Home > सँस्कृति > प्रथम अन्तर्राष्ट्रिय अनलाईन पाःलाम प्रतियोगितामा गैर लिम्बूसहितको उत्साहजनक सहभागिता

प्रथम अन्तर्राष्ट्रिय अनलाईन पाःलाम प्रतियोगितामा गैर लिम्बूसहितको उत्साहजनक सहभागिता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले गरेको ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ मा गैर लिम्बू सहितको उत्साहजनक सहभागिता भएको छ ।

आयोजकलाई प्राप्त पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँअनलाइन डट कम को युुुट्युब च्यानल मार्फत सार्वजानिक गरिएका हुन् । सार्वजनिक भएका पाःलामहरुमा लाइक, सेयर तथा कमेन्ट गर्ने दर्शकहरूको लर्को पनि बढिरहेको छ । गैर लिम्बू भाषीहरूमा राई, विश्वकर्मा र अधिकारी जातिबाट छन् ।

अझै पनि सहभागीहरूको संख्या बढिरहेकोले प्रत्येक दिन संख्या बढाउँदै अपलोड गरिएको आयोजकले जनाएको छ । नेपाल बाहेक वैदेशिक रोजगारीमा गएका मुलुकहरू र सिक्किम, असम, युके, अमेरिकाबाट पनि सहभागीता जनाइरहेका छन् ।

पालाम प्रतियोगितामा विजेतालाई नगद रु ३० हजारसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार – नगद रु २५ हजार, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार – नगद रु २० हजार, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिईने बताईएको छ। त्यसैगरी विभिन्न शिर्षकमा सान्तवना पुरस्कार पनि प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा सहभागी पाःलामहरुले सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछन् । निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथाने संगीतका अभियन्ता झुमा लिम्बू छन् ।

पाःलाम जेष्ठ ३० गतेसम्ममा जम्मा गर्ने र अन्तिम नतिजा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि मनिश सम्बाहाङ्फे – क्यानडा, शर्मिला यक्सो चोङ्बाङ – युके, तिलबिक्रम सम्बाहाम्फे – युके, विश्वासदीप तिगेला – युके, रोशन यक्सो – हङ्कङ, सुवर्ण नेम्बाङ – युके, टंक वनेम – युके, दिलसिंह मेन्याङ्बो – युके, आशिका देवान – हङ्कङ, दिल पालुङ्वा – युके, लोकेन्द्र तबेबुङ – युके, टंक सेलिङ – काठमाडौ, मुक्साम लाओती – जापान, चौबिसे संङ्यक ढाका उद्योग – धरान, रीता फोम्बो ठूली – युके, देब+बिष्णुमाया हुक्पाचोङ्बाङ – युके र दिला सेलिङले प्रायोजन गरेका छन् । प्रतियोगिताको चुलिँदो चर्चाका कारण अझै पनि प्रायोजकको संख्या बढ्न सक्ने आयोजकले जनाएको छ ।

के हो पाःलाम ?
धाननाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्म-कार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रूपमा देखिने धाननाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाच प्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवाल जवाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ ।

पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रूपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक र हात समाई पालाम गाउनु अघि, गाउँदै नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ति गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।

पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: