अल्बिना थामी सुब्बा, दार्जिलिङ्ग

खोटो यो भाग्य संयम मेरो हाँसोको पात्र भो
यो माया तोडी नजाउ प्रिये आँखामा आँशु भो
हर्षको मीठो खित्का छोडी यो मन हाँसेको
समीप तिमी नदेख्दा प्रिये यो आँशु चुहेको
दैवको लेखा भावीको रेखा यो जुनि काटौँला
माया यो हाम्रो अमर रहे फेरि नि भेटौँला
निष्ठुरी छुरा प्रहार गरी बाटो नै बिरायो
आँउछौ भनि कुरेको मैले नयन रसायो
मायाको वाचा मीठो छ भनि देखायौ संसार
झुठको पुल थिएछ साँच्चै भाँचियो टुटेर
यो आशा मेरो मरेर गयो फर्केर आएन
टुटेको मुटु सिउन खोजेँ सियो नै पाएन
जन्मौँ जन्म कसम तिम्रो म सित गरेको
भुलेछौ आज बिरानो बनी वाचा नि दिएको
पिरती बनि चढेको मात बेहाल भएछ।
सुन्यता यहाँ मीठो भो प्रिये आशा नि मरेछ।।