रबिन थापा “बगाले”
हतुवागढी, ४ पौष। हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारमा गत पौष २ गते अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरिएको छ।
ईलाका प्रहरी कार्यालय घोडेटारमा हतुवागढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कुमार बिष्ट, जिल्ला ट्राफिक कार्यालय भोजपुरका प्रमुख मनोज श्रेष्ठ, हतुवागढी यातायात प्रा. लि. का प्रतिनिधिहरु, स्थानिय सञ्चारकर्मिहरु लगायतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक पोस्ट उद्घाटन गरिएको हो। ईप्रका घोडेटार प्रमुख, प्रहरी निरीक्षक जसबहादुर लिम्बुले भोजपुर जिल्लामै सदरमुकाम बाहेक ट्राफिक पोस्ट पहिलो पटक घोडेटारमा राखिन लागिएको उल्लेख गर्नुभयो। अन्य ठाउँको तुलनामा हतुवागढिमा तिब्र गतिले बिकास र त्यससंग सम्बन्धित कार्यहरु भईरहे संगै यातायातका साधनहरुको चाप समेत वृद्धि भईरहेकोले त्यसलाई ब्यबस्थापन गर्न ट्राफिक प्रहरिको आवस्यकता रहेको बताउँदै लिम्बुले साना ठुला सबै खाले सवारी साधन चालकहरु सबैसंग चालक अनुमतिपत्र अनिबार्य गराउन, ट्राफिक जनचेतना जगाउन र सुरक्षित सडक यात्राका लागि स्थापना गरिने ट्राफिक प्रहरिलाई आम सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा उहाँको जोड रहेको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कुमार बिष्टले यात्रु, चालक, सह-चालक लगायत सबैलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउनका लागि आवस्यक पहल गर्न वडाको तर्फबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
उद्घाटनसंगै उक्त अस्थायी ट्राफिक पोस्टमा एक जना ट्राफिक प्रहरी राखिने जानकारी दिईएको सो कार्यक्रममा उपस्थित सर्वसाधारणले भने यथाशीघ्र स्थायी ट्राफिक कार्यालय स्थापना गरिनुपर्नेमा जोड दिएका थिए। अस्थायी पोस्टका लागि खटिएका ट्राफिक जवान नवीन श्रेष्ठले ट्राफिक नियम सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै विभिन्न ठाउँहरुमा होर्डिङ्ग बोर्ड राख्ने, मुख्य चोक, बजार, बिद्यालय ईत्यादिमा ट्राफिक सचेतना कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो।