Home > प्रमुख > होम्ताङ्ग सेवा समाज काठमाडौले हतुवागढी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्‍यो।

होम्ताङ्ग सेवा समाज काठमाडौले हतुवागढी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्‍यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”
हतुवागढी, २४ साउन।
होम्ताङ्ग सेवा समाज, काठमाडौको पहलमा खरिद गरिएको एम्बुलेन्स हिजो साउन २३ गते हतुवागढी गाउँपालिकालाई एक कार्यक्रमका बिच औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

भुतपुर्ब सांसद तथा सेवा समाजका संरक्षक धनहर्क राई, सल्लाहकारहरु मदन खुलाल, आशकुमार राई, अध्यक्ष रिमाल राई, सगरमाथा उच्च मा. वि. का ब्यबस्थापन समिती अध्यक्ष ईश्वरमान राई, फर्स्ट राईफल गुल्म हतुवागढिका मेजर प्रभात अधिकारी, घोडेटार उद्योग बाणिज्य संघका अध्यक्ष भिम प्रधान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहितको हतुवागढी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा समाजका संरक्षक तथा भुतपुर्ब सांसद धनहर्क राईले गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको थियो।

भुतपुर्व सांसद एवं सेवा समाजका संरक्षक धनहर्क राई हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुहुदै।

हस्तान्तरण कार्यक्रममा बोल्दै सेवा समाजका संरक्षक धनहर्क राईले एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिसकिएकोले यसको सञ्चालन र संरक्षणको सम्पुर्ण जिम्मा गाउँपालिकाकै भएता पनि आवस्यक र यथासम्भव सहयोगका लागि सेवा समाज तयार रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सोही अवसरमा सगरमाथा उच्च मा. वि. का निबर्तमान प्रधानाध्यापक तथा ब्यबस्थापन समिती अध्यक्ष ईश्वरमान राईले गाउँपालिकाको लागि एम्बुलेन्स सेवा नवीन आयाम भएको उल्लेख गर्दै गाउँपालिकाले अब बिरामिहरुलाई छिटो, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनुपर्ने सुझाब दिनुभयो। साथै सेवा समाजले संकलन गरेको रकम मध्ये एम्बुलेन्स खरिदबाट मौज्दात रकमलाई सेवा समाज कै कोषमा रहँदा उचित हुने सल्लाह समेत दिनुभयो।

एम्बुलेन्सको चाबी ग्रहण गर्दै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले हतुवागढी जस्तो भुगोलमा एम्बुलेन्स सञ्चालनको अवसर र जिम्मेवारी पाउनु सुखद संगै चुनौतिपुर्ण रहेको कुरा ब्यक्त गर्नुभयो। यद्यपि सकेसम्म कसैले पनि गुनासो गर्न नपर्नेगरि सञ्चालन गराउन गाउँपालिका लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। सेवा समाजका तर्फबाट उपस्थित अध्यक्ष रिमाल राईले होम्ताङ्ग सेवा समाजले निक्कै दुखका साथ यो कार्य सम्पन्न गरेको बताउँदै सामाजिक कार्यहरुमा निरन्तर लागिरहने उल्लेख गर्नुभयो।

भर्खरै हस्तान्तरित, नेपाल सरकारद्धारा राजश्व छुट प्राप्त एम्बुलेन्स।

यस अघि सेवा समाजले प्राण घातक रोगबाट पिडितहरुका लागि सहयोग रकम संकलन गरि उपचारमा सहायता प्रदान गर्दै समेत आईरहेको छ भने सडक दुर्घट्नामा परि निधन हुनुभएको सगरमाथा उच्च मा. वि. का शिक्षक पृथिमान राईको स्मृतिग्रन्थ तथा श्रद्धाञ्जली गीति क्यासेट समेत प्रकाशन गरिसकेको छ।

कार्यक्रमकै दौडान एम्बुलेन्स सञ्चालन सम्बन्धी सामान्य छलफलको क्रममा एम्बुलेन्स सेवाका लागि पक्की बाटोमा प्रती किलोमिटर १०० रुपैंंया र कच्ची बाटोमा प्रतिकिलोमिटर १५० रुपैँयाको दरले भाडा निर्धारण गर्ने तथा तत्कालिन होम्ताङ्ग गा. वि. स. हाल हतुवागढी गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दालाई एम्बुलेन्स प्रयोग गर्दा तोकिएको भाडामा २५ प्रतिशत छुट दिईने निर्णय भएको छ।

सेवा समाजले एम्बुलेन्स खरिद प्रयोजनार्थ पुग्दो रकम संकलन गरिसके पनि विभिन्न नितिगत उल्झनहरुका कारण समय मै खरिद गर्न सकेन। गत असार दोस्रो साता मात्रै हतुवागढी पुगेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिने चर्चा भएपछी तत्कालिन होम्ताङ्ग गा. वि. स. का केही स्थानियहरुले असन्तुष्टि ब्यक्त गरे। किनभने सो एम्बुलेन्स खरिद गर्नका लागि २०७४ साल अघि नै होम्ताङ्ग गा. वि. स. का हरेक घरधुरिबाट तोकिएको रकम संकलन गरिएको थियो। त्यसैले स्थानियहरुले एम्बुलेन्सको स्वामित्व होम्ताङ्ग आफैले लिनुपर्छ भन्ने रहेको थियो। तर सेवा समाजका अध्यक्ष रिमाल राईका अनुसार एम्बुलेन्स खरिद गर्ने योजना बनाईएको बखत यस सम्बन्धमा जुन ब्यबस्था थियो त्यो ब्यबस्था परिबर्तन भयो। उहाँको भनाई छ, “नेपाल सरकार राजस्व ब्यबस्थापन महाशाखाले बि. सं. २०७६ असार महिनामा गरेको निर्णय अनुसार गैर सरकारी संस्थाहरुले एम्बुलेन्स खरिद गर्दा सम्बन्धित संस्थाले स्थानिय तहलाई सो एम्बुलेन्स हस्तान्तरण गरि सोही निकाय मातहत मात्रै सञ्चालन गरिने भए मात्र एम्बुलेन्स खरिदमा भन्सार छुट दिईने उल्लेख गरिएको छ। हामि भन्सार छुट नलिई खरिद गर्ने अवस्थामा थिएनौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: