Home > समसामयिक > गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै

गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीर आज अन्त्येष्टि गरिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, ४ असोज। हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरिरलाई आज अपरान्ह हतुवागढी गाउँपालिका वडा नं. ४ स्थित उहाँकै जन्मस्थल नजिकै समाधिस्थ गरिने भएको छ।

करिव एक हप्ताअघी सामान्य ज्वरो र पखालाका कारण प्राथमिक स्वास्थ्य चौकी घोडेटारमा भर्ना गरिएपछी उहाँमा जन्डिस देखिएको थियो। आवस्यक उपचार भैरहँदा ज्वरो र पखालामा सुधार भएता पनि अचानक Blood Pressure कम भएकोले तत्कालै बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याई थप उपचार गरिएको थियो। प्रतिष्ठानमा थप उपचारपछि त्यहाबाट समेत बिराटनगर स्थित न्यूरो अस्पतालका लागि रेफर गरियो र सोही अस्पतालमा उपचारको क्रममा असोज २ गते राती उहाँको निधन भएको थियो।

भोजपुर खैराङ्ग(हाल हतुवागढी-४) मा ४६ बर्ष अघि जन्मनुभएकी राई लामो समयदेखी कम्युनिस्ट राजनितिमा होमिनुभएको थियो। तत्कालिन नेकपा एमालेको विभिन्न सांगठानिक जिम्मेवारी सम्हालिरहनुभएको उहाँ वि. सं. २०७४ सालको स्थानिय तहको निर्वाचनमा हतुवागढी गाउँपालिकाका लागि उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। निष्ठावान, शालिन, ईमान्दार र कर्तव्यनिष्ठ राजनैतिक छवि बनाउनुभएको राई भोजपुर जिल्लाकै महिला राजनितिकर्मिहरुका लागि उदाहरणिय नेता हुनुहुन्थ्यो।

उहाँको निधनप्रती दु:ख ब्यक्त गर्दै भोजपुर क्षेत्र नं. २ का प्रदेश सांसद एवं प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफू स्तब्ध भएको कुरा ब्यक्त गर्नुभएको छ। उहाको उपचारको क्रममा न्यूरो अस्पतालका डाक्टरहरुसंग परामर्श गरेको तथा अवस्था जटिल भएको बताउँदै गर्दा यथासक्य राम्रो उपचार गर्न आफुले सुझाएको समेत मुख्यमन्त्री राईको भनाई रहेको छ। त्यस्तै गरि भोजपुर क्षेत्र नं. १ का प्रदेश सांसद राजेन्द्र राईले चन्द्रमा राई आजको नेकपामा अपवाद रहनुभएको उल्लेख गर्दै भन्नुभएको छ, “गुटबन्दीको कुरा कति सुनाए/सिकाए होलान्, पद, लाभको लागि कतिले उचाले/लोभ्याए होलान् तर वहाँले गुटको कुरा गरेको, महत्वकांक्षा देखाएको, पद, पैसा, प्रतिष्ठाको लोभ गरेको कहिल्यै थाहा भएन, सुनिएन। कम्युनिस्ट पार्टी र आन्दोलन विटुलिएको बेला, कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट खोज्नु पर्ने बेला कमरेड चन्द्रमा राईको निधन साँच्चै अपूरणीय क्षति हो।”

चन्द्रमा राई, गाउँपालिका उपाध्यक्षका अलावा नेकपा जिल्ला कमिटी भोजपुरको सचिवालय सदस्य, वालाहाङ्-सुनाहाङ् किरात राई उत्थान समाजको उपाध्यक्ष हुनुहुन्थ्यो। उहाँको दुखद निधनमा गाउँपालिकाले हतुवागढी गाउँपालिकाभित्र असोज ४ र ५ गते सम्पुर्ण कार्यालयहरुमा बिदा गर्ने निर्णय गरेको छ भने नेकपा भोजपुर, गाउँपालिका राष्ट्रिय महासंघ लगायतका विभिन्न संघ संस्थाले बिज्ञपति प्रकाशित गरि उहाँप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

कोरोना परिक्षणका क्रममा उहाँको PCR Report भने Negative आएको छ भने कोरोना महामारिका कारण अस्पतालहरुमा कैँयौँ खाले अमानबिय व्यवहार गरिएको तथा ज्यादै संबेदनशिल अवस्थाको बिरामिलाई समेत घन्टौँसम्म एम्बुलेन्सभित्रै राख्न बाध्य भएको कारण समयमै उचित उपचार हुन नसकेको गुनासो परिवार/आफन्तहरुको रहेको छ।

उपाध्यक्ष राईको कोरोना परिक्षण रिपोर्ट

नेकपा भोजपुरका अध्यक्ष तथा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार उपाध्यक्ष राईको पार्थिव शरिरलाई आज असोज ४ गते निम्नानुसार अन्त्येष्टि गरिनेछ।

१)  २०७७/०६/०४ गते विहान ८:३० देखि ९:३० सम्म BPKIHS काे मर्चरी अगाडि संक्षिप्त श्रद्धानञ्जली कार्यक्रम
२) हेलिकप्टरबाट ११:३० मा सुनाहाङ खेलमैदानमा शव अवतरण र  निवास हतुवागढी-४ फलामढुंगामा आफ्नाे संस्कार कार्यक्रम अपरान्ह १:३० सम्म
३) अपरान्ह २:०० देखि ३:३०  बजेसम्म सोहि वडाकाे साकेन्वा खेलमैदान चण्डीडाडाँमा उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलि सहित समाधिस्थ गरिनेछ।
नाेट:- उपस्थित सबैलाई माक्स र भाैतिक दुरीकाे पालनाकाे अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: