Home > बिचार > गाउँले पुस्तकालयको सम्झना

गाउँले पुस्तकालयको सम्झना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


अर्जुन राई

भर्खरै पुस्तकालय दिवस सकियो। यो अरु कुनै डे जस्तो व्यापक चर्चा हुने दिवस होइन। त्यसकारण धेरैले थाहै नपाई सकिन्छ। यही मेसोमा अखबार तिर केही विद्वानहरुका लेखहरु आए। तीनै लेखले मलाई पनि सम्झाइदियो आफ्नो गाउँले पुस्तकालयहरुका बारेमा।

त्यत्ति बेलाको शिशु शिक्षा विकास नि. मा. वि. सिन्द्राङ्गमा एक दिन रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाका समाचार वाचक श्यामराज राई दुब्डेङहाङ्ग किताव, दराज र टेबलहरु लिएर आउनु भयो। उहाँ पहिला नै स्थापना भई सकेको दिमालुङ्ग पुस्तकालय स्थानीय विद्यालयलाई हस्तान्तरण गर्न आउनु भएको रहेछ। हाल विद्यालयको बिक्रम भवन भएको ग्राउण्ड तिर त्यत्तिबेला खालि नै थियो। त्यही खुल्ला ग्राउण्डमा कार्यक्रम गरेर उहाँले पुस्तकालय हस्तान्तरण गर्नु भएको सम्झना छ। यो करिव २०५४ साल तिर हुनु पर्छ। यसरी विद्यालयमा पुस्तकालय शुरु भए पछि पहिलो पटक पुस्तकालय र आफ्ना कक्षाका किताव भन्दा बाहेकका कितावहरुसँग साक्षात्कार गर्ने मौका मिलेको थियो।

दोश्रो वि सं २०५५।०५६ साल तिर आफ्नै गाउँ त्यस बेलाको सिन्द्राङ्ग वडा नं ७ मा द्यौसी खेलीसके पछि जम्मा भएको पैसाले पुस्तकालय चलाउने कुरा स्थानीय अभिभावक एवं शिशु शिक्षा विकास नि. मा. वि. का शिक्षक जमान सिंह राईले हामी केटाकेटी बीच राख्नु भयो। घोडेटारमा ४ वटा पत्रिकाहरुको बार्षिक ग्राहक बन्ने अनि गाँउघरमा दाई दिदीहरुले ल्याउनु भएका पुराना पत्रिका, कितावहरु जम्मा गरेर शुरु गर्ने सल्लाह भयो। हामीले नाम जुरायौं नवज्योति पुस्तकालय। पुस्तकालय शुरु भए पछि त्यो समयका लोकप्रिय पत्रिका युवामञ्च, मुना, मधुपर्क र गरिमा आउन शुरु भयो। ०५६ सालको चुनावमा निर्वाचित भए पछि तत्कालिन साँसद् हाल प्रदेश नं १ का मुख्यमन्त्री ज्यू सिन्द्राङ्ग आउनु भएको थियो। त्यो मौकामा पुस्तकालयको लागि सहयोग मागेका थियौं हामीले। उहाँ काठमाण्डौ फर्कनु भए पछि किताव र पत्रिकाहरु जहाज मार्फत भोजपुर पठाइदिनु भएको थियो। ती कितावहरु भोजपुरबाट घोडेटार हुँदै सिन्द्राङ्ग बालांखिमसम्म आइपुगे। हामीलाई प्राप्त भएको ठूलो सहयोग त्यही नै थियो। त्यस बाहेक त्यो सानो पुस्तकालयको लागि स्थानीय रुपमा काठ नि:शुल्क प्राप्त भयो। किताव राख्ने र्‍याक सिकर्मी दाईहरुले नि:शुल्क बनाइदिनु भयो। पुस्तकालयको लागि कोठा र रेकर्ड राख्ने, हेरचाह गरिदिने काम दीलमाया राईले स्वयंसेवी रुपमा गरिदिनु भयो। बार्षिक गाह्रक शुल्क धान्न हामीले महिनाको ५/५ रुपैयाँ उठाउन शुरु गर्‍यौँ। द्यौसी खेलेर जम्मा गरेको पैसा बाहेक त्यही नै हाम्रो मुख्य आयश्रोत थियो।

०७० साल तिर धनकुटाका साथी बिजय देवानले पुस्तकालय स्थापनाको योजना लिएर आउनु भएको रहेछ शिशु शिक्षा विकास मा. वि. मा (नि. मा. वि. तहलाई मा. वि. बनाईएपछी)। पुरानो चिनजानको साथीले यत्ति टाढा आएर सामाजिक हितमा काम गर्दैछन् भने किन सहयोग नगर्ने भन्ने हिसावले म पनि जोडिन पुगेँ। सँगै भर्खरै जागिरे भएका साथीहरु र अरु चिनेजानेका सबैलाई अनुरोध गरेर कितावहरु जम्मा गरियो। काठमाण्डौमा किताव भेला पार्ने, त्यसलाई विभिन्न माध्यमबाट धरानसम्म पुर्याउने अनि त्यहाँबाट सिन्द्राङ्गसम्म पुर्याउने काम भयो। यी सबैको व्यवस्थापनमा विद्यालयका त्यस बेलाका शिक्षक शिशिर राईले महत्वपुर्ण भूमिका निभाएका थिए। विद्यालयमा पुस्तकहरु जम्मा गरी सके पछि रिबन काटेर पुस्तकालय उदघाटन भएको सामाजिक सन्जालबाट जानकारी पाइयो। यो हाम्रो लागि खुशीको दिन थियो।

आज श्यामराज राई हामी माझ हुनुहुन्न। दुःखको कुरा उहाँले हस्तान्तरण गरेर गएको पुस्तकालय पनि स्मृतिको गर्भ भित्र बिलाइसकेछ। केही बर्ष अगाडि उक्त पुस्तकालयको बारेमा बुझ्न खोज्दा पुराना पुस्तकहरु थिए, जोगाउन सकिएन भन्ने जवाफ पाइएको थियो। हामीले गाँउमा स्थापना गरेको नवज्योति पुस्तकालय भने श्रोतको अभावमा ६० सालदेखि बन्द छ। द्वन्द्वकालीन अवस्थामा युवाहरु दशै तिहारमा पनि गाँउ नफर्कने, द्यौसी खेलेर रकम जम्मा गर्न पनि सहज नहुने स्थिति बने पछि पत्रिकाको बार्षिक ग्राहक रकम तिर्न नै धौ धौ पर्न थाल्यो। यही कारण बन्द भएको नवज्योति पुस्तकालय आज सम्म बन्द छ। शिशु शिक्षा मा. वि. मा दोश्रो पटक शुरु गरिएको पुस्तकालय भने आशा गरौं सुचारु छ।

यी प्रसङ्गहरु सम्झिरहँदा दशै छुट्टीमा घर जाँदा गाँउघरमा हुने भलाकुसारीको पनि सम्झना आउँछ। प्राय सबै अभिभावकहरुको गुनासो केटाकेटीहरुले पढेनन्, अझ पछिल्लो पटक मोबाइल गेममा मात्र भुलिए भन्ने रहने गर्छ। यी गुनासोहरु सुनिरहँदा हामीले पढ्ने वातावरणको सिर्जना नै पो गरेनौं कि भन्ने पनि लाग्छ। परिस्थिति धेरै नबदलिएको भए केही बर्ष अघि सम्म हतुवागढीका धेरै विद्यालयहरुमा पुस्तकालय होइन मासिक पत्रिकाहरु आउने व्यवस्था पनि थिएन। यस्तो अवस्थामा बालबालिकाहरुलाई पढाई प्रती उत्प्रेरित गर्न आफ्ना रुचिका बिषयवस्तुका जानकारीहरु हासिल गर्न मद्यत गर्ने बाटोमा हाम्रो प्रयास पनि अपुग छ कि भन्ने लाग्छ। पुस्तकालय, पढ्ने बानी भन्ने कुरा पढाई, कक्षा उतीर्ण अनि जागिरसँग मात्र जोडेर हेर्ने मानसिकता अझै पनि हाम्रो छ। सबै क्षेत्रका लागि आवश्यक ज्ञानको हस्तान्तरण कितावहरुको माध्यमबाट हुने भएकोले पुस्तकालय र पुस्तकलाई फराकिलो रुपमा पहिला अभिभावकहरुले नै बुझ्न आवश्यक छ। तपाई हामी धेरैले सुनेको नाम ब्रुस लीको निजि संग्रहमा करिव २५ सय कितावहरु थिए रे। उनी पेशाले पढाउने वा विद्वान् त होइनन्। यद्यपी उनी ज्यादै पढन्ते थिए भन्ने चाहि बुझिन्छ। उनी जस्ता कलाकार, खेलाडीले त्यत्ती धेरै किताव पढ्दा हुने रहेछ भने आजका बालबालिकाहरु भोली जुन सुकै पेशा व्यवसायमा लाग्ने भएता पनि पढ्दा केहि नबिग्रने रहेछ। अबका दिनमा हतुवागढीको विकास र प्रगतिका बारेमा चिन्तनशील समुदाय र अभिभावकहरुले छुटिरहेको यो पाटोमा पनि गम्भिरतापूर्वक ध्यान दिन जरुरी भइसकेकोछ।

हतुवागढी – ३ सिन्द्राङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: