हतुवागढी, ९ पौष । ईलाका प्रहरी कार्यालय हतुवागढी घोडेटारमा गत सातादेखि ट्राफिक प्रहरी पोष्ट राखिएसंगै सवारी सचेतना सम्बन्धि विविध कार्यक्रमको आयोजनामा तिव्रता दिईएको छ ।
गाउँपालिकाको केन्द्र घोडेटार स्थित श्री सगरमाथा उच्च मा.वि. मा अध्ययनरत १ सय ६० जना विद्यार्थीहरुलाई अस्थायी ट्राफिक पोस्ट हतुवागढीका ट्राफिक प्रहरी नवीन श्रेष्ठले हिजो सडक दुर्घटना न्यूनीकरण सम्बन्धि एकदिने प्रशिक्षण दिएको खवर ईपोस्टटाईम डट कमले प्रकाशित गरेको छ।
ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि मूख्यतय: जेब्रा क्रसिङ्ग, सवारी चढ्नु ओर्लनु अघि ध्यान दिनुपर्ने कुरा, यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु, मा.प.से. (मादक पदार्थ सेवन) को कारण हुन सक्ने दुर्घटना, मोबाईल फोन प्रयोगले हुनसक्ने सवारी दुर्घट्ना ईत्यादिका बारे प्रशिक्षण गराउँदै श्रेष्ठले लापरबाहीका कारण धेरै यात्रुले अनाहकमा ज्यान गुमाईरहेको हुँदा सम्पुर्ण सवारी तथा ट्राफिक नियम पालना गर्नुपर्ने कुरामा जोड दिएका थिए।
प्रशिक्षण कार्यक्रममा सगरमाथा मा.वि. का सहायक प्रधानाध्यापक प्रकाश बान्तावा राई, शिक्षक कृष्ण सुबेदी, हतुवागढी गाउँपालिकाका कर्मचारी रुद्र भुजेल, सुझता ढुङ्गेल, कुल बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
आगमी दिनहरुमा पनि यस्तै सवारी साधन संचालन सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम र सवारी अनुमति पत्र, सवारी विमा, नविकरण सम्बन्धि जानकारीका साथै सचेतनात्मक पोष्टरीङ्, पम्प्लेट, होर्डिङ वोर्ड, ट्राफिक संकेत आदिको कार्यलाई क्रमिक रुपमा अगाडी बढाउदै लैजाने ट्राफिक प्रहरी नवीन श्रेष्ठले जानकारी गराए