नम्रता संस्कार, दार्जिलिङ्ग
गजल १.
प्रेमी बिसाउने चौतारीहरू, सुनसान भएको बेला छ
प्रेमप्रित लाउने फूलबारीहरू, विरान भएको बेला छ
विपना त परदेश नै भयो सपनी छन् मात्र मृगतृष्णा
आँखा बिझाउने पर्खाइहरू, थकान भएको बेला छ
न त संगीतको सुरले छुन्छ न तालमा छ कुनै तरङ्ग
प्रेमगीत गाउँने सरगमहरू, बेजान भएको बेला छ
शिरफूल शिरमा प्रेम उपहार कल्पनाको भो कथा
प्रेमपाती चढाउने देउराली, श्मसान भएको बेला छ
याद मात्र हुन्छ ओहोर दोहोर ढुकढुकीको साँघुमा
मुटुका दुईजोर टुक्राहरू, तानातान भएको बेला छ
गजल २
शिर उठाउने आफू एक्लै, ढुङ्गा हान्नेको शहरमा छु
पाइला टेक्ने खुड्किलो छैन, खुट्टा तान्नेको शहरमा छु
पर्खिराछन् चौकीहरू त बस्न आखिर डराउँछ मन
पोशाक र ढाँचा हेरी हेरी, मान्छे छान्नेको शहरमा छु
औंलीको गन्तीमा कहाँ पर्छ मायाको सानो झोपड़ी
ईर्ष्याले जड़ेको महलमा, जीवन धान्नेको शहरमा छु
व्यर्थ छ सुनाउनु कथा व्यथा दुःखी निर्धो जीवनको
टुप्पोमा पलाएको अहंकार, धेरै जान्नेको शहरमा छु
नसोधे नि हुन्छ परिचय बास र टुंगो ‘संस्कार’को
म त हजुर मान्छेलाई, मान्छे नमान्नेको शहरमा छु