Home > समसामयिक > हतुवाक्षेत्रबाट स्वर परीक्षा दिने पहिलो हतुवाली राईको निधन

हतुवाक्षेत्रबाट स्वर परीक्षा दिने पहिलो हतुवाली राईको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवाहेराल्ड डेस्क, ५ पौष।

हतुवाक्षेत्रबाट लोकगित संकलन गरि पहिलो पटक रेडियो नेपाल सिंहदरबार काठमाडौमा गायनका लागि  स्वर परीक्षा दिन पुगेका हरिकुमार राईको हिजो निधन भएको छ।

हरिकुमार राई को हुन्?

बिक्रम सम्बत३०-४० को दशकतिर धनकुटा चुङ्बाङ्गका शम्भु राई, भोजपुर बास्तिमका भुपाल राईहरुसंगै होम्ताङ्ग घर भई चुङ्वाङ्गको भारती मा.वि. पढ्दा शम्भु राईको संगतमा परेका हरिकुमार राई गित संगितमा आकर्षित भए। तिनै भाइ राईहरु गाउँ गाउँ डुलेर लोकगित र लोकभाकाहरु संकलन गर्दै रेडियो नेपालसम्म पुगेर स्वर परिक्षा समेत दिए। तर पहिलो चोटि अनुतिर्ण भएपछी हरिकुमार राईले अर्को पटक रेडियो नेपालको आँगन टेकेनन्। बरु लोकगित संकलनतिरै केही समय लागे। देशभरिमा रेडियो नेपाल बाहेक अन्त रेकर्डिङ्ग स्टुडियो नभएको त्यो समयमा स्वर परीक्षा उतिर्ण गरेर पनि गित रेकर्ड गर्ने अनुरोध गरेको लामो समयसम्म पालो पर्खिएर मात्रै गित रेकर्ड गर्न सकिन्थ्यो। त्यसैले आफुले संकलन गरेका गितहरु हरिकुमार राई आफैले गाउन पाएनन्।

हतुवा क्षेत्रबाट सबैभन्दा पहिले रेडियो नेपालमा स्वर परीक्षा दिन पुग्ने राईले संकलन गरेको तीन वटा गितहरु  हरिकुमार राईकै संगती अहिलेका चर्चित कवि एवं गितकार भुपाल राईको स्वरमा रेकर्ड गरिएको थियो, जुन अहिले पनि रेडियो नेपाल सिंहदरबारको अभिलेखमा सुरक्षित छन्। जस अनुसार “साई साई र सुई सुई” बोल रहेको गितको दर्ता नम्बर १३९६, “उडि जाने बेसार” को दर्ता नम्बर १८४३ र “नबोलाऊँ भने” को दर्ता नम्बर २३५५ रहेको छ। जस मध्ये साई साई र सुई सुई बोलको गित गाउन सुर्य थुलुङ्गले साथ दिएका छन भने नबोलाऊँ भने बोलको गित गाउन राम गुरुङ्गले साथ दिएका छन् र उडि जाने बेसारा बोलको गित भने भुपाल राई एक्लैले गाएको अभिलेख छ।

यसरी आधिकारिक अभिलेखमा रहने गरि साँगितिक योगदान दिएका हतुवा क्षेत्रको पहिलो सर्जक हरिकुमार राईको जन्म भोजपुर जिल्लाको होम्ताङ्गमा बि. सं. २०१६ साल जेठ २२ गतेका दिन भएको थियो। हतुवा क्षेत्रमा गिनेचुनिएका शिक्षाप्रेमी वा समाजसेविहरु मध्येमा पर्ने कटकबहादुर राई र मनशोभा राईको माईला छोरा हरिकुमार राईलाई उनका बुबाले लेखपढ नगराउने सवालै थिएन। शिक्षाप्रेमी कटकबहादुर राईलाई त्यो समयमा शिक्षाको महत्व राम्रैसंग थाहा थियो। त्यसैले उनले आफ्ना तिनै जना छोराहरुलाई सकेसम्म शिक्षाका लागि राम्रो अवसर तयार गरिदिए। बि.सं. २००७ सालमा स्थापित प्रजातन्त्र मिडिल स्कुल छिचोलेपछी बाँकी शिक्षाका लागि कि त सदरमुकाम भोजपुर जानुपर्थ्यो वा गाउँपारिपट्टिको धनकुटा चुङ्माङ् स्थित भारती स्कुल। हरिकुमार राई चुङ्माङ् पुर्‍याईए। त्यहिँको पढाईको सिलसिलामा भेट भएको थियो शम्भु राईसंग। स्कुलमा बनेको त्यहिँ संगतले गाउँ गाउँमा पुगेर लोकगित संकलन गर्ने, लोकसंगितको अभ्यास गर्ने अम्मली बनायो राईलाई। संगै चुङ्माङ् कै बसाईले उनलाई आफ्नो नयाँ संसार समेत निर्माण गर्न सघायो अर्थात चुङ्माङ् कै सुलोचना राईलाई हरिकुमार राईले प्रेमिका पछि श्रीमतिका रुपमा पाए। दुई राईहरु गाउँघरतिरका लोकभाका र लय बोकेर काठमाडौ पुग्दा अर्का भोजपुरे सर्जक भुपाल राईसंग जोडिन पुगे र तिनै भाइ रेडियो नेपालमा स्वर परीक्षा दिन पुगे। तर स्वर परिक्षामा असफल भएपछी गाउँ फर्किएका हरिकुमार राई फेरि रेडियो नेपाल फर्किएनन्। बरु उनका गितहरु स्वर परीक्षा पास गरेका भुपाल राईले रेडियो नेपालमा रेकर्ड गराए। उनै भुपाल राई आजका प्रसिद्ध कवि एवं आदिबासी सौन्दर्यचेतका साथ सृजनामा तल्लिन सर्जक हुन्।

गित संकलन संगै विभिन्न बाजाहरु बजाउन समेत सिपालु राईले कुनै समय आफ्नै घरलाई संगितालय जस्तै बनाएका थिए। विभिन्न सुर र स्केलका तबला, मादल, हार्मोनियम, गितार, बाँसुरी ईत्यादी घरैमा राखेका उनी यी सबै बाजामा उत्तिकै मधुर धुन दिन सक्थे र स्वर पनि। उनलाई जन्नेहरु भन्छन् यदि अर्को पटक उनी संवत् परीक्षा दिन रेडियो नेपाल पुगेका भए उनको संगित सृजना र साधनाले अर्कै मोड लिन सक्थ्यो र यतिखेर स्थापित संगितकर्मिहरुको लहरमा उभिने थिए। तर एक पटकको त्यो असफलताले गर्दा उनी फेरि रेडियो नेपाल फर्केनन्। हुन सक्छ भौगोलिक बिकटता एउटा कारण अनि अर्को चाकडी र चिनजानको अभाव। त्यसकारण उनी आजिवन गुमनाम भएर आफ्नै गाउँको चौघेरामा सिमित भए। लामो समय सिकिस्त बिरामी भई आफ्नो जिवनका सम्पुर्ण पुराना यादहरु भुलिसकेका राईको २०७७ साल पौष ४ गते साँझ ८ बजे देहान्त भयो।

हतुवाक्षेत्रको एउटा सृजनसिल ईतिहास गुमनाम भएर सकियो। उनलाई हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले २०७४ फाल चैत २६ गते एक कार्यक्रमका बिच “अग्रज श्रष्टा सम्मान” गरेको थियो।

हरिकुमार राईलाई हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानका तर्फबाट सम्मान गर्नुहुदै प्रदेश १ मुख्यमन्त्री शेरधन राई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: