Wednesday, July 8, 2020
Home > कविता > कविता : उसलाई

कविता : उसलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

✍️लाडुप घिसिंग

यो व्यस्त शहरको
संकुचित गल्ली र चोकहरुबीच
आज पनि उसले सदा झैं उभिएर
हेरिरहेछ।
नौलो केही छैन
भग्नावशेष पनि होइन।


आफ्नो साँध-सिमाना गुमाएको
भनौ या हराएको
रंगीन मानचित्र उसलाई मनपर्दैन।
घचेट्दै अपरिचित घुइँचोले पर पुर्याएपछि
उसलाई भान हुन्छ
अहिले उसको शरीरलाई उभ्याएर राख्न खोज्ने
दुई खुट्टाहरूले समेत जग्गा पाएको छैन।


आफ्नो साँध-सिमाना गुमाएको
भनौ या हराएको
रंगीन मानचित्र उसलाई मनपर्दैन,
सोझै भनौं
आफूलाई मिच्दै आएको धरती
आफूलाई थिच्दै आएको आकाश
केही मनपर्दैन
आजकल उसलाई भूगोल मनपर्दैन।


रगत-पसिना बगेको, बगाएको।
आँशुले रसाएको,
आफ्नो यथार्थको किताबभित्रका
मार्मिक पृष्ठहरु
आज भित्र-भित्रै ‘सिल्भर-फिस्’-हरुले खाइसकेछ।
किम्बदन्ती भएर बाँचेको सत्य पनि
दुई-चारजना गर्दै मरिसकेछ।


पुर्वाग्रहले ग्रस्त,
अरूकै चश्माले देखेको,
टम्म कुइरोले ढाकेको
पर्दा पछाडीको वास्तविकतालाई लुकाएर
अरूकै कलमले लेखेको,
असत्यहरूलाई!
आफ्नै परिचय
आफ्नै कथा हराएको
अस्वीकार गर्न नसकिने अँध्यारो पाठ्यक्रम
जैव-विकासको क्रममा
भनौं या डार्विनको सिद्धान्त समाएर
उसलाई लखेट्दै गरेको यो चौथो आयाम
आफूलाई मिच्दै आएको धरती
आफूलाई थिच्दै आएको आकाश
केही मनपर्दैन
आजकल उसलाई इतिहास मनपर्दैन।

मिरिक, दार्जिलिङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *