Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

मुख्यमन्त्री राई हतुवागढिमा : विभिन्न कार्यक्रमलाई सम्बोधन

Admin

प्रमुख

रबिन थापा “बगाले”
हतुवागढी, ३० चैत। प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राई हिजो चैत २९ गते हतुवागढिको विभिन्न कार्यक्रममा सरिक हुनुभएको छ।

हतुवागढी वडा नम्बर ८ खुकैलाका आगलागी पिडितहरुलाई राहत बितरण गर्न आईपुग्नुभएका मुख्यमन्त्री राई हतुवागढिको केन्द्र घोडेटार बजारमा आयोजित दुई वटा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। उहाँ सगरमाथा उच्च मा. वि. घोडेटारले आयोजना गरेको ‘पुरस्कार बितरण समारोह तथा शिक्षक बिदाई कार्यक्रम’ र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको संयोजनमा हतुवागढी गाउँपालिका अन्तर्गत स्थापित ‘नागरिक आरोग्य सेवा केन्द्र’ शुरुवात गर्ने कार्यक्रममा उपस्थित हुनुभएको हो।

सगरमाथा उच्च मा. वि. परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघिय प्रणालिमा देश गएका कारण भौतिक पुर्बाधार निर्माणमा अपेक्षित सफलता हासिल हुन सकेको बताउनुभयो। छोटो समयमै हतुवागढी केन्द्रित विभिन्न परियोजनाहरू सम्पन्न हुन लागेको उल्लेख गर्दै स्थानिय सरकार तथा सरोकारवाला सबैलाई सो परियोजनाहरुको निगरानी र हेरविचार गर्न आग्रह समेत गर्नुभयो। हतुवागढीलाई समेट्ने गरि हाल दुधकोशी स्थित चुवार पुल अरुण नदि स्थित सुनबालुवा पुल, चुवारदेखी भोजपुर  सदरमुकाम जोड्ने सडक बिस्तार तथा कालोपत्रे गर्ने, कावाखोला र पिखुवाखोलामा पक्की पुलको निर्माण, होम्ताङ् र लुङ्गिनमा लिफ्टिङ् प्रणालिबाट खानेपानी परियोजना जस्ता कार्यक्रमहरु संचालन भईरहेका छन्। उल्लेखित परियोजनाहरु समयमै सम्पन्न गर्न लागिपर्ने उल्लेख गर्दै मुख्यमन्त्री राईले सगरमाथा उच्च मा. वि. मा स्नातक तहको अध्यापन शुरुवात गर्ने, हतुवागढिलाई मुन्धुम पदमार्गसंग जोड्ने लगायतका अन्य कार्यक्रमहरुलाई छिट्टै शुरु गरिने प्रतिबद्धता समेत जनाउनुभयो।

सगरमाथा उच्च मा. वि. मा स्थापित १२ वटा अक्षयकोष अन्तर्गतका पुरस्कारहरु बितरण गरिएको उक्त कार्यक्रममा बिद्यालयबाट सेवा निबृत्त दुई जना शिक्षकहरुलाई बिदाई समेत गरिएको थियो। माध्यमिक तहका शिक्षकहरु गंगाप्रसाद न्यौपाने र बुद्धिमान राई ६९ बर्षको उमेर हदका कारण सेवा निबृत्त हुनुभएको हो।

कार्यक्रममा फरक बिषयमा बोल्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले निक्कै लामो र कठिन प्रयासपछी नागरिक आरोग्य सेवा केन्द्रको शुरुवात गर्न लागिएको उल्लेख गगर्नुभयो। जडिबुटी तथा आयुर्वेदिक औषधिद्धारा उपचार गरिने यो पद्धतिले स्थानियलाई प्रभावकारी  स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गर्नुभयो।

मुख्यमन्त्री राईले घोडेटार तथा खुकैलाको राहत बितरण कार्यक्रमपछी हिजै दुधकोशिको चुवार स्थित निर्माणाधिन मोटरेवल पुलको निरिक्षण गरि यथाशिघ्र र कार्यादेश प्राप्त समयमै निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभएको थियो।