Home > कविता > कविता : वेश्या

कविता : वेश्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्ण सन्ध्या समाधि

साटिन्छन् तिम्रा ओछ्यानहरू
साटिन्नन् तिम्रा मनका फूलहरू
भत्किए होलान् समाजसँगका नाताहरू
ढले होलान् सभ्यताका सिखरहरू
अस्ताए होलान् इज्जत,ईमान
प्रतिष्ठा र अस्मिताका घामहरू
अनि
उभिए होलान् घृणा र तिरस्कारका पहाडहरू
ठडिए होलान् छिछी,दुरदुर र थुकका चुचुराहरू
तर भत्किएका छैनन् तिम्रा
मानवता र स्वाभिमानका पुलहरू

लुछे होलान् कतिले
तिम्रा जवानीका हरिया पालुवाहरू
लुटे होलान् कतिले
तिम्रा यौवनका रंगिचंगी थुँगाहरू
टिपे होलान् कतिले
तिम्रा सौन्दर्यका लालिमाहरू
अनि फाले होलान् च्यातेर
थुकेर रछ्यानमा
फोहोरको थुप्रोमाथी
तर लुट्न सकेनन् कसैले
टिप्न सकेनन् कसैले
तिम्रो हृदयभित्र फक्रेको
तिम्रो मुटुको पबित्र फूल

दुनियाँलाई खुसी र सन्तुष्टि बाँडेर
आफ्ना रहर र ईच्छाहरू मारेर
आँसुको प्याला पिएर बाँच्ने
छातीमाथी ईश्वर उभ्याएर हाँस्ने
हिलोमा फुलेकी
पबित्र कमलकि फूल हौ तिमी
घामले नछोएको जिन्दगी बाँचेकी
अँध्यारो रातलाई
उज्यालो बनाउने
चिराग बोकेकी
रातकी रानी हौ तिमी

फूललाई बलात्कार गरेर
छाती फुलाउँछन् गर्वले
मूर्ख भमराहरू
आफूलाई जीउँदो
अनि जीउँदो मान्छेलाई
मृत देख्छन् मुर्दाहरू
र त नाङ्गो देख्छन् तिमीलाई
सुन ओढेका नाङ्गा मान्छेहरू
गरीब सम्झन्छन् तिमीलाई
सुनको गुफाभित्र कुहिएका
सडेका, मानवताका दरिद्र मान्छेहरू!
समीप सम्झन्छन् तिमीलाई
कोमल आत्माको रूखमुनी
माया र दयाको छहारिमा
ओत लागेर बसेका
धनका गरीब
मनका धनी मान्छेहरू

तिम्रो च्यातिएको चोलीमा
टाँसिएको छ
तिम्रा सन्तानको सपना
दर्द र पीडा मिसिएको
तिम्रो बोलीमा
गाँसिएको छ
तिम्रा सन्तानको भविष्य
हर रात बलात्कृत
तिम्रो आँशुको खोलीमा
तैरी रहेछ
तिम्रा सन्तानको जीवनको डुंगा
कलेटी परेको तिम्रो अधरमा
फक्री रहेछन्
तिम्रा सन्तानका मुस्कानहरू
तिम्रो जीवनको अँध्यारो खाल्डोबाटै
पलाई रहेछन्
तिम्रा सन्तानका उज्याला बाटाहरू

हर रात बलात्कृत हुनुपर्ने
खुसी बाँडेर पन्चपान्डवलाई
भित्रभित्रै बाँचुन्जेल रुनु पर्ने
जसले खोसे जीवनका रहरहरू
जसले लुटे खुसीका प्रहरहरू
हर मिर्मिरे उनैको पाउ छुनु पर्ने
सहिष्णुताकी प्रतिमुर्ति
पबित्र देवी द्रौपदीलाई
कसले भन्यो वेश्या भनेर ?
सोर्‍ह सय गोपिनीको अस्मिता लुट्ने
राधालाई फसाएर प्रेममा
रुक्मिनीसँग सुत्ने
कृष्णलाई वेश्या नदेख्ने समाज
आफ्नै श्रीमती अंश लगाउने
चीरहरण हुँदा समेत उनको
हात उठाएर माथी
मुन्टो लुकाउने अर्जुनलाई
नालायक,नामर्द,हुतिहारा नलेख्ने समाज
भोग्नलाई आफ्नै बुहारी छान्ने
श्रीमती समेत जुवामा हान्ने
पापी युधिष्ठिरलाई
सत्यवादी,धर्मराज मान्ने समाज
किन भन्छ हँ द्रौपदीलाई
वेश्या भनेर ?

एकजना बाँच्नलाई
लाखौं मार्छन् मुर्दाहरू
लाखौं मान्छेलाई
दिनलाई जीवनदान
आफैं मर्न
तयार हुने मान्छे तिमी
युद्धको जिजिविषामा पनि
मानवताको सुगन्ध छर्दै
भातृत्वको सौन्दर्य भर्दै
एकताको सुपारी बाँड्दै फुलेकी
पवित्र फूल हौ तिमी
संसारको सबैभन्दा मेरो
प्रीय मान्छे तिमी
कसले भन्यो तिमीलाई
वेश्या भनेर ?

हतुवागढी – ३, सिन्द्राङ्ग भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: