Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

घोडेटारका ली क्वान यू को बिदाई

Admin

प्रमुख

(लामो समय सगरमाथा उच्च मा.वि. को प्रधानाध्यापक रहनुभएको ईश्वरमान राई उमेर हदका कारण २०७३ साल असोज २५ गते बिद्यालयबाट औपचारिक रुपमा बिदाई हुनुभएको थियो। उहाँको बारेमा सगरमाथा उच्च मा.वि. का पुर्व विद्यार्थी एवं नेपाल सरकारका अधिकृत अर्जुन राईको यो आलेख deshkonews .com को Archive बाट)

हतुवा क्षेत्रको  सबैभन्दा ठूलो व्यापारिक केन्द्र घोडेटार पुग्ने जो कोहीका लागि दुई वटा ठाँउ चासोको विषय हुने गर्दछ । पहिलो सगरमाथा उच्च मावि र दोस्रो अटल सिंह काजीको गढी ।

गढीको ‌ऐतिहासिक महत्व भए पनि त्यहाँको स्वतन्त्र घुमफिर गर्ने र सौन्दर्यात्मक पक्ष अब बाँकी छैन । त्यसकारण गढी इतिहास प्रति रूचि भएका व्यक्तिहरूका लागि बढि चासोको विषय हुने गर्दछ ।
अधिकाँशले  चासो राख्ने र प्रत्यक्ष घुम्ने ठाँउ भनेको बजारसँगै जोडिएको सगरमाथा उच्च मावि नै हो । घुमीसके पछी जो कोही आगन्तुक स्कुलको प्रशंसा गर्न कञ्जुस्याईं गर्दैनन् ।
त्यहाँ पुगेका व्यक्तिहरुसँग विभिन्न ठाँउमा भेट हुँदा स्कुलको बखान गरेको सुन्न पाइन्छ । यो एउटा गौरवको विषय नै हो । त्यही उच्च माविका पूर्व प्रधानाध्यापक ईश्वरमान राईलाई वि. सं. २०७३ असोज २५ गते ‌एक समारोह बीच स्कुलले बिदाइ गरेको छ ।
सबैका अगाडि देखाउन लायक सरकारी स्कुल निर्माण गर्न, घोडेटारलाई देख्न र चिनिन सक्ने बनाउन ईश्वरमान राईले ठूलो योगदान पुर्याउनु भएको छ । करिब साढे तीन दशक प्रधानाध्यापक रहनु भएका उहाँले लगभग शुन्य अवस्थाबाट शुरु गरेर  भौतिक रुपले सम्पन्न र त्यस क्षेत्र कै गुणस्तरीय शिक्षाको केन्द्रको रुपमा स्कुलको विकास गरेर केवल प्रधानाध्यापक मात्र होइन एक अब्बल प्रशासकका रूपमा आफुलाई स्थापित गर्नु भयो ।
स्थापना पछीको लामो समय हतुवा क्षेत्रको एक्लो माविको रुपमा सगरमाथा रहन पुग्यो । त्यस क्षेत्रका दक्ष, अर्ध दक्ष जनशक्ति अधिकांशले मावि तह त्यही पढेका छन् ।

ईश्वरमान राई

कुनै समय सगरमाथा उच्च माविमा पढ्ने विद्यार्थीको सँख्या हजार भन्दा बढी थियो । भिमसेन जस्तै बलिया बाङ्गा विद्यार्थीहरू थिए । त्यस्ता विद्यार्थीहरू बीच अनुशासन कायम राख्नु चानचुने काम थिएन ।
आज अधिकांश निजी स्कुलहरू अनुशासन कायम राख्न डिआई राख्ने गर्छन् । कम्तीमा त्यस्तो पदको सिर्जना सगरमाथा उच्च माविले गर्नु परेन ।
स्कुलसँगै भएका दुई ठूला खेल मैदान,  सुन्दर कम्पाउण्ड, वृहत पुस्तकालय, पर्याप्त कक्षाकोठा सुन्दर फूलबारीले धेरैको मन तान्ने गर्दछ । खेल मैदान निर्माणको कहानी सुन्दा धेरैलाई किंवदन्ती झैं लाग्दछ ।
पुरै डाँडालाई सम्याएर मैदान बनाउन हजारौंले निःशुल्क पसिना बगाए । मानिसहरू भरोसायोग्य व्यक्तिसँग अर्थपुर्ण काम बिना पैसा पनि गर्दा रहेछन् भन्ने यो एउटा उदाहरण हो ।

वरिपरिको घेराबारको लागि हजारौं विद्यार्थीले घँघारू तानेका छन् । घरबाट बाँस बोकेका छन् । आन्तरिक व्यवस्थापनमा पुस्तकालय चलेको छ ।
यी सबैलाई रकममा रूपान्तरण गर्ने हो भने त्यस क्षेत्रका गाविसमा आउने वार्षिक बजेट भन्दा धेरै पुग्न सक्छ । कुनै सरकारी वा गैर सरकारी अनुदानको आशामा स्थानीय श्रोत साधन परिचालन नगरिएको भए धेरैको वाहवाही बटुल्ने यी कुराहरू निर्माण हुने नै थिएनन् ।
यो सबैको व्यवस्थापन गर्न सहज थिएन तर पनि उहाँले सम्भव तुल्याउनु भयो । यस भित्र लुकेको मूल्य हाम्रा लागि अनुकरणीय छन् । आज सार्वजनिक निकायको लागि श्रम गर्ने परिपाटी खिइँदै गएको छ ।
प्रशासकहरुमा सृजनात्मक सोंच, चुनौती सामना गर्न सक्ने क्षमताको खडेरी छ । समुदायको सहभागिता कागजमा सिमित हुँदैछ । कुनै पनि विकास वा सामाजिक कार्य कै लागि अनुदानको अपेक्षा चुलिँदो छ ।
अनुदान नपाए नेता वा सरकारलाई गालिगलौज गर्न पछी नपर्ने परिपाटीको विकास भइरहेको छ । कतैबाट सहयोग उपलब्ध भएमा त्यसको सँचालन र व्यवस्थापनको पाटो ज्यादै फितलो छ ।
तर पनि जटिल राजनीतिक, सामाजिक अवस्था, पिछडिएको भनेर चिनिएको सामुदायिक पृष्ठभूमीका माझमा उहाँले आफ्नो योजनाहरुलाई मूर्त रुप दिनु भयो । आफ्नो सिजृनात्मक सोंचलाई कुशल ढङ्गले व्यवहारमा रूपान्तरण गर्न सफल हुनु भयो ।
न्यून श्रोत साधनलाई लिएर अव्वल नतिजा दिन माहिर  उहाँले आफुलाई कुशल व्यवस्थापकको रूपमा समेत सावित गर्नु भयो । घोडेटार बजार अहिले भोजपुरको दक्षिणी क्षेत्रको व्यापारिक केन्द्रको रूपमा स्थापित भइसकेको छ ।
सर्वसाधारणलाई स्थानीय उत्पादनको बिक्री गरी आय आर्जन गर्न सहज भएको छ । आवश्यक उपभोग्य सामग्री किन्न टाढा जान परेको छैन । यसैका लागि कुनै समय सुनसरीको चतरा वा हिले बजार पुग्नु पर्ने बाध्यता थियो ।

अहिले कच्ची सडककै माध्यमबाट भएपनि अन्य बजारसँग जोडीएको छ । यो प्रसङ्ग यहाँ किन जोडियो भने आज भन्दा चार दशक अगाडि घोडेटारमा मावि नबनेको भए घोडेटारको रूप अहिले जस्तो बन्न सायद सम्भव थिएन ।
त्यो समयको सुनसान ठाँउ अहिले बजारमा रूपान्तरित भएको छ ।  शुरूवातकालको साक्षी खाद्य सँस्थानको गोदाम घर जीर्ण भएर बसेको छ । गाँउ गाँउबाट माविमा पढ्न आउनेहरुले गर्दा व्यापारिक कारोवारमा वृद्दि ल्यायो ।
व्यापारीहरुका लागि सम्भावनायुक्त गन्तव्य बन्यो घोडेटार । विद्यार्थिहरुको माध्यमबाट हुने कारोवारका आधारमा बजारले गति लियो । यसरी हेर्दा घोडेटार बजार सगरमाथा उच्च माविको जगमा उभिएर अगाडि बढेको देखिन्छ ।
एउटा सुनसान ठाँउ बजारमा परिणत भए पछि आसपासका धेरैलाई जीवनयापनमा सहजता ल्याँउदो रहेछ । हाम्रा लागि यो विकासको यौटा पाटो हो । विकास ट्रिकल डाउन भएर अलिकति भए पनि तल गाँउ सम्म पुगेको अनुभव गर्न सकिन्छ ।
कुनै योजनाविद् वा विकास विज्ञका लागि हतुवा क्षेत्रमा भइरहेको परिवर्तन चासोको विषय नहुन सक्छ तर हतुवाका लागि भने यो आफैमा नमुना कार्य हो । यी सबै परिवर्तनमा उहाँको सँलग्नता हामी पाँउछौ ।
उहाँको ‘करिष्म्याटिक’ नेतृत्वदायी भूमिकाका कारण सुन्दर सगरमाथा उच्च मावि र अहिलेको घोडेटार बजार बन्न पुग्यो । हतुवा क्षेत्रका आम मानिसमा ईश्वरमान राई प्रति गहिरो सम्मान भाव भएको हामी महशुस गर्न सक्छौं ।
उहाँले अहिले सम्म सेवा भावले धेरै काम गर्नु भयो अब दिने पालो समुदायको हो ।  स्वीकार्य उचित भूमिकाको सिर्जना गरेर सबैले सहयोग गर्नु नै समुदायको तर्फबाट उहाँ प्रतिको वास्तविक सम्मान हो ।
सेवानिवृत भए पनि योग्यता र दक्षताले निवृत होइन उहाँ । धेरै योग्य व्यक्तिहरु अवकास पछि सेकेण्ड करियरको खोजिमा आइएनजीओ, एनजीओ वा राजनीतिक नियुक्तिको लागि दौडिरहेको देख्न पाइन्छ ।
उहाँले पनि चाहनु भयो भने कुनै जागिर वा पद पाउन सायद कठिन नहोला । तर पनि समुदायका लागि अहिलेसम्म निर्वाह गर्नु भएको भूमिकाका आधारमा अर्को जागिर शुरुवात गर्नु हुन्न भन्ने अनुमान गर्न सकिन्छ ।
व्यक्तिमा भएको क्षमतालाई चिनेर सदुपयोग गर्ने मामलामा हतुवावासी चुक्नु हुँदैन । विकासका हरेक पक्षमा पिछडिएको विकट हतुवाले अहिले विस्तारै गति लिइरहेको छ ।
हतुवाका गाँउघरमा त्यस क्षेत्रका कोही व्यक्ति असल रुपमा चर्चित र प्रशंसनीय छन् भने एकजना ईश्वरमान राई नै हुनुहुन्छ । अनुशासनप्रीय छवि, जिम्मेवारी वहन गर्न गरेको त्याग, इमान्दारीता, सरलता, दृढ इच्छाशक्ति, सृजनात्मक सोंच र चुनौतिपुर्ण कार्यको कुशल सम्पादनका कारण नै उहाँको व्यक्तित्व सबैका लागि स्वीकार्य बन्न पुग्यो ।
ईश्वरमान राईलाई घोडेटारका ली क्वान यू को उपमा दिंदा अतिशयोक्तिपूर्ण हुँदैन जसले लामो समय निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिकाबाट बिदा लिनु भएको छ ।