Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

डाभोसबाट बिश्वलाई हरारीको चेतावनी : प्रबिधिको बिकासले मानव जाती समाप्त हुनसक्छ

Admin

प्रबिधी

युभल नोह हरारी
विश्व एक्काइसौं शताब्दीको तेस्रो दशकमा प्रवेश गर्दै गर्दा हाम्रो सामुन्ने मानव सम्भ्यतासँग जोडिएका थुप्रै प्रश्नहरू छन् । कुन प्रश्नमा केन्द्रित हुने भन्ने निर्क्यौल गर्न साँच्चिकै गाह्रो भएको छ । आज म हाम्रो सामुन्ने रहेका केही प्रश्नहरूको विषयमा चर्चा गर्छु । तीनवटा खतराले आज मानव जातिको अस्तित्व समाप्त पार्न सक्छन् । ती हुन्, आणविक युद्ध, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश । हामीले यिनै तीन मुद्धामा केन्द्रित भएर सोच्नु पर्छ ।

आणविक युद्ध र पर्यावरणीय विनाशको खतराबारे हामी धेरै जानकार छौं । त्यसैले म हामीले कम चासो दिइरहेको प्रविधिले निम्त्याउन सक्ने विनाशबारे चर्चा गर्छु ।
डाभोसमा हामीले प्रविधिका विषयमा ठूल्ठूला प्रतिबद्धताहरू सुन्यौं । ती बाचाहरू एकदम सत्य छन् । तर, प्रविधिले मानव समाजलाई ध्वस्त पार्न पनि सक्छ । यसले मानव जीवनको आधारभूत अर्थ नै बदल्न सक्छ । साथै, विश्वव्यापी रूपमा एउटा विशाल ‘प्रयोजनविहीन वर्ग’ (युजलेस क्लास) निर्माण गर्न सक्छ र डाटा-उपनिवेशवाद तथा डिजिटल डिक्टेटरसीप (डिजिटल अधिनायकवाद) को खतरा पनि यसले निम्त्याउन सक्छ। प्रविधिका कारण हामीले सामाजिक र आर्थिक उथलपुथलको सामना गर्नुपर्ने हुनसक्छ ।

स्वचालित प्रविधिले अब चाँडै लाखौंलाख मानिसलाई कामबाट बाहिर निकाल्ने छ । त्यसपछि नयाँ काम सिर्जना त हुनेछन्, तर कामबाट निकालिएका ती मानिसहरू नयाँ कामका लागि आवश्यक पर्ने सीप छिटोछिटो सिक्न सक्छन् कि सक्दैनन् भन्ने हामीलाई थाहा छैन । मानौं, तपाईं ५० वर्षको ट्रक ड्राइभर हुनुहुन्छ । स्वचालित गाडीका कारण तपाईं कामबाट निकालिनु भयो । त्यसपछि तपाईंले सफ्टवेयर डिजाइन वा इन्जिनियरलाई योगा सिकाउने काम पाउनुभयो । अब सोच्नुहोस्, ५० वर्षको ट्रक ड्राइभरले कसरी आफूलाई सफ्टवेयर डिजाइनर वा योगा शिक्षकका रूपमा तयार पार्न सक्छ ? र अर्को कुरा, अब मान्छेले यस्तो एकपटक मात्र होइन, पटकपटक, जीवनभर नै गरिरहनु पर्छ । किनभने, स्वचालित प्रविधिको विकास एकपटक आएर शान्त हुने पानीको छाल होइन, यो निरन्तर झरिरहने झरनाजस्तै हो । एउटा परिवर्तनलाई पछ्याउँदै अर्को अझ ठूलो परिवर्तन आउँछ ।

अहिले कृत्रिम बौद्धिकता (एआई) को विकास अझ उन्नत चरणतिर लम्किँदै छ, र यसले चाँडै पूर्ण क्षमतामा काम गर्न सक्नेछ । पुराना कामहरू हराउने छन् र नयाँ काम सिर्जना हुनेछन् । तर, ती नयाँ कामहरूमा पनि छिटोछिटो परिमार्जन हुने छ र हराउने छन् । हामीभन्दा अघिका मानिसहरूले शोषणविरूद्ध संघर्ष गरेका थिए, तर एक्काइसौं शताब्दीमा मानिसले असान्दर्भिक हुनबाट बच्न साँच्चिकै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । असान्दर्भिक हुनु, शोषित हुनुभन्दा धेरै खतरनाक हो ।
असान्दर्भिकताविरूद्ध संघर्ष गरिरहेका मानिसहरूको विशाल समूहले समाजमा नयाँ ‘प्रयोजनविहीन वर्ग’ सिर्जना गर्छ । यो वर्गका मानिसहरू साथीभाइ वा नातागोताका लागि होइन, राजनीतिक र आर्थिक दृष्टिकोणले प्रयोजनविहीन हुन पुग्छन् । र, यो प्रयोजनविहीन वर्ग र शक्तिशाली सम्भ्रान्त वर्गबीच निरन्तर बढ्दो खाडल सिर्जना हुनेछ ।

कृत्रिम बौद्धिकतामा हुने क्रान्तिले वर्गहरूबीचमा मात्र होइन, देश-देशबीचको असमानता पनि अकल्पनीय रूपमा बढ्नेछ । १९ औं शताब्दीमा बेलायत र जापानजस्ता केही देशले पहिले औद्योगिकरण गरे, उनीहरूले नै संसारभर साम्राज्य फैलाए र सारा संसारको शोषण गरे । यदि हामीले ध्यान दिएनौं भने कृत्रिम बौद्धिकताका कारण एक्काइसौं शताब्दीमा पनि यही कथा दोहोरिने छ ।
अहिले नै कृत्रिम बौद्धिकतायुक्त हतियारको प्रतिस्पर्धा चलिरहेको छ । चीन र अमेरिका यो प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन् । अरू अधिकांश देशहरू धेरै पछाडि छुटिरहेका छन् । यदि कृत्रिम बौद्धिकताबाट हुने फाइदा र यसको शक्ति सबै मानिसलाई बराबर नबाँड्ने हो भने केही ‘हाइ-टेक हब’ मा असीमित सम्पत्ति थुप्रिने छ र अरू देशहरू कि त टाट पल्टिनेछन्, कि त डाटा-उपनिवेशमा परिणत हुनेछन् ।

हामी अहिले रोबोटले मान्छेसँग बदला लिएको साइन्स फिक्सनको कथामा छलफल गरिरहेका छैनौं । हामी कृत्रिम बौद्धिकताको अत्यन्तै प्रारम्भिक अवस्थाबारे कुरा गररहेका छौं तर यही प्रारम्भिक अवस्थामा नै विश्वको अहिलेको सन्तुलनलाई ध्वस्त पार्ने क्षमता यसमा छ ।
यस्तो बेला विकासोन्मुख देशहरूको हालत के होला भन्ने सोचौं । मेक्सिकोमा भन्दा कम लागतमा अमेरिकाको क्यालिफोर्नियामा कपडा वा कार उत्पादन थाल्यो भने के हुन्छ ? कल्पना गर्नुस्, तपाईंको देशको प्रत्येक नेता, प्रत्येक पत्रकार र प्रत्येक न्यायाधीशको यौन व्यवहार, सम्पूर्ण मानसिक कमजोरी र अवैध लेनदेनसहित सबै मेडिकल र व्यक्तिगत जानकारी अमेरिका वा चीनको कुनै एक व्यक्तिसँग छ । अब तपाईंको देशको राजनीति कस्तो हुन्छ? तपाईंको देश स्वतन्त्र हुन्छ कि डाटा-उपनिवेश ? जब कुनै देशको बारेमा शक्तिशाली देशसँग प्रशस्त डाटा छ भने त्यो देशलाई नियन्त्रणमा लिन सेना पठाउनु पर्दैन ।

असमानतासँगै प्रविधिले ल्याउने अर्को खतरा डिजिटल अधिनायकवादको उदय हो, जसले प्रत्येक व्यक्तिलाई प्रत्येक पल निगरानीमा राख्ने छ । यो खतरालाई सजिलो शुत्रमा राख्न सकिन्छ । मेरो विचारमा यो शुत्रले एक्काइसौं शताब्दीको हाम्रो जीवनलाई परिभाषित गर्नसक्छ । त्यो शुत्र हो: बी x सी x डी= एएचएच (B x C x D = AHH!)
जसको अर्थ जैविक ज्ञान, कम्प्युटरको शक्ति र डाटा एकअर्कामा गुणन गर्दा मान्छेलाई ह्याक गर्न सक्ने क्षमता बन्छ ।
तपाईंसँग प्रशस्त जैविक ज्ञान छ, कम्युटरको शक्ति छ र आवश्यक डाटा छ भने तपाईं मेरो शरीरलाई ह्याक गर्न सक्नुहुन्छ, मेरो दिमाग र मेरो सिङ्गो जीवनलाई ह्याक गर्न सक्नुहुन्छ । मेरो बारेमा म आफूले बुझेको भन्दा राम्रोसँग बुझ्न सक्नुहुन्छ । त्यसपछि मेरो व्यक्तित्व, राजनीतिक दृष्टिकोण, यौन चरित्र, मानसिक कमजोरी, मेरो सबै भन्दा ठूलो डर र आशाबारे तपाईंलाई थाहा हुनेछ । तपाईं मलाई म आफूले बुझेको भन्दा धेरै राम्रोसँग बुझ्न सक्नुहुनेछ । र यस्तो तपाईंले मसँग मात्र होइन, अरू जोकोहीसँग गर्न सक्नुहुनेछ ।
हामीलाई आफूले भन्दा राम्रोसँग बुझ्न सक्ने प्रणालीले हाम्रा अनुभूति र निर्णयहरू पूर्वानुमान गर्न सक्छ । पूर्वानुमान मात्रै होइन, हाम्रो अनुभूति र निर्णयलाई प्रभावित पनि गर्नसक्छ । अन्तत: यसले हामीले गर्नुपर्ने निर्णयहरू गर्नेछ । विगतमा थुप्रै सरकार र तानाशाहहरूले मानिसका अनुभूति र निर्णयलाई प्रभावित गर्ने यस्तो प्रयोग गर्न खोजेका थिए । तर, उनीहरूसँग मानव शरीरको पर्‍याप्त ज्ञान थिएन, न त त्यो क्षमताको कम्प्युटर र त्यसका लागि आवश्यक डाटा नै थियो । त्यसैले न त जर्मनीको गेस्टापो, न त रूसको केजीबीले नै यस्तो गर्न सके । तर, चाँडै केही व्यापारिक निगम र केही सरकारहरू सबै मानिसलाई योजनाबद्ध रूपमा ह्याक गर्न सफल हुनेछन् । मानिसहरूले हामी अब रहस्यमय आत्मा रहेनौं, ह्याक गर्न मिल्ने जनावर हौं भन्ने कुरामा विश्वास गर्नुपर्ने छ । हाम्रो वास्तविकता यही हो ।

मानिसलाई ह्याक गर्न सक्ने शक्ति अझ गुणस्तरीय स्वास्थोपचार उपलब्ध गराउनेजस्ता असल उद्देश्यका लागि पनि प्रयोग हुनसक्छ । तर एक्काइसौं शताब्दीको स्टालिनको हातमा यस्तो शक्ति पुग्यो भने त्यसले मानव इतिहासकै सबैभन्दा खराब सर्वसत्तावादी शासनलाई जन्म दिनेछ । अहिले नै एक्काइसौं शताब्दीको स्टालिन बन्न आवेदन हाल्नेहरूको लामो लाइन छ ।
एकछिनलाई २० वर्षपछिको उत्तर कोरिया कल्पना गर्नुस्, जहाँ सबैले एउटा बायोमेट्रिक ब्रास्लेट लगाउनु पर्ने नियम हुन्छ । यसले २४ सै घण्टा तपाईंको रक्तचाप, मुटुको चाल, मष्तिष्कको गतिविधि निगरानी गर्छ । अनि तपाईं रेडियोमा महान् नेताको भाषण सुन्नुहुन्छ, त्यतिबेला तपाईंले के अनुभूति गर्नुभयो भन्ने पनि यही ब्रास्लेट मार्फत उनीहरूले थाहा पाउँछन् । मानौं, भाषण सुनेर तपाईंलाई रिस उठ्छ । तपाईं जबरजस्ती ताली बजाउनु हुन्छ र मुस्कुराउनु हुन्छ तर त्यो कुरा उनीहरूले थाहा पाउँछन् । त्यसको भोलिपल्ट तपाईंले आफूलाई श्रमशिविरमा पाउनुहुनेछ ।

यदि हामीले यस्तो सम्पूर्ण-सर्वसत्तावादी शासनको उदय हुन दियौं भने धनी र शक्तिशालीहरूचाहिँ सुरक्षित हुन्छौं भन्ने नसोचे हुन्छ । यसबारे एकपटक अमेजनका संस्थाक तथा सीईओ जेफ बेजोसलाई सोध्नुस् । स्टालिनको सोभियत संघमा अरूभन्दा धेरै कम्युनिस्ट पार्टीका माथिल्लो तहका अधिकारीहरूमाथि राज्यले निगरानी गरेको थियो । भविष्यको सम्पूर्ण-सर्वसत्तावादी शासनको हकमा पनि यो लागु हुनेछ । तपाईं जति माथिल्लो तहमा हुनुहुन्छ, त्यति नै नजिकबाट तपाईंको निगरानी हुनेछ ।
तपाईं आफ्नो सीईओ वा आफ्नो अध्यक्षको बारेमा के सोच्नुहुन्छ भन्ने उनीहरूले थाहा पाउन् भन्ने चाहनुहुन्छ र ?
त्यसैले यस्तो डिजिटल अधिनायकवादको उदय हुनबाट रोक्नु सम्भ्रान्त वर्गसहित सबै मानिसको सरोकारको विषय हो । र, यस्तोबेला कुनै राजकुमारबाट नै शंकास्पद ह्वाट्सएप म्यासेज पाउनुभयो भने पनि त्यसलाई नखोल्नु होला ।

डिजिटल डिक्टेटरसीपको स्थापना हुन नदिँदैमा मानिसलाई ह्याक गर्न सक्ने क्षमताले निम्त्याउने चुनौति सकिँदैन । अझै पनि यसले मानव स्वतन्त्रतालाई खतरामा पार्न सक्छ । निर्णय गर्नका लागि हामी जब हाम्रो मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधिकार कम हुँदै जान्छ र अल्गोरिदमले यसमा अधिकार जमाउन थाल्छ । यो अहिले नै हुन थालिसकेको छ ।

आज अर्बौं मानिसहरू बजारमा नयाँ के आएको छ भन्ने जान्न फेसबुकलाई विश्वास गर्छन्, कुन कुरा सत्य हो कुन होइन भन्ने गुगलले भन्छ, कुन फिल्म हेर्ने भनेर नेटफ्लिक्सले छनोट गरिदिन्छ र के किन्ने भन्ने अमेजन र अलिबाबाले भन्दिन्छन् । निकट भविष्यमा यस्तै कुनै प्रणालीले कहाँ काम गर्ने र कोसँग बिहे गर्ने जस्ता निर्णय हाम्रा लागि गरिदिन सक्छन् । त्यतिमात्र होइन, तपाईंलाई जागिरमा नियुक्त गर्ने कि नगर्ने, ऋण दिने कि नदिने तथा ब्याजदर बढाउने कि नबढाउने भन्नेसम्मका निर्णय यस्तो कुनै प्रणालीले गर्नसक्छ ।
मैले किन ऋण पाइनँ वा बचतमा ब्याजदर किन बढेन भन्ने प्रश्न तपाईंले गर्नुभयो भने एउटै जवाफ पाउनुहुनेछ, कम्युटरले त्यही देखायो । मानव मस्तिष्कसँग पर्‍याप्त जैविक ज्ञान, कम्प्युटिङ पावर र डाटा नहुने हुँदा मानिसले कम्प्युटरको यस्तो निर्णयलाई बुझ्न सक्दैन । त्यसैले, हामीले अघि भनेजस्तो डिजिटल अधिनायकवाद नभएका मुलुकमा पनि मानिसले आफ्नो स्वतन्त्र जीवन गुमाउने छन् । उनीहरू सरकारी नीतिसमेत बुझ्न नसक्ने हुनेछन् । अहिले नै हेरौं न, हामी कतिजनाले वित्तीय प्रणाली बुझ्छौं ? धेरैमा एक प्रतिशतले । केही दशकपछि वित्तीय प्रणाली बुझ्नसक्ने मान्छेको संख्या शुन्य हुनेछ ।

अहिले हाम्रो लागि मानव जीवन भनेको निर्णय गर्ने चुनौतिहरूले भरिएको नाटकजस्तै हो । कृत्रिम बौद्धिकतायुक्त प्रणालीले हाम्रा अधिकांश निर्णयहरू गरिदिन थालेपछि मानव जीवनको अर्थ के होला ? मानव अस्तित्वको यो अवस्थालाई बुझ्न अहिलेसम्म हामीसँग कुनै दार्शनिक ज्ञानसमेत छैन ।

दार्शनिक र राजनीतिज्ञहरूबीच एक किसिमको बार्गेनिङ चलिरहन्छ । दार्शनिकहरू विभिन्न आकर्षक अवधारणाहरू प्रस्तुत गर्छन् भने राजनीतिज्ञहरू त्यस्ता अवधारणा अव्यवहारिक भएको व्याख्या गर्छन् । अहिले भने परिस्थित ठीक उल्टो छ । हामी दार्शनिक रूपमा टाट पल्टिएका छौं ।
इन्फोटेक र बायोटेकमा भइरहेको क्रान्तिले राजनीतिज्ञहरूसामू यो संसारलाई स्वर्ग वा नर्क कस्तो बनाउने भन्ने विकल्प दिएको छ । त्यो नयाँ स्वर्ग वा नर्क कस्तो हुनेछ भन्ने प्रश्नको जवाफ खोज्न दार्शनिकहरूलाई भने संकट परिरहेको छ । यो एकदमै खतरनाक स्थिति हो । हामीले जतिसक्दो चाँडो हाम्रो नयाँ स्वर्ग कस्तो हुनुपर्छ भन्ने अवधारणा बनाउन सकेनौं भने हामी कुनै ‘युटोपिया’ मा फस्न सक्ने सम्भावना हुन्छ । यदि हामीले नयाँ नर्क कस्तो हुनसक्छ भन्ने अवधारणा निर्माण गर्न सकेनौं भने थाहा नपाई त्यो नर्कमा फसिसकेको हुनसक्छौं र त्यहाँबाट निस्किने बाटोसमेत नपाउन सक्छौं ।

प्रविधिले हाम्रो अर्थतन्त्र, राजनीति र दर्शनमात्र होइन, हाम्रो जैविकता अर्थात शरीर पनि विकृत पार्नसक्छ । आउने दशकहरूमा कृत्रिम बौद्धिकता र बायोटेक्नोलोजीको संयोजनले मानव जीवनलाई नै ‘रि-इन्जिनियरिङ’ गर्न सक्ने ईश्वरीय शक्ति हासिल गर्ने छ । यतिमात्रै होइन, यस्तो संयोजनले नयाँ जीवन नै निर्माण गर्न सक्ने क्षमता राख्छ । प्राकृतिक छनोटबाट जीव निर्माण हुन थालेको चार अर्ब वर्षपछि, यतिबेला हामी कृत्रिम बौद्धिकताले डिजाइन गरेको ‘इनअर्गानिक’ जीवन निर्माणको नयाँ युगमा प्रवेश गर्न लागेका छौं ।

मानिसको सृष्टि परिकल्पना जैविक विकासको नयाँ शक्तिको रूपमा थपिएको छ । नयाँ जीवन सृष्टि गर्नसक्ने यो दैवीशक्ति प्रयोगमा कुनै गल्ती भयो भने त्यो सानो गल्ती हुनेछैन, पूरा ब्रम्हाण्डलाई प्रभावित गर्नसक्ने गल्ती हुनेछ । खासगरी सरकार, व्यापारिक निगम र सेनाले आफूलाई आवश्यक पर्ने बौद्धिकता तथा अनुशासनजस्ता मानवीय गुणमा बृद्धि गर्न यस्तो प्रविधिको प्रयोग गर्न सक्छन् । तर, करूणा, सौन्दर्य चेत तथा आध्यात्मिकजस्ता गुण उनीहरूको बेवास्तामा पर्नेछन् । बौद्धिकता र अनुशासनको दौड भइरहँदा करूणा, सौन्दर्य चेत तथा आध्यात्मिकजस्ता गुण मानिसबाट हराउन थाल्नेछन् । यो भविष्यवाणी होइन, सम्भावनाहरू मात्रै हुन् । खासमा प्रविधि विकास कता जान्छ भन्ने कहिल्यै पनि पूर्वानुमान गर्न सकिँदैन ।
बिसौं शताब्दीमा औद्योगिकरणको प्रविधि प्रयोग गरेर तीन फरक किसिमका राजनीतिक प्रणाली अस्तित्वमा आए, फासिस्ट तानशाह, कम्युनिस्ट र उदार प्रजातन्त्र । एक्काइसौं शताब्दीमा पनि यस्तै हुनेछ ।

कृत्रिम बौद्धिकता र बायोटेकले पक्कै पनि संसारको कायापलट गर्ने छ, र यसलाई प्रयोग गरेर फरक किसिमको समाज निर्माण गर्न सकिनेछ । मैले अघि भनेका केही सम्भावनाबाट तपाईं डराउनुभएको छ भने त्यो समस्या हल गर्न तपाईंले योगदान गर्न पनि सक्नुहुन्छ । यसका लागि प्रभावकारी कदम चाल्न भने विश्वव्यापी सहकार्य नै जरूरी हुन्छ । अहिले हामीले सामना गरेका समस्याहरू विश्वव्यापी समस्या हुन्, तिनीहरूको विश्वव्यापी समाधान आवश्यक छ ।
जब कुनै नेताले ‘मेरो देश पहिलो’ जस्ता कुरा गर्छ भने उसलाई सम्झाउनु पर्छ, आणविक युद्ध वा पर्यावरणीय विनाश कुनै पनि देशले एक्लै रोक्न सक्दैन । कुनै पनि देशले एक्लै कृत्रिम बौद्धिकता वा बायोइन्जिनियरिङलाई नियमन गर्न सक्दैन ।

प्राय: सबै देशले भन्नेछन्, ‘हामी नरसंहारकारी रोबोट बनाउन वा ‘जेनेटिकल्ली इन्जिनियरिङ’ गरिएको मानव शिशु बनाउन चाहँदैनौं । हामी असल मानिस हौं । तर, हाम्रा दुश्मनहरूले यस्तो गर्दैनन् भनेर विश्वास गर्न सक्दैनौं । त्यसैले उनीहरूले भन्दा पहिले यी सबै कुरा हामीले बनाइसक्नुपर्छ ।’

यदि कृत्रिम बौद्धिकता र बायोइन्जिनियरिङको क्षेत्रमा यस्तो प्रतिस्पर्धा सुरू भयो भने यसमा कसले जित्छ भन्ने प्रश्न अर्थहीन हुनेछ, र सिङ्गो मानवता पराजित हुनेछ ।
विगतको तुलनामा अहिले एकदमै धेरै ग्लोबल सहकार्य आवश्यक छ । तर दुर्भाग्यवश, विश्वका शक्तिशाली नेता र देशहरूले यसलाई निरन्तर अवमूल्यन गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता नेताहरू ग्लोबलिज्म र राष्ट्रवादलाई एकअर्काका विरोधी अवधारणाका रूपमा व्याख्या गरिरहेका छन् र त्यसमध्ये एउटा रोज्न भनिरहेका छन् । यो भयङ्कर डरलाग्दो गल्ती हो । राष्ट्रवाद र ग्लोबलिज्मबीच विरोधाभाष छैन । राष्ट्रवाद भनेको विदेशीलाई घृणा गर्नु होइन, आफ्नो देश र देशवासीलाई प्रेम गर्नु हो । एक्काइसौं शताब्दीमा आफ्नो देशवासीको सुरक्षा प्रत्याभूत गर्न र भविष्य सु-निश्चित गर्न हामीले विदेशीसँग सहकार्य गर्नैपर्छ ।

त्यसैले, एक्काइसौं शताब्दीको राष्ट्रवादी उत्तिकै विश्वव्यापीकरणवादी पनि हुन आवश्यक छ । अहिले ग्लोबलिज्म भनेको वैश्विक सरकार स्थापना गर्नु, सबै राष्ट्रिय परम्पराहरू परित्याग गर्नु वा असीमित आप्रवासीका लागि सीमा खुला गर्नु होइन । बरू केही विश्वव्यापी नियम मान्न प्रतिबद्ध हुनु हो । त्यस्ता नियमहरू जसले हरेक राष्ट्रको अलग विशेषतालाई अस्वीकार गर्दैन तर देश-देशबीचको सम्बन्धलाई नियमन गर्छ ।

यो भनेको विश्वकप फुटबलजस्तै हो ।
विश्वकप देश-देशबीच हुने प्रतिस्पर्धा हो, जहाँ मानिसहरू आफ्नो असीमित देशभक्ति देखाउँछन् । सँगसँगै यही प्रतिस्पर्धामा अनौठो अन्तर्राष्ट्रिय सामञ्जयस्यता समेत देखिन्छ । दुवै देशहरू एउटै नियम मान्न तयार नभएसम्म फ्रान्सले क्रोएसियाविरूद्ध फुटबल खेल्न सक्दैन । विश्वव्यापीकरणले यसैगरी काम गर्ने हो ।

तपाईंलाई विश्वपक फुटबल मनपर्छ भने तपाईं ‘ग्लोबलिस्ट’ भइसक्नु भएको छ ।
आशा गरौं, फुटबल खेल्न मात्र नभएर पर्यावरणीय विनाश कसरी रोक्ने, खतरनाक प्रविधिलाई कसरी नियमन गर्ने र वैश्विक असमानतालाई कसरी कम गर्ने भन्ने विषयमा पनि नियम बनाउन देशहरू सहमत हुनेछन् । कृत्रिम बौद्धिकताले अमेरिकी सफ्टवेयर इन्जिनियरलाई मात्रै होइन, मेक्सिकोको कपडा कारखानाका मजदुरलाई पनि उत्तिकै फाइदा कसरी पुर्‍याउँछ भन्नेमा काम गर्नेछन् । पक्कै पनि यो फुटबलभन्दा कयौं गुणा कठीन छ तर असम्भव होइन । असम्भव नै हो भने पनि हामीले यसअघि नै असम्भवलाई सम्भव बनाउन जानिसकेका छौं ।

मानव इतिहासभरि कायम रहेको युद्धको डरलाग्दो जंगलबाट हामी बाहिर निस्किन सफल भएका छौं । हजारौं वर्ष मानिसहरू जंगलको त्यस्तो नियममा बसे, जहाँ जताततै युद्ध व्याप्त हुन्थ्यो । त्यो नियमले भन्थ्यो, दुई छिमेकी देशहरूबीच यतिबेला युद्ध भइरहेको छैन भने अर्को वर्ष निश्चित रूपमा युद्ध हुनेछ । यो नियममा शान्ति भनेको युद्धको तत्कालीन अनुपस्थिति मात्रै थियो ।
त्यो नियममा, एथेन्स र स्पार्टा वा फ्रान्स र जर्मनीबीच शान्ति छ भन्नु अहिले तत्काल युद्ध भइरहेको छैन र अर्को वर्ष उनीहरूबीच युद्ध हुनसक्छ भन्नु थियो । हज्जारौं वर्ष मानिसले युद्धको यो नियमबाट मुक्ति पाउन असम्भव छ भन्ने सोचिरहे । तर, पछिल्ला केही दशकमा मानव सभ्यताले त्यो असम्भवलाई सम्भव तुल्याइदियो र युद्धमय त्यो जंगलबाट बाहिर निकाल्यो । हामीले केही नियममा आधारित उदारवादी विश्वव्यवस्था अपनायौं । त्यसका थुप्रै कमजोरी छन् तर यसले मानव इतिहासकै सबैभन्दा शान्त र समृद्ध युग निर्माण गरेको छ ।

शान्तिको आधारभूत अर्थ नै परिवर्तन भएको छ । अब शान्ति भन्नु युद्धको तत्कालीन अनुपस्थिति होइन, युद्धमाथिको अविश्वास हो । यतिबेला तपाईं फ्रान्स र जर्मनीजस्तै अरू सयौं देशहरूबीच अर्को वर्ष युद्ध हुन्छ भन्ने कल्पना गर्नुहुन्न । विश्वका केही ठाउँमा अहिले पनि युद्ध नभएको होइन । मलाई विश्वास गर्नुस्, ‘मध्यपूर्व’ बाट आएको हुनाले मलाई यो कुरा राम्रोसँग थाहा छ । तर यसैकारण सम्पूर्ण विश्वको परिस्थितिलाई अनदेखा गर्नुहुँदैन ।

अहिले हामी बाँचिरहेको युगमा युद्धका कारणले भन्दा आत्महत्याका कारण बढी मानिस मरिरहेका छन् । बारुदले भन्दा चिनीले बढी मानिस मारिरहेको छ । रसियाजस्ता केही देश छोडेर विश्वका प्राय: सबै देश अर्को देश कब्जा गर्ने कल्पना गर्दैनन् । त्यसैले धेरै देशहरू कुल ग्राहस्थ उत्पादनको करिब २ प्रतिशत रक्षा बजेटमा खर्च गर्छन् र त्यो भन्दा कता हो कता धेरै शिक्षा र जनस्वास्थ्यमा खर्च गर्छन् । यो युग पहिलेजस्तो जंगलको युग होइन ।
हामी यस्तो विश्वमा बाँच्न अभ्यस्त भइसकेका छौं । हामीलाई यो शान्ति आफैं प्राप्त भएकोजस्तो लाग्छ । त्यसैले हामीले यसको देखभाल गरिरहेका छैनौं । नाजुक विश्व व्यवस्थालाई बलियो बनाउन मिहिनेत गर्नुपर्ने बेला धेरै देशहरू यसलाई बेवास्ता गरिरहेका छन्, निरन्तर अवमूल्यन गरिरहेका छन् ।

विश्व व्यवस्था अहिले त्यस्तो घर भएको छ, सबै यसमा बस्छन् तर कसैले मर्मत गर्दैन । अब केही वर्ष त हामीलाई यसले ओत देला । तर हामीले यस्तै व्यवहार गरिरह्यौं भने एकदिन यो घर ध्वस्त हुनेछ । अनि मानव सभ्यता फेरि सर्वव्यापी युद्धको जंगलमा पुग्ने छ । त्यो जंगल कस्तो थियो भन्ने हामीले बिर्सिसकेका छौं, तर एक इतिहासकारकारूपमा मैले भनेको कुरा विश्वास गर्नुस्, तपाईं फेरि त्यहाँ फर्किन चाहनुहुन्न । त्यो तपाईंले कल्पना गर्नसक्ने भन्दा कयौं गुणा खराब अवस्था हो ।
हो, मानव जाति यस्तै जंगलमा उद्भव भयो, हुर्कियो, हजारौं वर्ष त्यहीँ बाँच्यो र त्यही समृद्ध भयो । तर अहिले हामी त्यहाँ फर्किने हो भने हाम्रो जाति नै समाप्त हुन्छ ।

यदि मानव जाति पृथ्वीबाट हरायो भने पनि संसारको अन्त्य हुने छैन । केही न केहीले सृष्टिलाई निरन्तरता दिने छ । कतै मुसाले पो पृथ्वीको नेतृत्व गर्छन् र सभ्यता पुननिर्माण गर्छन् कि ! यस्तो भयो भने सायद मुसाले हाम्रो गल्तीबाट पाठ सिक्ने छन् ।
तर मलाई मुसामा होइन, यहाँ उपस्थित नेताहरूमा विश्वास छ ।

(सन् २०२० जनवरी  २१ देखि २४ सम्म भएको World Economic Forum को डाभोस सम्मेलनमा इजरायली इतिहासकार तथा दार्शनिक युभल नोह हरारीले राखेको मन्तव्यको सम्पादित पाठ ।)

अनुवाद : रोहेज खतिवडा
कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित हुने नेपाल साप्ताहिकमा माघ १२, २०७६ मा प्रकाशित