बिरेन्द्र अब्जस

जब लखतरान् भएर पृथिवी
भोली बिहान-
आईपुग्छ तिम्रो चीसो आँगनमा
ओस्सिएको घामको तातो लिएर
एकछिन् बिसाउँन दिनु उसलाई
खोसेलाको पिरामा।
बिचरी!रिङ्गटा लागिरहेको हुन्छ पृथिबीलाई
दिनु एक बटुको तातो नूनको चिया।
माँगिराख्नु अनि उसलाई
लालकिल्लाको अलिकति भाषण
अनि नभुल्नु माँग्नु कसै गरेर
छ्यालिस सालमै माईला बाजेले
बिधानपालिकामा भिरेको-
खुकुरीको रातो खिया।
सोध्नु तिमीले त्यो सोझि पृथिबीलाई
जापानमा ब्यालिस सालमै
हराएको तिम्रो बाजेको-
कहाँ छ चिहान?
यो पनि सोध्नु तिमीले
अडिबहादुरको हस्ताक्षरले धोई सक्यो के मुख
संबिधानको अँध्यारो धाराहरुमा त्यहाँ?
कि! कानुनको कालो बादल मड़ारिरहेको
मुसलधारे आकाशमा भिजेर
ठम्याउँनै नसक्ने भईसक्यो
यहाँ त हरेक बिहान।
सोध्नु तिमीले र भन्नु पनि बेस्सरी
त्यो घोसि पृथिबीलाई-
रामसिंह ठकुरीको भ्वाइलिनमा
हाम्रो बलिदानको धून किन बज्दैन
हाम्रो नाबालिग नानीहरु
ईन्द्रेणी-साबित्रीको छातीको आलो खून
तिरंगा किन देखिंदैन!
अब फर्कने बेलामा पृथिबीलाई-
दिई पठाउँनु अलिकति कोशेली
बिश्व प्रसिद्ध
तिम्रो हातले बनाएको भसरंगे चियामा-
निरमायाको आँशु पसिनासंगै
क्षयरोगको फाल्सा रगत।
देखाईदिनु र भन्नु, नभुलिईकन-
आफ्नै माटोमा
आफ्नै माटोको मायामा
आफ्नै माटोलाई आफ्नु भन्दा
निधारमा बुलेट खुवाएर मारेको
निरमायाको लोग्नेको चिहानको माटो
देखोस् न सारा जगत।।
टिस्टाभेल्ली दार्जिलिङ्ग