Home > कला > हतुवागढीको कला, साहित्य तथा साङ्गीतिक इतिहास समेटिएको हतुवागढी साहित्य दर्पण सार्वजनिक

हतुवागढीको कला, साहित्य तथा साङ्गीतिक इतिहास समेटिएको हतुवागढी साहित्य दर्पण सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान , १६ असार। हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठान, हतुवागढी भोजपुरद्धारा प्रकाशित कृति ‘हतुवागढी साहित्य दर्पण’ असार १५ गते सोमबार धरानमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।

पुस्तक हतुवागढी गाउँपालिका अन्तर्गत हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो । श्रीशीशा राई प्रधानसम्पादक रहनुभएको उक्त कृतिलाई उक्त कार्यक्रममा भाषाविद प्रा.डा. टङ्क न्यौपानेले विमोचन गर्नुभयो । टिप्पणीकार कवि तथा पत्रकार उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकले हतुवागढीको साहित्य, कला तथा सँस्कृतिको मात्र नभई समग्र इतिहासलाई लिपिवद्ध गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । साहित्यले राजनैतिक, आर्थिक, शैक्षिक सबै पक्षलाई उजागर गर्ने बताउँदै उहाँले प्रकाशित कृतिले हतुवागढीको जिवन्त दस्तावेज उतार गरेको देखिने दाबी गर्नुभयो । साहित्य कला प्रति स्थानिय निकायमा यतिसम्मको जागरुकता र लगाव हुनु अनुकरणीय रहेको उहाँको भनाई थियो ।

तीन सय १८ पेजको उक्त पुस्तक हतुवागढी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा हतुवागढीको साहित्य, कला, सँस्कृति, सङ्गीतको इतिहास र वर्तमानका बारे खोज अनुसन्धानमुलक लेखहरु समावेश छन् । हतुवागढी पृष्ठभूमि भई देश-विदेशमा रहेका सर्जकहरुका कविता, कथा, गजल, गीत, मुक्तक आदि रचनाहरु पनि यसमा समेटिएका छन् । अतिथि सर्जकका रुपमा प्रा.डा. टङ्क न्यौपाने, कवि मुनाराज शेर्मा, पत्रकार मायामितु न्यौपाने लगायतका लेखरचना प्रकाशित छन् भने हतुवागढीका अग्रज स्रष्टाहरु स्व. भूँईदल राई, स्व. घल राई, स्व. प्रसाद राई, स्व. श्यामराज राई लगायतका संक्षिप्त जीवनी समेत समेटिएका छन् ।

साहित्यकार सहप्राध्यापक शरण राईले पुस्तक अनुसन्धानकर्ताहरुका लागि गतिलो सन्दर्भ पुस्तकको रुपमा उपयोगी देखिएको बताउनुभयो । साहित्यकार तथा पुर्व सांसद कुन्ता शर्माले पुस्तकको आवरणदेखि भित्री पेजसम्म अत्यन्तै आकर्षक र गहन विषयवस्तुहरुको सङ्कलन रहेको देखिएको बताउँदै आफुले लेख दिन नसकेकोमा पछुतो लागेको बताउनुभयो । साहित्यकार शरण राईले साहित्य र सर्जकहरुको मुल्य बुझेकोमा हतुवागढी गाउँपालिकाबाट प्रभावित भएको बताउनुभयो ।

सोही कार्यक्रममा हतुवागढीका लेखक मानबहादुर खाम्लुङद्धारा लिखित हतुवाली सेमना सिलि गीत सङ्ग्रहको समेत विमोचन गरिएको थियो । कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बम देवानले कृतिले किरात राई सँस्कृतिको सेमुना सिलि संरक्षण तथा सम्बर्द्धनमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो । कृति प्रकाशनबाट हतुवागढी थप धनी बन्न पुगेको उहाँको भनाई थियो । पुस्तकमा सेमुना सिलिको उत्पतिको इतिहास, महत्व र सिलिका सीपहरुका बारे व्याख्या सहित गीत रचना गरिएको छ । उक्त पुस्तक समेत हतुवागढी गाउँपालिकाकै सहयोगमा प्रकाशन गरिएको हो ।

कार्यक्रमको दोस्रो चरणमा स्थानिय तथा उपस्थित सर्जकहरुले सिर्जना वाचन गरेका थिए। सो क्रममा योङहाङ प्रदिप लिम्बु, श्रेष्ठ परिक्रमा, सानु सुनिता, सुदिप पाख्रिन, सन्तोष थेबे, मनि राई गोठाले, कुन्ता शर्मा, बम देवान लगायत सर्जकहरुले आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार शरण राईले लघुकथा वाचन गर्नुभयो ।

प्रमुख अतिथि प्रा.डा. न्यौपानेले आफु हतुवागढी साहित्य, कला तथा साँस्कृतिक प्रतिष्ठान, गाउँपालिका र त्यहाँका वासिन्दाको साहित्यप्रतिको चेतनाबाट यसअघि नै प्रभावित भएको बताउँदै प्रकाशित कृतिहरु सबै स्थानिय निकायमा पुर्‍याई ती स्थानिय निकायलाई पनि यस्ता पुस्तक प्रकाशनका लागि जागरुक तुल्याउनुपर्ने बताउनुभयो । उहाँल साहित्य जस्तो जटिल विषयलाई बुझ्ने र समाजको विकासका लागि साहित्यलाई पनि सँगै लिएर हिँडेकोमा हतुवागढी गाउँपालिका र अध्यक्ष प्रेमकुमार राईलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: