Home > हाम्राे भाषा > बुङ्वाखा अन्तर्गतका पुरस्कारहरुको घोषणा : आगामी चैत २६ गते बितरण गरिँदै।

बुङ्वाखा अन्तर्गतका पुरस्कारहरुको घोषणा : आगामी चैत २६ गते बितरण गरिँदै।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, १७ चैत। बिगत १६ बर्षदेखी मासिक रुपमा निरन्तर बान्तावा राई भाषामा प्रकाशित भइरहेको पत्रीका बुङ्वाखामा स्थापित विभिन्न पुरस्कारहरूको घोषणा गरिएको छ:

१. ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार – २०७७’


टेम्के-मैयुङ गाउँपालिका ८, गोगने, भोजपुरमा जन्मिनुभएका डा. ईश्वरकुमार राईले ‘बान्तावा भाषाको समाज भाषावैज्ञानिक अध्ययन’ शीर्षकमा विद्यावारिधि गर्नुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ । ताम्रपत्र सहित पुरस्कारको राशी ५५ हजार २ सय ९२ रुपैयाँ रहेको छ ।

पूर्व मुख्य अञ्‍चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो।

२. ‘बुङ्वाखा – युके सायाचोङमा पुरस्कार – २०७७’

भोजपुरको हतुवागढी गाउँपालिका-३, सिन्द्राङमा जन्मिनु भई हाल इटहरीमा बसोबास गरिरहनु भएका मित्रप्रसाद राईले बुङ्वाखामा स्थापित ‘बुङ्वाखा मूल अक्षयकोष’को अवधारणा विकास गरी सो कोष स्थापनामा सक्रिय भूमिका खेल्नुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ। ताम्रपत्र सहित पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

बुङ्वाखा सल्लाहकार मानबहादुर राईको संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनु भएका बान्तावा र गैर बान्तावा भाषिहरूको सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गरिएको हो ।

३. ‘बुङ्वाखा-पञ्‍चकुमारी सङ्‌गीत पुरस्कार – २०७७’

पाँचथरको मिक्लाजुङ-७, लेखगाउँमा जन्मिनुभई हाल मधुमल्ला, मोरङमा बसिरहनुभएका, ‘किराती सँगालो (२०४८)’ गीतिएल्बम, ‘बुङ्वाखाडा अङ्‌कान छाङ बारिन्ने…’ लगायतका बान्तावा गीतका सर्जक, संगीतकार र गायक विशाल राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्र सहित पुरस्कारको राशी ४० हजार रूपैयाँ रहेको छ ।

स्वर्गीय आमा पञ्‍चकुमारी राईको स्मृतिमा दाजुभाइ द्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्‌गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

४. ‘बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार – २०७७’

इटहरी ४, सुनसरीमा जन्मिनुभई बुङ्वाखाको सुनसरी जिल्ला संवाददाताको रूपमा कार्यरत माया राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रूपैयाँ रहेको छ ।

बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा अक्षयकोष स्थापना गर्न लाग्नुभएको हो ।

५. ‘बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार – २०७७’

सहिदभूमि गाउँपालिका-३, छिन्ताङ धनकुटामा जन्मिनु भई बुङ्वाखाका नियमित कविता लेखन गरिरहनुहने दधिराम राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रूपैयाँ रहेको छ ।
आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राई र परिवारको पहलमा यो पुरस्कार स्थापना गरिएको हो ।

६. ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार – २०७७

बुङ्वाखाको ‘१६औँ बान्तावा अनलाइन कविता प्रतियोगिता’मा पाँचथरको जयकुमार राई प्रथम, भोजपुरको दीलिप बान्तावा दोस्रो र संखुवासभाको विविमाया राई तेस्रो हुनुभएको छ । प्रमाणपत्रसहित पुरस्कारको राशी क्रमशः रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार रहेको छ । उक्त पुरस्कार ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति अक्षयकोष’बाट प्रदान गरिनेछ ।

श्यामराज दुब्देङहाङका छोरीद्वय मीना राई र सपना राई तथा भतिजी छोरी अञ्जना राईले आफ्ना पापा/बाङाको स्मृतिमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
…..
बुङ्वाखा पुरस्कार छनोट उपसमितिको चैत १६ गते बसेको बैठकले पुरस्कारहरु बारे निर्णय गरेको हो । समितिको बैठक बुङ्वाखा सल्लाहकार अशोक मुकारुङको अध्यक्षतामा बसेको थियो । सो बैठकमा दीपक बान्तावा, असीम बान्तावा, खान्नुबुङ राई, किसान राई र कार्यक्रम संयोजक/सम्पादक पदम राई उपस्थित हुनुहुन्थ्यो ।
…..
बुङ्वाखाको ‘१६औं वाषिर्कोत्सव’ आगामी चैत २६ गते सुनसरीको इटहरीमा प्रदेश १ मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने भएको छ। सोही दिनको कार्यक्रममा माथि उल्लेखित पुरस्कारहरू अर्पण गरिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: