हर्कु तामाङ
बीरपाडा – डुवर्स
कलम माग्यो हिर्दोक नेताले
र भर्यो मनबहादुरको खल्तिबाट थुतेर
इन्दिरा अावासको फारम,
कमेज तान्यो बेस्सरी मनेको
कानमा कानेखुसी गर्नलाई
अनि भन्यो हिर्दोक नेताले,
२०% चैं मेरो नि ल..
गाउँ उसले सकेको छ
धुजा धुजा बनाएको छ
अावास मंत्रालयको कर्तव्य निभाएर
थुप्रै अावास मन्जुरी गराएपछि
चुल्हामा निकै अगुल्ठा जोडेको छ ।
लाजपचेको हिर्दोक नेता
फेरि गाउँ – गाउँ पसेको छ
जनताको चुल्हा निभाएर तिनले
अाफ्नै निभेको चुल्हा जलाउन
दाँत किटेर अघि बढेको छ ।
पासबुक कोट्याउँछ हिर्दोक नेताले
गाउँकी निर्धो अन्तरी काकीको
एमजिएनअारइजिएसको कबुल भएपछि
सोझी काकीलाई ब्याङ्क पठाउँछ
अनि घरमा डिस्को बजाउँछ
संसार चलेको छ हिर्दोक नेताको
तर हेर त
गाउँ किन ठाउँको ठाउँमै छ ?
यता उचाल्छ उसले फेरि उता उचाल्छ
छिमेकी – छिमेकीमा अागो लाउँछ
अनि पर बसेर खुब रमिते बन्छ
सत्ताको तुजुकमा हिर्दोकले जहिले नि
अाफ्नै भाँडोमा नै किन घिउ पोखाउँछ?
अाफ्नै भाँडोमा मात्रै किन घिउ पोखाउँछ ?