Home > कला > नारायणगोपाल नभएको भए

नारायणगोपाल नभएको भए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

~प्रकाश सायमी

नेपालका पहिलो रक सिंगर माइक खड्काले प्रसंगवश संगीतकार दीपक जंगमलाई सोधेछन्, ‘नारायण गोपालको स्वरको टेक्स्चर गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?’
पाकिस्तानी गजल गायक गुलाम अलीसँग पनि सहकार्य गरिसकेका गायक–संगीतकार दीपक जंगम लामो समय मौन भएछन् र एक पेग उडाएपछि बल्ल मुस्किलले भनेछन्, ‘भन्न गाह्रो छ, दुवैको आ–आफ्नो रेन्ज र टोन छ, तर लङ रनमा दुवैको तुलना गर्न मिल्दैन ।’ दुवै गायकको आवाजलाई ‘क्रुसियल’ समयमा प्रयोग गरेका सिद्धहस्त संगीतकारको यो मूल्यांकन चानचुने होइन ।
नारायण गोपालसँग पछिल्लो समय काम गरेका दुई सशक्त संगीतकारहरु हुन्, दिव्य खालिङ र दीपक जंगम । दुवैले क्षमताले भ्याए अनुसार नारायण गोपालबाट लिए पनि, दिए पनि । नारायण गोपाल ३० र ४० को दशकमा नेपाली संगीतका अमिताभ बच्चन थिए, उनले जसलाई छोयो, त्यो संगीतकार वा गीतकार सफल हुन्थ्यो । शम्भुजित, भूपेन्द्र रायमाझी, चन्दन लम्जेल आदि उनकै गीतमा गुञ्जिएपछि चर्चा वा पहिचानमा आए ।

नारायण गोपालले सुरुवाती कालखण्डमा गाएका ६ वटा गीत रत्नशमशेर थापाका थिए । त्यसपछि उनले अम्बर गुरुङ, गोपाल योञ्जन अनि कर्म योञ्जनका गीत गाए । तेस्रो चरणमा उनले सिके रसाइली, नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा आदिका गीत गाए ।
पहिलो इनिङ र दोस्रो इनिङमा फरक नारायण गोपालको स्वर मात्र थियो । पहिलो इनिङमा उनले राम्रो हुन राम्रा गीत खोजे । तर, दोस्रोमा राम्रा गीतले उनलाई खोजे । कालीप्रसाद रिजाल, नोर्देन रुम्बा, विश्वम्भर प्याकुर्‍याल, चाँदनी शाहका गीत यसका उदाहरण हुन् ।
०१८ देखि ०४४ सालसम्म उनले एक सय ५७ गीत गाए । कुनै पनि गीतमा उनले आफूलाई स्वरिता, गायकी र शब्द चयनमा दोहोर्‍याएनन् । उनी एकनास नर्मदाजस्तै फरक–फरक रूपमा बगे । तर, बीच–बीचमा रेस्ट लिएर ।

नारायण गोपालको स्वरमा दुइटा खुबी थियो, मौलिकता र उच्चारण । नेपाली गायकीमा पाइने शुद्ध ब्राह्मणीय ओज र ढबबाट उनी अलग थिए । पुरानो पारसी शैलीको गायनलाई त उनले पूर्ण बहिष्कार गरेका थिए ।

नारायण गोपाल गाउँदा एउटै मान्छेलाई हिरो सम्झिन्थे– आफैँलाई । आफैँलाई केन्द्रमा राखेर गाउन सक्ने उनको क्षमता नै पछि उनको उग्र अहम् र झोँकी स्वभावको पहिचान भयो । उनको ‘लार्जर देन लाइफ’को छविले उनलाई लोकप्रियतामा जति माथि पुर्‍यायो, त्यसैले उनलाई ‘बोहेमियन’ (असामाजिक प्राणी, चम्चाहरूको घेरामा रमाउने)जस्ता ट्याग पनि भिरायो । तर, यहीकारण पञ्चायत कालमा दरबारका सचिवदेखि मन्त्रालयका सचिव, उपसचिवसम्म उनको वरपर हुन चाहे । त्यो उनको स्वरको कारण मात्र होइन, उनको ‘बिग ब्रदर’को व्यक्तित्वको कारण पनि हो । उनको खान्की, विश्व राजनीति र इतिहासको जानकारीले धेरैलाई लोभ्यायो, गायनमा विश्वास र पक्कडले पनि । उनले गाउन अस्वीकार गरेका गीत फ्लप भएका छन्, उनले गाएका कमसल गीत पनि लामो समय टिकेका छन् । रञ्जित गजमेर र शम्भुजित बासकोटाका गीतलाई त्यस कोटिमा राख्न सकिन्छ ।
नारायण गोपालको मातृभाषा नेवारी हो । उनले नेवारी रंगमञ्चमा एक वा दुई कार्यक्रमपछि कुनै गीत गाएनन् । नेवारी गीत गाएर राजनीति गर्न चाहेनन्, नारायण गोपालले । पछि नेवारी गीत गाउने चाहना भने साथीहरू दुर्गालाल र गिरिजाप्रसाद जोशीसित राखेका थिए उनले ।

उनका पिता आशागोपाल शास्त्रीय संगीतका धुरन्धर उस्ताद थिए, छिमेकी कोमलनाथजस्तै । तर, नारायण गोपालले आफ्ना पिताको बाटोलाई समाएनन् । आफ्नै बाटो बनाए ।

नेपालमा गीत गाएर गुजारा गर्न सकिँदैन भनिने समयमै उनी गीत गाएरै सांस्कृतिक संस्थानको महाप्रबन्धक भए । यो फरक कुरा हो कि उनको महाप्रबन्धकत्वकाल विवादास्पद रह्यो ।
उनीसित प्राय: कलाकारहरू रुष्ट नै रहे । कतिले त उनीविरुद्ध केही समय पर्चाबाजी पनि गरे । तर, उनको अटेरीपना कलाकारको हक–हितकै लागि थियो, सांस्कृतिक संस्थान बचाउन थियो । त्यतिवेला सांस्कृतिक संस्थान कलाकार भर्ती केन्द्र थियो । संस्थानका कलाकारलाई राणाका दरबार, पाँचतारे होटल र चलचित्रले तान्न खोज्थे, यसका सख्त विरोधी थिए, नारायण गोपाल । नारायण गोपाल कलाकारलाई सांस्कृतिक संस्थानले नै पाल्नुपर्छ भन्ने अभियानमा थिए । यो नै उनको घातक कदम हुन पुग्यो । नारायणगोपाल कुनै तालिमप्राप्त महाप्रबन्धक थिएनन् । सामान्य अध्ययन भए पनि महाप्रबन्धक भएका उनी पहिलो कलाकार थिए । यसले अरू कलाकारलाई पनि ‘जिएम’ हुने ‘रन वे’ बनाइदियो ।
दरबारसँग लभ एन्ड हेट रिलेसनसिप भएका नारायण गोपालले लामो समय दरबारबाट आएको गीत गाउन चाहेनन् । त्यसअघि नै उनले दरबारबाट फ्याँकिएका रवीन्द्र शाहको गीत गाएका थिए ।

उनका गीतमा सन्देश, चेतना, जागरण र आह्वान भए पनि नारायण गोपाल ०४६ सालको आन्दोलनमा प्रत्यक्ष सरिक भएनन् । त्यतिवेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाएको विरुद्धमा ३ चैतमा कालोपट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा उनले आफ्ना मित्र वासु शशीलाई आउँछु भनेका थिए । तर, आएनन् । उनी आलोचित भए ।

नारायणगोपालको स्वर र व्यक्तित्वमा फरक शक्ति थियो । सबैलाई दबाउन र कँजाउन यसले उनलाई सहयोग गरेको थियो । काठमाडौंमा आयोजना गरिएको पहिलो एकल साँझ ‘स्वर्णिम साँझ’मा उनले औद्योगिक परिवारका वसन्त चौधरीलाई प्रयोग गरे । वसन्त पनि त्यतिवेला दरबारसँग निकट हुन चाहन्थे । यी दुवै कुरा दुवैलाई मिल्यो ।
काठमाडौंका रैथाने नेवारसित अलोकप्रिय भइसकेका नारायणगोपाललाई नेवार परिवारसित निकट मानिने चौधरी परिवारका वसन्तले स्वापु (नेवारीमा यसको अर्थ हुन्छ सुधारिएको सम्बन्ध) जोडिदिए । वसन्तको न्युरोडका भिडिओ पसले, कपडा व्यवसायी, थँहिटीका होटल व्यापारीसित राम्रो सम्बन्ध थियो । ती सबलाई नारायण गोपालको कार्यक्रममा वसन्तले टिकट विक्रेता, स्वयंसेवक, सज्जाकार बनाइदिए । नेवार समुदायसँग सहकार्य नभई त्यो कार्यक्रम काठमाडौंमा असम्भवप्राय: थियो ।

नारायण गोपालले जम्मा चारवटा नेवारी गीत गाए । तर, मन्चमा एउटा गीत गाए, संगीत पञ्चमी कार्यक्रममा दुर्गालाल श्रेष्ठले लेख्नुभएको ।
उनले नेवारी समुदायकी युवतीसँग विवाह गरेनन् । नेवार जाति र सम्प्रदायको कुनै आन्दोलनको हिस्सा बन्न चाहेनन् । यस्ता कारणले काठमाडौंका नेवार उनीसित टाढा थिए । त्यसबाहेक काठमाडौंका अन्य कलाकार पनि उनीसित रुष्ट थिए । दार्जिलिङबाट आएका कलाकार गोपाल योञ्जन, कर्म योञ्जन, दिव्य खालिङलाई मात्र नारायण गोपालले च्याप्यो भन्ने आरोप लागेको थियो उनीमाथि । त्यसैले, उनका पुराना साथी, संगीतकर्मी पनि टाढिइसकेका थिए ।
नारायण गोपालको जीवनमा दुई चुनौती थिए, अस्तित्वको बचाउ र स्वरको समृद्धि । महाप्रबन्धकको जागिर त्यसको बाधक भइसकेको थियो । मद्यपानको अनवेक्ष प्रयोगले उनको स्वरमा भन्दा शरीरमा थकान थपिसकेको थियो ।
स्वरका कारणले युनिक नारायण गोपालका रिजर्भेसन पनि थिए । उनी गीत छानेर र मागेर गाउँथे । तर, पैसा मागेर होइन, तोकेर लिन्थे ।

प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘मालती–मंगले’ चर्चित भएपछि राजदरबारले सबैलाई बाँड्नू भनेर दुई लाख रुपैयाँ बक्सिस पठायो ।नारायण गोपालको हातमा १० हजार मात्र पर्‍यो । उनले लेखकले कति पाए भनेर सोधे । कतैबाट जवाफ आयो, ‘५० हजार ।’ त्यो जवाफ पाएपछि उनले त्यो १० हजार फर्काइदिए र भने, ‘उसले लेखेर यो गीतिनाटक चलेको हो भने साझा प्रकाशनमा किताब थन्कने थिएन । मेरो आवाजले चलेको हो, मलाई आधा हिस्सा चाहिन्छ ।’
यो कुरा जहाँ पुग्नुपर्ने थियो, पुग्यो । र, उनलाई लेखकको भन्दा धेरै पैसा आइपुग्यो । हार्न उनले जानेका थिएनन् र जितका लागि उनी आफैँ कोर्ट बनाउँथे । बल पनि आफ्नै, कोर्ट पनि आफ्नै ।

गजब आवाजका धनी नारायण गोपालको बानी–व्यहोरा पनि गजबकै थियो । उनी मन नपरेको मान्छेलाई घरको दैलोसम्म आए पनि भेट्दैनथे, त्यसमा कैयौँपटक दरबारका सचिवदेखि मन नपरेका संगीतकार, गीतकार पनि परेका छन् । यति मात्र कहाँ हो र, उनी मन नपरेका दर्शकलाई समेत मञ्चबाट च्यालेन्ज गर्थे । त्यसको एउटा उदाहरण हो, ‘सम्झनाको रात’ । उनले त्यो कार्यक्रममा गीतै गाएनन् ।

गीतगंगा स्थापित गर्ने नारायणगोपालको सपना थियो । उनी बितेको २५ वर्ष भइसक्दा पनि उनको यो सपना अधुरो नै छ, यो सपना पूरा गर्ने जिम्मेवारी लिएको नारायण गोपाल संगीतकोष पनि वर्षमा एक दिन पुण्यतिथि मनाएर सेलाइसकेको वा हारिसकेको छ ।
जीवनभर नारायण गोपालकै मात्र गीत गाएर साधना गर्दै आएका गायक शैलेश सिंह भन्छन्, ‘नाममा कुनै कोष नभए पनि हराउने कलाकार होइनन् नारायण गोपाल, सालिक नहुँदैमा नचिनिने साधक होइनन् उनी, तर नारायण गोपाल संगीतकोषले नारायण गोपाललाई झन् पछि धकेल्दै छ ।’
अहिले पनि बर्सेनि नारायण गोपालको सम्झनामा देशभर कार्यक्रम हुन्छन् । ती कार्यक्रमको प्रायोजक या त रक्सीको ब्रान्ड हुन्छ, या चुरोटको ।
यो कस्तो विडम्बना ? रक्सी र चुरोटले नै पराई बनाएका नारायण गोपाललाई सँधै यसैको समर्थन र सहयोग चाहिने ?

यस्ता थिए नारायणगोपाल
१. नारायण गोपाललाई ‘स्वरसम्राट्’ पहिलो पटक गीतकार नगेन्द्र थापाले ‘धुपी’ पत्रिकामा ०२६ सालमा भनेका हुन् ।
२. नारायण गोपालले पहिलोपटक रेडियो नेपालको स्वर परीक्षामा प्रेम माणिकको संगीत र राममान तृषितको शब्द रहेको ‘पंखको स्वाद लिई जीवन’ गाएका हुन् । त्यसपछि उनले प्रेम माणिकका कुनै गीत गाएनन् ।
३. नारायण गोपालले कुल मिलाएर नेपाली एक सय ५७ र नेवारी चार गीत गाएका छन् ।
४. नारायण गोपाल पहिलोपटक चलचित्र ‘माइतीघर’का लागि गीत गाउन मुम्बई गए, तर अस्वस्थ भएर नगाई फर्के । त्यो गीत पछि भारतकै प्रसिद्ध पाश्र्वगायक मन्ना डेले गाए ।
५. नारायण गोपाल गायनमा आउँदा पोखराका सरोज गोपाल बज्राचार्य पनि चर्चामा थिए । नाम जुध्यो भनेर नारायण गोपालले केही समय आफ्नो नाम एन. गोपाल पनि राखे ।
६. चलचित्रमा पाश्र्वगायनका निम्ति पहिलोपटक नेपालमा राष्ट्रिय चलचित्र पुरस्कार ‘कान्छी’को पृष्ठ गीत ‘छोरीको जन्म’का लागि नारायण गोपाललाई दिइएको थियो । तर, उनले ‘पुरस्कार लिएर मञ्चमा गाउनुपर्छ भने, म लिन्नँ’ भने र लिएनन् । त्यो पुरस्कार अहिले पनि आयोजकसँगै होला ।
७. नारायण गोपाल सारा संसारका अगाडि स्वर–सम्राट्को नाउँले लोकप्रिय भए पनि उनका साथीमाझ उनी विभिन्न नाउँले विख्यात छन्, उनका बालसखा राममान तृषित अनि कवि भूपी शेरचन उनलाई सानबाबु भन्थे, गोपाल योञ्जन उनलाई मितज्यू भन्थे, गीतकार नगेन्द्र थापा उनलाई नारान् भन्थे, संगीतकार अम्बर गुरुङ उनलाई सैन्डो पहलमान भन्थे । उनी आपसमा सम्बोधन गर्दा गायिका दिलमाया खातीलाई दोस्त भन्थे भने दिव्य खालिङलाई सोम र गायक फत्तेमानलाई महाराज भन्थे । नारायण गोपाललाई उनका केही साथी चिढ्याउन गैँडा भन्थे ।
८. नारायण गोपाल अरूले गाइसकेको गीत पनि मन पर्‍यो भने मागेर गाउँथे । दिलमायाले गाइसकेको ‘तिम्रोजस्तो मेरो पनि’ र इन्दिरा श्रेष्ठले गाइसकेको ‘ए मलाई माया गर्छु भन्ने हजुर’ अनि पेमा लामाले गाइसकेको ‘मायाको आधारमा सम्झौता नै हुन्छ’ पछि उनकै स्वरमा लोकप्रिय भए ।
९. नारायण गोपालका दुई घनिष्ठ मित्र थिए, गीतकार नगेन्द्र थापा र संगीतकार नगेन्द्र हाडा । उनले थापाका प्राय: गीत गाए, तर हाडाका कुनै गाएनन् । नारायण गोपालले मितज्यू गोपाल योञ्जनका सबैजसो गीत मागी–मागी गाए । तर, विश्वास फिल्मको ‘अंग–अंगमा तरंग ल्याई’ गाउन मानेनन् । गीतकार एवं फिल्म निर्देशक चेतन कार्कीको कार्यालयमै पुगेर उनले भने, ‘चेतन म यो गीत गाउँदिनँ ।’ यसपछि मितज्यूको जोडी अलग भयो ।
१०. नारायण गोपाल गायनमा आउनुभन्दा अगाडि रंगमञ्चमा थिए
११. नारायण गोपालको गायनको एकल साँझ नेपाल बाहिर सफल असफल जे भएपनि नेपालभित्र काठमान्डूमा पहिलो पटक विसं २०४४ साल जेठ ८ गते प्रज्ञा प्रतिष्ठानमा भएको थियो , यसलाई स्वर्णीम सन्ध्या नाम दिइको थियो , यो कार्यक्रमको सम्पूर्ण संयोजन र आयोजन उद्यमी एवम् गीतकार बसन्त चौधरीले गर्नुभएको थियो , यस कार्यक्रमा नारायण गोपालले भूपी शेरचन, ईश्वरवल्लभ, अम्बर गुरुँग, कालिप्रसाद रिजाल, गोपाल योञ्जन , दिव्य खालिँग, चाँदनी शाह र नीर शाह का गीत गाएका थिए । यो उनको जीवनको लाइफ टाइम प्रस्तुति थियो । यो कार्यक्रमको उद्घोषण हरिहर शर्माले गर्नु भएको थियो भने ध्वनि नियन्त्रण यादव खरेलले गर्नु भएको थियो ।

नारायण गोपाल अभिनय पनि गर्थे । उनले पहिलो अभिनय गरेको नाटक ‘त्याग’ थियो, जसमा उनी अन्धोको भूमिकामा थिए । ०१३ सालमा मञ्चित त्यो नाटक कवि दुर्गालाल श्रेष्ठले लेखेका थिए । इतिहासमा अत्यधिक रुचि लिने नारायण गोपालले संगीत सम्बन्धी दोस्रो पत्रिका बागीना (बाजा, गीत, नाच)को सम्पादन पनि गरेका थिए ।

(प्रकाश सायमि को फेसबूक पोष्ट्बाट)

नारायणगोपाल नभएको भए~प्रकाश सायमीनेपालका पहिलो रक सिंगर माइक खड्काले प्रसंगवश संगीतकार दीपक जंगमलाई सोधेछन्,…

Posted by Prakash Sayami on Thursday, June 11, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: