरको हिसाव किताव गर्दा मैले तैँले भन्दा यति धेरै भोटा फटालेको छु भनेर भन्ने गरिन्थ्यो । मेरा भोटा किन्नको लागि आफ्ना हत्केला फटाल्ने बुबासँग यसरी उमेरको हिसाब किताव गर्नु सम्भव नै थिएन । भोटाको गिन्ति के गर्नु?


बुबाले मेरो लागि पुरै जिन्दगी फुटालिसक्नुभएको थियो । चाउरिँदै गएका छाला अनि फुल्दै गरेका केश पनि सायद बुबाको बढ्दो उमेर तर्फ इशारा गर्दै थिए ।कागजमा लेखिएको उमेर अनुसार त बुढ्यौलीले पछ्याइरहे पनि घरको जिम्मेवारी अनी आवश्यकताहरुले बुवालाई बुढो बन्ने अनुमती दिइरहेका थिएनन ।  एक पटक सोही कोठामा सुतिरहनुभएका बुबालाई हेर्छु अनि बुबाआमाको बुढेसकालको सहारा भनिएको म आँफैलाइ हेर्छु ।
हरेक कुराको लागि आफ्नै समय हुन्छ । वृक्षले फल दिने ‚ फुलले पनि सुवास छर्ने आफ्नै उमेर हुन्छ। बचेराहरुले पनि पहिलो पटक गुँड छोडेर आकाश चुम्ने उमेर हुन्छ । तोते बोलि फुट्ने ‚ ताते ताते गर्दै पाइला सार्ने आफ्नै उमेर हुन्छ । वैँसले मात्तिने पिडाले आत्तिने उमेर हुन्छ । उडिरहेको पंक्षी देखेर‚ बगिरहेको नदी देखेर‚ छक्किने पनि उमेर हुन्छ ।

सायद यसै गरि एक पिताको लागि पनि उमेर हुन्छ होला हुर्केको छोराको काँधमा घर व्यबहारको अभीभारा सुम्पिएर आफ्ना जीवनका उपलब्धीहरु अत्मसाथ गर्दै तनाबमुक्त बुढेसकाल जिउनको लागि। एक जिम्मेवार छोराको लागि पनि हुन्छ होला छोराको खुशीको लागि बेचिएका बुबाका तमाम सपनाहरु, बन्धक राखिएका खुशीहरु अनि छोराको भबिश्यका अगाडि ओझेल परेका बुवाका आफ्ना रहरहरुसँग बुबालाई आम्ने साम्ने गराउने उमेर । बुबाको कोटको खल्तिमा लुकाएर ल्याइएको खेलौना सँगै खेल्ने उमेर भएजस्तै बुबालाई भनेर घडी र चश्मा किनेर ल्याउने उमेर पनि हुन्छ होला छोराको लागि ।


थाहा थिएन छोराको जिम्मेवारी निर्वाह गर्ने त्यो उमेर मेरो जीवनमा आउँदै थियो या उमेर आइसकेर पनि म बेखवर थिएँ । त्यसैले त मेरा बुबाका कमजोर गोडाहरु नाङ्गो पैताला अनौँ को पछि अझै पनि दौडिरहन्थे । वर्षौँ पहिले सुस्ताएका बुवाका स्वप्निल मनहरु अझै पनि मिठा सपना देख्ने साहस गर्न सकिरहेका थिएनन। मेरो घरको चुहिने छत अझै पनि बुबाको कमिजको टुक्रा काटेर टाल्नु परिरहेको थियो ।  अझै सम्म पनि मेरो घरको खर्च बुबाको पसिना सँगै साट्ने गरिन्थ्यो । बुबालाई घरको जिम्मेवारी बोध भएपछि मुगलान भासिँदै गर्दा केवल सत्र बर्षको हुनुहुन्थ्यो रे । जिन्दगीको चौबिसौँ वसन्तमा आइपुग्दा सम्म पनि म के गरिरहेको थिएँ‚ के चाहन्थेँ अन्योल मै थिएँ । अरु सबैको लागि त म पोखरामा बसेर पढ्दै थिएँ तर मलाई लाग्थ्यो म अझैपनि बुबाको पिठ्युँ चढेर आफ्नो लागि मोति टिप्दै थिएँ‚ बुबाका नङ्ग्राले खोस्रिएर म आफ्नो लागि बाटो खन्दै थिएँ । लाग्थ्यो सायद मैले पढ्दै गरेका ठूला ठूला पुस्तकहरु यता बुबाको पिठ्युँमा बोझ थपिरहेका थिए‚ साथीभाइसँगको जमघटमा खोलिने बियरका बोतलहरु बुबाको दाँत कमजोर बनाउन लागि परेका थिए। पढ्ने बेला अन्तिम बेन्चमा बसेर गरिएका ति अनावश्यक हो हल्ला बुबाको श्रवण शक्तिमा ह्रास ल्याइराखेको देखिन्थे। सायद मैले उडाएको चुरोटको धुवाँको मुस्लो नै बुबाको श्वासप्रश्वास समस्याको कारण बन्दै थिए। । ति प्रत्येक पल जो म आफ्नो जिम्मेवारी र उद्देश्य बिर्सेर मोजमस्तिमा बिताइरहेको थिएँ बुबालाइ विस्तारै बुढेसकालतर्फ धकेलिरहेको देखिन्थे ।


हातमा नागरिकता समाएर टोलाउँदै गरेको देखेर मौनता भङ्ग गर्ने अभिप्रायले नै होला बुबाले सोध्नु भयो “अँधेरै छैन र? कसरी जान्छस?”  “मोवाइलको लाइट छ‚ उज्यालो हुनै ला’छ।” म जवाफ दिन्छु … बुबा विस्ताराबाट उठेर बाहिर जानु भयो । म भने फेरी आफ्नै सोच्मा हराउन लागेंँ। एक पटक त लाग्यो सायद म अलि बढी नै सोचिरहेको छु कि । म कमाउँदै गरेको नभए पनि आफ्नो खर्च कम गर्न कुनै कसर बाँकी राखेको पनि त थिइन । साथीभाइ सँग घुम्न नजान अनेकौ बहानाहरु बनाइनु, चिल्ला र चटक्क परेका रेष्टुरेण्ट नेरफेर पुग्दा नै भोक आँफै हराउनु, मनपर्ने नायकको फिल्म युटुवमा आउने दिनको ब्यग्र प्रतिक्षा गरिनु सायद मेरा तर्फबाट खर्च कम गर्न गरिएका प्रयासहरु अन्तर्गत पर्दथे। त्यसैले  ठूला ठुला सपिङ मलमा त केवल फोटो खिच्न र लिफ्ट चढ्न मात्र गइन्थ्यो।


सायद बर्षौँ देखि बुबाको ठेला उठेका हात‚ आमाको अधुरो मुस्कान अनि घरको पुरानो छाना देखेर पनि नचल्मलाएको मेरो मन आज बुबाको नागरिकता देखेर नै घरको लागि छिट्टै केही गर्ने अठोट गरिसकेको थियो । “तर कसरी?”एउटा प्रश्न अझै पनि मेरो प्रतिबद्धतामा तगारो बनिरहेको थियो । न त चार वर्षे पढाइ मेरा सपना र घरका आवश्यकता पूरा गर्ने गरी ज्याला दिन्थे न त मेरा प्रमाणपत्रका आधारमा कोही लगानी गरिदिन्थे आफ्नै ब्यबसाय सुरु गरौ भने पनि।

मैले एकपटक घरको हालात सम्झिएँ । साँघुरा कोठा, पुरानो पाली, होचो दलिन धमिरा लाग्नै आँटेको झ्याल ढोका अनि बर्खा बेला निरन्तर रसाउने घरका भित्ताहरु अनि म फेरी आफ्नो हालात सम्झिएँ रित्तो गोजी अनगिन्ति सपनाहरु।  एकपटक घरको ऋण सम्झिएँ अनि फार्मासिस्टको तलव सम्झिएँ । बुबाको शिरको पुरानो टोपी अनि आमाको मैलो चोली सम्झिएँ । अध्ययनमा गरिएको लापरवाहीको परीणाम सर्टिफिकेटका ताराहरु सम्झिएँ ,अस्विकार गरिएका मेरा प्रेम प्रस्तावहरु अनी सम्बन्धको उज्ज्वल भबिस्य नदेखेपछी बिछोडको उपहार थमाउने भूपु प्रेमिकाहरु सम्झिन थालेँ । दुइ महिना देखिको बाँकी कोठा भाडा,रासन दुकानको उधारो, चल्ने भन्दा बढी रोकिने मोवाइल, साथी भाइसँगको सापटी, प्वाल परेका मोजाहरु, दोस्रो पटकको  सिलाई पनि उध्रेका जुत्ताहरु सबै मेरो मन मस्तिस्कमा दश्तक दिन थाले।  लाग्यो यि सबै कुराहरु एेना बनेर मेरो औकात देखाउदै थिए।


जति धेरै सोच्दै जान्छु त्यति नै धेरै यि मनका आँधीबेेहरीसँग रुमल्लिइरहनुपर्ने  नै थियो । त्यसैले छिटै बाटो लाग्ने निश्चय गरेँ । कोठाभाडा खाजा पानी पढाइ खर्च यता उति गरेर झण्डै झण्डै १२- १३ हजारको आवश्यकता परेको अर्जि सहित घर आएको थिएँ पोखराबाट । घर्राभित्रको पैसा थियो जम्माजम्मी १० हजार । बढ्दो उधारो सँगै बढ्दो अपमान महसुस गरिरहेको थिएँ । मन त थियो सबै उधारो तिरेर केही समय नै भए पनी शिर उच्चा गरेर हिँडु।  तर सबै पैसा लैजान मनले मानेन अनि आठ हजार मात्र लिएर कोठाबाट निस्किन लागेँ ।


ढोकानेर पुग्ने बित्तिकै अगाडि बढ्दै गरेका पाइलाहरु रोकिन पुगे । एकपटक फेरी म सोचमग्न भएँ । सबै पैसा मैले लगेर घर कसरी चल्छ? खेतालाको पैसा, आमाको दवाइ, खेतलाई मल, घरको रासन हजुरबुबाको श्राद्धखर्च चाडपर्वको खर्च कसरी पुग्छ?सायद आमाले छोरा बुझ्ने भै सकेको छ भनेर नै पैसा अड्कलेर दिन जरुरी ठान्नु भएन होला। आमाको छोरा प्रतीको विश्वासब कायम गरिरहन पनि मैले केही गर्नु पर्छ जस्तै लाग्यो।  मलाई लाग्यो म मेरो खर्च अझै कम गर्न सक्छु, बरु पढाईबाट अलिकति समय मिलाएर ट्युसन पढाउँछु। यति अभाव त सहेकै छु अब अझै अलिकति सहँदैमा के होला र ? साहुको अगाडि बुबाको शिर झुक्नुभन्दा त बरु मैले  अलिकति अपमान सहनु नै  उत्तम हुन्छ जस्तो लाग्यो। जिम्मेवारीको बोझ एक्लै काँधमा उठाउन नसके पनि बोझले डगमगाउन लाग्नु भएका बुबाको साथ दिन त सक्छु । यति सोचेर म ढोकाबाटै पुन दराजतर्फ मोडिए अनी अघीको  पैसाबाट दुई हजार पुन घर्रामै फिर्ता गरेर फर्किएँ । मेरो आफ्नो मेहनत पसिनाको कमाई नभएपनि सायद मेरो आफ्नो जिन्दगीको पहिलो कमाइ यहि नै हो जस्तो आभास भयो अनी आफुभित्र एक जिम्मेवार व्यक्तिको विकास हुँदै गरेको देखेर खुशी हुँदै गर्वका साथ पोखरा फर्किएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: