Wednesday, July 8, 2020
Home > प्रमुख > हतुवागढिमा गरियो आँखा उपचार केन्द्रको उद्घाटन र स्थापना

हतुवागढिमा गरियो आँखा उपचार केन्द्रको उद्घाटन र स्थापना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”

हतुवागढी, २ असार। नेपाल नेत्रज्योति संघ भोजपुर र हतुवागढी गाउँपालिका बिच गत जेठ २३ गते भएको सहमती अनुसार हिजो असार १ गते हतुवागढी स्थित प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा “हतुवागढी आँखा उपचार केन्द्र, घाेडेटार भाेजपुर” को स्थापना तथा उद्घाटन गरिएको छ।

नेपाल नेत्रज्योती संघ भोजपुरका अध्यक्ष तेज मोक्तान र हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई केन्द्रको संयुक्त उद्घाटन गर्दै

केन्द्रमा तत्काल नेत्र सहायक (आँखा सम्बन्धि अध्ययन गरेकाे हे.अ.) १ जना र आई वर्कर सहयाेगी १ गरि २ जना स्टाफ रहनेछन्। उद्घाटन संगै कार्यालय सञ्चालन तथा केन्द्रलाई प्रभावकारी बनाउन हिजैबाट उक्त पदहरुमा अस्थायी रुपमा नियुक्ती समेत गरिएको छ। नियुक्ती पाउनेहरुमा नेत्र सहायक नरेन्द्र चौधरि र आई वर्कर सहयोगिका रुपमा थामसिरमान राई रहेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै हतुवागढी गाउपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्रको ब्यबस्थापनका लागि आवश्यक सबै उपकरण व्यवस्था गर्न प्रदेश सरकारबाट २५ लाख गाउँपालिकाकाे खातामा जम्मा भईसकेकोले अब आँखा उपचार केन्द्रको लागि एउटा समिति बनाई  काम अगाडि बढाईने तयारी गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्काल भौतिक पुर्वाधार उपलब्ध नभएकोले हामिले प्राथमिक स्वास्थ्य केन्द्रमै स्थापना गरेका हौँ, तर यो प्राथमिक स्वास्थ्य केन्द्रको अंग होईन। छुट्टै ब्यबस्थापन गरिनेछ।” बिधिवत स्थापना गरिएपछी अब अन्य कामहरु गर्न सहज हुँदै जाने उहाँको कथन थियो। कर्मचारी ब्यबस्थापनकाे लागि नेत्रज्योति संघ र गाउँपालिकाले माग गरेपछि नियमित रुपमा ५ लाख रुपैँया वार्षिक रुपमा सरकारले दिने र अन्य अार्थिक ब्यबस्था गाउँपालिकाले गर्ने तयारी रहेको अध्यक्ष राईको भनाई छ। त्यस्तै गरि तालिम, शिविर संचालन, विशेषज्ञ, प्रायोजककाे खाेजी भने नेत्रज्योति संघले गर्नेछ। साथै केन्द्रले आन्तरिक स्रोतबाट समेत आर्थिक भार बहन गर्न सक्नेछ।

याे केन्द्रबाट अाँखाकाे उपचार, चेकजाँच, अाैषधि, पावर जाँच अनुसार चश्मा दिने, चश्मा बनाउने र अावश्यकतानुसार विशेषज्ञहरू ल्याएर प्रायाेजक खाेजी गरी शिविर संचालन गर्ने, जटिल समस्या देखिए सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने काम गरिने बताईएकोछ।


नेपाल नेत्रज्योती संघ भोजपुरका अध्य्यक्ष तेज मोक्तानले सुगम वा दुर्गम हरेक ठाउँका मानिसहरु दृष्टिबाट बञ्चित हुन नपरोस भन्ने हेतुले नेत्रज्योती संघ आँखा उपचार अभियानमा सक्रिय भईरहेको उल्लेख गर्नुभयो। हतुवागढिमा आँखा सम्बन्धि सम्पुर्ण समस्याको उपचार गर्ने प्रबिधी र ब्यबस्थाका लागि आफ्नो तर्फबाट सम्पुर्ण सहयोग रहने उहाँको प्रतिबद्धता रहेको थियो।


प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको प्राङ्गनमा आयोजना गरिएको उद्घाटन तथा स्थापना कार्यक्रममा नेत्रज्योती संघ भोजपुरका अध्यक्ष तेज मोक्तान, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अतिरिक्त गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, सबै वडाका वडाध्यक्षहरु, बाणिज्य संघ प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संघ-संस्थाका प्रतिनिधि  लगायत बजारबासिहरुको समेत उपस्थिती रहेको थियो।

याे केन्द्र ब्यबस्थित सञ्चालन भएमा हतुवागढी, अामचाेक, रामप्रसाद राई, पाैवादुङमा गाउँपालिका तथा खाेटाङका केही भागका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *